आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

साइबर ब्यूरोले सोधपुछ गरेको युवकले सिटामोल खाएको पुष्टि

बिहीबार, १३ वैशाख २०८१, २१ : ३९
बिहीबार, १३ वैशाख २०८१

काठमाडौं । प्रहरीको साइबर ब्यूरोले कथितरुपमा अनुसन्धानका लागि भनेर अनावश्यक यातना दिएपछि जाजरकोटका गणेशमान सिंहले ‘औषधि’ सेवन गरेको बताएका छन् । वैशाख १२ मा औषधि सेवन गरेपछि उनलाई वीर अस्पताल लगिएको थियो । 

अहिले उनको कीर्तिपुर अस्पतालमा आईसीयूमा राखेर उपचार हुँदै छ । गृहमन्त्रीको फेसबुक पेजमा ‘सहकारी ठग’ भनेर कमेन्ट गरेपछि आफूलाई ब्यूरोका अनुसन्धान अधिकृतहरूले जेल हाल्ने धम्की दिएको सिंहले जिकिर गरेका छन् । फेसबुकमा सञ्चार भएको भिडियोमा उनले भनेका छन्–‘धम्की दिएपछि मैले औषधि सेवन गरेँ ।’

सिंहले प्यारासिटामोल खाएको मेडिकल रिपोर्टबाट देखिएको छ । कीर्तिपुर अस्पतालस्थित आईसीयू कक्षका एक जना स्वास्थ्य अधिकृतले रातोपाटीसँग भनिन्–‘उहाँले एकैपटक अत्यधिक प्यासासिटामोल खानुभएको रहेछ ।’ उनका अनुसार सिंहले २० ट्याब्लेट प्यारासिटामोल एकैपटक खाएका हुन् ।

  • घटना के हो ?

सिंहले इलामको एउटा होटलमा ‘वेश्यावृत्ति हुन्छ’ भन्ने सन्देश सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । त्यसबारे प्रहरी महानिरीक्षकको सचिवालयमा उजुरी आयो । उजुरी आएपछि प्रहरी प्रधान कार्यालयले त्यसबारे अनुसन्धान गर्न भनेको साइबर ब्यूरोका सूचना अधिकारी दीपक राज अवस्थीले रातोपाटीलाई बताए । उनले भने–‘उनले दाबी गरे अनुसारको विषयमा अनुसन्धान र सोधपुछ नै भएको छैन ।’

सिंहले ६–७ वर्ष जेल हाल्छौँ भनेर साइबर ब्यूरोका प्रहरीले भनेको जिकिर गरेका छन् । तर, अनुसन्धान अधिकृतहरूले सो कुरा भन्दै नभएको एसपी अवस्थीले बताए ।

ब्यूरोले बोलाएपछि त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका एक जना विद्यार्थी नेतालाई उनले फोन गरेर भनेका थिए । ती विद्यार्थी नेतासँग उनले ‘विष खान्छु’ भनेपछि विद्यार्थी नेताले त्यसबारे प्रहरीलाई भनेका हुन् ।

एसपी अवस्थी भन्छन्–‘हामीकहाँ आउँदा सिटामोल खाएर आएको रहेछ सो कुरा थाहा पाएपछि अस्पताल पठाएका हौँ ।’ 

  • साइबर ब्यूरोको विज्ञप्ति

साइबर ब्यूरोले विज्ञप्ति प्रकाशन गरेर सामाजिक सञ्जालमा प्रसारित भिडियो भ्रमपूर्ण भएको दाबी गरेको छ । ब्यूरोको विज्ञप्तिमा भनिएको छ–‘भ्रमपूर्ण भिडियो सन्देशमा कुनै सत्यता नरहेको ब्यहोरा सवैमा अनुरोध गर्दै यस्ता भ्रमपूर्ण सामग्री प्रचार प्रसार गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने ब्यहोरा समेत अनुरोध गरिएको छ ।’ 

इलामको होटलबारे सिंहले ऋषिराज झा नामको फेसबुक आइडीबाट अश्लील सामग्री पोष्ट गरेको र त्यसबारे अनुसन्धान गर्न उनलाई बोलाएको ब्यूरोले जनाएको छ ।

437498374_409115958693515_3799860905741975635_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप