शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बाराही जंगल लजलाई दक्षिण एशियाली अवार्ड

बिहीबार, ३० कात्तिक २०७४, १७ : ०१
बिहीबार, ३० कात्तिक २०७४

काठमाडौँ । पर्यटकलाई उच्चस्तरीय सेवा पु¥याएबापत नेपालको एक सुविधासम्पन्न रिसोर्टले अन्तर्राष्ट्रिय अवार्ड हात पारेको छ । 

चितवनस्थित बाराही जंगल लजले दक्षिण एशियाकै उत्कृष्ट पर्यटन पुरस्कार ‘साउथ एशियन ट्राभल अवार्ड’ (साटा) जितेको हो । 

सो संस्थाले यसै वर्ष प्रदान गरिएका ‘लिडिङ वाइल्ड लाइफ होटल÷रिसोर्ट, लिडिङ इको होटल÷रिसोर्ट, लिडिङ लक्जरी होटल, रिसोर्टसमेत गरी तीन विधाका राष्ट्रिय स्तरका पर्यटन पुरस्कारसमेत जितेको छ । 

माल्दिप्सको राजधानी मालेमा हालै आयोजित अवार्ड वितरण समारोहमा बाराही जंगल लजलाई एशियाली अवार्ड प्राप्त भएको लजका संस्थापक अध्यक्ष हरिप्रसाद पौडेलले जानकारी दिए । 

अवार्ड संस्थाको व्यावसायिक जीवनकै एक महत्वपूर्ण कोशेढुंगा भएको र आगामी दिनमा व्यवसायलाई थप उचाइमा लैजान प्रेरणा मिलेको उनले बताए । स्वदेशी तथा विदेशी पाहुनालाई अझै उत्कृष्ट आतिथ्यता प्रदान गर्ने तथा दिगो पर्यटनलाई बढावा दिनका लागि निरन्तरता दिने अध्यक्ष पौडेलको भनाइ छ । 

अवार्डबारे जानकारी दिन बुधबार आयोजित पत्रकारसम्मेलनमा बाराही लजका बजार व्यवस्थापक योगेन्द्र विक्रम थापाले एशियाली अवार्ड रिसोर्टमा आधारित संसारकै उत्कृष्ट पुरस्कार भएको उल्लेख गरे । 

सार्कका अन्तरदेशीय पर्यटक बढाउन तथा एकअर्काबीच भ्रातृत्व कायम गर्न सो अवार्डले महत्वपूर्ण भूमिका खेल्ने बताइन्छ । अवार्डका लागि नेपालका बाराही, अन्नपूर्ण, सांग्रिलालगायत २९ वटा होटल सहभागी थिए भने भारतबाट ५०० र माल्दिप्सबाट २०० वटा होटल रिसोर्टले प्रतिस्पर्धा गरेका थिए । 

चितवनको मेघौलीस्थित राप्ती नदी किनारमा रहेको थारू बस्तीमा सञ्चालित बाराही लजले आन्तरिक एवं बाह्य पर्यटकलाई नदीका दुवै किनारबाट देखिने चितवन राष्ट्रिय निकुञ्ज तथा राप्ती किनारका मनमोहक दृश्यको अवलोकन गराउँदै आएको छ । 

लजको भित्री एवं बाहिरी सजावटले थारू जातिको मौलिक संस्कृतिका महत्वपूर्ण पक्षसँग पर्यटकलाई परिचित गराउँछ । कूल २० बिघा क्षेत्रफलमा फैलिएको उक्त लजमा ३४ वटा पूर्ण सुविधायुक्त कोठा तथा एक सुइटसमेत रहेको छ । लजका प्रत्येकका कोठाबाट चितवन राष्ट्रिय निकुञ्जको मनोरम प्राकृतिक दृश्यको आनन्द लिन सकिन्छ । 

लजले थारू समुदायको मौलिक कला, सीप र संस्कृतिसँग समेत पर्यटकलाई साक्षात्कार गराइरहेको छ । लजको मातृ संस्था होटल बाराही पोखराको लेक साइडमा करिब १७ रोपनी क्षेत्रफलमा फैलिएको छ । काठमाडौँलगायत पर्यटकीय क्षेत्रमा थप व्यवसाय विस्तार गर्ने संस्थाले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप