आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

रोल्पामा एमाले कार्यकर्ताको अपहरण, स्थानीयको प्रतिकारपछि मुक्त

शुक्रबार, ०८ मङ्सिर २०७४, १० : ३४
शुक्रबार, ०८ मङ्सिर २०७४

रोल्पा– विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले रोल्पामा एमालेका एक कार्यकर्तालाई अपहरण गरेका छन् । उनिहरुले रोल्पा–काठमाडौं सम्पर्क मञ्चका सचिव नविन खड्कालाई हिजो साँझ सुकीदह गाउँपालिका–३, डाँडाखुटीबाट अपहरण गरेका हुन् । 

उनीसँगै माओवादी केन्द्रका कार्यकर्ता विष्णु खड्कालाई पनि नेकपाका कार्यकर्ताले अपहरण प्रयास गरेका थिए । तर, उनलाई स्थानीय बासिन्दाले प्रतिकार गरेर बचाएको बताइएको छ । अपहरणमा परेका खड्कालाई शुक्रबार विहान मुक्त गरेका छन् ।

संयुक्त वामगठबन्धन निर्वाचन परिचालन समिति, रोल्पाका संयोजक गोकुल घर्तीले शुक्रबार विहान प्रेस वक्तव्य जारी गरेर नवीन खड्कालाई अपहरण गरेको र विष्णु खड्कालाई अपहरण प्रयास गरेको जनाएका छन् । उनले नवीन शुक्रबार विहान अपहरणमुक्त भई सम्पर्कमा आएको भन्दै घटनाको निन्दा गरेका छन् ।

‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धनको निर्वाचन प्रचार प्रसारको क्रममा नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले नेकपा (एमाले)का रोल्पा–काठमाडौं सम्पर्क मञ्चका सचिव क. नवीन खड्कालाई अपहरण र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ता क. विष्णु खड्कालाई अपहरण प्रयास गरेको घटनाप्रति संयुक्त वाम गठबन्धनको गम्भीर ध्यानाकर्षण भएको छ’, उनले वक्तव्यमा भनेका छन्, ‘प्रचार प्रसारको अन्तिम दिन २०७४ मंसिर ७ गते सुकीदह गाउँपालिका वडा नं. ३ डाँडाखुटीबाट नेकपाका कार्यकर्ताले क. नवीन खड्कालाई अपहरण गरी धाक धम्की दिएर आज विहान अपहरणमुक्त गरेका र क. विष्णु खड्कालाई अपहरणको प्रयास गर्दा स्थानीय जनताले अपहरणकारीको प्रतिकार गरी बचाएकोमा अपहरणको घटनाको गठबन्धन घोर भ्रत्र्सना गर्दछ ।’

वामगठबन्धनले बिहीबार दिउँसो थबाङ, पाखापानी र जिनाबाङमा भएको बम विस्फोटको समेत निन्दा गरेको छ । गठबन्धनले निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन ध्यानाकर्षण समेत गराएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप