केन्द्रीय संस्करण

राजद्रोह मुद्दाले जन्माएको अल्फाबिटा

person access_timeबैशाख ४, २०७५ chat_bubble_outline0

सिंगापुरबाट नेपाल फर्कंदा ५० हजार रुपैयाँमात्रै थियो । त्यही पैसाले बिहे गर्नु थियो । घाटामा सञ्चालित अल्फाबिटा कम्प्युटर इन्स्टिच्युटलाई निरन्तरता दिनु थियो । चुनौतीको महाभारत पार गर्न त्यति सजिलो थिएन । 

‘आँट गरें,’ अल्फा बिटा ग्रुप कार्यकारी अध्यक्ष द्विराज शर्माले सुनाए, ‘मैले इन्स्टिच्युट सम्हाल्नसाथ तीन सय विद्यार्थी सिंगापुर पठाएँ । अमेरिका र बेलायत पनि पठाउन थालें । त्यसपछि इन्स्टिच्युट रन गर्न सहज भयो ।’ 

त्यतिबेला इन्स्टिच्युट पुतलीसडकमै थियो । सन् २००३ मा नयाँबानेश्वर सारियो । पुतलीसडकमा मासिक २० हजार भाडा तिर्नुपथ्र्यो । नयाँबानेश्वरमा ५० हजार थपियो । इन्स्टिच्युटको मासिक भाडामात्रै ७० हजार पुग्यो । ‘त्यही समय मेडिकल पढ्न अत्यधिक विद्यार्थी भारत र चीन पठाउन सकें,’ अल्फा बिटा ग्रुप कार्यकारी अध्यक्ष शर्माले थपे, ‘सात वर्षमा दुई हजार विद्यार्थी भारत र चीन पठाएँ ।’ 

काठमाडौंको नयाँबानेश्वरमा पाँच वर्ष भाडामा रहेको अल्फाबिटाको अहिले आफ्नै भवन छ । पाँच करोडमा किनिएको २५ आना जग्गामा त्यति नै खर्च गरेर अल्फाबिटा कम्प्लेक्स निर्माण गरिएको हो । ‘त्यति धेरै पैसा आफूसँग थिएन । ऋण लिएँ,’ उनले नढाँटी भने, ‘आयस्रोत थियो । तिर्न सकिन्थ्यो । अल्फाबिटा इन्स्टिच्युट आफ्नै भवनमा सरेको १० वर्ष भयो ।’ 

४० हजार स्वायर फिटमा रहेको अल्फाबिटा कम्प्लेक्समा ६ फ्ल्याट छन् । भुँइतलामा क्लिनिक छ । लक्ष्मी बैंक, क्लासिक टेक, युपी ट्रेड, डीसीएक्स नेपालको कार्यालयसमयेत यहीँ रहेका छन् भने अल्फाबिटा इन्स्टिच्युट र उसको आफ्नै बैंक्वेट पनि छ । एकताका अल्फाबिटा कम्प्लेक्समा युएनडीपी र नेपाल टेलिकमको कार्यालयसमेत रहेको थियो । 

‘आँट गरेर चलाएको हुँ । हामीजत्तिको मानिसले मिहिनेत गरे हुन्छ भन्ने लाग्थ्यो । भयो पनि । सकारात्मक सोचले सफलताको सिँढी चढ्दै गएको हुँ,’ उनले प्रस्ट्याए, ‘धैर्यसाथ कर्म गर्दै रहेको छु । पैसा कमाउने हतारो छैन । बिस्तारै अघि बढ्ने हो । बुवाको नैतिक शिक्षाले यहाँसम्म आइपुगेको छु । नाम रहने काम गर्ने त्यत्तिकै लोभ छ ।’ 

काठमाडौंमा अल्फाबिटाजस्ता कल्सन्टेन्सी कति छन् कति । त्यस अर्थमा अल्फाबिटाको पहिचान फरक छ । त्यही भएर त्यहाँसम्म पुग्ने विद्यार्थीको ‘क्याराभान’ लाग्छ । उसले अनैतिक ढंगले शुल्क लिँदैन । ‘लिए ?,’ उनको मान्यता छ, ‘पाप लाग्छ ।’ अल्फाबिटामा सालिन्दा आइएलटीस र पीटीइका लागि सात हजार विद्यार्थी भर्ना हुन्छन् । यहाँ पियर्सन र टोफल सेन्टर पनि छन् । अल्फाबिटा कम्प्लेसबाट मासिक भाडामात्रै २० लाख उठाउने उसले नेपालभरि सात सेन्टर खोलेको छ । 

त्यतिमात्रै होइन, अल्फाबिटा २ सय ५० विश्वविद्यालयको एजेन्ट हो । यो नेपालकै ठूलो कन्सल्टेन्सी मानिन्छ । २ सय ५० विश्वविद्यालयले अल्फाबिटालाई पत्याएको छ । त्यसका लागि १५ वर्षदेखि द्विराज शर्मा संसारभरि कुदिरहेका छन् । 

मुलुकभरि स्कुल कलेजको कमी छैन तर काउन्सिलिङ सेन्टर कहीं छैन । ‘विद्यार्थी एसएलसीसम्म पढ्छन् । उसले डिस्टिङ्सन ल्याउँछ,’ शर्माको बुझाइ छ, ‘त्यसपछि ऊ कहाँ के गर्छ थाहा हुँदैन । राम्रा स्कुलले सम्बन्धित विद्यार्थीको पोटेन्सियल हेरेर गाइड गर्छ । ब्रिटिस स्कुल, रातो बंगला, लिंकन, युलेन्समा प्रोफेसनल काउन्सिलर छन् । काउन्सिलरले १० वर्ष पुगेका बालबालिकाको हाउभाउ बुझ्न सक्छन् । उसले के खान्छ, के गर्छ, कसरी बोल्छ ? उसको विशेषता हेरेर गाइड गरिन्छ ।’ तर, त्यसबाहेकका स्कुलमा त्यस्तो काउन्सिलिङ गरिँदैन । जुन काम अल्फाबिटा इन्स्टिच्युटले गर्दै आएको छ । ‘हामी डाक्टर, इन्जिनियर बन्नू भन्छौं,’ उनले वास्तविकता बताए, ‘बन्न सजिलो छ कि अप्ठ्यारो थाहा पाउँदैनौं ।’ इन्स्टिच्युटमा कोचिङ, अमेरिकन इन्जिनियरिङ कोचिङ, ट्राभल एन्ड टुरिजम, ब्रिजकोर्स, ल्याङवेज, कम्प्युटर तालिमसमेत गराइन्छन् । 

अल्फाबिटाले काभ्रेको नालामा डेढ सय रोपनीमा मौसमी तरकारी खेती थालेको छ । इन्स्टिच्युटमा मात्रै दुई सयजनाले रोजगारी पाएका छन् । तीन वर्षभित्र प्रालिमा रूपान्तरण गर्ने तयारी थालिएको । ‘बुवाले दिनुभएको पाँच लाखबाट सुरु गरेको इन्स्टिच्युट हो,’ उनले भने, ‘बुवाआमाले अहिलेको प्रगति देख्न पाउनुभएन । उहाँहरूको सम्मान र सम्झनामा अल्फाबिटा कम्प्लेक्समा शिव सदन, कृष्ण सदन बनाएका छौं ।’    

अल्फाबिटासँगै खुलेका धेरैजसो कम्पनी बन्द भइसकेका छन् । व्यवसाय गर्न ‘कन्सेप्ट’ ठूलो ठानिन्छ । त्यसो त पैसा पनि नभइ हुँदैन । सामान्य सोच भएको मानिस जताततै पाइन्छन् । फरक सोच भएकाले व्यवसाय गर्दा उँभो लाग्छ भन्ने ज्वलन्त उदाहरण हुन्– द्विराज शर्मा । शर्माले उदाहरण दिए, ‘सूर्य चुरोटभन्दा अन्यलाई टिक्न गाह्रो छ । त्यस्तै वाइवाइ चाउचाउको एकछत्र छ । अन्यलाई टिक्न धौ–धौ छ । फरक पहिचान भएकाले अल्फाबिटा इन्स्टिच्युट रन गर्न अप्ठ्यारो छैन ।’ 

पाँच लाखबाट थालिएको इन्स्टिच्युटको अथाह सम्पत्ति छ । त्यो पाँच लाख शर्माको बुवाको रुपैयाँ थियो । ‘बुवालाई राजद्रोह मुद्दा लाग्यो । यो संवत् २०२८ सालको कुरा हो । त्यसपछि बुवा आसाम जानुभयो । त्यतिबेला कतिपय मारिए । प्रधानमन्त्री केपी शर्मा ओली, आरके मैनाली, सीपी मैनालीका पनि नेता हुन् मेरो बुवा,’ उनले पाँच लाख रुपैयाँको पृष्ठभूमि सुनाए, ‘०४६ सालपछि बुवालाई लागेको राजद्रोह मुद्दा हट्यो । राजपरिवारका नजिककाले हडपेको जग्गा–जमिनबापत बुवाले क्षतिपूर्तिस्वरूप पाँच लाख रुपैयाँ पाउनुभयो । त्यही पाँच लाखबाट दाइले पुतलीसडक चोकमा अल्फाबिटा कम्प्युटर इन्स्टिच्युट खोल्नुभएको थियो ।’ 
पाँच लाखले इन्स्टिच्युट सुरु गर्न गाह्रो थियो । ‘गंगा उप्रेती काकाले काकीको गरगहना बैंकमा राखेर पाँच लाख जुटाइदिए,’ उनले अतीत सम्झे, ‘यो ०५०/०५२ सालको कुरा हो ।’ 

दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

X