शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी समाचार प्रभाव : वरिष्ठ पत्रकार घिमिरेले आफूले पाएको पुरस्कारमा ५० प्रतिशत थपेर आश्रमलाई दिए

सोमबार, ०८ असोज २०७५, १५ : २७
सोमबार, ०८ असोज २०७५

काठमाडौं– वरिष्ठ पत्रकार युवराज घिमिरेले आफूले पाएको पुरस्कारमा ५० प्रतिशत रकम समेत थपेर मानवसेवा आश्रमलाई अर्पण गरेका छन् । 

प्रेस काउन्सिल नेपालले शनिबार घिमिरेलाई गोपालदास पत्रकारिता पुरस्कार प्रदान गरेको थियो । उक्त पुरस्कारको राशी १ लाख ५ हजार रुपैयाँ रहेको थियो । 

घिमिरेले उक्त पुरस्कार राशीमा आफू कार्यरत संस्था देश सञ्चार डटकमको तर्फबाट ५२ हजार ५ सय रुपैयाँ थप गरी  कूल १ लाख ५७ हजार ५ सय रुपैयाँ आश्रमका अध्यक्ष रामजी अधिकारीलाई सोमबार अर्पण गरेका हुन् । 

मानवसेवा आश्रमको काठमाडौंमा रहेको सामाखुसी शाखामा परिवारका सदस्य र  आफू कार्यरत कार्यालयका कर्मचारी सहित पुगेका उनले सो रकम चेकमार्फत हस्तान्तरण गरे ।

मानवसेवा आश्रमबारे ३१ भदौमा रातोपाटीमा समाचार प्रकाशित भएको र यो संस्थाले गरेको काम र उद्देश्यबाट प्रभावित भएर आफूले सहयोग गरेको सम्पादक घिमिरेले बताए । 

आफूले प्राप्त गरेको पुरस्कार पत्रकारिता क्षेत्रका सम्मानित व्यक्ति गोपालदासको नाममा स्थापना भएको बताउँदै उनले सामान्य व्यक्ति र राष्ट्रका लागि पत्रकारिता गरि योगदान गरेको स्मरण गरे । 

सामान्य व्यक्तिलाई केन्द्रमा राखेर पत्रकारिता गरेका गोपालदासको नाममा स्थापित भएकाले आफूले पुरस्कार स्वीकारेको र सो रकम आफू, परिवार र कार्यरत संस्थाको सल्लाहमा आश्रमलाई दिने निर्णय गरेको घिमिरेले उल्लेख गरे ।

आफूले पाएको गरिमामय पुरस्कार रकमसहित आफ्नो मिडिया हाउसको तर्फबाट पनि रकम थप गरी सहयोग गरेकोमा मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले सम्पादक घिमिरेप्रति आभार व्यक्त गरे । 

उनले पत्रकारिता क्षेत्रबाट प्राप्त भएको यस किसिमको सहयोगले २०८२ सालभित्र नेपालमा सहयोगापेक्षी सडक मानवमुक्त अभियान सफल बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

संस्थाका अध्यक्ष अधिकारीले रातोपाटीमा उक्त सामाचार सामाग्री प्रकाशन भएपछि ११ भन्दा बढी देशबाट ५० जना हराहारी सहयोगी मनहरुले राम्रो काम गरेको भन्दै सहयोगका लागि प्रस्ताव गरेको पनि जानकारी दिए ।

६ वर्ष अघि २०६९ सालमा हेटौँडामा स्थापना भएको मानवसेवा आश्रमले मानसिक सन्तुलन गुमाएर, वृद्ध वा अपाङ्ग भएर अथवा कुनै रोगको उपचार गर्न नसकेर सडकमा  बेवारिसे अवस्थाका मानिसहरुको उद्धार गरेर संरक्षण गर्दै आइरहेको छ ।  

१० जिल्लामा फैलिएको परोपकारी संस्था मानवसेवा आश्रममा अहिले  ५ सय हाराहारी सडकमा बेवारिसे अवस्थामा भेटिएका बालबालिकादेखि वृद्धवृद्धासम्म रहेका छन् ।

 यो संस्थासँग अहिले पूर्णकालीन समय काम गर्ने ५० जना युवाहरू रहेका छन् । 

२०८२ सालभित्र नेपाललाई सडकमा बेवारिसे अवस्थाका मानव मुक्त बनाउने अभियान लिएर यो संस्था अघि बढिरहेको अध्यक्ष अधिकारीले जानकारी दिएका छन् । 

मुख्य कार्यालय मकवानपुर हेटौँडा रहेको संस्थाको चितवन, काठमाडौं, ललितपुर, गोरखामा शाखा रहेको छ ।  

काठमाडौंमा २ वटा शाखा छ भने गोरखामा बालशाखा रहेको छ । बालशाखामा ५२ जना बालवालिकाहरु रहेका छन् । 

यस्तै लम्जुङ, बाग्लुङ, पर्साको वीरगञ्ज, कास्कीको पोखरा र रूपन्देहीको बुटवल गरी १० स्थानमा मानव सेवा आश्रम सञ्चालनमा रहेको छ ।

प्रदेश ७ को राजधानी धनगढीबाट पनि यसले आफ्नो सुरु गरेको अध्यक्ष अधिकारीले जानकारी दिए ।  

यस्ताे थियाे राताेपाटीमा प्रकाशित समाचार

एक युवा जो नेपाललाई ‘सडक–मानव’विहीन बनाउन चाहन्छन्

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप