शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कारागारमा भीआईपी कैदीको लर्को !

शुक्रबार, २० असार २०७६, १२ : ५९
शुक्रबार, २० असार २०७६

काठमाडौँ । डिल्लीबजार सदरखोर कारागारमा यतिबेला भीआईपी कैदीहरुको संख्या बढ्दो छ ।

बिहीबार मात्र नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) रमेश चन्द ठकुरीले सर्वोच्च अदालत पुगेर आत्मसमर्पण गरे । आत्मसमर्पण गरेसँगै ठकुरी डिल्लीबजार कारागार चलान भएका छन् । सुडानको डार्फर मिसनमा बन्दोबस्तीका सामान खरिदमा भ्रष्टाचार गरेको आरोपमा यसअघि नै जेल सजाय सुनाइएका ठकुरी आत्मसमर्पण गरेलगत्तै जेल चलान भएका हुन् । 

भीआईपी कैदी डिल्लीबजार कारागारमा छिरेपछि त्यहाँको डिउटीमा खटिएका प्रहरीलाई सास्ती सुरु हुन्छ ।

सांसद रेशम चौधरी पनि डिल्लीबजार कारागारमा नै रहेका छन् भने सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइराला पनि सोही कारागारमा रहेका छन् ।

डिल्लीबजार कारागारमात्र होइन, सेन्ट्रल जेल सुन्धारा र नख्खु कारागारमा पनि भीआइपीहरुको लर्को छ ।

यसरी जेल चलान हुनेमा अन्य भीआईपीहरुमा सशस्त्र प्रहरीका पूर्वडीआईजी रन्जन कोइराला, एमाले पूर्व सांसद रामचन्द्र प्यासी कुसुवा, आर्मी कर्णेल केशवराज कार्की, जर्नेल आदित्य बहादुर भन्ने मदनजंग शाहलगायत छन् ।

केही भीआइपी कैदी

रञ्जन कोइराला, सशस्त्र प्रहरी पूर्वडीआईजी

सशस्त्र प्रहरीका नायब महानिरीक्षक रञ्जन कोइराला पत्नी गीताको हत्या गरेको अभियोगमा डिल्लीबजार सदरखोर कारागारमा जेलजीवन बिताइरहेका छन् । कोइरालाई जन्मकैद फैसला सुनाइएको हो ।

६ वर्षदेखि अलग बस्दै आएकी श्रीमती गीतालाई डीआईजी कोइरालाले गत २०६८ पुस २७ गते काठमाडौँको पासीकोटस्थित निवासमा हत्या गरी मकवानपुरको पालुङ नजिकको मेत्राङमा लगेर शव जलाएका थिए ।

मेत्राङमा गीताको शव जलाएको प्रमाण नष्ट गरेर फर्कदै गर्दा कोइराला माघ ८ गते नागढुङ्गा चेकपोष्टबाट पक्राउ परेका हुन् । पक्राउ परेसँगै डीआईजी कोइरालाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

प्रहरीले गीताको शव ओसार्न प्रयोग गरिएको सशस्त्र प्रहरी बलको बा १ झ ६३१२ नम्वरको गाडी र निजले प्रयोग गर्दै आएको कार, शव जलाउँदा प्रयोग गरेको काठ पनि अदालत समक्ष पेश गरेको थियो ।

सञ्जय टकला, पूर्वसांसद

जनकपुरका सञ्चार उद्यमी अरुण सिंघानिया हत्याकाण्डका आरोपी पूर्वसांसद एवं राज्यमन्त्री सञ्जयकुमार साह टकलालाई जिल्ला अदालत धनुषाले असार १७ गते जन्मकैदको सजाय सुनायो ।

सिंघानिया हत्याको करिब १० वर्षपछि १४ जेठदेखि जिल्ला अदालत धनुषामा सुनुवाइ सुरु भएको थियो । मुद्दाको सुनवाइ गर्दै धनुषा जिल्ला अदालतका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले पूर्वसांसद सञ्जयसहित २ जनालाई जन्मकैदको सजाय सुनाएको हो ।

अदालतले हत्यामा संलग्न रहेको भन्दै मनक लामालाई पनि जन्मकैदको सजाय सुनाएको छ । सञ्जयले भनेपछि आफूले सिंघानियाको हत्या गरेको अदालत समक्ष बयान दिएका थिए । साह नख्खु कारागारमा छन् भने लामा पुर्पक्षका लागि महोत्तरीको जलेश्वर कारागारमा छन् ।

रेशम चौधरी, सांसद

अदालतसामू आत्मसमर्पण गरेका टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरी पनि २०७४ फागुन १४ गते पूर्पक्षका लागि जेल चलान भए । हाल उनी उपचारको क्रममा वीर अस्पतालमा छन् ।

टीकापुर घटनापछि फरार चौधरीले अदालतसामू आत्मसमर्पण गरेका हुन् । लगतै न्यायाधीश परशुराम भट्टराईको इजलासले भएको बयानमा चौधरीले आफूमाथि लागेको अभियोग अस्वीकार गरेका थिए ।

रमेशचन्द ठकुरी, पूर्वआईजीपी

त्यसैगरी बिहीबार मात्र अदालत परिसरका पुगेर आत्मसमपर्ण गरेका रमेशचन्द्र ठकुरीलाई पनि विशेष अदालतले भ्रष्टचारी ठहर गर्दै २ वर्ष कैद र ४ करोड ८५ लाख ४४ हजार ३ सय ८८ रुपैयाँ असुल गर्न निर्देशन दिएको थियो ।

तर सर्वोच्च अदालतले विशेषको सो निर्णय उल्ट्याई ठकुरीलाई पनि १ वर्ष कैद र जम्मा ४० हजार जरिवाना गराउने फैसला गरेको हो ।

रामचन्द्र प्यासी कुशवाहा, पूर्वसांसद

तत्कालिन नेकपा एमालेका नेता महमुद आलमको हत्या अभियोगमा एमालेकै पूर्वसभासद रामचन्द्र प्यासी कुशवाहा पनि केन्द्रीय कारागारमा जेल सजाय भोगिरहेका छन् । कुशवाहालाई उच्च अदालत वीरगन्जले जन्मकैदको फैसला सुनाएको हो ।

तत्कालिन एमालेका केन्द्रीय सदस्य समेत रहेका आलमको हत्यामा उनको संलग्नता रहेको भन्दै जिल्ला अदालत बाराले उनलाई १० वर्षको जेल सजाय सुनाएको थियो ।

अदालतको फैसला बमोजिम २०७३ वैशाख १५ गतेदेखि जेल सजाय काटिरहेका प्यासीलाई उच्च अदालत वीरगन्जले मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३ (४) बमोजिम फैसला सुनाएको हो । उक्त महलको १३ (४) मा जन्मकैदको व्यवस्था रहेको छ ।

प्यासी तत्कालिन एमालेका पूर्वसमानुपातिक सभासद हुन् । उम्मेदवारका आकांक्षी प्यासीले टिकट नपाएपछि आलम हत्याको योजना बुनेको बताइएको छ । आलमको २०७० असोज १८ गते हत्या भएको थियो ।

केशवराज कार्की, कर्णेल, नेपाल आर्मी

तत्कालिन नेपाली सेनाका प्रमुख सेनानी केशवराज कार्की पनि भ्रष्टाचारको अभियोगमा सुन्धारा कारागारमा जेलजीवन बिताइरहेका छन् ।

कार्कीलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट बर्खास्त गरेर पुर्पक्षका लागि जेठ ११ गते तीन महिना सुन्धारा कारागार पठाइएको हो ।

उनलाई गण र राष्ट्रपति चुरे तराई–मधेस संरक्षण कार्यक्रमको रकम अनियमितता गरेको रकम बराबरको ४९ लाख २९ हजार ८८ हजार रुपैयाँ बिगो भराउनसमेत आदेश दिइएको छ ।

कार्कीले सरकारी रकम हिनामिना गरी सैनिक अनुशासन र आचरणविपरीत कार्य गरेकामा २०७६ वैशाखमा गठित समरी सैनिक जनरल अदालतले दोषी ठहर गरेको थियो ।

जेलजीवन भोगेर निस्किएका पूर्वभीआईपीहरु

विगतमा नेपालमा विभिन्न आपराधिक क्रियाकलापमा संलग्नहरु पनि सभासद बनेका थिए । पहिलो संविधानसभामा रौतहट क्षेत्र नम्बर १ बाट स्वतन्त्ररुपमा जितेका बबन सिंहले व्यापारी राजेश क्यालको हत्याका मुख्य नाइके भएको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।

सद्भावना पार्टीका नेता श्यामसुन्दर गुप्ता व्यापारी पवन संघाइको अपहरण गरेको अभियोगमा जेल चलान भए । पूर्वआपूर्तिमन्त्रीसमेत रहेका गुप्तालाई छोराको बिहेकै दिन प्रहरीले पक्राउ गरी जेल चलान गरेको थियो ।

त्यस्तै, कांग्रेसबाट राजनीति सुरु गरेका जयप्रकाश गुप्ता (जेपी गुप्ता) मधेश आन्दोलनपछि राष्ट्रिय राजनीतिमा उदाएका नेता हुन् । तर, उनी भ्रष्टाचारी मुद्दामा चेल चलान भए । नेपालको इतिहासमै बहालवालामन्त्री जेल चलान हुनेमा उनी पहिलो हुन् ।  जतिबेला गुप्ता सूचना तथा सञ्चार मन्त्री थिए ।

भ्रष्टाचारी मुद्दामा जेल चलान हुनेमा कांग्रेस नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्का र चिरञ्जीवी वाग्ले, गोविन्दराज जोशी पनि हुन् । सर्वोच्च अदालतद्वारा ओखलढुंगाका उज्जन श्रेष्ठको हत्यासम्बन्धी मुद्दामा सर्वस्वहित जन्मकैदको फैसला सुनाइएका पूर्वसांसद बालकृष्ण ढुंगेल जेल पनि चलान भएका थिए । हाल उनीहरु सबै रिहा भइसके ।

यस्तै आर्थिक अनियमितता गरेको भन्दै २०७४ असार ८ गते पूर्वआईजीपी ओमविक्रम राणा, पूर्वएआईजी दीपकसिंह थाङ्देन र पूर्वडीआईजी दीपक श्रेष्ठ पनि जेलजीवन बिताएर रिहा भइसकेका छन् ।

ओमविक्रम राणा, पूर्वआईजीपी

पूर्व प्रहरी प्रमुख ओमविक्रम राणालाई १ वर्ष कैद र ५० हजार जरिवानाको फैसला सुनाइएको थियो ।

विशेष अदालतले पूर्वप्रहरी महानिरीक्षक ओमविक्रम राणालाई दुई वर्ष कैद गर्ने फैसला सुनाएकोमा त्यसलाई सर्वोच्चले एक वर्ष मात्रै कैद गर्ने फैसला गरेको हो ।

विशेषले राणाबाट १७ करोड ६ लाख ८ सय २४ रूपैयाँ जरिवाना हुने फैसला गरेकामा आश्चर्यजनक रूपमा सर्वोच्च अदालतले जम्मा ५० हजार मात्रै जरिवाना गराउने फैसला गरेको हो ।

हेम गुरुङ, पूर्वआईजीपी

पूर्वआईजीपी ओमविक्रम राणासँगै जेल चलान भएका हुन् हेम गुरुङ । अदालत परिसरमा आत्मसमर्पण गरेका गुरुङलाई अदालतको अदोश बमोजिम जेल चलान गरिएको थियो ।

पूर्वप्रहरी प्रमुख गुरुङलाई पनि दुई वर्ष कैद तोक्ने विशेष अदालतको फैसलालाई सर्वोच्चले आधा घटाइदिएर १ वर्ष मात्रै कायम गर्यो । गुरुङबाट ६ करोड ४८ लाख ७० हजार ७ सय ९२ रुपैयाँ जरिवाना गराउने निर्णय गरेकामा सर्वोच्च अदालतले भने जम्मा ४० हजार रुपैयाँ मात्रै तिराउने फैसला सुनाएको हो ।

श्यामसिंह थापा, पूर्वएआईजी

सुडान घोटला प्रकरणमा पूर्वएआईजी श्याम सिंह थापा र पूर्वडीआईजी दिपक श्रेष्ठ पनि डिल्लीबजार कारागारमा थिए । उनीहरुलाई जनही एक वर्ष कैद र ४० हजार जरीवाना गराउने निर्णय भएको थियो ।

फरार छन् महन्त बैकुण्ठ दास

जनकपुरस्थित रत्नसागर मन्दिरका महन्त बैकुण्ठ दासलाई अदालतले १२ वर्ष जेल सजाय सुनाएको छ । जिल्ला शिक्षा कार्यालय महोत्तरीका तत्कालीन शाखा अधिकृत लाल झाको कर्तव्य ज्यान मुद्दामा आरोपी उनलाई असार १८ गते उच्च अदालत जनकपुरले १२ वर्षको सजाय सुनाएको हो ।

मुख्य न्यायाधीश हरिकुमार पोखरेल र न्यायाधीश बालकृष्ण उप्रेतीको संयुक्त इजलासले जिल्ला अदालतको फैसलालाई उल्टाउँदै महन्त दासलाई १२ वर्षको जेल सजाय सुनाएको हो ।

जनकपुरधाम वडा नम्बर ८ स्थित नीजि निवासबाट मोटरसाइकलमा जलेश्वरका लागि हिँडेका झाको २०६७ कात्तिक ११ गते गोली प्रहार गरी हत्या भएको थियो ।

उच्च अदालतले आदेश दिएसँगै उनी हालसम्म फरार छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप