शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सुरक्षा निकायको दबाबपछि बोलिभियाका राष्ट्रपति इभो मोरालेजले दिए राजीनामा, मेक्सिकोद्वारा शरण दिने प्रस्ताव

भेनेजुयला र क्युवाले दियो ‘कू’ को संज्ञा
सोमबार, २५ कात्तिक २०७६, ०९ : ३२
सोमबार, २५ कात्तिक २०७६

एजेन्सी । बोलिभियाका राष्ट्रपति इभो मोरालेजले आफ्नो पदबाट राजीनामा दिएका छन् । टेलिभिजनमा देशवासीको नाममा सम्बोधन गर्दै मोरालेजले राजीनामा दिएका हुन् ।

भर्खरै सम्पन्न राष्ट्रपतिय निर्वाचनमा मोरालेजले झिनो मतले जीत हासिल गरेका थिए । तर विपक्षीहरुले निर्वाचनको मतगणनाको क्रममा व्यापक धाँधली भएको आरोप लगाउँदै देशव्यापी प्रदर्शन सुरु गरेका थिए । 

आइतबार अन्तर्राष्ट्रिय निगरानी समूहहरुले अक्टोवर २० मा सम्पन्न निर्वाचनमा ‘धाँधली’ यथेष्ट प्रमाण भएकाले निर्वाचन परिणाम रद्द गर्न माग गरेको थियो ।

तर, मोरालेजको राजीनामा देशको सेना र प्रहरी प्रमुखको दबाबपछि आएको हो ।

बोलिभियाको सेना प्रमुख विलियम कलिम्यानले मोरालेजलाई ‘बोलिभियाको भलाइ तथा शान्ती तथा व्यवास्था कायम गर्न राष्ट्रपति पदबाट राजीनामा’ दिन आह्वान गरेका थिए । त्यसको केही पछि नै मोरालेजले राजीनामा दिएका हुन् ।

निर्वाचन परिणाममा धाँधली भएको भन्दै विपक्षीहरुले गरेको प्रदर्शनहरुमा प्रहरी र प्रदर्शनकारी दुवैतर्फबाट हिंसा प्रयोग भएको देखिएको थियो ।

टेलिभिजन सम्बोधनमा मोरालेजले प्रदर्शनकारीलाई ‘दाजुभाइ र दिदीबहिनीमाथि आक्रमण रोक्न र आगजनी–तोडफोड रोक्न आह्वान गरेका थिए ।

मोरालेजसँगै उप–राष्ट्रपति अल्भारो गार्सिया लिनेरा र सिनेटका अध्यक्ष एड्रियाना साल्भाटिएराले पनि राजीनामा दिएका छन् ।

मोरालेजको राजीनामा दिएपछि प्रदर्शनकारीले सकडमा खुसीयाली मनाएको देखिएको थियो ।

मोरालेजले राजीनामा दिएपछि विपक्षी नेता कार्लोस मेसाले प्रदर्शनकारीहरुलाई बधाइ दिएका छन् । अघिल्लो महिना भएको राष्ट्रपति निर्वाचनमा दोस्रो स्थानमा रहेका कार्लोसले प्रदर्शनकारीलाई तिनको ‘शान्तीपूर्ण प्रतिरोध’को लागि धन्यवाद दिए ।

उता दक्षिण अमेरिकी राष्ट्रहरु भेनेजुयला र क्युवाले बोलिभियाको पछिल्लो घटनाक्रमलाई ‘कू’ भनेका छन् । ती दुई देशका वामपन्थी सरकारले विगतदेखि नै मोरोलेजको सरकारप्रति समर्थन जनाउँदै आएका थिए ।

ल्याटिन अमेरिकाको अर्को वामपन्थी भएको मेक्सिकोले मोरालेजले चाहेमा आफूहरु राजनीतिक शरण दिन तयार रहेको बताएको छ ।

विदेश मन्त्रालयका सेक्रेटरी मार्सेलो एब्रर्डले ट्वीट गर्दै बोलिभियाली सरकार र संसदका २० सदस्य अहिले नै बोलिभियास्थित मेक्सिको दूतावासमा शरण लिइरहेको जानकारी दिए ।

को हुन् मोरालेज ?

मोरालेज बोलिभियाको आदीवासी समुदायबाट राष्ट्रपति हुने पहिलो व्यक्ति हुन् । उनी सन् २००६ यता निरन्तर राष्ट्रपति रहँदै आएका थिए । उनकै प्रयासमा बनेको नयाँ संविधानले राष्ट्रपतिको कार्यकाल सिमित गर्ने व्यवस्था गरेको थियो ।

मोरालेजले राष्ट्रपतिको कार्यकालमाथि लगाइएको संवैधानिक नियन्त्रण हटाउन माग गर्दै जनमतसंग्रह गराएका थिए । त्यसमा बहुसंख्यक जनताले कार्यकालको सीमा हटाउन नहुने पक्षमा मत दिए ।

जनमतसंग्रहमा हारेपछि मोरालेजको पार्टीले त्यस विषयलाई संवैधानिक अदालतमा लग्यो । अदालतले राष्ट्रपति कार्यकाल पूर्णत रद्द गरेपछि उनी चौथो पटकको लागि अघिल्लो पटक निर्वाचनमा उठेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप