शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अकर्मण्य सरकारको मारमा

आइतबार, ०७ भदौ २०७७, १२ : २३
आइतबार, ०७ भदौ २०७७

संसार कोभिड–१९ ले ग्रसित छ । महामारी फैलिँदो छ । धनजनको क्षति आकलन गर्न मुस्किल पर्ने दिन नआउला भन्न सकिन्न । विश्व भ्याक्सिन निकाल्ने प्रतिस्पर्धामा छ । जनातालाई यो महामारीबाट कसरी उन्मुक्ति दिने भन्ने कुरामा विश्व चिन्तित छ । प्रयाजसो हरेक राष्ट्रले महामारीबाट जुध्दै प्रथम, दोस्रो र तेस्रो चरणको कार्यक्रम बनाउँदै रोगलाई नियन्त्रणमा लिँदै छन् । प्रायजसो राष्ट्रले पूर्ण रूपमा पूर्वतयारी गरी लक डाउन खुकुलो पार्दा जनताले राहतको सास त फेरे नै महामारी नियन्त्रणमा सघाउ पनि पुग्यो ।

नेपालको सन्दर्भमा करिब चार महिना जनताले धैर्यताका साथ पूर्ण रूपमा सरकारलाई सहयोग गरे । जनताको शालीनतामा सरकार दृष्टिभ्रममा प¥यो । आफूले जे गर्दा पनि हुन्छ भन्ने मानसिकताबाट सरकार ग्रसित हुन पुग्यो । जनताले समाजिक सञ्जाल पत्रपत्रिका वा टिभी रेडियोबाट दिइएका प्रतिक्रियालाई सरकारका प्रमुख जिम्मेवार मन्त्री र सचिवहरुबाट नै जनताको आँखामा मोतिविन्दु भयो, मतिभ्रष्ट भयो भन्ने जस्ता गैरजिम्मेवारी पूर्ण ढङ्गबाट प्रस्तुत भए । यति मात्र होइन अर्बांैअर्ब रुपियाँको भ्रष्टाचारको कुरा उठाउँदा महामारी नियन्त्रण भएपछि हिसाब किताब गरौँला भन्दै सरकारबाट जबाफ आयो । चार महिनासम्म कुनै योजना आएन । निरन्तर हुँदै गएको लकडाउनको जनताले विरोध गरे र बिना तयारी खुलाइएको लकडाउन अहिले महँगो सावित हुँदै छ । सम्पूर्ण जिम्मा लिएर बसेको सङ्घीय सरकार प्रदेश र स्थानीय सरकारलाई दोष दिँदै आफ्नो गुट र पद जोगाउन लागेको प्रष्ट देख्न सकिन्छ ।

विश्वको करीब सम्पूर्ण राष्ट्रमा यो महामारी फैलिइसक्यो । २१३ राष्ट्रमा धेरै वा थोरै मानिसहरुको मृत्यृ भइसकेको छ । के धनी के गरिब यो रोगले कसैलाई छाडेको छैन । हुन त यो रोगको औषधि छैन तर उपचार भने पक्कै छ । विश्वको शक्ति शाली राष्ट्र अमेरिका, रसिया, चीन, जापान, बेलायत जस्ता राष्ट्रहरु समेत आतिइसकेका थिए । तर सरकार एवम् सरकार प्रमुखहरूमा राष्ट्रप्रतिको माया, जिम्मेवारी बोध, जनताप्रति शासक होइन सेवक भन्ने मनोभावना र मानवीय संवेदनशीलताका कारणले जनताद्वारा सरकारप्रति भरोसा प्राप्त मात्र होइन पूर्ण विश्वसका कारण जनताको आत्मबल बढेकाले यो महामारीलाई विस्तारै कम गर्न सफल भएका छन् धेरै राष्ट्रहरु ।

जनतालाई स्वाथ्य सेवा दिनुपर्ने हाम्रो सरकारका जिम्मेवार पदाकारीहरु नै यो रोगको उपचार छैन । भेन्टिलेटरको आवश्यकता छैन । औषधि छैन भन्ने जस्ता गैरजिम्मेवार ढङ्गबाट प्रस्तुत हुँदा जनताले कस्तो प्रकारको स्वाथ्य सेवाको अपेक्षा गर्ने ? सङ्कटको बेलामा नै व्यक्ति, अविभावक वा सरकारको पहिचान हुन्छ भने जस्तै हाम्रो सरकारको पहिचान भइसक्यो वा हुन बाँकी यो समयले देखाउला जनताले दुई महिना कर नतिर्दा टाट पल्टिन खोज्ने राष्ट्र भनौँ वा रेमिटेन्स आउन बन्द हुँदा हालत के हुन्छ ? वैदेशिक सहयोग त धेरै कटौती भइसक्यो । कोभिड–१९ नियन्त्रण होइन उचित कार्यक्रमद्वारा रोकथाम गर्न नसक्ने सरकारले आउँदो दिनका चुनौती सामाना गर्न सक्ला भन्ने कल्पना गर्न सकिएला र ? हो आफ्नो ढङ्ग थिएन भने अन्य राष्ट्रहरूले गरेको राम्रो कार्यको नक्कल गरेर भए पनि कार्यक्रम बनाउन सक्नुपर्ने थियो ।

छिमेकी राष्ट्र चीनबाट सुरु भएको यो महामारी भुसको ओगोझैँ विश्वभरी फैलियो । कति देशले त यो रोगबारे सोच्ने मौकासमेत पाएनन् । तर पनि मानवीय क्षेति जति हुनुपर्ने हो त्यति हुन दिएनन् । रोगसँग लड्न सक्छु भन्ने आत्मविश्वासका साथै जिम्मेवारी बोधका कारणले गर्दा सफलता प्राप्त गरे । तर दुर्भाग्य हामीले करिब आधा वर्षको समय तयारीलाई पाउँदा पाउँदै सोच्नसम्म पनि सोचिएन । जब होस खुल्यो तब ढिला भई सक्यो ।

यस महामारीले हालसम्म करिब आठ लाख मानिसको ज्यान लिइसक्यो । अहिले सङ्क्रमित करिब पैसठ्ठी लाख छन् भने निको भएकाहरु करिब एक करोड एकतीस लाख छन् । जसमा कोभिड—१९ लागेका मध्ये ३.५ प्रैतिशत मृत्यु भए भने ६७.७६ प्रतिशतले पूर्ण स्वास्थ्य लाभ गरेका छन् । शक्ति सम्पन्न राष्ट्रहरु जति पीडित छन् त्यति नै साना र गरिब राष्ट्रहरु झन् पीडित हुन पुगेका छन् । जुन राष्ट्रले यस महामारीबाट बच्नकाँ लागि एउटै प्रतिबद्धता व्यक्त गरे– “यो महामारीसँग लडन र नियन्त्रण गर्न सकिन्छ” । ठूलो आत्माबलका साथ अघि बढे ती राष्ट्रहरू । महामारी नियन्त्रण गर्ने प्रमुख राष्ट्रमा न्युजिल्यान्ड पर्छ । त्यसपछि आइसल्यान्ड, ताइवान र अस्ट्रेलियाको नाम आउँछ । त्यसैगरी सफलता प्राप्त गर्दै गर्दा पूर्ण तयारीपूर्वक लकडाउन खोलिएका देशहरुमा नर्वे, उरुग्वे, स्विजरल्यान्ड, दक्षिण कोरिया र जर्मनी यसका उदाहरण हुन् । भियतनाम हालमा सफलता उन्मुख राष्ट्रमा पर्छ । उसको सरकारले कठोर रूपमा ट्रेसिङ, ट्याकिङ र टेस्टिङ सुरु ग¥यो र तुरुन्त लकडाउन भरीपूर्ण तयारीका साथ कार्यक्रमहरु ल्यायो । भियतनामलाई यो महामारी रोगथामका लागि उसले २००३ मा सार्स सन् २००४ देखि २०१० सम्म एभियन इन्फ्लुएन्जासँग लडिसकेका अनुभव हुँदा यो महामारीसँग लड्न सजिलो भयो । अहिलेसम्म भियतनाममा ९९४ केसमा २५ जनाको मृत्यु भयो । ५३३ पूर्ण स्वथ्य भए भने ४३६ उपचाररत छन् । त्यसैगरी मलेसियामा १२५ को मृत्यु भएको छ । धेरै राष्ट्रले यस महामारीलाई नियन्त्रणमा लिँदै छन् ।

भारतको स्वाथ्य मन्त्रलयले निकालेको तथ्याङ्क अनुसार यो महामारीले भारतमा १४ वर्ष मुनिका ३५ प्रतिशत १५–२९ वर्षसम्म १८ प्रतिशत ३०–४४ वर्षसम्म २२ प्रतिशत ४५–५९ वर्षसम्म १५ प्रतिशत ६०–७४ वर्षसम्म ८ प्रतिशत र ७५ वर्षभन्दा माथि २ प्रतिशत पीडित भएका उल्लेख गरेको छ । यसबाट के प्रष्ट हुन्छ भने बच्चा र युवा जसको रोग प्रतिरोधात्मक शक्ति बढी हुन्छ उनीहरु नै बढी पीडित भएको देखिन्छ । ४३ प्रतिशत मृत्यृ ३०–५९ वर्षका रहेका छन् ।

नेपालको सन्दर्भमा बिना तयारी लकडाउन खुलाउँदा स्थिति भयाभहतर्फ लम्किरहेको छ । तर पनि नियन्त्रणका उपायहरू सही ढङ्गले अपनाउने हो भने नोक्सान कम गर्न सकिन्छ । जनतालाई सरकार यसको नियन्त्रणमा निरन्तर लागिरहेको छ भन्ने प्रत्याभूति हुनुप¥यो । यो अवस्थामा शान्ति सुरक्षमा विशेष ध्यान दिनुपर्ने हुन्छ । ट्रेसिङ, ट्याकिङ र टेस्टिङ बढाउनु प-यो । अझ भन्नु पर्दा निःशुल्क एवम् सस्तो दरमा परीक्षण गर्न पाउने सुविधा उपलब्ध गराउनु प¥यो । गरिब तथा निमुखालाई खानाको व्यवस्था, आइसोलेसन बेडहरु आवश्यक सङ्ख्यामा तयार गर्नु प-यो ।

सरकार अहिले पनि स्वाथ्य क्षेत्रमा कारबाहीको धम्की दिँदैछ । सरकार निजी क्षेत्रका अस्पातलहरुको प्रयोगका लागि सहजकर्ता हुनु पर्ने र निजी क्षेत्रले पनि सहयोगीको भूमिका निर्वाह गर्नुपर्छ । उपत्यकाको हकमा पाटन अस्पताल, भक्तपुर अस्पताल, वीर अस्पताल र टिचिङ अस्पताललाई तुरुन्त कोराना अस्पातल घोषणा गरी उपचार सुरु गर्नु पर्छ । सर्वसाधरणलाई अन्य उपचारका लागि निजी अस्पताल पठाइयोस् जाहाँ सरकारले केही हदसम्म निजी अस्पताललाई र निजी अस्पताले केही हदसम्म सरकार एवं जनतालाई सहयोग गर्ने वातावरण बनोस् । निजी अस्पातलमा सरकारी सरह सुविधा पाउने व्यवस्था सरकारले गर्न सक्यो भने कोही बिरामी वा एउटा कोठामा गुजारा गर्ने व्यक्तिले महामारी फैलाउने अवस्था रहँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुरेन्द्र केसी
सुरेन्द्र केसी
लेखकबाट थप