शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
नाउपा विवाद

नाउपामा थप चर्कियो विवाद, संसदीय दलको नेता दुई जना !

बिहीबार, २० वैशाख २०८१, २२ : ५३
बिहीबार, २० वैशाख २०८१

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमलाल चौधरीले पार्टी एक ढिक्का रहेको प्रचारबाजी गरे पनि सुदूरपश्चिममा भने विवाद झन् उग्र बनेको छ ।

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिन गइरहेका छन् । त्यसको पूर्व सन्ध्यामा नाउपाका सांसदहरू पुरानै कित्तामा उभिएपछि विवादको स्तर वारपारको अवस्थामा पुगेको हो ।

बिहीबार नाउपा संसदीय दलको बैठक संसदीय दलको कार्यालयमा बोलाइएको थियो । तर रेशमलाल पक्ष मानिने घनश्याम चौधरी, लक्ष्मणकिशोर चौधरी, खुशीराम चौधरी, रामेश्वर चौधरी र इन्दिरा गिरी सहभागी भइन् । तर रञ्जिता पक्षीय मानिने भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरी र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापा सहभागी भएनन् ।

रेशमलाल पक्ष मानिने सांसदहरू विश्वासको मत नदिने पक्षमा देखिएको नाउपाका एक नेताले बताए । तर मुख्यमन्त्रीलाई विश्वासको मत दिने वा नदिने निर्णय शुक्रबार मात्रै गर्ने रेशम पक्ष मानिने दलको नेता घनश्याम चौधरीको भनाइ छ ।

नाउपाभित्र हाल संसदीय दलको नेता को ? भन्ने विवाद चर्किएको छ । नाउपा संसदीय दलको विधानअनुसार दलका नेता घनश्याम चौधरी हुन् । तर नाउपाको विवादका बिच पार्टी अध्यक्ष श्रेष्ठले भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरीलाई दलको नेता तोकेपछि सांसदहरू विभाजित भएका हुन् । 

भौतिक पूर्वाधार विकास मन्त्री चौधरी भन्छन्, ‘हामी केन्द्र र प्रदेशमा पनि सरकारमै छौ । उहाँहरू जिम्मेवार व्यक्ति हो । पार्टीभन्दा बाहिर कोही पनि छैन ।’

विश्वासको मतको लागि पार्टीको केन्द्रबाटै ह्विप जारी हुने पनि उनको भनाइ छ । एकीकृत समाजवादीका मुख्यमन्त्री सोडारीले नाउपा, एमाले र माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । नाउपाको ७ जना सांसद मध्ये कैलाश र टीका थापाले खुलेर समर्थन गरेका थिए । बाँकी ५ जना मुख्यमन्त्री सोडारीको विपक्ष देखिएका छन् ।

यसै विवादका बिच मुख्यमन्त्री सोडारीले विश्वासको मत लिदै गर्दा संसदमा भने नाउपाको दुई थरी चित्र देखिने भएको छ । सो पार्टीमा दुई जना सत्ता पक्षको बेन्चमा देखिने र बाँकी ५ जना प्रतिपक्षको बेन्चमा देखिने स्थिति आउने देखिएको छ । संसदीय अभ्यासअनुसार अन्ततः विवाद किनारा नलागे नाउपा फुटको सँघारमा गएको स्पष्ट हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप