शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

हालसम्मकै ठूलो आईपीओले पायो स्वीकृति, सबैले सेयर पाउने !

एकजनाको भागमा कति पर्ला ?
सोमबार, १३ पुस २०७७, ०९ : ३४
सोमबार, १३ पुस २०७७

काठमाडौं । नेपालमा जारी भएकामध्ये हालसम्मकै ठूलो आईपीओलाई धितोपत्र बोर्डले स्वीकृति दिएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क (निफ्रा) ले प्रस्ताव गरेको ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण सेयर निष्कासन गर्न बोडले शुक्रबार अन्तिम स्वीकृति दिएको हो । इन्फास्ट्रक्चर बैङ्कले मंसिर ८ गते मात्रै धितोपत्र बोर्डमा आईपीओ स्वीकृतिका लागि निवेदन दिएको थियो । बोर्डले १ महिनामै सबै प्रक्रिया पूरा गरेर बैङ्कलाई यस्तो अनुमति दिएको हो ।

२० अर्ब जारी पुँजी रहेको इन्फ्रास्ट्रक्चर बैङ्कसँग हाल १२ अर्ब रुपैयाँ मात्रै चुक्ता पुँजी छ । उक्त चुक्ता पुँजीलाई जारी पुँजी बराबर पुर्याउन निफ्राले ८ अर्बको आईपीओ निष्कासन गर्न लागेको हो । यसो हुँदा बैङ्कको चुक्ता पुँजीको ४० प्रतिशत पुँजी साधारण सेयरबाट जुट्नेछ ।

नेपाल राष्ट्र बैङ्कको नियमानुसार बैङ्क तथा वित्तीय संस्थाले चुक्ता पुँजीको कम्तीमा ३० प्रतिशत आईपीओ जारी गर्नैपर्ने व्यवस्था गरेको छ । उता, कम्पनी ऐनले बढीमा ४९ प्रतिशत सेयर जारी गर्न पाउने व्यवस्था गरेकोमा बैङ्क तथा वित्तीय संस्थाले ३० देखि ४९ प्रतिशतसम्म आईपीओ जारी गर्न पाउँछन् । निफ्राले ४० प्रतिशत आईपीओ जारी गर्न लागेको हो ।

हाल पूर्ण रुपमा सरकारी स्वामित्वको संस्था बाहेक राष्ट्र बैङ्कबाट अनुमति प्राप्त गरेका सबै बैङ्क तथा वित्तीय संस्थाले आईपीओ जारी गर्नै पर्ने व्यवस्था छ । आईपीओ जारी नगरिकन बैङ्क तथा वित्तीय संस्थाले सेयरधनीहरुलाई लाभांश बाँड्न पाउँदैन । यो आईपीओ आएपछि बैङ्कलाई लाभांश वितरण गर्ने बाटो खुला हुनेछ ।

सबैले पाउने अर्को एउटा आईपीओ

धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ लागु हुनुअघिसम्म सबै आवेदकले आईपीओ प्राप्त गरेका उदाहरण सीमित मात्रै थिए । सबैभन्दा पहिले जलविद्युत् लगानी तथा विकास कम्पनीको आईपीओ सबै सेयरधनीेले पाएका थिए ।

त्योबेला ठूला र साना लगानीकर्ताका लागि बाँडफाँटसम्बन्धी छुट्टाछुट्टै व्यवस्था थिए । ५० वा सोभन्दा कम आवेदन गर्नेलाई साना र ५० हजारभन्दा धेरै आवेदन गर्नेलाई ठूला लगानीकर्ताको सूचीमा राखिन्थ्यो । सोही अनुसार आईपीओको बाँडफाँट हुन्थ्यो । 

तर, नियमावली लागु भएपछि १० कित्ताले पुग्ने हदसम्म सबैलाई बराबर कित्ता सेयर वितरण गर्नुपर्ने व्यवस्था आयो । यसपछि सबैले सेयर पाउने अवस्था बन्यो । तर, यो नियमावलीपछि प्राथमिक बजारमा यति धेरै आकर्षण देखियो कि २ अर्ब पुँजी भएका बीमा कम्पनीका सेयरहरु समेत आधाले पनि नपाउने अवस्था देखापर्यो ।

हाल प्राथमिक बजारमा सहभागिताका लागि डिम्याट खाता खोल्नेको संख्या मात्रै हालसम्म २३ लाख भन्दा काथि पुगिसकेको छ । त्यसमध्ये १० लाखभन्दा बढीले आईपीओमा सहभागिता देखाउन थालेको छन् । यो संख्या निरन्तर बढ्दै गएको समेत छ । प्रभु लाइफ इन्स्योरेन्सको आईपीओमा ५४ लाख कित्ताको आवेदनका लागि १० लाख भन्दा बढीको आवेदन परेको थियो । त्यसमा आधा आवेदकको हात खाली रह्यो ।

यो अवधिमा आईपीओ जारी भएका धेरै कम्पनीमा आवेदन गर्ने सबैले सेयर पाएको उदाहरण छ । सेयर बजार घटेर हाइड्रोपावरको मूल्य अंकित मूल्यभन्दा पनि तल रहँदा हाइड्रो क्षेत्रका आईपीओ बिक्री नै नहुने अवस्थामा समेत पुगेको थियो । त्यसैले सबै आवेदकले सेयर पाएको उदाहरण नौलो होइन, तर पछिल्लो समयमा यो असम्भवप्रायः भइसकेको छ ।

त्यसो त, हाइड्रोबाहेक अरु क्षेत्रको सेयरमा आवेदन गर्नेमध्ये सीमितमा मात्रै सबैलाई सेयर परेको अवस्था छ । यसअघि नेपाल पुनर्बीमा कम्पनी, एनआईशी एशिया लघुवित्त लगायत केही कम्पनीको सेयर मात्रै सबैले पाएका थिए । हाइड्रो क्षेत्रमा भने अपर तामाकोशी, रसुवागढी, साञ्जेन तथा अन्य केही कम्पनीको सेयर सबैले पाउने अवस्था थियो ।

इन्फ्रास्ट्रक्चर बैङ्कको सेयर सबै आवेदकले पाउने अर्को एउटा सेयर हो । प्राथमिक बजारमा खोलिएको डिम्याट खाता संख्या र हालसम्मको आवेदक हेर्दा यो निश्चित भएको हो ।

आइतबारसम्म अहिले डिम्याट खाता खोल्नेको कुल संख्या २३ लाख ११ हजार रहेको छ । त्यस्तै, हालसम्म सबैभन्दा बढी १० लाख ४४ हजार जना आवेदकले एउटै आईपीओका लागि आवेदन दिएका छन् । यी दुवै हिसाबले हेर्दा निफ्राको यो सेयर सबै आवेदकले पाउने निश्चितप्रायः देखिन्छ ।

कुल ८ अर्बको निफ्राको सेयरमध्ये केही सामूहिक लगानी कोष र केही कर्मचारीलाई छुट्याउँदा पनि ७० लाख भन्दा बढी आवेदकलाई यो सेयर बाँडफाँट गर्न पुग्छ । तर, हालसम्म १० लाख आवेदकको मात्रै इतिहास छ । अबको केही दिनमै यो संख्या ७० लाख नाघ्ने अनुमान गर्न सकिँदैन । त्यसैले यसमा स्वीकृत आवेदक सबैले सेयर पाउने देखिएको हो ।

एकजनाको भागमा कति पर्ला ?

यो सेयरका लागि एउटा आवेदकले अधिकतम कति कित्ता सेयर पाउला भन्ने चासो पनि बजारमा छ । यसलाई २ वटा विषयले फरक पार्छ । पहिलो, आवेदकको संख्या र दोस्रो आवेदकले दिने आवेदन ।

केही दिनअघि खुलेको प्रभु लाइफको सेयरमा १० लाख ४४ हजारको आवेदन पर्यो । जबकी यो सेयर ५ लाख ५४ हजारलाई मात्रै बाँडफँछ गर्न पुग्थ्यो । यसको अर्थ सेयर पर्ने वा नपर्ने निश्चित नभएको सेयरमा समेत सर्वसाधारणको यति धेरै चासो थियो भने यसमा नहुने कुरै भएन । अर्कोतिर, निफ्राको सेयर भर्नकै लागि डिम्याट खाता खोल्नेको संख्या पनि निकै थपिन सक्छ । यसले गर्दा आवेदकको संख्या कम्तीमा १२ लाख हाराहारीमा पुग्ने देखिन्छ ।

अर्कोतिर, अहिले सेयर भर्नेहरुमध्ये धेरैमा ‘सेयर भर्ने भनेकै १० कित्ता हो’ भन्ने मानसिकता छ । यसले गर्दा धेरै सेयर पर्ने सम्भावना हुँदाहुँदै पनि कतिपयले १० कित्ता सेयर मात्रै भरिदिने सम्भावना छ । कतिपयलाई भने बैङ्कमा पैसा नै नभएर पनि थोरै सेयरका लागि आवेदन गर्नुपर्ने अवस्था समेत छ ।

यदि सबै आवेदकले आफूलाई पर्नसक्ने सेयरको अनुमान गरेर अधिकतम सेयरका लागि आवेदक दिएको अवस्थामा एउटा आवेदकले ६० देखि ७० कित्तासम्म पाउने अवस्था रहन्छ । तर, ‘१० कित्ते प्रभाव’ देखियो भने यसमा धेरै आवेदन गर्ने लगानीकर्ता थप लाभान्वित हुनेछन् ।

निफ्राको सम्भावित बजारमूल्य

निफ्राको सेयरलाई धितोपत्र बोर्डले बैंकिङ क्षेत्रमा राखेको छ । अर्थात्, हालसम्म सो क्षेत्रमा २६ वटा वाणिज्य बैङ्कमात्रै रहेकोमा यो २७ औं कम्पनी बन्नेछ । बैंकिङ क्षेत्रका कम्पनीको सेयर मूल्यबीच ठूलो अन्तर देखिएकोले क्षेत्रकै आधारमा मूल्यको अनुमान गर्न नसके पनि बैंकिङ क्षेत्रमा यही कम्पनीको पर्फमेन्स दिने बैङ्कको सेयरसँग यसको तुलना गर्न भने सकिन्छ ।

यो बैङ्कले असार मसान्तसम्म २५ करोड रुपैयाँ मात्रै निक्षेप संकलन गरेको छ भने ५० करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । यो अवधिमा अन्य लगानीबापत बैङ्कले ८४ करोड ७१ लाख रुपैयाँ प्रतिसेयर आम्दानी गरेको थियो । यो ७.०६ प्रतिशत हो । बैङ्कको प्रतिसेयर नेटवर्थ १ सय १३ रुपैयाँ छ ।

बैङ्कको यो अवस्था सन्तोषजनक होइन । पनि पूर्वाधार बैङ्क नेपालमै नौलो अभ्यास भएकोले यसलाई आफ्नो कार्यक्षेत्र विस्तारमा समस्या भइरहेको देखिन्छ । कोभिड–१९ पछिको परिस्थितिका कारण बैङ्कले पूर्वाधारमा लगानी गर्न सकिरहेको छैन । तर, विभिन्न सीमितताको बाबजुद ८४ करोड ७१ लाखको नाफा चाहिँ सन्तोषजनक नै हो ।

यो बैङ्कले व्यवस्थापनमा ठूलो खर्च गर्नु पर्दैन । ठूला ऋणमात्रै प्रवाह गर्ने भएकोले आफूले प्रवाह गरेका ऋणको उपयोगको अवस्था र ऋणीको वित्तीय अवस्थाबारे निरन्तर निगरानी गर्न पनि सक्छ । यसले गर्दा यसमा जोखिम कम पनि हुन्छ । अर्कोतिर, यो क्षेत्रको लगानी पूर्वाधारमा मात्रै हुनसक्ने र यसको प्रतिफल धेरै नहुने भएकोले यो सेयरमा उच्च नाफा हुने सम्भावना पनि कम हुन्छ । त्यसैले सुरक्षित लगानी र औसत प्रतिफलका लागि यो बैङ्कको लगानी उपयुक्त हुने जानकारको सुझाव छ ।

सेयर सूचीकरण भएर कारोबार सुरु हुँदा बैङ्कको सेयर १ सय १४ रुपैंयादेखि ३ सय ३९ रुपैंयासम्ममा कारोबार हुन सक्छ । तर, यो सेयरको कारोबार अधिकतम मूल्यबाटै सुरु हुने र केही माथिसम्म पुग्नसक्ने जानकारहरुको अनुमान छ ।

पुनर्बीमा कम्पनीसँग तुलना !

यो कम्पनीलाई नेपाल पुनर्बीमा कम्पनीसँग तुलना गरेर पनि हेरिएको छ । यही हाराहारीमा प्रतिसेयर आम्दानी भएको पुनर्बीमा कम्पनीको मूल्य १ हजार ८ सयसम्म पुग्यो । त्यसैले यो पनि त्यस्तै हुन्छ कि भन्ने अनुमान समेत बजारमा छ । तर, पुनर्बीमा र निफ्रामा केही समानता र केही आधारभूत फरक छन् ।

पुनर्बीमा कम्पनी र निफ्रामा दुवै बजारमा एकाधिकारी कम्पनी हुन् । यी दुवै कम्पनीमा सरकारको लगानी छ । यद्यपि कारोबारका आधारमा दुवै कम्पनीको प्रति सन्तोषजनक छैन । सर्वसाधारणमा सीधै जानु नपर्ने भएकोले यी कम्पनीहरुको व्यवस्थापन खर्च अरुको भन्दा कम हुन्छ, यो सकारात्मक पक्ष हो ।

यी दुवै कम्पनीको प्रतिस्पर्धी कम्पनी बजारमा आउने चर्चा चलेको छ यद्यपि त्यसको औपचारिक प्रक्रिया अघि बढेको छैन । तर, निफ्रालाई प्रतिस्पर्धी कम्पनीको जोखिम कम छ, जति पुनर्बीमा कम्पनीलाई छ । अहिले पनि निफ्रालाई पुनर्बीमा कम्पनीको जस्तो एकाधिकार छैन । किनकी अन्य वाणिज्य बैङ्क, विकास बैङ्क र वित्त कम्पनीलाई समेत अहिले पूर्वाधारमा लगानी गर्न छुट छ । त्यसैले यो बैङ्कको एकाधिकारकै कारण मूल्य धेरै हुन्छ भन्ने अनुमान गर्न सकिन्न ।

पुनर्बीमा कम्पनीले जम्मा १६ प्रतिशत मात्रै आईपीओ निष्कासन गर्यो, यो १ करोड ६० लाख कित्ता हो । इन्फास्ट्रक्चर बैङ्कले ४० प्रतिशत अर्थात् ८ करोड कित्ता सेयर निष्कासन गर्दैछ । आपूर्तिको आधारमा यो तुलनात्मक रुपमा धेरै हो । यसैले पनि पुनर्बीमाको सेयरमूल्यसँग यसको तुलना गर्न कठिन हुन्छ ।

तर, यहाँनिर अर्को समानता के छ भने ८ करोड कित्ता सेयर धेरै सर्वसाधारणमा समान रुपले जान्छ । त्यस्ता सर्वसाधारणहरु बढ्दा विवेकशील नहुन सक्छन् । यही फाइदा उठाएर कारोबारीहरुले मूल्यमा चलखेल गर्नसक्ने सम्भावना भने यसमा पनि देखिन्छ । साना कम्पनीहरुमा कर्नरिङ गर्ने कारोबारीहरुको यो धन्दाको कारणले बजारमा अस्वभाविक उतारचढाव देखिने गरेकोमा यो कम्पनी यसबाट अछुतो रहने सम्भावना देखिँदैन । त्यसो हुँदा मूल्य कतिसम्म पुग्छ भन्ने अनुमान गर्न भने सकिँदैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप