शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘कुमारी आमा’ सविताका संघर्ष, सफलता र सपनाका वृत्तान्त

शनिबार, २५ पुस २०७७, १४ : २९
शनिबार, २५ पुस २०७७

सविता उप्रेतीले अलि पृथक रहर र चाहनाको बिजारोपण गरिन् । त्यो रहर मानवतावादी थियो । समाजमा दुर्भाग्यवस् फालिएका, अलपत्र परेका र घरपरिवारको लागि बोझ भएका नागरिक, बालबालिकाको उद्धार, उपचार, लालनपालन, सहज जीवन यापन र सिप प्रदान गरी मान्छे हुने हक स्थापित गर्नु थियो ।

वंशानुगत रोगले पीडित भएर आफ्नो दिनचर्या बडो कहालीलाग्दो रुपमा गुजारीरहेका, पशुतुल्य नारकीय जीवन बिताइरहेका, कतिपय त साङ्लो र डोरीमा बाँधिएका, कतिपय अँध्यारो कोठामा थुनिएर बाँच्न विवश बालबालिकाको जीवन देखेकी सविताले आफ्नो व्यक्तिगत जीवनका पाइलालाई त्यहाँबाट टाढा घिसार्न सकिनन् ।

अटिजम बच्चाले जन्मजात लिएर आउने एक विशेष प्रकारको अपाङ्गता अर्थात् मस्तिष्क विकासको क्रममा उत्पन्न हुने विकार भनेर बुझाइन्छ । उमेर अनुसार सञ्चार गर्न नसक्ने र सामाजिक रुपमा घुलमिल हुन नसक्ने समस्या, एकै क्रियाकलाप दोहो¥याउने अटिजमका साझा लक्षणहरू लिएर बच्चाहरु जन्मन्छन् । यद्यपि अटिजमका व्यक्ति विशेषका फरक फरक लक्षण, क्षमता अनि समस्या भएको कारण यिनलाई शिक्षा, सीप दिन र हुर्काउन अत्यन्तै कठिन हुन्छ । जसका कारण थुनेर, दाम्लो वा सिक्रीले बाँधेर यस्ता बालबच्चालाई पाल्न बाबुआमा विवश र लाचार बन्नुपरेको दुःखद् स्थिति विद्यमान छ । समाजकल्याण परिषद्को राष्ट्रिय अपाङ्ग कोषको शारीरिक पुनर्स्थापनामा केन्द्र ब्यवस्थापन अधिकृतको रुपमा काम गर्दा सविता उप्रेतीलाई अपाङ्गहरुसँग नजिकिने र उनीहरुको समस्या नजिकबाट नियाल्ने अवसर मिल्यो । विभिन्न भ्रमणमा जाँदा अटिजम भएका बालबालिकाहरुले पशुतुल्य जीवन गुजारेको देखेर उनको मन द्रवित भएर पग्लियो । दिसापिसाब, फोहोर, ढुंगामाटो खाएको दृश्य देखेर आफ्नो पनि जन्म यस्तै अवस्थामा भएको भए के हुन्थ्यो होला भन्ने भावनाले सवितालाई यस्ता बालबालिकाको लागि काम गर्ने भाव जाग्यो । फोहोरको थुप्रोमा बसेर वेस्टेज पेपरहरू पढ्दै र फोहोर खाँदै गरेका बालबालिका, कतै थुनिएका, कतै बाँधिएका तर देख्दा सबलाङ्ग जस्ता देखिने अनुहारको पीडाले उप्रेतीलाई भित्र कतै नमिठोसँग दुखायो, चिमोट्यो । तसर्थ सविताले यस्तै बालबालिकाको उद्धार गरेर उनीहरुको जीवनमा सहजता भरिदिने निर्णय गरिन् ।

स्नातक सम्मको पढाई, अधिकृतको जागिर, उमेर पुगेकी एक छोरी मान्छेको लागि विवाहको सुयोग्य समय थियो त्यो । तर समाजले उनलाई बिहेको लागि योग्य र भव्य देखेको बेला उनी भने असामान्य व्यवहार हुने बालबालिका बटुलेर तिनलाई सामर्थ्य दिन, पाइन हाल्न पो आफ्नो समय, ऊर्जा, धन र मन खर्चेर हिँड्न लागिन् । यसका लागि तालिम लिन उनी विदेशतिर जान थालिन् । यसर्थ समाजको नजरमा उनको यात्रा उल्टो दिशातिर उन्मुख थियो भने मानवीय नजरमा उनी पुण्य यात्राको पथिक बन्दै थिइन् ।

कुनै पनि काम असाधारण तवरले सम्पन्न गर्न असामान्य लगाव र पागलपन हुनुपर्छ । त्यस्तै पागलपनको द्योतक हो सविताको असामान्य बालबालिका बटुल्ने काम । निजी रुची, चाहना र इच्छालाई थाँती राखेर अरुको भलाई र कल्याणको लागि चुनौतीपूर्ण काम, जसलाई यसअघि खासै र गुणात्मक परिवर्तन देखिनेगरी कसैले गरेको थिएन । यस्तो काम गर्ने मान्छेलाई हाम्रो समाजमा शुरुवाती दिनमा पागलको संज्ञा दिने गरिन्छ भने कामको प्रगति र समाजको बिश्वास जित्दै गएपछि देवत्वको अंश लिएर आएको भगवानको अर्को रुपमा पुकारिन्छ । हो सविता अटिजम भएर नारकीय र असहज दुर्दान्त जीवन यापन गर्नेहरुका लागि साक्षत भगवानकै प्रतिरुप हुन् ।

आफ्नो विवाह गर्दा लाग्ने रकम दिन बुबा भरत र आमा भवानीलाई राजी गराएर र अन्य आफन्त परिवारसँग आफूलाई बिहेमा उपहार दिने रकम बराबरको पैसा मागेर, केही ऋण सापटी गरेर सविताले पाँच लाख रुपैयाँ जम्मा पारिन् । सो रकमबाट ओखलढुंगाको मन्दिरमा फ्याँकिएका असामान्य अवस्थाका बालक र अर्को भक्तपुरको सुकुम्बासी बस्तीमा ७ वर्षदेखि साङ्लोमा बाँधिएका बालक गरी दुई जनालाई बटुलेर उनले २०६७ देखि सामाजिक सेवाको अध्याय प्रारम्भ गरिन् । २०६८ चैतमा विधिवत रुपमा उनी समाजकल्याणमा आवद्ध भइन् ।

दोलखा उद्गमस्थल भएकी सवितालाई अमेरिकाको डिभी चिट्ठाले अमेरिका प्रवेशको निम्ता दिएको थियो तर सविता अधिकांश नेपाली र विश्वका मान्छेको रोजाइमा रहेको पृथ्वीको स्वर्ग भनेर चिनिने अमेरिकाको आकर्षण र लोभमा फसिनन् । देशको विशिस्ट कर्मचारीहरुसम्म जागिर हापेर डिभी परेपछि अमेरिका प्रवासिने, अमेरिका प्रवेशलाई भाग्यको ढोका खुलेको रुपमा बुझिने आम प्रचलन रहेको नेपालमा सविताले सन् २०११ मा परेको डिभीबारे कुनै प्रक्रिया नै सुरु नगरेर आफ्नो कर्म र निष्ठामा अहोरात्र मेहनत गरिन् ।

उनकै अग्रसरतामा खुलेको अटिजम बालबालिकाको लागि खुलेको विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रमा ४५ त्यस्ता विशेष अवस्थाका बालबालिका र किशोरकिशोरी छन् । अटिजम भएकाहरुको दैनिक कार्यहरु जस्तैः आफ्नो स्याहारसुसार आफै गर्न सक्ने, साधारण लेखपढ गर्ने, सिपमुलक तालिमहरूबाट आत्मनिर्भर बनाउनको लागि बालबालिकाको क्षमतामा अभिवृद्धि गराइ उनीहरुलाई समाजमा अन्य व्यक्तिसरह हक, अधिकारसहित पुनर्स्थापना गराउने उद्देश्य छ ।

मस्तिस्क र स्नायु कोषहरुको स्वाभाविक विकासक्रममा हुने असमान अवस्थाको रुप अटिजम हो । यसलाई आत्मकेन्द्रित व्यवहार भनेर बुझिन्छ । यस्ता व्यक्तिले सञ्चारमा विचलन, सामाजिक रुपमा घुलमिल हुन नसक्ने, पुनरावृत्ति, एकोहोरोपन, इन्द्रीयहरूको उतारचढावको फलस्वरूप वातावरण, व्यक्ति र वस्तुप्रति भिन्दै प्रतिक्रिया र व्यवहार देखाउँछन् । अटिजम कुनै रोग होइन, बौद्धिक अपाङ्गता मात्रै पनि होइन, मस्तिष्कको एक विशेष अवस्थामात्रै हो, जुन असामान्य र अस्वीकृत व्यवहारको रुपमा देखिन्छ । समाजमा ब्याप्त भ्रम अर्थात् यो अवस्था पूर्वजन्मको पापको फल र कुनै अपराधको सजाय होइन, केवल असामान्य अवस्था हो । रोगकै रुपमा पनि यसलाई परिभाषित गरिएको छैन । नेपालमा यसको खासै खोज, अनुसन्धान र व्यवस्थापन गरिएको छैन त्यसैले जो पीडित छन्, जसका बालबालिका पीडित छन्, उनीहरुलाई मात्र यस्तो अवस्थाका मान्छेको कारण हुने पीडा, दुःख, तनाव र जटिलता अनि अप्ठ्यारोबारे थाहा छ ।

सविता उप्रेतीलाई पनि यस्ता बालवच्चाको सेवामा समर्पित बन्दा अनुभव, अध्ययन र खोजले धेरैकुरा सिकायो । सिक्दै सिकाउँदै गर्दा उप्रेती आज यो क्षेत्रको जानकार, स्टेकहोल्डर र अभिभावकमात्र नभइ नीति निर्माण तहमा आमन्त्रित गरिने विषयविज्ञको रुपमा रहेकी छन् । उप्रेतीको विषयविज्ञता देशको लागिमात्रै होइन, विदेशले पनि सदुपयोग गरेको छ ।

मानवीयताको हात फराकिलो बन्दै घर, देश र परदेश सर्वत्र सविताको खोजी गरिन्छ जुन एक दशकको अवधिमा यिनले पाएको उपलब्धि हो ।

दोलखा उद्गमस्थल भएकी सवितालाई अमेरिकाको डिभी चिट्ठाले अमेरिका प्रवेशको निम्ता दिएको थियो तर सविता अधिकांश नेपाली र विश्वका मान्छेको रोजाइमा रहेको पृथ्वीको स्वर्ग भनेर चिनिने अमेरिकाको आकर्षण र लोभमा फसिनन् । देशको विशिस्ट कर्मचारीहरुसम्म जागिर हापेर डिभी परेपछि अमेरिका प्रवासिने, अमेरिका प्रवेशलाई भाग्यको ढोका खुलेको रुपमा बुझिने आम प्रचलन रहेको नेपालमा सविताले सन् २०११ मा परेको डिभीबारे कुनै प्रक्रिया नै सुरु नगरेर आफ्नो कर्म र निष्ठामा अहोरात्र मेहनत गरिन् । जसको फलस्वरूप उनको संस्था आज आफ्नै जमिनमा आठ आनाभन्दा केही बढी जग्गामा लालपुर्जासहित सात कोठे अपाङ्गमैत्री भवन ठडिएको छ भने सोही कम्पाउण्डसँगै रहेको दुई रोपनी जग्गामा आवश्यक हल, क्यान्टिन, खेल मैदान छन् । अन्य काम याकड़ोल भक्तपुरमा हुँदैछ ।

आज उनलाई अमेरिका जान कुनै समस्या छैन । अमेरिका लगायत विश्वका दर्जनभन्दा धेरै मुलुकमा सविताले आफ्नो कर्म चिनाउन, चिन्न र अटिजम बालबालिकाको प्रतिनिधि, अभिभावक, संरक्षक बनेर पुग्ने अवसर प्राप्त गरेकी छन् । अमेरिकी डिभीले उनको व्यक्तिगत भाग्य र भविष्य त बन्थ्यो होला तर आज सामाजिक प्रतिष्ठा, सामाजिक कर्म र अटिजम जस्तो पहिचान नभएको क्षेत्रबारे जति काम, खोज र पोलिसी निर्माण भएका छन्, तिनमा सविताको नाम आउँदैनथ्यो, सविताको खोजी र सम्मान हुँदैनथ्यो । त्योभन्दा पनि आजसम्म उनको अभावमा कोशोरकिशोरी नारकीय जीवन नै जिउन बाध्य बन्थे । परोक्ष–प्रत्यक्ष रुपमा सेवा सुविधा र सहजता पाउने नानीबाबु र तिनका अभिभावकको सविता म्याम, प्रिय सबु र सविताको नाममा आदर र सम्मान अनि स्नेहपूर्वक जोडिने सम्बोधन बन्दैनथ्यो । आफ्ना र आफ्नाहरुकै लागि त जीवन बाँच्ने संसारमा अरबौं मान्छे छन् तर त्यस्ता पनि केही मान्छे हुन्छन् जो आफ्नालागि भन्दा अरुहरुका, त्यो पनि असहाय, निरुपाय, विपन्न, निमुखा प्राणीका लागि जीवन बनेर बाँचिदिन्छन् । यस्ता पात्र अरबौं जन्मने मानवमा थोरै हुन्छन् र तिनैमध्ये एक मान्छे हुन् अटिजम बालबालिकाको लागि खुलेको विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रकी ब्यवस्थापक, संरक्षक, तालिमकर्ता, शिक्षक र सेविकाका रुपमा अनेकन भूमिका र अभिभारा लिएकी सविता ।

सबै किसिमका अपाङ्गता भएका व्यक्तिहरुको शैक्षिक पहुँच सुनिश्चित गरौं भन्ने संयुक्त राष्ट्रसंघीय नारा र उद्देश्य अनुरुप एसएसडीआरसी स्थापना गरेर एकल प्रयासबाट राज्यलाई सविताले सघाएकी छन्, घच्घच्याउने गरिकी छन् । विकसित मुलुकमा अटिजमबारे धेरै खोज अनुसन्धान भएको छ । अटिजमका शारीरिक, मानसिक, संवेगात्मक जटिलताबारे वृहत् रिसर्च भएर कतिपयमा व्यापक सुधार भएर वयस्क भएपछि बिहेवारी भएर जीवन चलाएको उदाहरण भेटिन्छन् ।

आफ्नो र आफू जस्ताको अथक प्रयासबाट अटिजमलाई पनि नेपालमा अपाङ्गको नवौं प्रकारमा समावेस गराएर २०१७ मा यसको परिचय स्थापना गर्न उनी सफल भएकी छन् । राज्यले प्रदान गर्ने अपाङ्ग सहुलियत कार्डमा प्रायःजसोलाई नै रातो कार्ड दिनुपर्ने सविताको निर्क्यौल छ । अन्य अपाङ्गताभन्दा पृथक र जटिल किसिमको मानसिक अवस्था भएको कारण यस्ता बालबालिकाको व्यवस्थापन असाध्यै जोखिम र चुनौतीपूर्ण छ । सामान्यतया कुनै किसिमको अपाङ्गता र असहजता नदेखिने कारण र अटिजमको बारेमा जानकारी नभएको हुँदा रातोकार्ड उपलब्ध गराउन सम्बन्धित कर्मचारीले आनाकानी गरेर सामान्य अपाङ्गताको कार्ड दिने गरेको पाइन्छ । जसले गर्दा असहजता र आर्थिक रुपमा पनि न्यून सहयोगमात्रै प्राप्त गरेको कारण सम्बन्धित निकायले समवेदनशील भएर ध्यान दिनुपर्ने सुझाव सविताको छ ।

नदेखिने कमजोरी र ब्यबहारमा हुने फरकपनले गर्दा यसको पहिचान अन्य अपाङ्गको झैँ सदृश्य नहुन सक्छ । राज्यले यस्ताहरुको हितार्थ खोलिएका संस्थालाई पैसाले भन्दा पोलिसीले सम्बोधन गर्नुपर्नेमा उनको जोड छ । केही र प्रारम्भिक रुपमा कामहरु भएता पनि यसको व्यापक खोज, अनुसन्धान र नेपालको अवस्थाको यकिन तथ्याङ्क उपलब्ध छैन । विश्व स्वास्थ्य संगठनको तथ्याङ्कअनुसार विश्वको जनसंख्याको एक प्रतिशतमा अटिजम छ । सो तथ्यांकअनुसार नेपालमा करिब तीन लाखको हाराहारीमा यस्ता अवस्थाका मान्छे रहेको आँकलन छ । यी मान्छेको दायित्व राज्यले लिएर यिनको रेखदेख, शिक्षा, दीक्षा, लालनपालन, सिप आदिमा राज्यको निरन्तर नीतिगत लगानी र ब्यवस्थापनको योगदान जरुरी छ । यसो हुँदा बालबालिकाका अभिभावकले व्यहोर्नुपर्ने तनाव, आर्थिक झमेला र बोझ कमी भइ सहज जीवनयापन हुने थियो ।

सबै किसिमका अपाङ्गता भएका व्यक्तिहरुको शैक्षिक पहुँच सुनिश्चित गरौं भन्ने संयुक्त राष्ट्रसंघीय नारा र उद्देश्य अनुरुप एसएसडीआरसी स्थापना गरेर एकल प्रयासबाट राज्यलाई सविताले सघाएकी छन्, घच्घच्याउने गरिकी छन् । विकसित मुलुकमा अटिजमबारे धेरै खोज अनुसन्धान भएको छ । अटिजमका शारीरिक, मानसिक, संवेगात्मक जटिलताबारे वृहत् रिसर्च भएर कतिपयमा व्यापक सुधार भएर वयस्क भएपछि बिहेवारी भएर जीवन चलाएको उदाहरण भेटिन्छन् । अटिजम पीडित बालबालिकाहरुको लागि बेग्लै स्याहार केन्द्र आवश्यक हुन्छ । लगातारको निगरानी गरेर विशेष स्याहार गरेपछि बच्चाहरुको आनीबानी, रुची थाहा पाउन सकिन्छ । सो मुताविक उनीहरुको जीवनयापनको लागि शिक्षा, यसको पाठ्यपुस्तक निर्माण गर्नु अपरिहार्य छ । व्यक्तिको शारीरिक मानसिक क्षमताको आधारमा रुची र लगावलाई ध्यान दिएर सिकाई गर्ने शिक्षकहरुको खाँचो टड्कारो छ ।

अटिजम भएका बालबालिका र तिनलाई हेर्ने सामाजिक नजर बदल्न समाजका मान्छेहरुलाई पनि उनीहरुका आभिभावकलाई झैँ जनचेतना जागृत गर्ने अनौपचारिक शिक्षा, तालिम र विभिन्न किसिमका काउन्सिलिङ चाहिन्छ, त्यसको लागि पर्याप्त जनशक्ति नेपालमा छैन । सिक्दै सिकाउँदै गर्ने क्रममा आफूले देश विदेशमा प्राप्त सिप, ज्ञान, अनुभव र अनुभूतिलाई मुर्त रुप दिएर काम गर्ने सवितालाई आफ्नो संस्था र देशलाई नमुना बनाउने धोको छ । यसको लागि रिसर्च सेन्टर, ट्रेनिङ्ग सेन्टर र सर्भिस सेन्टरको रुपमा अब्बल बनाउने सविताको रहरले केही आकार ग्रहण गर्दै गरेको देखिन्छ ।

शिक्षा प्राप्त गर्नु सबै बालबालिकाहरुको मौलिक र संविधान प्रदत्त अधिकार हो तर हाम्रो देशको सन्दर्भमा शिक्षाको सर्वत्र पहुँच छैन भने विशेष अवस्थाका बालबालिकालाई विशेष शिक्षाको सहज व्यवस्था होस् कसरी ? अटिजम भएका बालबालिका र युवावयुवतीको ठूलो संख्या मर्कामा छ । कतिपय विद्यालयमा अपाङ्गता भएका बालबालिकालाई भर्ना लिन हिच्किचाउने गर्छन् । यो बाध्यता र संकोच दुवै हो किनकि भर्ना लिए पनि अपाङ्गतामैत्री वातावरण, भवन र ट्वाइलेट, बाथरूम नहुनु, विशेष हेरचाह नहुनु, नियमित उपचार र विभिन्न किसिमका थेरापीहरुको व्यवस्था र सो अनुकुल दक्ष जनशक्ति नहुनाले नै उनीहरुको भर्ना अस्वीकार गर्नु हो भनेर बुझ्न सकिन्छ । यदाकदा संकोची मानसिकता पनि हावी भएको तथ्य बिर्सन मिल्दैन । एकै प्रकारका निर्वलता भएकाहरुमा पनि एकनास अवस्था र स्वरूप हुँदैन तसर्थ पनि यिनीहरुको लागि विशेष र उनीहरुको वातावरण अनुकुल शिक्षा, शैक्षिक पाठ्यक्रम, शैक्षिक र व्यवस्थापकीय दक्ष जनशक्ति अपरिहार्य रहन्छ । अतः मुलधारका स्कुलमा सहजता र समायोजनको समस्या छ ।

एसएसआरडीसीमा अटिजम भएकाहरुको अपाङ्गताको प्रकृति र क्षमता अनुसारको व्यक्तिगत पाठ योजना निर्माण गरी श्रव्यदृश्य सामग्री, तस्बिरहरु र कम्प्युटरको प्रयोग गरी शिक्षा प्रदान गरिन्छ । दैनिक क्रियाकलाप साथै अन्य तालिम र विभिन्न किसिमको थेरापीहरुद्वारा समाजमा पुनर्स्थापना गरिदै आइरहेको छ । एकै छानामुनि खाना, खाजा, यातयातको सुविधा, परामर्श सेवा र नियमित स्वास्थ्य परीक्षणसहित शैक्षिक भ्रमणको प्रवन्ध गरिएको छ भने सामाजिक सञ्जालबाट जनचेतना प्रवाह गरिएको छ । राज्यको नीतिभित्र प्रवाहीकरण गर्न साइक्लोजिस्ट फिजियो थेरापिस्ट, सिपिच थेरापिस्ट, डाक्टर र नर्सहरुहरु गरि २६ जना कर्मचारीसहित सविताको उम्दा ब्यवस्थापनमा सेवामुलक संस्था चलेको छ ।

संस्था विभिन्नखाले सहयोगी दाता महानुभावहरु, देश विदेशमा  बसेका नेपालीले गाँस काटेर गरेको सहयोगमा चलेको छ । ४५ जना बालबालिकालाई सेवा दिन महिनाको करिब ६ लाख हाराहारी आर्थिक ब्ययभार हुन आउँछ जुन खर्च सविताले दाता र सहयोगी, मनकारी हातहरुबाट जुटाएकी छन् भने अप्ठ्यारो परेको बेला आफ्नो जायजेथा बेचबिखन गरेर धितो जमानीमा राखेर पनि ऋण धन गरेर धानेकी छन् । यी सब केका लागि र किन ? आर्थिक रुपले सबल भएर हो त ? सवितालाई प्रश्न गरियो । उनी भन्छिन्, ‘त्यसो होइन, यो सब मन र भावनाको कारण हो । म कुलघराना र पहिचान भएको दोलखाको उप्रेती परिवारकी छोरी हुँ तर हाम्रो आर्थिकस्तर र पारिवारिक झमेलाले गर्दा अत्यन्तै दुःखजिलो गरेर हुर्की, बढी, पढेकी केटी हुँ । म मेरा सबै खर्च आफै ब्यबस्थापन गर्दै पढेकी मान्छे हुँ ।’

आफूले न्यून बेतनधारी निजी स्कुलको शिक्षक भएर, विभिन्न पत्रपत्रिकामा काम गरेर उच्च शिक्षासम्म अध्ययन गरेको कारण आम मान्छे झैँ आफू पनि दुःख र संघर्षले नै स्थापित भएको उनी बताउँछिन् । बैतेस्वर मावि नाम्दुमा एसलसी, काठमाडौँको पशुपति कलेजबाट आइ.ए. र स्नातक, रत्नराज्य लक्ष्मी क्याम्पस, प्रदर्शनी मार्गबाट स्नातकोत्तर गरकी उनलाई विद्यावारिधीको लागि पनि कोरियन विश्वविद्यालयले स्कलरसीप सहित अफर गरेको छ रे । तर आफूले संस्था चटक्क माया मारेर जान नसकेको उनले सुनाइन् । सविता भन्छिन्, ‘मलाई पनि पढ्ने इच्छा नै नभएको कहाँ हो र ? तर यो स्कुलको सबै ब्यवस्थापन हेर्ने दिगो मान्छेको अभावमा छोडेर जान सक्दिनँ । बरु पढ्दिनँ तर मेरा छोराछोरीको भविष्यलाई अन्धकारमा राखेर मेरो निजी इच्छा पुरा गर्ने सौख छैन ।’

उसो भए बिहे गरेर श्रीमानलाई केही वर्ष व्यवस्थापन हेर्ने जिम्मा लगाएर जान सकिन्न ? भन्ने प्रश्नमा उनी केहीबेर मौन रहिन् । आफू र आफ्नो कामलाई बुझ्ने व्यक्ति कोही भएमा त्यो अन्यथा हुन्न भनेर उनले अन्तर्यमा लुकेको बिहेको इच्छालाई उजागर गरिन् ।

समाजसेवाकी मानक सविताले दुई दर्जन मुलुकको भ्रमण गरेकी छन् । देश विदेशका खझन्डै तीन दर्जन जति मान सम्मान र ख्यातिप्राप्त पुरस्कारले सविता विभूषित छन् । समाजका दुई दर्जन संस्थासँग आवद्ध भएर सविताले समाजसेवाको यात्रा बहुआयामिक बनाएकी छन् । उनले पछिल्लो पटक जन सेवाश्री पदक राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट २०१९ मा ग्रहण गरेकी हुन् । अस्ट्रेलियामा भएको विकासात्मक अपाङ्गता सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा एशियाको प्रतिनिधित्व गर्दै दुई जना बालबालिका सहभागी भएका थिए जसमा ११ वर्षीय अटिजम बालक आदेशराज काफ्लेले सफलताको कथा प्रस्तुत गरेका थिए भने यूएई आबुधाबीमा भएको विशेष खेल मार्च २०१९ मा आदेशराज काफ्ले (वर्ष १५)ले फूटबलमा रजत र अलिसा (वर्ष २३)ले लङ्गजम्पमा कास्य पदक प्राप्त गरेर संस्था र आफ्नो नाम राख्न सकेकोमा सविता दंग छिन् ।

शिक्षा, स्वास्थ्य, विभिन्न थेरापीहरु, सिपमुलक तालिमद्वारा जीवनमा सकारात्मक परिवर्तन भइ ३५ जना बालबालिका मुलधारको विद्यालयमा जान सक्ने बनाउनु र कतिपय स्कुलमा आफ्नो संस्थाबाट गएका विद्यार्थीहरुको राम्रो पर्फर्मेन्स देख्दा सवितालाई आफ्नो काममा सन्तुष्ट राख्ने आधारहरु मिल्छन् ।

सविताको भावी लक्ष्य, उद्देश्य र सपना व्यापक छ, जसका लागि सहयोग, सद्भाव र सरकारको हौसला आवश्यक छ । उनमा समाजसेवा र मानवीय सेवाको विशालरुप छ, जुन साकार बनोस् । यही हप्तामात्र सविताले बाग्मती प्रदेशको बाल कल्याण निर्देशकमा नियुक्ति पाएकी छन् । सविताको अल राउन्डर क्षमताले शिखर चुमोस् । बधाई र शुभकामना सविता म्याम !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जिव कार्की
सञ्जिव कार्की
लेखकबाट थप