महामारीमा हेलिकोप्टरले बढी भाडा लिएको एमाले नेताको गुनासो
संविधानसभा सदस्य तथा नेकपा एमाले बागमती प्रदेशका संगठन विभाग प्रमुख अनन्त पौडेलले कोरोना महामारीको कहरका बेला हेलिकप्टरहरुले बढी भाडा असुलेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
नेता पौडेलले कोरोना महामारीमा विभिन्न कम्पनीहरुका हेलिकोप्टरले सामाजिक दायित्वको ख्याल नगरी बढी भाडा असुलेको भन्दै सम्बन्धित मन्त्रालय र मन्त्रीहरुलाई ध्यानाकर्षण गराएका हुन् ।
नेता पौडेलले अन्य समयमा हेटौंडा–काठमाण्डौं हेलिकोप्टर चार्टर्ड भाडा १ लाख २५ हजार रहेको भए पनि हाल हेलिकोप्टर कम्पनीहरुले २ लाख ८० हजार लिएकोमा चिन्ता व्यक्त गरे ।
कोरोना संक्रमितहरुको आकस्मिक उपचारको लागि काठमाडाैं जानुपर्ने वाध्यात्मक परिस्थितिको फाइदा उठाउँदै ती कम्पनीहरुले मानवीय संवेदनाहीन आपराधिक लुट मच्याएको उनको भनाइ छ ।
उनले यस्ता अमानवीय कार्यको नियन्त्रण र नियमन गर्ने निकाय नागरिक उड्डयन प्राधिकरणले शिघ्र अनुगमनको काम थाल्नुपर्ने माग गरेका छन् ।
‘सामान्य बेला विलासिताको कोटीमा पर्ने यस्ता साधनहरु जसको उपभोग सामान्य परिवारले गर्न सक्दैनन् । तर, संकटका बेलामा सो साधन अति आवश्यक साधनमा परिवर्तित हुने भएकाले यसलाई व्यापारको रुपमा हेर्न हुँदैन ।’ उनले भने ।