शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

यातना शिविरमा सेन दाइ : यो ठकुरीहरूको देश हो बुझिस् ?

बिहीबार, १३ जेठ २०७८, १२ : २५
बिहीबार, १३ जेठ २०७८

 

 

`यो देशको माया कसलाई छ ?´
`सबै नेपालीलाई छ।'
`थुक्क ..ले, आतङ्ककारी ! ईईईइ... छ सबै नेपालीलाई ? तेरो बाउ पर्चन्डे, बादले, बाउरामेले तेरो दिमागमा ..... हाल्द्या छ। त्यही भएर सबै नेपालीलाई माया छ भन्छस् । यो ठकुरीहरूको देश हो बुझिस् ? तँ पनि ठकुरी, म पनि ठकुरी, राजा ज्ञानेन्द्र नि ठकुरी । राजा ज्ञानेन्द्रबाहेक अरु कसैलाई छैन यो देशको माया। गिरिजा, माकुने, देउवा कसैलाई छैन बुझिस् ? बरु ठकुरीको छोरो हुनाले तँलाई हुनुपर्ने हो ।

ठकुरीको राज्य खोस्न बाहुनको पछि लागेर कति हिँड्छस् ? देखाइदे, तेरो बाउ बादले कहाँ छ ?´

यस्तै बयान र पाशविक यातनाकाबीच २०५९ जेठ ६ गते सेन दाइ र हामी महेन्द्र पुलिस क्लबको यातना शिविरमा छट्पटाइरहेका थियौं । त्यत्तिकैमा `ओई यो त मर्न आँट्योजस्तो छ, हस्पिटल लैजा; भनेको आवाज सुनियो। केही समयको सन्नाटापछि पुनः यातना र बयानको निरन्तरता। अन्ततः `यसलाई चोभारमा लगेर नमस्कार गराइदे ।´ भनेको आवाजसँगै सेनदाइबाट सदाको निम्ति बिदा भइयो।

उहाँको गिरफ्तारीको एक दिन पहिला मध्यरातमा हामी तीनजना अतीन्द्र न्यौपाने, प्रभात चलाउने र म काठमाडौँको बत्तिसपुतलीस्थित एउटा घरबाट पक्राउ परेका थियौं ।

`सर ! सर ! उठ्नुस् न भन्या ।
भरत सर !
हेलो भरत सर !´

एउटा साँघुरो कोठाको एउटै बेडमा सुतेका थियौं अतीन्द्र र म । साथी प्रभात सोही फ्ल्याटको अर्को कोठा (जहाँ सल्यानतिरका साथी बस्थे) मा सुतेका थिए ।

भुइँ तलाको फ्ल्याट थियो त्यो। त्यसैले मूलढोका बन्द थियो भने हामी सुत्ने कोठाको ढोका खुलै । अतीन्द्रले तीनचार पटक घच्घच्याएर बोलाएपछि हाई काढेर `उज्यालो भैसक्यो र?´ भन्दै आँखा खोलेँ । झलमल्ल बत्ती बलेको थियो। सिभिल ड्रेसका एक हुल हतियारधारी मान्छेहरूको घेराबन्दीमा परेको थाहा भयो।

तात्कालीन शाही सरकारले केही माओवादी नेता, कार्यकर्ताको टाउकोको मोल तोकेको थियो। अतीन्द्र पच्चीस हजार मोल तोकेर बली चढाउन पर्सिएको बोकोजस्तै भएका थिए । जनादेश साप्ताहिक, जनआह्वान साप्ताहिक र जनदिशा दैनिकका कार्यालय छापा मारेर ओम शर्मा, गोविन्द आचार्य, खिलबहादुर भण्डारी, नीमबहादुर बुढाथोकी लगायतका साथीहरू पहिल्यै पक्राउ परिसकेका थिए । त्यसपछि मुमाराम खनाल हुँदै रविन्द्र श्रेष्ठ र चन्द्रमान श्रेष्ठहरूको गिरफ्तारीसम्म आइपुग्दा प्रकाशन विभाग अपाङ्गजस्तै बनिसकेको थियो। जनदिशा दैनिकका प्रधान सम्पादक कृष्ण सेन `इच्छुक' को कुशल नेतृत्वमा अतीन्द्र, सङ्गीता खड्का, प्रभातलगायतको टिम लिएर भूमिगत ढंगले पत्रिका प्रकाशनलाई निरन्तरता दिँदै आएका थियौँ। सेन दाइको स्टाफका हैसियतले केही समय एउटै कोठामा बसियो तर सुरक्षा संवेदनशीलता बढ्दै गयो। 

जनदिशाका कार्यकारी सम्पादक शिव तिवारी, सेन दाइ र मसमेत भएर बसाइ व्यवस्थापन सम्बन्धी तात्कालिक योजना बन्यो । कसैले कसैको कोठा नदेख्ने, आवश्यक पर्दा पेजर कोड मार्फत कल स्थापित गरेर सूचना सम्प्रेषण गर्ने, भरतले प्रभातलाई लिएर बस्ने, अतीन्द्र र सङ्गीता आ-आफ्ना हिसाबले सुरक्षित रहने, पक्राउ परेका पत्रकार साथीहरूका परिवारसँग सम्पर्क गरी भैपरीआउने समस्या समाधान गर्न पहल गर्नेलगायतका अनौपचारिक सहमतिसहित उठियो। 

त्यसबीचमा तक्मा दिदीसँग भेटघाट गरी सन्चोबिसन्चोको खबर आदानप्रदान, ओम दाइ र निमबहादुरजीको परिवारसँगको भेटघाट, देवेन्द्र तिम्लाकोमा लगेर सेन दाइका शैक्षिक योग्यताको प्रमाणपत्रलगायतका महत्त्वपूर्ण कागजात सुरक्षित गर्न दिने काम र राजेश्वर देवकोटासँग सेन दाइको भेटघाटको बन्दोबस्त मिलाउने, सेन दाइका केही कविताहरू जनएकता र जनधारणा साप्ताहिकलाई उपलब्ध गराउनेजस्ता कामहरूको याद अहिलेपनि ताजै छ।

हामी गिरफ्तार हुने दिन साँझपख अतीन्द्रजीले `टाउकोको मोल तोकेर टिभीमार्फत सार्वजनिक भएपछि बसाइ व्यवस्थापन जटिल भयो भन्ने गुनासो गरे । उनलाई त्यो रात हाम्रै कोठामा राख्ने निधो भयो। मध्यरातमा भएको त्रासदीपूर्ण यातनासहितको गिरफ्तारी स्वभाविक वा अस्वभाविक के थियो इतिहासकै गर्भमा लुक्यो। आफ्नै खाटमा बिछ्याइएको तन्ना च्यातेर आँखामा पट्टी बाँधे, सादा पोशाकधारीरूले। हातमा हतकडी लगाए अनि छातीमा बन्दुकको कुन्दा र लात्तीले हान्दै भित्तामा टाउको ठोकाएर नाम, ठेगाना सोधे। आफ्नो घर नुवाकोट भएको बताएपछि भरत ढुङ्गानालाई तुरुन्तै देखाउन भनियो। 

आफूलाई आफू बाहेक अरु कसैको बारेमा केही थाहा नभएको बताएँ। आततायीहरूले शारीरिक, मानसिक यातना दिँदै गाडीमा हाले । करिब एक घण्टापछि एउटा कोलाहलमय यातना शिविरमा पुर्याए। अब दिन / रात, भोक / तीर्खा, होश/ बेहोशको अनिश्चयकाबीच उनीहरूको खोजीको निशाना भरत ढुङ्गानाबाट कृष्ण सेनतर्फ सोझियो। सङ्गीताको चित्कार सुनियो हलमा । त्यसको केहीबेरपछि शिव तिवारीको आवाज कानमा ठोक्कियो। यस्तो लाग्दै थियो कि सिङ्गो प्रकाशन विभाग यही हलमा भेला भएको छ।

`देखाइदे भरत ! सेनको कोठा तँ बाहेक अरु कसैले देख्या छैन । ऊ सालेहरू नेता बनेर लुकेर बस्ने । तँ हाम्ले गोदाइ खानुपर्ने ,´ जब चरम यातनाकाबीच परिचित आवाज कानमा ठोक्किन्छ, तब आफू अनियन्त्रित बनेर भन्न पुगेछु , `शिव तिमी अन्तर्घाती हौ। चाहे काट, चाहे मार। मलाई आफू बाहेक अरु थाहा छैन ।´ आततायीहरूको यातना शिविरमा बसेर एउटा साथीलाई अन्तर्घाती भन्ने मभन्दा ठुलो आतङ्ककारी को भयो होला ? सहजै अनुमान गर्न सकिन्छ।

केही समयपछि सेनजीको आवाज सुनियो हलमा । उहाँ भन्दै हुनुहुन्थ्यो : भरतसितको मेरो चिनजान २०४७/०४८ तिरको हो। सात आठ महिना पहिला रसुवाको टिचर जागिर छोडेर एम् एड् पढ्न काठमाडौँ आउने भएकोले जागिर खोज्दिन भनेपछि जनदिशामा रिपोर्टिङ गर्न बोलाएको हो। ऊ आएको केही समयमै तपाईंहरूले पत्रिका बन्द गर्नुभो। त्यसपछि भेटघाट छैन। उसको पार्टीमा क्यै भूमिका नि छैन।

सेन दाइको यो बयानपछि मप्रतिको उनीहरूको प्रहारमा केही कमी महसुस त भयो। त्यसपछि एउटा भरोसायोग्य अभिभावकको अभाव भने जीवनमा खट्किनै रह्यो। जनसेवा प्रहरी कार्यालय विशालबजार, मीनभवन प्रहरी चौकी, रोमियो हल, हनुनान ढोका प्रहरी कार्यालयलगायतका यातना शिविरहरूको दुई महिने यात्रापछि २०५९ साउन १ गते सेन्ट्रल जेलमा पुगेपछि त्यहाँ पहिल्यैदेखि रहनुभएका रविन्द्र श्रेष्ठ, राम कार्की र महेश्वर दाहालजीबाट थाहा भयो कि जनआस्था साप्ताहिकले बताएअनुसार उहाँको सहादत जेठ १३ गते भएछ ।

जनयुद्धपूर्व ४० बुँदे मागपत्र बुझ्न नमान्ने तात्कालीन प्रधानमन्त्री देउवालाई प्रधानमन्त्री बनाउन पाए अग्रगमन हुने व्याख्या गर्दै हुनुहुन्छ कमरेड प्रचण्ड यतिबेला। कमरेड विप्लव जेल परेका केही थान कार्यकर्ता छुटाउन असिनपसिन गर्दै जनमत सङ्ग्रह र संयुक्त सरकारको डम्फु ठोक्दै हुनुहुन्छ। डाक्टर बाबुराम भट्टराईलाई कम्युनिस्ट नाम र झण्डा नै समृद्धि यात्राको निम्ति घाँडो भयो । कमरेड बादल बयलगाडा चढेर अमेरिकी समाजवादमा जाने यात्रामा निस्कनुभएको छ। तैपनि देशमा राजतन्त्रको अन्त्य भएको छ र गणतन्त्रको स्थापना भएको छ ।

त्यो गौरवशाली मुक्तियुद्धमा कलम बोकेर लडेको एउटा सिपाहीको नजरबाट हेर्दा राजतन्त्र र गणतन्त्रबीचको फरक एउटै देखिन्छ : राजतन्त्रले जनताको हत्या गर्यो, सहिद बनायो । गणतन्त्रले सहिदका सपनाकोनै हत्या गरिदियो ।
आजको दिन गौरवशाली अतीत र अनिश्चित भविष्यबीचको कुरुप वर्तमानमा उभिएर क्रान्तिका स्वप्नद्रष्टा, मुक्तिगानका गायक, रातो इतिहासका नायक सेन दाइमा भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु !!!

(तात्कालीन जनदिशा राष्ट्रिय दैनिकका पत्रकार सिग्देल महेन्द्र पुलिस क्लबमा कृष्ण सेनलाई दिइएको यातनाका जीवित साक्षी हुनुहुन्छ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भरत सिग्देल
भरत सिग्देल
लेखकबाट थप