शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

महेशपुर भन्सारको गोदाममै सड्यो करोडौँको चिनी

शनिबार, २२ वैशाख २०८१, १८ : १२
शनिबार, २२ वैशाख २०८१

नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-१ मा रहेको महेशपुर भन्सार कार्यालयको गोदाममा एक हजार आठ सय बोरा चिनी सडेको छ । भारतबाट अवैधरुपमा भित्र्याएको चिनी गुण नियन्त्रण कार्यालय भैरहवाले खान अयोग्य रहेको भनेपछि लिलाम गर्न नमिल्दा एक करोड बराबरको चिनी भन्सारको गोदाममै सडेको हो । 

भन्सार कार्यालयका सूचना अधिकारी मोहराज जैसीका अनुसार प्रहरीले अवैध रूपमा भित्र्याइएको कपडा, मोबाइलका पार्टस, हार्डवेयर, विभिन्न प्रकारका मोबाइल कभरसमेत भन्सार कार्यालयमा बुझाएको छ । उक्त सामान लिलाम गर्ने प्रक्रिया लामो हुँदा लिलाम गर्न ढिला भएको छ । “समान लिलामका लागि सूचना सार्वजनिक गर्दा व्यापारीहरूले सामानको मूल्य बढी भयो भन्दै लिलाम सकार गर्न नमानेपछि एक करोड मूल्य बराबरको समान गोदामभित्र सडिरहेको छ”, सूचना अधिकारी जैसीले भने । 

उद्योग वाणिज्य सङ्घ र भन्सार कार्यालयले समानको बजार मूल्य तोकेका आधारमा बरामद गरिएका सामानहरूको मूल्य तोकेर सामानसहित कारबाहीका लागि प्रहरीले भन्सार कार्यालयमा बुझाउने गरेको जिल्ला प्रहरीका सूचना अधिकारी रेशम बोहराले जानकारी दिए । सुरक्षाकर्मीहरूले रातदिन सीमा क्षेत्रमा खटेर पक्राउ गरेका अवैध मालसामान भन्सार कार्यालयले समयमै लिलाम नगर्दा दुई करोड मूल्य बराबरको विभिन्न समान गोदाममै सडेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप