शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
कर्णालीमा एमाले विवाद

मुख्यमन्त्रीको दाबी : पार्टीको केन्द्रीय नेतृत्वसँगको परामर्शबाटै एमालेबाट मन्त्री बनाइएको हो

शनिबार, २२ वैशाख २०८१, १८ : ४७
शनिबार, २२ वैशाख २०८१

सुर्खेत । मन्त्री नियुक्तिको विषयमा भएको विवाद केन्द्रमा पुगेपछि कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले बल्ल मुख खोलेका छन् । कँडेलले पार्टी केन्द्रीय नेतृत्वसँगको सल्लाह र सुझाव अनुसार नै आफूले मन्त्रीपरिषद् विस्तार गरेको दाबी गरेका हुन् । 

मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा आफ्नै दलका सांसदले शपथ बहिष्कार गरेपछि आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । उनले समस्या समाधानबारे कुनै चासो नदेखाएपछि विनोद कुमार शाह पक्षधर नेताहरू काठमाडौँ पुगेका छन् । 

एउटा पक्ष केन्द्रमा पुगेपछि कँडेलले शनिवार एमाले वीरेन्द्रनगर कमिटीको एक कार्यक्रममा बोल्दै आफूले केन्द्रीय अध्यक्षसँगको परामर्शमा प्रदेश कमिटीका अध्यक्षलाई जानकारी दिएर मन्त्रीपरिषद् विस्तार गरेको उनले बताए । ‘जसले अहिले जे विषय उठाइरहनुभएको छ, उहाँले आफूले चाहेको जिम्मेवारी नपाउने भएपछि असन्तुष्टि व्यक्त गर्नु भएको हो,’ कँडेलले भने । 

कँडेलले आफूले यो विषयबारे चर्चा गर्न नचाहेको तर मिडिया र सामाजिक सञ्जालमा टीकाटिप्पणी आएको देखेपछि बोल्न बाध्य भएको बताए । आफ्नो निहित स्वार्थ पूर्तिको लागि सांसद शाहले भ्रामक र झुटा प्रचार गरेको बताउँदै मुख्यमन्त्री कँडेलले बाहिर आएका विषय आवश्यक परे पार्टी र संसदीय दलमा छलफल गरेर टुङ्गोमा पुर्‍याइने बताए ।  

विषय केन्द्रमा पुगेकोप्रति असन्तुष्ट व्यक्त गर्दै कँडेलले भने, ‘आफूलाई असन्तुष्टि लागेको विषयलाई उठाउन पाइने भए पनि कस्ता विषयलाई कहाँ उठाउनु पर्ने भन्नेमा ध्यान दिनुपर्ने हो । भर्खर सरकार गठन भएको छ, सरकारलाई सहयोग गर्नु पर्नेमा उल्टै असहयोग हुने गरी भ्रामक र झुट्टा विषय सार्वजनिक भए ।’ 

मुख्यमन्त्री कँडेलले आफ्नै सांसदले विवाद सिर्जना गरेको भन्दै शाहप्रति असन्तुष्ट पनि व्यक्त गरे । ‘अहिले सबैले सहयोग गर्नु पर्ने बेला हो, तर जे विषय उहाँले उठाउनुभयो त्यसले उहाँलाई फाइदा भयो त ?,’ कँडेलको प्रश्न थियो । 

यता शाह पक्ष सांसदहरू भने मुख्यमन्त्रीले पार्टी केन्द्रको अवज्ञा गरेको आरोप लगाइरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप