मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसमा नयाँ प्रस्ताव : सह–महामन्त्री खुला राखौँ’

‘खुला प्रतिस्पर्धामा तालाबन्दी गर्न सुहाउँदैन : गोविन्द भट्टराई
बुधबार, ०१ मङ्सिर २०७८, १२ : ४५
बुधबार, ०१ मङ्सिर २०७८

नेपाली काँग्रेसका युवा नेता गोविन्द भट्टराईले आइतबारको केन्द्रीय  कार्यसमिति बैठकमा नयाँ प्रस्ताव ल्याए । सहमहामन्त्रीमा क्लस्टर अनुसार ८ जना सहमहामन्त्री हुने विधानमा व्यवस्था हुँदाहुँदै भट्टराईले यो पदमा खुला प्रतिस्पर्धाको व्यवस्था गर्न माग गरेपछि काँग्रेसभित्र नयाँ बहस प्रारम्भ भएको छ ।

‘महाधिवेशन प्रतिनिधिमा खुला राख्न हुने तर केन्द्रको पदमा खुला राख्न नपर्ने ? त्यसले सन्तुलन गर्छ त ?’ भट्टराईको प्रश्न छ, ‘मतदाता जसरी खुला र समावेशी बनाएर ल्याइएको छ, केन्द्रमा त्यसलाई रोक्न मिल्छ ?’

महाधिवेशनको मुखमा भट्टराईले अगाडि सारेको यो प्रस्तावले नेपाली काँग्रेसमा नयाँ बहस सुरु गरेसँगै हामीले भट्टराईलाई सोध्यौं, ‘आखिर क्लस्टर अनुसार ८ जना सहमहामन्त्री हुने व्यवस्था हुँदाहुँदै फेरि किन खुला प्रतिस्पर्धा चाहियो ?’ यो प्रश्नको जवाफमा केन्द्रित हुनुपूर्व स्वयं गोविन्द भट्टराई को हुन् भन्नेबारे चर्चा गरौं ।  

विसं. २०३४ सालबाट नेपाल विद्यार्थी संघको राजनीति सुरु गरेका थिए । २०३८ सालमा नेविसंघ सम्पर्क समिति तनहुँको सदस्य हुँदै उपसभापति भएका उनी सोही वर्ष पब्लिक युथ क्याम्पस नेविसंघ इकाईको सदस्य भए । शंकरदेव क्याम्पसको स्ववियु सचिव भए ।

एनपी साउद नेविसंघको अध्यक्ष हुँदा ०४८ मा नेविसंघको केन्द्रीय कोषाध्यक्ष भए । सोही वर्ष काँग्रेसको महाधिवेशनमा उनी तनहुँ क्षेत्र नम्बर १ बाट निर्विरोध महाधिवेशन प्रतिनिधि पनि चुनिए । ०५१ सालतिर त्रिवि नेविसंघ इकाई तदर्थ समितिको सभापति भएका उनी त्यसपछि नेविसंघको केन्द्रीय सभापति बन्न सफल भए । नेविसंघबाट बाहिरिएपछि पार्टी समन्वय विभागको सचिव भए ।

काँग्रेस विभाजनताका भट्टराईलाई नेपाल तरुण दलको महासचिव बन्ने अवसर मिल्यो । त्यसपछि उनी औपचारिकरुपमै काँग्रेस राजनीतिमा प्रवेश गरे । १२ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका भट्टराईलाई तत्कालीन सभापति सुशील कोइरालाले केन्द्रीय सदस्यमा मनोनित गरे । १३ औं महाधिवेशनमा भने उनी केन्द्रीय सदस्यमा निर्वाचित भए ।

भट्टराई अहिले काँग्रेसको जनसम्पर्क समिति समन्वय विभाग प्रमुखको जिम्मेवारीमा छन् । संसदीय राजनीतिमा पछाडि परेका उनी ०७४ को निर्वाचनमा प्रदेश सभा सदस्यमा पनि पराजित भए । उनै भट्टराईसँग रातोपाटीले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ–

आइतबारको केन्द्रीय समिति बैठकमा तपाईंले सहमहामन्त्रीमा खुला प्रतिस्पर्धाको व्यवस्था गर्न माग राख्नुभयो । क्लस्टर अनुसार ८ जना सहमहामन्त्री हुने व्यवस्था हुँदाहुँदै फेरि किन खुला प्रतिस्पर्धा चाहियो ?

हाम्रो विधानमा महाधिवेशन प्रतिनिधि लड्दा खुला र क्लस्टरको व्यवस्था छ । एउटा निर्वाचन क्षेत्रबाट खुलामा १० जना महाधिवेशन प्रतिनिधि लड्छन् । महिला प्रतिनिधि ३ जना, त्यो बाहेक क्लस्टरको पनि व्यवस्था गरिएको छ । महाधिवेशन प्रतिनिधिमा खुला राख्न हुने तर केन्द्रको पदमा खुला राख्न नपर्ने ? त्यसले सन्लुलन गर्छ त ? मतदाता जसरी खुला र समावेशी बनाएर ल्याएर आइएको छ, केन्द्रमा त्यसलाई रोक्न मिल्छ ? सहमहामन्त्रीको कुरा आउँदा महासमिति बैठकअघि बसेको केन्द्रीय समिति बैठकमा पनि मैले यो कुरा राखेको थिएँ । पदाधिकारी पदलाई क्लस्टरका रुपमा राख्दा राम्रो देखिँदैन ।

त्यसो भए पदाधिकारीमा क्लस्टरको विस्तार गरिएकोप्रति यहाँको विमति हो ?

होइन होइन, खुला क्लस्टर दुईवटै हुनुपर्छ भन्ने मेरो मान्यता हो । विधान संशोधनको समयमा पनि मैले यो कुरा केन्द्रीय कमिटीमा राखेको थिएँ । अहिले पनि हामी महाधिवेशनमा जाँदैछौं । ८ जना सहमहामन्त्री क्लस्टरमा आउँछन् । केही खुला राखिदियौं भने नेतृत्व विकासमा राम्रो हुन्छ । कति थप्ने छलफल गरौं ।

आज यति गरिएन भने भोलि महामन्त्री पनि क्लस्टरकै बनाइदिने बाटोमा जाने भयौं । यो नीति स्वीकारेपछि त्यो नीति पनि स्वीकार गर्नुपर्यो । उपसभापति पनि क्लस्टरकै बनाउँदै गयौं भने काँग्रेसभित्रको नेतृत्व विकासमा सन्तुलन ल्याउँदैन । असन्तुलन भयो भनेर हामीले क्लस्टर बनायौं । तर, खुलालाई रोक्दा साइकल उही त भयो । यसको परिणाम के हुन्छ ? त्यसैले, काँग्रेस पदाधिकारी छनोटमा सन्तुलन गर्नुपर्छ भन्ने मेरो भनाइ हो । खुला लोकतान्त्रिक पार्टी काँग्रेसले खुला प्रतिस्पर्धामै तालाबन्दी गर्ने कुरा हाम्रो सिद्धान्तमा ‘म्याच’ गर्दैन ।

आइतबारको केन्द्रीय कमिटीमा सभापति शेरबहादुर देउवाले सहमहामन्त्री बढाउने कुरामा छलफल गर्न फेरि बैठक बोलाउँछु भन्नुभएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले मानेको छैन । तपाईंले बहुमतबाट भएपनि निर्णय गर्नुपर्छ भन्नुभयो । बहुमतबाट निर्णय होला त ?

सहमहामन्त्रीका लागि खुला प्रतिस्पर्धा राख्ने कुरा ठीक हो भने बहुमतबाट निर्णय गर्ने ठाउँमा जानुपर्छ नि । मेरो तर्क बेठीक छ भने पनि मलाई कन्भिन्स गराउनु पर्यो । मैले राखेको प्रस्ताव ‘हुँदैन’ वा ‘हुन्छ’ भनेर भएन । के कारणले मेरो प्रस्ताव बेठीक छ भन्ने कुरा ‘हुँदैन’ भन्ने पौडेल पक्षले कन्भिन्स गराउनु पर्यो । मलाई मात्र होइन, यस्तै विचार बोक्ने देशभरिको कार्यकर्तालाई कन्भिन्स गर्नुपर्यो नि । होइन भने भोलि रोटेसनमा ८ वटा क्लस्टरबाट ६–६ महिनाका लागि सहमहामन्त्री बनाए भइगो नि ? त्यो चाँहि राम्रो हो त ? हामी पार्टीलाई राम्रो ठाउँमा लग्न चाहिरहेका छौं कि छैनौं ?

१४ औं महाधिवेशनमा तपाईंको यो प्रस्ताव लागु होला त ?

केन्द्रीय समितिमा भएन भने महाधिवेशनमा पनि यो प्रस्ताव राख्छु । यो जरुर हुन्छ हुन्छ । यो महाधिवेशनमा गुटका कारण रोकिए पनि भोलि कुनै हालतमा चेन्ज गर्नैपर्छ । म ठोकुवाका साथ भन्छु यो हुन्छ हुन्छ ।

आफू सहमहामन्त्रीको उम्मेदवार हुन बोलिराख्नुभएको त होइन ?

कुरा मेरो मात्र होइन । म लड्न अरु पद पनि छ नि । मेरै भाइहरू सबै महामन्त्री भनिराख्नु भएको छ । मैले उपाध्यक्ष भने पनि हुन्छ । यो मैले अहिले भनेको होइन । विधान संशोधनको प्रस्ताव आउँदा पनि मैले यो कुरा भनेको थिएँ ।​

 


 

उपसभापति, महामन्त्री र सहमहामन्त्री सबै निर्वाचित गर्ने व्यवस्थाले सभापतिलाई पंगु बनाउँछ भन्ने आवाज पनि उठिरहेको छ, यसलाई चाहिँ कसरी हेर्नुभएको छ ?

पार्टी संरचना ठूलो बनाइदियो भने पार्टी बलियो हुन्छ भन्ने अभ्यासमा पुगेका छौं । हामीले गुणस्तरभन्दा पनि संख्यामा धेरै प्राथमिकता दिँदै आएको अवस्था छ । अर्को कुरा, निर्वाचित सभापतिलाई बलियो बनाएर पार्टी बलियो हुन्छ कि कमजोर बनाएर भन्ने प्रश्न छ । अहिले हाम्रो साह्रो प्रयत्न निर्वाचित सभापतिलाई कमजोर कसरी बनाउने भन्नेमा छ । हामी तत्कालीन अनुहारलाई हेरेर निर्णय गर्ने बाटोमा गइरहेका छौं ।

जबसम्म सभापतिलाई बलियो बनाइँदैन, तबसम्म पार्टी बलियो हुँदैन । जब तपाईं कसैलाई संस्थामा काम गर्न दिनुहुँदैन अनि कसरी संस्था बलियो हुन्छ । सभापतिका हात खट्टा बाँधेर चला भनेपछि कसरी चलाउँछ ? अहिले हाम्रो पार्टीको अवस्था पनि त्यही छ ।

अहिले हाम्रोमा जितेकाले ५० प्रतिशत र हारेकाले ५० प्रतिशत पार्टी चलाउँछन् । जब हामी प्रतिशतमा पार्टी चलाउने अभ्यासमा गयौं भने पार्टीलाई ड्यामेज गर्छ गर्छ । काँग्रेसमा रामचन्द्र पौडेलले ४० र कृष्णप्रसाद सिटौलाले १० प्रतिशत स्ट्याम्प लाएको जस्तै छ । सधैं यसरी नै पार्टी चल्छ त ?

म पनि नेविसंघको सभापति भएर आएको हुँ । कुनै संकटमा मैले आफैले निर्णय लिनुपर्ने अवस्था आयो । संगठनको मर्यादा बचाउन, राम्रो मान्छेलाई संगठनमा स्थापित गर्न सभापतिलाई ‘स्पेस’ चाहिन्छ । त्यो ‘स्पेस दिनुहुन्न’ भने अहिलेकै जस्तो सभापति अनिर्णयको बन्दी हुने भयो नि ।

सहमहामन्त्रीका लागि खुला प्रतिस्पर्धा राख्ने कुरा ठीक हो भने बहुमतबाट निर्णय गर्ने ठाउँमा जानुपर्छ नि । मेरो तर्क बेठीक छ भने पनि मलाई कन्भिन्स गराउनु पर्यो । मैले राखेको प्रस्ताव ‘हुँदैन’ वा ‘हुन्छ’ भनेर भएन । के कारणले मेरो प्रस्ताव बेठीक छ भन्ने कुरा ‘हुँदैन’ भन्ने पौडेल पक्षले कन्भिन्स गराउनु पर्यो । मलाई मात्र होइन, यस्तै विचार बोक्ने देशभरिको कार्यकर्तालाई कन्भिन्स गर्नुपर्यो नि ।

अहिले शेरबहादुर देउवाको अनुहार हेरेर अरु मान्छेहरुले निर्णय गरिराखेका छन् । सामूहिक नेतृत्वको लोकप्रिय नारा लगाएका छन् । के सबै सभापति हुन्छन् ? के हो सामूहिक नेतृत्व ? बेलायत, अमेरिकाका पार्टी पनि सामूहिक नेतृत्वमै चल्छ त ? सभापतिले सल्लाह लिने एउटा विषय हो । तर निर्णयमै तपाईंले बाँधेर समूहको लडाइ झगडामा पार्टीलाई हामीले हालिरहेका छौं । पार्टी सभापतिमा जो मान्छे आए पनि यो अभ्यास र यो विधानमा पार्टी चलाउनै सकिँदैन ।

सभापति तानाशाही बन्ने र आफूलाई मत हालेको मान्छेले मात्र पार्टीभित्र ‘स्पेस’ दिने कुराले सबै पदाधिकारी निर्वाचितको व्यवस्था राखिएको हो कि ?

‘स्पेस’ कसरी दिने त ? सभापतिले ‘स्पेस’ दियो कि उ आफै सकिन्छ । जित हार नेट टु नेट छ । हरेक बैठकमा झगडा हुन्छ । हरेक प्रस्तावमा तय गर्दा पार्टी बैठक बस्नुभन्दा अगाडि गुटको बैठक बस्छ । एउटा एउटा धारणा बनाउँछ । त्यस्तो अवस्थामा एउटा पनि प्रस्ताव पास हुँदैन । जब गुटको मात्र स्वार्थमा काम गरेपछि सभापति सधैं अल्पमतमा बसेर असफल हुन चाहन्न नि । यो त बाध्यता हो । जब सभापतिलाई ‘स्पेस’ नै दिइन्न, उसले राम्रो नराम्रो छुट्याउन गाह्रो हुन्छ । सभापतिले राम्रो लागेर कसैलाई जिम्मेवारी दिन्छ । तर भोलिदेखि त्यही मान्छे गुटको धन्दामा लागेपछि सभापति अल्पमतमा पर्ने अवस्था आउँछ । आफू असफल हुने कि बहुमत जोगाउने भन्ने बाटोमा सभापतिलाई पुर्याइएपछि आफ्ना मान्छे रोज्नुपर्ने अवस्था हुन्छ ।

तपाईं पार्टीको जनसम्पर्क समन्यव विभाग प्रमुख हुनुहुन्छ । आइतबारको बैठकमा विदेशस्थित जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि आउने विषयमा लफडा देखिएको थियो । खास समस्या के हो ?

बैठकमा नागरिकताको विषय आयो । हाम्रो संविधानले विदेशी नागरिक हाम्रो पार्टीको मतदाता हुन सक्दैनन् । सन् १९७६ मा बीपी कोइरालाद्वारा भारतमा जनसम्पर्क समिति स्थापना भयो । अहिले त्यसको शाखा संसारका ३६ देशमा फैलिएको छ । जनसम्पर्क समिति हाम्रो विधान र सम्बन्धित देशको कानुनसँग पनि बाँधिएका छन् । जस्तो–अमेरिकाको जनसम्पर्क समिति त्यहाँको कानुनअनुसार दर्ता छ । यो पटक हाम्रो विधानमा विदेशी नागरिकलाई क्रियाशील सदस्य नदिने भन्ने थियो । तर संविधान र सम्बन्धित देशको कानुनसँग पनि नबाझिने गरी काँग्रेसको विधानसँग जोडिराख्ने हिसाबले बीचको बाटो निकाल्यौं ।

सम्बन्धित देशमा विदेशी–स्वदेशी सबैलाई जनसम्पर्क समितिमा काम गर्ने व्यवस्था गर्यौं । तर काँग्रेसको महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि हुने मान्छेको मात्र अनिवार्य रुपमा नेपाली नागरिकता हुनुपर्छ ।

आइतबारको बैठकमा विदेशी नागरिकता लिएको मान्छे नै महाधिवेशन प्रतिनिधि भएर आइदिन्छ कि भन्ने चिन्ता थियो । तर, हामीले विदेशी नागरिकलाई नदिने व्यवस्था गरेकाले उजुरी परेको अवस्थामा खारेज हुन्छ । कुनै जनसम्पर्क समितिमा क्रियाशील सदस्यको नवीकरणको समस्या थियो । त्यसलाई मिलाएर जाने भन्ने भएको छ । यसमा खासै ठूलो समस्या छैन ।

तपाईंले चाहिँ १४ औंं महाधिवेशनलाई आफ्नो राजनीतिक करियरका रुपमा कसरी हेर्नुभएको छ ?

नेविसंघदेखिको राजनीति जोड्दा नेपाली काँग्रेसमा मैले काम गरेको ४३–४४ वर्ष भइसक्यो । पार्टीका संरचना पनि ठूला भइसके । विदेशतिर भए त पार्टी सभापति भएर रिटायर्ड हुने अवस्थातिर पुगिसकेको हुने थिएँ । अहिले मेरो चाहना पदाधिकारी लड्ने हो ।

अहिले मेरो सबैसँग कुराकानी भइरहेको छ । जो जित्छ, त्यसलाई पार्टी सभापति स्वीकार्नु पर्छ भन्ने मान्यता राख्छु ।

पदाधिकारीमा पनि यसमा लड्छु भन्ने त होला नि ?

दुई कार्यकाल केन्द्रीय समितिमा काम गरेँ । चार वर्ष नेविसंघको अध्यक्ष भएर एकदमै राम्रोसँग हाँकेको हुँ । नेविसंघको इतिहासमा सबैभन्दा धेरै युनियन जिताएको हुँ । साढे ८२ प्रतिशत युनियन जिताएको अखिललाई साढे १६ प्रतिशतमा ठेगान लगाएको, जुलुस निकाल्न नसक्ने हैसियत नहुने बनाइ दिने मान्छे हुँ । त्यो हिसाबले मैले अवसर पाएँ भने पार्टी सभापति पनि राम्रोसँग हाँक्न सक्छु । तर, पार्टीमा मभन्दा पनि दुई पुस्ता छ । मैले एकै पटक सभापतिमा जम्प गर्ने योजना छैन । अरु बाँकी पदका लागि तयार छु । सहमहामन्त्रीदेखि उपाध्यक्षसम्म कुनै पनि पदमा उम्मेदवारी दिने योजनामा छु । अहिले मैले छलफल पनि चलाइरहेको छु । राम्रै ‘रेस्पोन्स’ पनि आइरहेको छ ।

बलियो गुटमा परिएन भने केन्द्रीय सदस्य जित्न पनि कठिन हुन्छ भन्ने कुरा जानकार नै हुनुहुन्छ । १४ औं महाधिवेशनमा कुन गुटबाट पदाधिकारी उठ्नुहुन्छ ?

अहिले मेरो सबैसँग कुराकानी भइरहेको छ । जो जित्छ, त्यसलाई पार्टी सभापति स्वीकार्नु पर्छ भन्ने मान्यता राख्छु ।

पछिल्लो समय तपाईं देउवासँग निकट हुनुहुन्छ । १४ औं महाधिवेशनमा पनि त्यही टीमबाट लड्ने त होला ?

अहिले मिलाएरै जाने भन्ने हो । अहिले यतिवटै टीम बन्छ भन्ने केही छैन । तपाईंले भनिहाल्नु भयो । शेरबहादुरजीकै टीममा छु । त्यही मिलेर जाने हो ।

नेपाली काँग्रेस एकदमै लोकतान्त्रिक छ । सबै नेता कार्यकर्ता आफ्नो विचार राख्न स्वतन्त्र छन् । क्रियाशील सदस्यता वितरण र नवीकरणको प्रक्रिया केन्द्रदेखि वडा तहसम्म जाने लामो पद्दति छ । योबीचमा विजयकुमार गच्छदार नेतृत्व फोरम लोकतान्त्रिक र सुनील थापाको राप्रपा गुटलगायत काँग्रेसमा समाहित भए ।

पदाधिकारीमा तपाईंको उम्मेदवारी किन भन्ने प्रश्नको जवाफ के दिनुहुन्छ ? जित्ने कुरामा विश्वस्त हुनुहुन्छ ?

मलाई कार्यकर्ताको सहानुभूति छ । मलाई माया पनि एकदमै गर्नुहुन्छ । म मेरो पुस्ताको सिनियर मान्छे हो । मेरो पुस्तामा धेरै काम गरेर कम अवसर भएको मान्छेका रूपमा मलाई देशभरको कार्यकर्ताले लिनुहुन्छ । मैले आजसम्म एक रुपैयाँ तलब भत्ता नखाएर पनि राजनीतिमा आफ्नो नैतिकतालाई केन्द्रमा राखेर ‘सर्भाइभ’ गरिराखेको छु । त्यो पनि मेरो ‘प्रोपर्टी’ हो ।

सहानुभूतिको कुरा त छँदैछ, काँग्रेसलाई यस्तो बनाउँछु भन्ने योजना के छ ?

हाम्रो सिद्धान्त अकाट्य छ । हामीले संस्थापनाकालदेखि लोकतान्त्रिक समाजवादलाई बोकेका छौं । हाम्रो सिद्धान्तको संशोधन र रुपान्तरणको जरुरी छ । हाम्रो नीति कार्यक्रम बनाउँदा जनतालाई छुने खालको कसरी बनाउने मेजर विषय हो । अर्को कुरा जित्नेले पार्टी चलाउने र हार्नेले सहयोग गर्ने हो । यो बाटोमा पार्टीलाई लग्ने हो भने आन्तरिक झमेलाबाट मुक्त भइन्छ । अनि पार्टी विधानअनुसार सञ्चालन हुनुपर्यो । साथै, कार्यकर्तालाई धेरै प्रशिक्षित गर्न जरुरी छ । हामीले यति गर्यौं भने आसन्न चुनावमा विजयी हुन सक्छौं । मेरो उद्देश्य पनि काँग्रेसलाई विधानसम्मत लोकतान्त्रिक ढंगले चलाउने र बहुमत दिलाउने नै हो ।

तर, अहिलेसम्म महाधिवशेनको रौनक खासै देखिएको छैन । काँग्रेसको १४ औं महाधिवेशन अब अलमलबाट बाहिर निस्किएको हो ?

नेपाली काँग्रेस एकदमै लोकतान्त्रिक छ । सबै नेता कार्यकर्ता आफ्नो विचार राख्न स्वतन्त्र छन् । क्रियाशील सदस्यता वितरण र नवीकरणको प्रक्रिया केन्द्रदेखि वडा तहसम्म जाने लामो पद्दति छ । योबीचमा विजयकुमार गच्छदार नेतृत्व फोरम लोकतान्त्रिक र सुनील थापाको राप्रपा गुटलगायत काँग्रेसमा समाहित भए ।

उनीहरुको समायोजनका क्रममा समयमा तथ्याङ्क वडामा पुग्न नसक्दा र तल कार्यकर्तामा आन्तरिक प्रतिस्पर्धाका कारणले केही मतभेद देखिए । यस विषयलाई क्रियाशील छानविन समिति र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला संयोजकत्वको तीन सदस्यले टुंग्यायो । त्यसपछि चरणबद्ध अधिवेशन भए ।

अहिलेसम्म ७५ जिल्लामा अधिवेशन प्रक्रिया सुरु भएको छ । अब काँग्रेस अधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्न गइरहेका छौं । त्यसका लागि आइतबारको केन्द्रीय समिति बैठकले आवश्यक समिति गठन गरेको छ । अब महाधिवेशनका सन्दर्भमा विवाद सकिएको छ । आइतबारबाट महाधिवेशनको कप्mयूजन हटेको छ ।

महाधिवेशन सम्पन्न गर्न गठित समितिमा संस्थापन इतर पक्षलाई मात्र संयोजक बनाइएको छ । त्यसमा एकलौटी भएको देखियो नि ?

त्यहाँ संयोजक मात्र होइन, बाँकी सदस्य पनि राख्न बाँकी छ ।  त्यसमा सबै सन्तुलन मिलाइन्छ । सबै समिति सर्वसम्मत नै निर्माण भएका हुन् । महाधिवेशन तयारी समितिमा पनि केको एकलौटी हुनु ? महाधिवेशनलाई व्यवस्थित गर्ने विषय भएकाले गुटको सन्तुलन पनि को साथीहरुले राम्रो पर्फम गर्न सक्छन् भनेर बनाइएको हो ।

संस्थापन इतरमा राम्रो व्यवस्थापन गर्न सक्ने नेता छैनन् ?

छैनन् भनेर होइन । कतिपय साथी बस्न इच्छुक पनि थिएनन् होला । जस्तो कि समितिमा बस्न म पनि इच्छुक भइन । कतिपय साथीहरुलाई त्यतातिर अल्झिनुभन्दा आफ्नो तयारीमा लागौं भन्ने होला । किनभने अहिले केन्द्रीय समितिमा भएका सबै मान्छे चुनाव लड्न इच्छुक छन् । त्यसैले, तयारी समितिमा जिम्मेवारी लिन मान्छे धेरै इच्छुक नभएको भन्ने मलाई लागेको छ ।

मैले ०७५ मंसिर–पुसमा भएको महासमिति बैठकमा विधान संशोधनको सिलसिलामा पनि यी कुरा राखेको थिएँ । तर मैले मात्र भनेर भएन, पदाधिकारीदेखि केन्द्रीय समितिले त्यसलाई पास गरेर महासमिति बैठकमा ल्याउनुपर्ने थियो । मलाई लाग्छ अझै पनि हामीले त्यो लाइनमा नगई सुखै छैन ।

प्रदेश समितिको नेतृत्व लिने विषयमा केन्द्रीय समितिमा पुगेका नेताहरु त्यति इच्छुक देखिएका छैनन् । यसपछाडिको कारण को हो जस्तो लाग्छ ?

एउटा स्टाटसको पनि कुरा छ ।  हाम्रो प्रदेश समितिको स्टाटस र केन्द्रीय समितिको स्टाटसका बीच पनि मान्छेले मूल्याङ्कन गरेको हुनुपर्छ जस्तो लाग्छ । एमालेले प्रदेशलाई सचिवको स्ट्यान्डरमा राख्यो । हामीले त्योभन्दा तलको स्टाटसमा राखेका कारणले गर्दा पनि धेरै मान्छे इच्छुक नभएका हुन् कि ? तर अहिले नै केन्द्रीय नेताहरु इच्छुक छन् छैनन् भनेर भन्न गाह्रो छ । प्रदेश पनि एउटा महत्वपूर्ण निकाय हो । मलाई लाग्छ केन्द्रीय समितिका केही साथीहरु प्रदेशमा जान्छन् होला ।

काँग्रेसले पार्टीको प्रदेश संरचनालाई ‘अन्डर माइन’ गरेको हो ?

मैले १३ औं महाधिवेशनको तयारीको सिलसिलामा पनि सात प्रदेशअनुसार सात जना सहमहामन्त्रीको निर्वाचन गरिदिऊँ, तिनीहरुलाई प्रदेश संयोजकको जिम्मेवारी दिऊँ । पहिलो समितिमा सम्बन्धित प्रदेशका जिल्ला सभापतिलाई पदेन सभापति राखिदिऊँ, बाँकी महत्वपूर्ण मान्छे थपेर प्रदेश कमिटी बनाऔं भन्ने प्रस्ताव राखेको हुँ । प्रदेशको सभापति र केन्द्रको सहमहामन्त्री एउटै व्यक्ति हुँदा केन्द्र र प्रदेशको सम्बन्धलाई दरिलो र सन्तुलित बनाउँछ भन्ने मेरो विश्वास थियो । मैले त्यो बेला लबिङ गरेँ तर भएन  ।

मैले ०७५ मंसिर–पुसमा भएको महासमिति बैठकमा विधान संशोधनको सिलसिलामा पनि यी कुरा राखेको थिएँ । तर मैले मात्र भनेर भएन, पदाधिकारीदेखि केन्द्रीय समितिले त्यसलाई पास गरेर महासमिति बैठकमा ल्याउनुपर्ने थियो । मलाई लाग्छ अझै पनि हामीले त्यो लाइनमा नगई सुखै छैन ।

संस्थापन पक्षमा उपसभापति विमलेन्द्र निधिले विद्रोहको संकेत देखाउनुभएको छ । तपार्ईं सभापति देउवा र उपसभापति निधिसँग समदूरीमै हुनुहुन्छ । उहाँहरु मिलेर जाने सम्भावना छ कि छैन ?

असम्भव भन्ने कुरा के छ र ? कुरा मिलेपछि जोडिन केही गाह्रो छ जस्तो लाग्दैन । तर मैले दुई जनाको बीचमा कुरा गरेको छैन । यही हुन्छ भन्न गाह्रो छ । उहाँहरू एउटै टीममा हुँदा पहिलो चरणमै जित्न सकिने देख्छु ।

देउवा पहिलो चरणमै जित्नुहुन्छ भन्ने हो ?

विमलेन्द्रजीदेखि सबै मिल्यो भने जित्नु हुन्छ । १३ औं महाधिवेशनमा पनि पहिलो चरणमै जितेजस्तै हो ।  सय मत बदर हुँदा ११ मतले पुगेको थिएन ।

काँग्रेसमा पुस्तान्तरणको बहस जबरजस्त सुनिन्छ । १४ औं महाधिवेशन देउवाको पुस्तालाई विदा गर्ने सम्भव देख्नुहुन्छ ?

ट्याक्कै भन्न गाह्रो छ । मतदाताको ट्रेण्ड नहेरिकन अहिले नै भन्न गाह्रो छ ।

पार्टी र मुलुकको नेतृत्वमा असफल सिद्ध भएका नेता पनि फेरि नेतृत्वमा आउने परिस्थिति बन्यो भनेर विश्लेषण भइरहेको छ । काँग्रेसमा पनि त्यही हुने भयो, होइन ?

असफल भएको नेृतत्वको सफल व्यक्ति काउन्टरमा आउनुपर्यो नि त ? जस्तै म ‘फेलियर’ भएँ भने त्यसको ‘रिप्लेसमेन्ट’को हिसाबले आउनुपर्यो । त्यो भएपछि ‘चेन्ज’ हुन्छ ।

काँग्रेसमा देउवाको विकल्पमा सशक्तरूपमा कोही अगाडि आउन सकेन भन्ने हो ? तर करिब एक दर्जन नेताहरु सभापतिको दाबेदार हुनुहुन्छ  नि ?

अहिले काउन्टर दिने गरेर कोही आएको देख्दिनँ । त्यसैले महाधिवेशन दोस्रो चरणमा जान्छ कि भन्ने छ । हिजो भएको गुटमा पनि उपगुट छन् । धेरैजना उम्मेदवार देखिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप