मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
एमाले राजनीति

... त्यसपछि बिग्रियो एमाले बैठकको माहोल, अनि छायो सन्नाटा

शुक्रबार, ०८ जेठ २०८३, २१ : ०३
शुक्रबार, ०८ जेठ २०८३

सारांश

  • नेकपा एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्षहरूबीच पार्टीको निर्वाचन पराजयको कारणबारे चर्काचर्की भएको छ ।
  • उपाध्यक्ष रामबहादुर थापा बादलले देशी विदेशी शक्तिलाई पार्टीको हारको दोषी बताए पनि विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङले यसको प्रतिवाद गरेका थिए ।
  • चार जना उपाध्यक्षले पार्टी संकटमा रहेको भन्दै ओलीलाई मार्ग प्रशस्त गर्न सुझाव दिएपछि बैठकमा सन्नाटा छाएको थियो ।

काठमाडौँ । अन्य दिनको तुलनामा शुक्रबार बसेको नेकपा एमालेको सचिवालय बैठकको माहोल निकै भिन्न बनेको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको बैठकमा ११ वटा एजेण्डा छलफलका लागि प्रस्तुत गरिएका थिए । 

तर, ती एजेण्डा नै पर्याप्त नभएको केही सचिवालय सदस्यहरूले धारणा राखेका थिए । सचिवालय सदस्यहरूको यस्तो धारणा सुनेपछि ओलीले भनाई राख्न सुरु गरेका थिए ।

उनले जेनजी आन्दोलन, निर्वाचन र पार्टीको अवस्थाबारे ब्रिफिङ गरेका थिए । त्यसपछि उपाध्यक्षहरूलाई बोल्न दिइएको थियो। 

ओलीपछि बोलेका उपाध्यक्ष रामबहादुर थापा बादलले राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिको चर्चा गर्दै पार्टीभित्रको प्रसङ्ग उठाएका थिए । उनले निर्वाचनमा पार्टीले नराम्रो पराजय भोग्नुमा देशी विदेशी शक्तिहरू लागेको बताएका थिए । 

‘हामी र हाम्रो पार्टीमाथि अहिले पनि अहिले पनि चौतर्फी हमला भइरहेको छ । यसमा देशी विदेशी प्रतिक्रियावादी शक्ति समेत सामेल छन्। जसका कारण गत निर्वाचनमा हाम्रो पार्टी पराजय हुन पुग्यो’, बादलले यसो भन्दै गर्दा अध्यक्ष ओलीले उनको भनाइलाई समर्थन गर्दै पार्टीको आधिकारिक धारणा पनि त्यही हुनुपर्ने बताएका थिए । तर, बादलको व्याख्या र विश्लेषण मात्र पार्टी हारको कारण नभएको भन्दै उपाध्यक्ष विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङले प्रतिवाद गरेका थिए।  

अध्यक्षसहित तीन जना उपाध्यक्षबिच भनाभन चलिसकेपछि बैठकमा केहीबेर सन्नाटा नै छाएको थियो। ‘अध्यक्ष र उपाध्यक्षबिच भनाभन र चर्काचर्की भएपछि केहीबेर बैठकमा सन्नाटा नै छाएको थियो’, एक सचिवालय सदस्यले दिनभर बैठक स्थलको माहोलबारे भने, ‘आजसम्म एमालेको बैठकमा यस्तो दृश्य र माहोल देखिएको थिएन।’ 

उनका अनुसार बैठक अवधिभर सबैजसो नेताहरूको अनुहार समेत रिसाएको जस्तै देखिन्थ्यो भने बडी ल्यांग्वेज पनि कठोर किसिमको सुनिन्थ्यो । ‘यतिसम्म कि एक नेता बोल्दा अर्को नेता बोल्नुपर्ने अवस्था आयो’, ती नेताले भने, ‘नेताहरूबिच भनाभन चलेपछि अध्यक्ष ओलीले बिचबिचमा राेक्नुपरेकाे थियो ।’ 

शुक्रबारको बैठकमा एमालेका पाँच उपाध्यक्षमध्ये रामबहादुर थापा बादलबाहेक चार जना उपाध्यक्ष ओलीको राजीनामाको पक्षमा खुलेपछि स्थिति थप अनपेक्षित बनेको थियो। ती नेताका अनुसार उपाध्यक्षहरूले अध्यक्ष ओलीलाई मार्ग प्रशस्त गर्न दिएको सुझावप्रति ओली र उपाध्यक्ष बादललाई मन परेको थिएन।

‘सङ्कटबाट पार्टीलाई जोगाउने हो भने नेतृत्वले क्षतिको जिम्मेवारी लिएर मार्ग प्रशस्त गर्नुपर्छ भन्ने चार जना उपाध्यक्षको धारणा थियो’, ती नेताले भने, ‘तर यो कुरा अध्यक्षलाई स्वीकार हुने कुरै भएन ।’ जसका कारण बैठकमा नोकझोक र भनाभनको स्थिति पैदा भयो। 

गत फागुनमा सम्पन्न निर्वाचनमा एमाले प्रत्यक्षतर्फ ९ सिट र समानुपातिकतर्फ १६ गरी २५ सिटमा सीमित बनेको थियो । तर यो अवस्था आउनुमा अध्यक्ष ओलीले जिम्मेवारी बोध गरेर पार्टीबाट राजीनामा दिनुपर्ने आवाज उठ्दै आएको थियो। 

अध्यक्ष ओलीबाट एमाले चल्दैन भन्ने निष्कर्षका साथ केही नेता कार्यकर्ताहरूले पार्टी पुनर्गठन र नेतृत्व परिवर्तन आवश्यक भएको भन्दै हस्ताक्षर अभियान नै चलाइसकेका छन्। यही मनोभाव बुझेका एमाले नेताहरूले ओलीलाई मार्ग प्रशस्त गर्न आग्रह गरे पनि ओली त्यसलाई स्वीकार गर्न तयार देखिएका छैनन् । 

बरु उनले विगतमा आफ्नो पक्षमा रहेका विष्णु पौडेल र शंकर पोखरेल समेत अहिले विपक्षमा उभिने सङ्केत बुझेर विद्या भण्डारीको सदस्यता खुला गरेर आफूमाथिको विरोध मत्थर पार्ने प्रयास गरेको कतिपय नेताहरूले बताउने गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप