शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

श्रमिक महिला दिवसको औचित्य

मङ्गलबार, २४ फागुन २०७८, १५ : ५२
मङ्गलबार, २४ फागुन २०७८

विश्वमा पुँजीवादको उदयपछि ठूला–ठूला उद्योग, कलकारखाना खुल्न थाले । त्यहाँ ठूलो मात्रामा मजदुरको आवश्यकता पर्न थाल्यो । त्यो समयमा महिलाहरू चुलोचौकामा सीमित भई घरभित्रको दास जीवन बिताइरहेका थिए । उद्योग कलकारखानाले उनीहरूलाई घरबाहिरको काममा ल्याउन बाध्य पार्यो ।

पुँजीवाद पनि सामन्तवादकै गर्भबाट जन्मेको हुनाले उत्पादन, वितरण र त्यसबाट प्राप्त नाफा पुँजीपतिहरूकै हितमा केन्द्रित हुँदै गयो । मान्छेमाथि मिहिनतरिकाले शोषण गर्ने नयाँ रूपहरू खडा हुँदै गए । त्यसभित्र पनि महिलामाथि एकातिर सामन्तवादले प्रभुत्व जमाएर शोषण हुँदै गयो भने अर्कोतिर पुँजीवादी उत्पादन सम्बन्ध र वितरण प्रणालीबाट सिर्जित शोषणका नयाँ रूपहरू खडा हुँदै आए ।

यो परिवेशले उद्योग, कलकारखानाभित्र ज्यालामा असमानता, मातृशिशुको असुरक्षा, पेसागत हकको आवाज उठाउने ट्रेड युनियनमा बन्देज, १६ घण्टा काम गर्नुपर्ने जस्ता बाध्यात्मक स्थितिले नै महिलालाई दोहोरो शोषणको भार पर्न गयो । यस्ता असमानताविरुद्ध ससाना क्लबदेखि ठूलठूला उद्योगका महिलाहरू सङ्गठित र आन्दोलित हुँदै गए । १८औँ शताब्दीको अन्त्यतिर सर्वहारा मजदुर आन्दोलन समाजवादतिर अगाडि बढ्न थाल्यो ।

त्यसमा पनि मुख्यतः सन् १८७२ को पेरिस कम्युनमा समाजवादी र श्रमिक महिलाहरूको जुझारूपनले महिला अधिकारको आन्दोलनलाई अगाडि बढाउन थप प्रेरणा मिल्यो । सन् १८९७ मार्च ८ को दिन अमेरिकाको न्युयोर्क सहरको कपडा मिलका महिलाले ८ घण्टा काम, समान कामको समान ज्याला, महिला मजदुरहरूलाई ट्रेड युनियनको अधिकार, मातृशिशुको सुरक्षा, उद्योग कलकारखानाभित्र नै शिशुस्याहारको व्यवस्था र समान रोजगार र अवसर जस्ता माग राखेर ¥याली, सभापछि आमहड्ताल गरेका थिए । विश्व इतिहासमा यो महिलाहरूको सङ्गठित पहिलो विद्रोह थियो ।

पुँजीवादीहरूले यस आन्दोलनलाई दबाउन ठूलो तागत खर्चिए तर महिलाहरू निरन्तर आफ्नो मुद्दामा अगाडि बढिरहे । सन् १९०७ मार्च ८ को दिन समाजवादी महिलाहरूको पहिलो सम्मेलन जर्मनको स्टुगार्डमा समाजवादी नेतृ क्लारा जेटकिनको नेतृत्वमा सम्पन्न भयो । सम्मेलनले कुनै लिङ्गभेद नगरी सबै ठाउँमा महिलालाई समान अधिकार हुनुपर्छ भन्ने प्रस्ताव पारित ग¥यो ।

पुँजीवादले महिलामाथि गरेको शोषण र उत्पीडनविरुद्ध सुरु भएको आन्दोलनलाई सशक्त बनाउने निर्णय ग¥यो । सन् १९०८ देखि आन्दोलन तीव्र गतिमा अगाडि बढ्यो । १९०९ मार्च ८ को दिन आन्दोलन उत्कर्षमा पुग्यो । उक्त आन्दोलनपछि १९०९ मार्च ८ कै दिन ट्रेड युनियनको हक, समान कामका लागि समान ज्याला र ८ घण्टा काम, कलकारखानाभित्र नै शिशुस्याहारको व्यवस्थासहितका हकअधिकार प्राप्त हुने निर्णयहरु भए ।

डेनमार्कको राजधानी कोपनहेगनमा १९१० मा भएको भेलाले दोस्रो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका रूपमा मनाउने निर्णय ग¥यो । त्यसपछि १९११ देखि संसारभरका महिलाहरूले यो दिवस मनाउँदै आएका छन् । महिला अधिकारकै प्राप्तिका लागि गरिएको आन्दोलनको निरन्तरता स्वरूप सन् १९१३, १९१४ र १९१७ मा तत्कालीन रुसमा प्रथम विश्वयुद्धको विरोधमा महिलाहरूले रोटी र शान्तिको नारासहित अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएका थिए ।

यसकै निरन्तरतामा सन् १९७५ मा संयुक्त राष्ट्र सङ्घले अन्तर्राष्ट्रिय नारी वर्ष मनाउने १८९ देशका सरकारका प्रतिनिधिद्वारा हस्ताक्षर गरे । सन् १९९५ को क्षेत्रीय घोषणापत्रमार्फत प्रत्येक महिलाले उनको इच्छाअनुसार राजनीतिमा भाग लिन पाउने, शिक्षा आर्जन गर्न पाउने, कुनै पनि लैङ्गिक विभेद र हिंसाको सिकार नभई समाजमा स्वतन्त्र रूपमा बाँच्न पाउने अधिकारसहितको ऐतिहासिक निर्णय भयो ।

संयुक्त राष्ट्र सङ्घअन्तर्गतका १६८ राष्ट्रका प्रमुख र सकारका प्रमुखहरूले सन् २००२ मा बसेको महासभाले सहस्राब्दी विकास लक्ष्य लगायतका लैङ्गिक आधारमा विद्यमान सबै किसिमका असमानता हटाउन सरकारका संयन्त्रहरू, गैरसरकारी सङ्घ संस्था, नागरिक समाज, निजी क्षेत्र, अन्तर्राष्ट्रिय सङ्घ, संस्था तथा दातृपक्षले समेत आआफ्ना क्षेत्रबाट एक्लै वा समन्वयात्मक रूपमा कार्य गर्ने घोषणा गरेको थियो ।

नेपालमा पनि महिला अधिकारको आवाज बुलन्द गर्न मार्च ८ को प्रेरणा निकै महत्त्वपूर्ण छ । तर यसलाई कसैले परम्पराको रूपमा ग्रहण गर्दै आएका छन् भने वामपन्थी विचार सम्बद्ध महिलाहरूले न्याय, समानता र स्वतन्त्रताको गौरव बोकेको ऐतिहासिक सन्दर्भको रूपमा ग्रहण गर्दै आएका छन् । सरकारी तबरबाट नै औपचारिक रूपमा सन् २०१७ देखि नेपालले नारी दिवस भनेर मनाउन सुरु गरेको हो ।

मार्च ८ मा महिलाहरूलाई सार्वजनिक बिदा दिने प्रचलन सुरु भएको हो । विसं २०६८ मा डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा श्रमिक महिलाहरूको विद्रोह र बलिदानको इतिहास बोकेको हुनाले नारी दिवस होइन, अन्तर्राष्ट्रिय श्रमिक महलिा दिवसका रूपमा मनाउनुपर्छ भनेर सोही वर्षबाट सरकारले अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाउन थालेको हो ।

सरकारका अङ्गहरू, निजी क्षेत्र, सङ्घ–संस्था, राजनीतिक पार्टीसँग सम्बद्ध महिलाहरू सबै आआफ्ना बुझाइमा महिला अधिकारको कुरा गरेर ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’ मनाउने गर्दछन् । गणतन्त्र नेपालको स्थापना र नयाँ संविधान निर्माण नहुँदासम्म वामपन्थी विचार बोकेका महिलाहरू मार्च ८ लाई महिला अधिकारको स्थापनार्थ ठूलो सङ्घर्षको रूपमा मनाउने गर्दथे । नयाँ संविधनले महिला हकको धेरै कुरा सम्बोधन गरेको कारण हुनसक्छ, आजकल मार्च ८ लाई सङ्घर्षका रूपमा मनाइराखेको देखिँदैन । केवल एक परम्परा धान्नकै लागि मात्रै मनाएको जस्तो देखिन्छ ।

आजको सन्दर्भमा ८ मार्चलाई बुझ्ने तरिका, यसको ऐतिहासिक मर्म, उद्देश्य र औचित्य के कति पूरा भयो त्यसको मूल्याङ्कन गर्ने बेला भएको छ । यसलाई समय सन्दर्भअनुसार सोही विचारधारात्मक कोणबाट हेर्ने र बुझ्ने दृष्टिकोणमा परिवर्तन गर्न कति आवश्यक छ विचार गर्ने बेला आएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको मूल्य, मान्यता र उद्देश्यलाई संस्थागत गर्न संसारभरका महिलाहरूलाई २१औँ शताब्दीमा समेत हुनेगरेका शोषण, दमन, अन्याय, उत्पीडन र असमानताबाट मुक्त गर्न राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा बहस जरुरी छ । पुँजी र प्रविधिको आधुनिक विश्वमा शोषणका रूपहरू पनि नयाँ ढङ्गले विकसित हुन पुगेका छन् ।

उद्योग, कलकारखाना, घरायसी कामका लागि विभिन्न मुलुकहरूमा गर्ने आवतजावत, हत्या, बलात्कार, श्रमशोषण, मानसिक शोषण, घृणा, तिरस्कार, प्रविधिले जन्माएका लैङ्गिक हिंसा टड्कारो रूपमा देखिन्छ । त्यसबाहेक धार्मिक, सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक असमानताले जन्माएका उत्पीडनहरू पनि अझै कायम छँदैछ ।

मुख्यगरी महिला उत्पीडन र असमानताका कारक पक्ष एउटा हो– विचार र चिन्तन । अर्को हो– उत्पादन सम्बन्ध, पुँजीबजार र पुँजीवादी वितरण प्रणाली । सबै प्रकारका उत्पीडनबाट मुक्त हुन, उत्पीडनका रूपहरूलाई सही तरिकाले बुझ्न र बदल्न सक्ने सही विचारधारासँगै आवश्यक भएको छ । यसको मूल्य, मान्यता, मर्म र उद्देश्यलाई दह्रोसँग आत्मसात गर्दै अन्तर्राष्ट्रिय स्तरमा नै साझा सङ्गठन, साझा मुद्दामा गोलबद्ध भएर एकपटक संसारभरका महिलाहरू जाग्नुपर्ने आवश्यकता अझै देखिन्छ ।

कतिपय साझा र स्वतन्त्र रूपमा स्थापित सङ्घसंस्थाहरू महिला अधिकारको क्षेत्रमा निकै अगाडि रहेको ठान्ने गर्दछन् । अन्तर्राष्ट्रिय नेटवर्कमा पनि देखिन्छ । यस्ता सङ्घसंस्थाले प्राप्त उपलब्धिको गाथा गाउन र परम्परा धान्न त सक्लान् तर पूर्णरूपले असमानता र उत्पीडनको अन्त्य गर्ने निर्णायक भूमिका निर्वाह गर्न असम्भव छ । सबै कुराको छिनोफानो राजनीतिक प्रक्रियाबाट हुने हुनाले अन्तर्राष्ट्रिय स्तरको साझा मुद्दा र संयुक्त पहल गर्न सके मात्र मार्च ८ को ऐतिहासिकतालाई ग्रहण गर्न सकेको ठहर्नेछ ।

आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहँदा लैङ्गिक समानताका लागि आर्थिक समानता र स्वतन्त्रताको प्रत्याभूति गराउन जरुरी छ । घरेलु श्रमलाई कुल ग्राहस्थ उत्पादनमा जोड्ने, समान कामको समान ज्याला, संविधान प्रदत्त हकअधिकार कार्यान्वयन, अन्तर्राष्ट्रिय स्तरमा महिला पक्ष भएर गरिएको सन्धि, महासन्धिहरूको पालना गर्न गराउनु पहिलो कदम हो । त्यसका लागि राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा समान अधिकार, सहअस्तित्व, अर्थपूर्ण प्रतिनिधित्व बढाउन जरुरी छ । महिलाको पहुँच स्थापना गर्न सबैखाले हिंसाविरुद्ध अभियान र आन्दोलनलाई एकाकार गर्न महिला एकता आजको आवश्यकता बनेको छ । एकताबद्ध बनौँ । असमानता, अन्याय र उत्पीडनको अन्त्य गरौँ ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना ।

लेखक पूर्व विज्ञान तथा प्रविधि मन्त्री हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना धमला
कल्पना धमला
लेखकबाट थप