शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

कतारको तलब, नेपालको प्रशिक्षक : अल्मुताइरीसँग किन डराउँछ एन्फा ?

चुनावी माहोलमा बलियो बनाउन अल्मुताइरी मुख्य हतियार
शुक्रबार, २३ वैशाख २०७९, १० : ४४
शुक्रबार, २३ वैशाख २०७९

नेपाली फुटबल टोलीले पहिलोपटक पाएको प्रो–लाइसेन्सप्राप्त प्रशिक्षक हुन् अब्दुल्लाह अल्मुताइरी । कतार फुटबल एसोशिएसनले एक वर्षका लागि अल्मुताइरीलाई प्रशिक्षकको रूपमा पठाएको हो ।​ अल्मुताइरीले कतार फुटबल एसोसिएसनबाट मासिक तलब खान्छन् । उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले यहाँ बस्ने र खाने सुविधाको मात्र व्यवस्था गरेको छ ।

एक वर्षका लागि आएका अल्मुताइरीको नेपाल बसाइ तीन वर्ष हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाको पहलमा उनी नेपाल थप दुई वर्ष बस्ने भएका हुन् ।​ अल्मुताइरी नेपाल आएको धेरै समय भएको छैन । तर, विभिन्न कारणले उनको चर्चा भइरहेको छ । नेपालले विश्वकप छनोटअघि इराकविरुद्ध गरेको प्रदर्शनमा उनलाई राम्रो श्रेय गयो । त्यसपछि नेपाली टोलीले साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाउँदा पनि उनी नेपाली समर्थकको नजरमा परे ।

त्यसपछि नेपाली टोलीको प्रदर्शन राम्रो भएको र युवा खेलाडीले मौका पाएकाले टिम राम्रो बनेको चर्चा चल्यो । खेलको नतिजा भने नेपाली टोलीको पहिलेको जस्तै थियो । यद्यपि, प्रदर्शनमा केही परिवर्तन आएको छ । उनी नेपाली टोलीका पहिलो प्रशिक्षक हुन्, जो समर्थकको नजिक छन् । उनले समर्थकसँग गर्ने कुराकानी, उनीहरुको फेसबुक पोस्टमा गर्ने कमेन्टले त्यो देखाउँछ । अल्मुताइरी समर्थकसँग भिडियो कल गर्न पनि भ्याउँछन् । उनले समर्थकको भावनालाई सम्झन्छन् अनि समर्थक उनको भावनाको कदर गर्छन् ।

आफै गल्ती गर्दा पनि कारबाहीमा परेनन् अल्मुताइरी

सामाजिक सञ्जालमा गत वर्षको साउन महिनामा उनी विवादमा तानिए । एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङका कारण आफू पदबाट राजीनामा दिन एन्फा जान लागेको उनले उल्लेख गरेका थिए । तीन सातादेखि नेम्वाङले काम गर्न अवरोध सिर्जना गरेको उनको भनाइ थियो ।

त्यो पोस्टपछि उनी निकै चर्चामा आए । उनले समर्थकहरूको साथ पाए । त्यसपछि उनले न त राजीनामा दिए, न एन्फा पुगे । उक्त विवादको छानबिनका लागि एन्फामा वरिष्ठ उपाध्यक्ष नेम्वाङले पत्र काटे । त्यसपछि अल्मुताइरीले पनि छानबिनका लागि पत्र काटे ।

एन्फा कार्यसमितिले उक्त विवाद मिलाउन सकेन । सोही विवादको विषयमा छानबिन गरिदिन एन्फाले खेलकुद मन्त्रालयलाई आग्रह ग¥यो । मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई छानबिन गरी प्रतिवेदन बुझाउन पत्र पठायो ।

राखेपले करिव दुई साता छानबिन गरेर अल्मुताइरीलाई दोषी ठह-यायो । फेसबुकमा अल्मुताइरीले गरेको पोस्ट हटाउन राखेपको छानबिन समितिले निर्देशन दियो । राखेपका बोर्ड सदस्य पूर्णेन्द्र विक्रम लाखेको संयोजकत्वमा बसेको छानबिन समितिले एक खेल पत्रकारले गरेको पोष्टमा वरिष्ठ उपाध्यक्ष नेम्बाङले लाइक गर्दा अल्मुताइरीले रिसको झोकमा उक्त पोष्ट गरेको ठहर ग-यो ।


त्यसपछि अल्मुताइरीले अहिलेसम्म उक्त पोष्ट हटाएका छैनन् । खेलकुद मन्त्रालयले पनि अल्मुताइरीलाई कारबाही गरेन । अल्मुताइरी नेपालमा प्रशिक्षकको रुपमा आएको समयदेखि नै कहिले चर्चा र कहिलो विवादमा आइरहन्छन् । उनी पत्रकारसँग बेल–बेला विवादमा तानिन्छन् । खेलाडीलाई फेसबुक पोष्ट सेयर गर्न लगाउनु, कपाल काट्ने र ट्याटु हान्ने कुरामा आफैले निर्देशन दिनुजस्ता कुराले पनि उनी चर्चामा छन् ।

वरिष्ठ उपाध्यक्षसँगको विवाददेखि खेल पत्रकार र पछिल्लो समय खेलाडीसँगको विवादले अल्मुताइरी चर्चामा छन् ।

अल्मुताइरीसँग किन डराउँछ एन्फा ?

कतार फुटबल एसोशिएसन नेपाली फुटबलका लागि मुख्य सहयोगी माध्यम बनेको छ । कतारले नेपाललाई प्रो–लाइसेन्स प्राप्त प्रशिक्षक निःशुल्क पठाएको छ । कतार फुटबल एसोशिएसनले नै अल्मुताइरीलाई सेवा सुविधा दिन्छ । प्रो–लाइसेन्स प्राप्त प्रशिक्षक नेपालमा भित्र्याउँदा ८ देखि १२ हजार डलर मासिक एन्फाले खर्च गर्नु पर्छ ।

त्यसको भार अहिले कतार फुटबलले ब्यहोरेको छ । यता कतारकै कतार एरवेजले ए डिभिजन लिगलाई बर्सेनि करोडौं रकम दिन्छ । कतार फुटबलले नै नेपाली खेलाडीलाई ठूलो उपचार गर्नु परेमा नेपालबाट बोलाएर निःशुल्क उपचार गराइदिने गरेको छ । त्यसैले अहिले कतार फुटबल एन्फाको शिरोपर छ । यदि एन्फाले अल्मुताइरीलाई राजीनामा दिन बाध्य बनाएमा कतार फुटबलले आफूलाई हेर्ने नजरिया बदलिन सक्छ भन्ने डर एन्फालाई छ । कतार फुटबलले दिने सुविधा बन्दमात्र गरेमा एन्फालाई आर्थिक भार पर्नेछ ।


उसो त एन्फा अहिले नै आर्थिक भारमा छ । यसै बीचमा अल्मुताइरीलाई एन्फाले हल्का दबाव दिएको सुइँको मात्र पाएमा कतार फुटबलले अल्मुताइरीलाई फिर्ता बोलाउने छ । साथै एन्फासँगको सम्बन्ध पनि चिसिने छ ।

चुनावी माहोलमा बलियो बनाउन अल्मुताइरी मुख्य हतियार

एन्फाको चुनाव आगामी असार ६ गतेबाट हुँदैछ । त्यसका लागि कर्माछिरिङ शेर्पा र पंकज नेम्बाङ प्रतिस्पर्धामा छन् । अध्यक्ष शेर्पाका लागि चुनावमा बलियो बन्न अल्मुताइरीको साथ आवश्यक छ ।​ अल्मुताइरीले बेला–बेला शेर्पालाई आफ्नो दाइ भन्दै मायाले सम्बोधन गर्छन् । त्यसैले अल्मुताइरीलाई झनै बलियो बनाएको छ । वरिष्ठ उपाध्यक्षसँग अल्मुताइरीको सम्बन्ध राम्रो छैन । चुनावका समयमा अल्मुताइरीले शेर्पालाई सहयोग गर्ने प्रस्ट छ ।

त्यसैले शेर्पाले अल्मुताइरीलाई चुनावसम्म आफ्नो साथमा राख्न खोजेका छन् । उसो त एन्फा अध्यक्ष छान्नका लागि समर्थकहरुको भोट चाहिँदैन । तर, पनि अल्मुताइरीलाई साथमा लिँदा चुनावी माहोलमा सहयोग पुग्ने अध्यक्ष शेर्पाको बुझाइ छ ।

खेलाडीले न्याय माग्दा पनि एन्फा मौन

एएफसी एसियन कप छनोटका लागि प्रशिक्षणमा रहेका खेलाडीहरु क्याम्प छोडेर गए । मुख्य प्रशिक्षक अल्मुताइरीसँग खटपट हुँदा खेलाडीले रातारात मैदान छोडेर जानुपर्ने बाध्यता भयो । खेलाडीले मैदान छोडेर गएको विषयमा अल्मुताइरीले उनीहरुलाई माफी दिनु भन्दै पन्छिन खोजे । यता खेलाडीहरुले आफूहरु अन्यायमा परेको भन्दै छानबिन गर्न एन्फासमक्ष आग्रह गरे ।

खेलाडीको आग्रह सुनेका एन्फा अध्यक्ष शेर्पाले चुनावसम्म प्रशिक्षक विवादको विषयमा आफूले केही गर्न नसक्ने बताए । खेलाडीहरु न्यायका लागि भन्दै एन्फा धाए । युवा तथा खेलकुद मन्त्री हुँदै राखेप सदस्य–सचिवसम्म पुगे । लगातारको दबावपछि एन्फाले २५ गतेका लागि बोर्ड बैठक बोलाएको छ ।

उक्त बैठकमा खेलाडीहरुलाई न्याय दिने कुरा उठ्ला तर, प्रशिक्षक अल्मुताइरीलाई कारबाही गर्ने आँट भने एन्फाले नगर्ने जानकारहरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप