शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

भूकम्पपीडितका नाममा आएको रकममा एनजीओले यसरी गर्छन् ब्रह्मलुट

सोमबार, २९ जेठ २०७४, ११ : १०
सोमबार, २९ जेठ २०७४

काठमाडौँ - भूकम्प प्रभावितहरु अझै अस्थायी टहरामा बसिरहेका छन् । तर उनीहरुका नाममा आउन सरकारी र गैसरकारी पैसामा कसरी बदमासी हुन्छ भन्ने केही तथ्यहरु बाहिर आएका छन् ।
‘स्वास्थ्यका लागि पानी’ भन्ने एक गैरसरकारी संस्थामा करोडौं रुपैयाँ हिनामिना भएकोे भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र समाजकल्याण परिषदले अनुसन्धान थालेको छ ।
इन्टरनेसनल मेडिकल क्रप्सको सहयोगमा नेपाल स्वास्थ्यका लागि पानी (नेवा) नामक गैरसरकारी संस्थाले हेलिकोप्टर ढुवानीमा भष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २०७३ चैत २७ गते र २०७४ वैशाख १७ गरी दुई पटक उजुरी परेको थियो । यस्तो उजुरी समाज कल्याण परिषद्मा पनि परेको छ । उजुरीका कागजात अख्तियार र समाजकल्याण परिषद्बाट रातोपाटीलाई प्राप्त भएका छन् ।
गोरखा जिल्लाका उत्तरी क्षेत्रहरुमा भूकम्प प्रभावितहरुका लागि सञ्चालित खानेपानी तथा सरसफाई कार्यक्रमका लागि हेलिकोप्टर मार्फत निमार्ण सामग्री ढुवानीमा करोडौँ रुपैया भष्ट्राचार भएको भन्दै यसबारे छानविन सुरु भएको हो ।
छानविन सुरु भएसँगै नेवालाई सम्पूर्ण नयाँ कार्यक्रम अघि बढाउन रोकिएको समाज कल्याण परिषदकी छानविन समितिकी सदस्य लक्ष्मी कोइरालाले रातोपाटीलाई जानकारी दिइन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतका अनुसार खानेपानी तथा सरसफाईका निमार्ण सामग्रीहरु ढुवानी गर्दा हवाई भाडामा मनोमानी मूल्य राखी आर्थिक घोटला भएको भन्दै उजुरी परेको हो ।
प्रचलित दररेटभन्दा दोब्बर बढीमा श्री एयरलाइन्सबाट गोरखाको सल्यानटारबाट ढुवानी गराई करोडौँ भष्टाचार भएको तथ्यसहित उजुरी परेको आयोग स्रोतले रातोपाटीलाई जानकारी दिएको छ ।
निजी सेवाको हवाई कम्पनी श्री एयरलाइन्सलाई प्रचलित दरभन्दा दोब्बर बढी दर रेट राख्न लगाई करोडौँ रकम हिनामिना भएको उजुरीकर्ताको दाबी छ । गैरसरकारी संस्था स्वास्थ्यका लागि पानी अर्थात नेवाका पदाधिकारीहरुले विधि प्रक्रिया पूरा गरेको देखाई दुर्गम भेगका भूकम्प पीडित जनताको नाममा आएको अनुदान सहयोगमा ब्रह्मलुट गरेको अख्तियारमा बुझाएको उजुरीपत्रमा उल्लेख गरेका छन् । 

कसरी भयो हिनामिना ?    
गैरसरकारी संस्था नेवाले गोरखाको सल्यानटारदेखि चुमचेतसम्म ३ हजार केजी, सल्यानटारदेखि सामागाउँसम्म २ हजार केजी, सल्यानटारदेखि बिही, सिर्दीबास र प्रोकसम्म ३ हजार केजी र सल्यानटारदेखि उहियासम्म ३ हजार केजी सामान श्री एयरलाइन्सको हेलिकोप्टरबाट ढुवानी गरेको थियो ।
नेवाले सल्यानटारदेखि चुमचेतसम्म प्रतिट्रिप ३ हजार केजी ढुवानीको भाडा ६ लाख ७६ हजार ५ सय बुझाएको छ । कूल भाडादरबाट हिसाब निकाल्दा प्रतिकेजी सामानको भाडा २ सय २५ रुपैयाँ हुन् आउँछ । तर यही श्री एयरलाइन्सले सोही गाविसमा अन्य कार्यालय तथा ठेकेदारहरुको सामान ढुवानी गर्दा भने प्रतिकिलो १ सय १० रुपैयाँका दरले ढुवानी गर्ने गरेको छ ।


चुमचेत भन्ने ठाउँ जस्तै अन्य स्थानमा सामान ढुवानी गर्दा पनि यसरी नै दोब्बर दर रेट बनाई आर्थिक हिनामिना गरिएको उजुरीपत्रमा उल्लेख छ ।
यस्तै सल्यानटारदेखि सामागाउँसम्म प्रतिट्रिप ढुवानी २ सय केजीको भाडा ८ लाख ६३ हजार भुक्तानी गरिएको छ । यो दरअनुसार एक केजी सामानको भाडादर ४ सय ३२ हुन आउँछ ।
सल्यानटारदेखि नै बिही, सिर्दीबास र प्रोकसम्म प्रतिट्रिप ३ हजार केजी सामान ढुवानी गर्दा ७ लाख ३१ हजार ५ सय भुक्तानी गरिएको छ । यसबाट प्रतिकेजी भाडादर २ सय ४४ हुन आउँछ ।
यस्तै सल्यानटारदेखि उहियासम्म प्रतिट्रिप ३ हजार केजी सामानको भाडा ४ लाख ६२ हजार भुक्तानी गरेको छ, जसको प्रतिकेजी दर १ सय ५४ हुन्छ ।
नेवाले प्रयोग गरेको श्री एयरलाइन्सले अन्य कार्यालय तथा ठेकेदारहरुको निमार्ण सामग्री र खाद्य सामग्री सल्यानटारदेखि यी गाविसहरु बिही, सिर्दीबास र प्रोकसम्म प्रतिकेजीको भाडा दर १ सय १० मा र सामागाउँसम्म प्रतिकेजीको दर १ सय ६५ को दरले ढुवानी गर्दछ ।
यी ठाउँहरुमा जान आउन र अनलोड गर्न १ घण्टाभन्दा बढी समय लाग्दैन ।

सेनाको हेलिकोप्टरले पनि कम रेटमा ढुवानी गर्छ
यही स्थानमा नेपाली सेनाको हेलिकोप्टरले ढुवानी गर्दा पनि निकै कम दर रेट पर्ने गर्छ । सल्यानटारदेखि बिही, सिर्दीबास र प्रोकसम्म प्रतिकेजी १ सय १० रुपैयाँदेखि १ सय ५८ सम्म पर्छ भने नेवाको २ सय ४४ रुपैयाँ परेको छ । सामागाउँ क्षेत्रमा नेपाली सेनाको हेलिकोप्टरले प्रतिकेजी २ सय ३८ रुपैयाँका दरले सामान बोक्छ भने नेवाले प्रयोग गरेको श्री एयरलाइन्सको हेलिकोप्टर प्रयोग गरेर ४ सय ३२ रुपैयाँ अर्थात दोब्बर दर रेट कायम गराई ठूलो आर्थिक घोटला गरिएको छ ।
यसरी नेवाले गोरखा जिल्लाका चुमचुम, बिही, सिर्दीबास, प्रोक, सामागाउँ र उहिया भन्ने ठाउँमा ३० ट्रिप खानेपानी र सरसफाईका सामानहरु ढुवानी गरेको थियो । प्रचलित दर रेटअनुसार १० ट्रिपभन्दा बढी सामग्री हेलिकोप्टरबाट ढुवानी गराउदा चुमचेत, बिही, सिर्दीबास, प्रोक र उहियासम्म ३ लाख र सामागाउँसम्म ४ लाखसम्म पर्ने गोरखामा सामान ढुवानी गर्दैै आएका गोरखाका ठेकेदारहरु बताउँछन् ।

मानिस बोक्ने हेलिकोप्टर भाडामा पनि लाखौँ हिनामिना
सामान ढुवानीका साथै कर्मचारी ओसार्ने हेलिकोप्टर प्रयोग गर्दासमेत नेवाले आर्थिक हिनामिना गरेको उजुरीमा उल्लेख छ । काठमाडौँबाट मनाङ एयरको हेलिकोप्टर मार्फत चुमचेत, सामागाउँ, बिही, सिर्दीबास, प्रोक र उहियामा कर्मचारी ओसार्ने क्रममा पनि लाखौँ रुपैया हिनामिना भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्रीको कार्यालय र समाजकल्याण परिषदमा उजुरी परेको हो । मनाङ एयर प्रयोग गर्दा प्रचलित दररेटभन्दा बढी प्रतिट्रिपमा नै १ लाख रुपैयाँभन्दा बढी हिनामिना भएको आरोपसहित उजुरी परेको अख्तियार स्रोतले जानकारी दियो ।
नेवाले काठमाडौँदेखि चुमचेतसम्म कर्मचारी ओसार्दा प्रतिट्रिप भाडा २ लाख ५२ हजार रुपैयाँ, बिहीसम्म प्रतिट्रिप भाडा २ लाख ५२ हजार, सिर्दीबाससम्म प्रतिट्रिप भाडा २ लाख ३५ हजार रुपैयाँ, प्रोकसम्म प्रतिट्रिप भाडा २ लाख ७० हजार, उहियासम्म प्रतिट्रिप भाडा २ लाख रुपैयाँ र सामागाउँसम्म प्रतिट्रिप भाडा २ लाख ८५ हजार भुक्तानी गरेको छ । यो भाडादरलाई प्रचलित दररेटसँग भिडाएर हेर्दा धेरै फरक देखिएको छ ।

अनियमितता नभई पक्कै पनि उजुरी परेन भन्ने हाम्रो ठहर छ । अनुसन्धान गर्ने क्रममा दबाब त पक्कै पनि आउँछ । तर म कसैको दबाबमा पर्ने मान्छे होइन । कसैको दबाबमा काम गर्दिनँ । सकेसम्म छिटो यो केसलाई टुङ्ग्याउने गरी काम भइरहेको छ । निर्वाचन आचारसंहिताका कारण केही समय काम ढिलो भएको हो ।

कति हो त वास्तविक भाडादर ?
प्रचलित भाडादरअनुसार काठमाडौँदेखि चुमचेतसम्म प्रतिट्रिप बढीमा १ लाख ४० हजार रुपैयाँसम्म पर्ने गर्छ । यस्तै बिहीसम्मको प्रतिट्रिप बढीमा १ लाख ४० हजार रुपैयाँसम्म, सिर्दीबाससम्मको प्रतिट्रिप बढीमा १ लाख ३० हजारसम्म, प्रोकसम्मको प्रतिट्रिप भाडा बढीमा १ लाख ४० हजारसम्म, उहियासम्मको प्रतिट्रिप भाडा बढीमा १ लाखसम्म, सामागाँउसम्मको प्रतिट्रिपको भाडा बढीमा १ लाख ६० हजारसम्म पर्छ । स्थानीयले बिरामी भई आकस्मिक रुपमा हेलिकोप्टरको प्रयोग गर्दाका भाडादर हुन् यी ।
गैरसरकारी संस्था नेवाले काठमाडौँबाट कर्मचारी ओसारेको गोरखाका हिमाली क्षेत्रहरुमा  लाग्ने भाडादरबारे बुझ्न आइतबार रातोपाटी डटकमले श्री एयरलाइन्सका स्टेसन म्यानेजर अमर श्रेष्ठलाई सम्पर्क गरेको थियो । उनले काठमाडौँबाट गोरखाका चुमचेत, प्रोक, बिही, सामागाउँलगायतका स्थानमा हेलिकोप्टर चार्टर गर्दा १ लाख ५० हजारदेखि २ लाखसम्म लाग्ने जानकारी दिए ।

श्रेष्ठले दिएको जानकारी अनुसार :
–काठमाडौंदेखि चुमचेतसम्म १ लाख ६० हजार रुपैयाँ
–काठमाडौंदेखि बिहीसम्म १ लाख ६० हजार रुपैयाँ
–काठमाडौंदेखि सिर्दीबाससम्म १ लाख ५० हजार रुपैयाँ
–काठमाडौँदेखि उहियासम्म १ लाख ४० हजारदेखि ५० हजार रुपैयाँ
–काठमाडौंदेखि सामागाउँसम्म २ लाखदेखि २ लाख २० हजारसम्म रुपैयाँ लाग्ने हुन्छ ।
श्रेष्ठले दिएको भाडादर र नेवाले कायम गरेको भाडादरको हिसाब गर्दा भाडादरमा फरक तथा निकै अस्वभाविक देखिन्छ ।
श्रेष्ठले दिएको जानकारीअनुसार हेर्ने हो भने काठमाडौंदेखि चुमचेतसम्मको एक ट्रिप भाडामा ९२ हजारको फरक पर्न जान्छ । यस्तै सामागाउँसम्मको एक ट्रिप भाडामा पनि ८५ हजारको फरक देखिएको छ । नेवाले हेलिकोप्टर चार्टर गरेका गोरखाका उक्त क्षेत्रहरुमा एक ट्रिपमै झन्डै १ लाख हाराहारीको रकममा फरक परेको छ ।
नेवाले कर्मचारी ओर्सानका लागि सिम्रिक एयर, डाइनेस्टिक एयर र अल्टिच्युट एयरको प्रयोग गरेको थियो ।
अझ महत्वपूर्ण पक्ष के छ भने एउटै संस्थाले एउटै कम्पनीको हेलिकोप्टर पटक पटक प्रयोग गर्दा प्रचलित दर रेटमा २५ प्रतिशतसम्म छुट दिन सकिने हवाई उडड्यन क्षेत्रका जानकारहरु बताउँछन् ।
प्रोक, चुमचेत, सामागाउँलगायतका हिमाली क्षेत्रहरुमा उडान गर्दा गृहमन्त्रालयबाट स्वीकृति लिएर उडान भर्नुपर्ने व्यवस्था रहेको छ । यी स्थानहरुमा सिम्रिक र फिस्टेल एयरलाइन्सले बढी उढान भर्ने गरेका छन् ।     

यसरी हुँदैछ छानविन
गैरसरकारी संस्था नेवाले भूकम्पपीडिलाई खानेपानी र स्वास्थ्यसँग सम्बिन्धित सामग्री हेलिकोप्टरबाट ढुवानी गर्दा हिनामिना गरेको भन्दै परेको उजुरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र समाजकल्याण परिषद्ले अनुसन्धान प्रक्रियालाई अगाडि बढाएको छ ।
समाजकल्याण परिषदले लक्ष्मी कोइरालाको नेतृत्वमा छानविन समिति बनाएर छानविन गरिरहेको छ । गएको फागुनदेखि समाजकल्याण परिषदले यसबारे छानविन गरिहेको हो । यसबारे छानविन समितिकी संयोजक लक्ष्मी कोइरालाको भनाइ यस्तो छ :

लक्ष्मी कोइराला, छानविन समिति सदस्य, समाजकल्याण परिषद
प्रधानमन्त्री कार्यालयमा गएको साउनमा नेवाले आर्थिक हिनामिना गरेको भन्दै उजुरी परेको रहेछ । प्रधानमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट आएको रहेछ । समाजकल्याण परिषदमा फाइल आएपछि मैले गत फागुन २६ गते यो केशको छानविन गर्ने जिम्मेवारी पाएको थिएँ । त्यसपछि छानविन चलिरहेकोे छ । आवश्यक कागजपत्र, उजुरी गर्नेको आवाज सङ्लन गर्ने काम भइरहेको छ ।
अनियमितता नभई पक्कै पनि उजुरी परेन भन्ने हाम्रो ठहर छ । अनुसन्धान गर्ने क्रममा दबाब त पक्कै पनि आउँछ । तर म कसैको दबाबमा पर्ने मान्छे होइन । कसैको दबाबमा काम गर्दिनँ । सकेसम्म छिटो यो केसलाई टुङ्ग्याउने गरी काम भइरहेको छ । निर्वाचन आचारसंहिताका कारण केही समय काम ढिलो भएको हो ।
 
नेवा के भन्छ ?
यस विषयमा जान्न हामीले नेवालाई इमेल लेखेका छौँ । संस्थाको प्रतिक्रिया आएपछि त्यसलाई समेट्ने छौँ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप