शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

नागदहमा मोटरेबल पुलको डीपीआर, नाम्दु–मार्बु–क्षेत्रपा सडक अधुरै

शनिबार, २२ वैशाख २०८१, ११ : ०४
शनिबार, २२ वैशाख २०८१

काठमाडौँ । दोलखाको भीमेश्वर नगरपालिका– २ नागदहस्थित तामाकोशी नदीमा मोटरेबल पुल निर्माण हुने भएको छ ।  वैतेश्वर गाउँपालिका– ७ मा जोडिने उक्त पुल निर्माणका लागि डीपीआरको काम सुरु भएको हो । 

पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकले डीपीआरको काम गरिरहेको भीमेश्वर नगरपालिका २ का वडाअध्यक्ष स्टालिन श्रेष्ठले जानकारी दिए । डीपीआरका लागि १० लाख रुपैयाँ बजेट छुट्टयाइएको समेत अध्यक्ष श्रेष्ठले जानकारी दिए ।  अहिले पुल निर्माणका लागि माटो परीक्षण, डिटेल सर्भेको काम सकिएर डिजाइनको काम भैरहेको पूर्वाधार विकास कार्यालयका एक कर्मचारीले जानकारी दिए । पुलको डिजाइन सकिन २–३ महिना लाग्ने जनाइएको छ । 

सो पुल निर्माण भए दोलखा र सदरमुकाम चरिकोटबाट भीमेश्वर नगरपालिका–२, वैतेश्वर गाउँपालिकाका ७ र ८ नम्बर वडा लगायतका गौरिशंकर गाउँपालिकातर्फको यात्रा सहज हुने अध्यक्ष श्रेष्ठले बताए । साथै वैतेश्वरका अन्य वडा र जिरीतर्फको बाटो पनि छोटिने उनको भनाई छ । नागदहसम्म अहिले सार्वजनिक यातायात सूचारु भैरहेको छ भने पुलसँग जोडिने वैतेश्वर ७ तर्फको काँडेसम्म सडकको ट्रयाक खुलेको छ ।   

अध्यक्ष श्रेष्ठका अनुसार नागदहमा पुल निर्माण भएपछि दोलखाको उत्तरी भेगको पुरानो बजार गुमुखोला, सिंगटी हुँदै चीनको सीमासम्मको यात्रा सहज हुनेछ । नागदहबाट पिखुती, सिंगटी जाने पुरानो बाटो हुँदै सडकको ट्रयाक खुल्ने क्रम जारी रहेकोले त्यसको स्तरोन्नति गरी यात्रा सहज बनाउन सकिने अध्यक्ष श्रेष्ठको भनाई छ । श्रेष्ठले संघीय सांसद र प्रदेश सांसदहरुसँग पुल निर्माणका लागि बजेट छुटट्याइदिन कुराकानी भैरहेको समेत बताए ।

उनले दोलखा बजारदेखि नागदहसम्मको ८ किलोमिटर सडकमध्ये २ किलोमिटरमा ढलान गरिसकिएको समेत बताए । अध्यक्ष श्रेष्ठले बाँकी ६ किलोमिटर सडक पनि ढलान गर्ने अभियानमा लागिरहेको बताए । श्रेष्ठले सो सडक खुले यातायातको सुविधा मात्र नभई पर्यटन व्यवसाय समेत फस्टाउने तर्क गरे । ‘वडा नम्बर २ कै शोक्लामा रक क्लाइम्बिङ सुरु भैसकेको छ’ अध्यक्ष श्रेष्ठले भने । कालिञ्चोक र भीमेश्वरलाई नागदहसम्म जोड्न सकिए पर्यटन व्यवसाय पनि फस्टाउन सक्ने उनको भनाई छ ।

नाम्दु–मार्बु–क्षेत्रपा सडक अधुरै  
उता, वैतेश्वर गाउँपालिकाको ६, ७, ८ हुँदै गौरिशंकर गाउँपालिकासम्म जोडिने नाम्दु–मार्बु–क्षेत्रपा–जुँगु सडकको स्तरोन्नती तत्काल गर्न स्थानीयवासीले माग गरेका छन् । उनीहरुले २५ वर्षअघि निर्माण सुरु भएको सडक अझै बेहाल अवस्थामा भएको भन्दै गुनासो गरेका छन् ।

लामो समय बित्दा समेत सो सडक ग्राबेल समेत हुन नसक्नु दुःखद भएको वैतेश्वर ७ र ८ का स्थानीयवासीको गुनासो छ । सो सडक स्तरोन्नतीका लागि पटक पटक बजेट परेपनि ठेक्केदार र ठेक्केदार कम्पनीको लापर्बाहीका कारण राम्रो काम हुन नसकेको र काम अधुरै छाड्ने गरेको स्थानीयवासीको गुनासो छ । 

वैतेश्वर ७ का वडाअध्यक्ष मिनकुमार शिवाकोटीले सडक कालोपत्रे गर्नका लागि बजेट ल्याउन पहल भैरहेको बताउँदै आएका छन् । ‘अघिल्लो वर्ष पनि सडक कालोपत्रे गर्नका लागि बजेट ल्याउन पहल गरेका थियौं, तर परेन । यो पटक भने बजेट पर्ने सम्भावना छ’ अध्यक्ष शिवाकोटीले भनेका छन् । उनले नाम्दु–मार्बु–क्षेत्रपा सडक कालोपत्रे गरेरै छाड्ने अठोट समेत व्यक्त गरे ।

‘यो सडक जसरी पनि कोलोपत्रे गर्नु मेरो जिम्मेवारी हो । प्रधानमन्त्री कार्यालय अगाडी धर्ना बसेरै भएपनि बजेट ल्याउन लागिपर्छु’ अध्यक्ष शिवाकोटोले भने । उनका अनुसार संघीय सांसद गंगा कार्कीले सो सडक कालोपत्रे गर्नका लागि सम्बन्धित मन्त्रालयमा बजेट प्रस्ताव समेत गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप