शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

मलाई केही सङ्कट छैन, मिडियाले देखाएको मात्र हो : राजेन्द्र महतो

बुधबार, २३ कात्तिक २०७९, १५ : २९
बुधबार, २३ कात्तिक २०७९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता, पूर्वमन्त्री तथा अहिले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ सर्लाही क्षेत्र नम्बर २ का उम्मेदवार राजेन्द्र महतो चुनावी मैदानमा छन् ।

उनी बिहानबेलुका घरदैलो कार्यक्रममा व्यस्त छन् । उनीसँग रातोपाटीले गरेको सङ्क्षिप्त कुराकानी :

–बिहानदेखि बेलुका, रातिसम्म ढल्कँदो उमेर पनि छ, थकाइ पनि लागेको होला, यस पटक छोडिदिन्छु, आराम गर्छु भन्ने किन आएन यहाँलाई ?

जनताका बीचमा जान मलाई थकाइ लाग्दैन । जनताका बीचमा गएर उनीहरूको समस्या सुन्ने, सहयोग र समर्थन माग्ने, सहयोग समर्थन दिने वाचा गर्ने कार्यले थकाइ लाग्दैन । 

–छ दशक जतिको सक्रिय राजनीति भइसक्यो, विश्राम लिन मन लागेको छैन ?

त्यस्तो अवस्था आइसकेको छैन । सक्रिय राजनीतिमा केही अफ्ठ्यारो परेको छैन । 

–भनेपछि यो निर्वाचन पनि तपाईंका लागि अन्तिम होइन ?

होइन, जनताले पत्याएसम्म, जनताले चाहेसम्म, समर्थन गरेसम्म त जनताको सेवा गर्नुपर्छ । उमेरले छेक्दैन । 

–तपाईंको जितको आधार चाहिँ के छ त ? अब अहिलेको सत्ता गठबन्धनबाटै दुई जना उम्मेदवार देखिनुभयो, महेन्द्र राय यादव पनि हुनुहुन्छ, तपाईं पनि हुनुहुन्छ । अब हामीले नेताहरूको हस्ताक्षर हेर्दा आधिकारिक चाहिँ रायजीलाई समर्थन गरेको देखिन्छ । तपाईं आधिकारिक हो कि उहाँ आधिकारिक हो ?

यो २२ गते हाम्रो पाँच दलीय गठबन्धनको नेता प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको तर्फबाट र लोसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुरबाट गरेको सहमती र सम्झौताअनुसार यो मधेश प्रदेशमा सहमती भएको छ । त्यो सहमतीअनुसार सर्लाही २ मा प्रतिनिधि सभामा चाहिँ मित्रवत् प्रतिस्पर्धा गर्ने भन्ने समझदारी भएको थियो । सोअनुसार गठबन्धनका दुई जना उम्मेदवार मित्रवत् प्रतिस्पर्धामा आएका छन् । त्यसैले दुईवटै उम्मेदवार गठबन्धनका आधिकारिक उम्मेदवार हुन् । यो चाहिँ २२ गतेको सम्झौताअनुसार भएको हो । 

–तर गठबन्धनमा रहेका दलहरू त महेन्द्र राय यादवसँग हिँडिरहेका छन्, कांग्रेसका नेताहरू तपाईंहरूसँग देखिनुहुन्न ? उता एमाले र जसपाको गठबन्धन छ ? 

महेन्द्र राय यादवको गठबन्धन माओवादीहरूसँग भयो, माओवादीलाई प्रयोग गर्नुभएको छ । हाम्रो गठबन्धन नेपाली कांग्रेस र लोसपाबीच भएको छ । नेपाली कांग्रेसका उम्मेदवार माननीय जङ्गीलाल राय यादवजी अहिले हामीसँगै हुनुहुन्छ । कांग्रेस र लोसपाको बीचमा एउटा लोकतान्त्रिक गठबन्धन २२ गते भएको थियो, सोअनुसार यो गठबन्धन भनेको नेपाली कांग्रेस र लोसपाबीचको हो । उहाँहरूको माओवादीसँग गठबन्धन भएको छ, त्यही हो अवस्था । 

–लोसपाको अवस्था त अब कमजोर देखिन्छ हैन ? अब हुने निर्वाचनको पछिल्लो सभामा लोसपा भन्ने पार्टी रहन्छ कि रहँदैन भन्ने पनि छ । प्रतिनिधि सभामा टु डिजिटमा जाने त सम्भावना नै भएन । किनभने त्यति टिकट नै छैन तपाईंसँग । अब लोसपालगायत मधेश केन्द्रित दलहरू अथवा मधेश आश्रित दलहरूको अस्तित्व सङ्कटमा पर्ने भयो हैन यो निर्वाचनपछि ?

केही सङ्कट छैन । मिडियामा सङ्कट देखाउने, तपाईंहरूले समाचार लेख्नुपर्ने भएर हो । तर त्यस्तो केही सङ्कटमा छैन । जनताको बीचमा गइएको छ, जनताले समर्थन गर्छन् र राष्ट्रिय पार्टी पनि बन्छ । जनताले पत्याएका र समर्थन पनि गरेका छन् । यहाँ पनि हेर्नुस् न, दुई पार्टीको गठबन्धनबाट जनतामा जानुस्, कस्तो समर्थन देख्नुहुन्छ । त्यसैले मिडियामा के लेखियो, गठबन्धनमा जालझेल के गरियो, त्यो चाहिँ बडा अजिब छ के । यही क्षेत्रमा प्रतिनिधि सभामा चाहिँ मित्रवत् प्रतिस्पर्धा गर्ने भन्ने निर्णय भएको थियो । तर प्रदेश सभामा यो सर्लाही २ को (क)मा चाहिँ नेपाली कांग्रेसले स्थान पाएको थियो । त्यसको उम्मेदवार उहाँ माननीय जङ्गीलाल राय यादवजी नेपाली कांग्रेसबाट हुनुहुन्छ । 

–महेन्द्र राय यादवजी पनि कांग्रेसकै एक जना उम्मेदवार लिएर हिँडिरहनु भएको छ नि त ? 

त्यही भन्दै छु, सर्लाहीको क्षेत्र नम्बर २ को (ख)मा चाहिँ लोसपाले पाएको सिट हो । त्यसका उम्मेदवार मेथु चौधरी हुन् । यो भनेको प्रतिनिधि सभामा मित्रवत् थियो । प्रदेश सभामा एक जना जङ्गीलालजी नेपाली कांग्रेस र अर्कोमा लोसपाको थियो । त्यो थपिएको उम्मेदवार हो के, (ख)मा थपिएको उम्मेदवार । (ख)मा नेपाली कांग्रेस, यसमा माओवादी थपिएको उम्मेदवार हो । त्यो चाहिँ जालझेल गरेर थपिएको उम्मेदवार हो, २२ गतेको सम्झौताविपरीत त्यो काम भएको हो । 

–जनताले तपाईंहरूको यो भाषा कसरी बुझ्ने ? मित्रवत् प्रतिस्पर्धा भनेपछि राजेन्द्र महतो र महेन्द्र राय यादवलाई माया गरेर २ ठाउँमा भोट दिए भने दुईवटै बदर हुने भयो, दुवै हार्ने भए । जनताले कसलाई दिनु भनेको हो यो मित्रवत् भनेर ?

जनताले काम हर्ने हो । भरोसा, विश्वास जुन उम्मेदवारमाथि हुन्छ उसैलाई भोट दिने हो । त्यो जनताले छान्नै पर्छ नि । यो चाहिँ जनताले छानिरहेका छन्, यस पटक पनि मङ्सिर ४ गते छान्छन् । यहाँ चाहिँ एउटै गठबन्धनका दुईवटा उम्मेदवार छन्, तिनमा कसले कसरी समर्थन पाउँछ, त्यो ४ गते जनताको मतबाट प्रमाणित हुन्छ । 

–गठबन्धनको नीतिअनुसार पहिला आफूले जितेको क्षेत्रमा जाने भन्ने थियो, आफ्नो क्षेत्रमा नगएको तपाईंलाई आरोप पनि होला, जनताले सोधेका पनि होलान्, हरेक निर्वाचनमा क्षेत्र परिवर्तन गर्ने एक जना राजेन्द्र महतो पनि पर्नुहुन्छ । आफ्नो निर्वाचन क्षेत्रमा नगएर फेरि किन यहाँ आउनुभयो भन्ने ? 

अब जुन ठाउँमा माग भयो त्यो ठाउँमा गइन्छ । कुनै एउटा ठाउँबाट मात्र लडिरहनुपर्छ भन्ने छैन । जहाँ जहाँबाट बोलाउँछन् र जहाँ जहाबाट पार्टीले पठाउँछ त्यो ठाउँमा गएर चुनाव लड्नुपर्छ ।

–पहिले जितेको ठाउँमा मागेनन् तपाईंलाई ? 

हैन, त्यतिबेला त मधेशी गठबन्धन थियो । महेन्द्र राय यादवले यहाँबाट जितेका थिए । म लड्छु भनेर भने अनि मलाई जनकपुर पठाइयो । जनकपुर गएपछि त्यहाँ नेपाली कांग्रेसका दिग्गज नेता थिए, तर त्यहाँका जनताले मलाई नै माया गरे । पचासौँ वर्षदेखि, पुस्तौँ पुस्तादेखि गरेको राजनीति, त्यहाँको अवस्था त हेरिहाल्नु भयो । विगतको चुनावमा तपाईंजस्तै पत्रकारले चाहिँ यस्तै जिरो पोजिसन आउँछ, कहाँ गएको ? नेपाली कांग्रेसजस्तो महान् पार्टीका नेतासँग टक्कर लिन गएको भनेर भनेकै थिए । तपाईंहरूको जस्तै मिडियाले लेखेकै थिए । तर जनताले मलाई माया गरे नि त । जनताले मलाई जिताएका थिए नि त । जनताको भरोसा र विश्वास ममाथि भएको थियो, जिताए । 

अहिले चाहिँ उहाँ माओवादीतर्फ लागेपछि । योे त तीस वर्षदेखि मधेशवादी क्षेत्र हो के । उहाँले गडबड गरेपछि त्यस्तो भयो । एउटा चाहिँ विगत १० वर्षदेखि प्रत्यक्षतर्फका सांसद्, त्यसअघि उहाँ समानुपातिक हुनुभयो । तर यो क्षेत्रमा केही विकास गरिदिनुभएन, कुनै गतिविधि अगाडि बढाएनन् । जनता आत्तिएका थिए । उनीहरूले विकल्प खोजिरहेका थिए । त्यो अवस्थामा यहाँ परिवर्तनका लागि आउनुपर्यो भनेर जनताले मलाई माग गरेका हुन् अब फेरि आफ्नो गृहजिल्ला आउनुपर्यो भनेर । सो मागअनुसार आफ्नो कर्मप्रति आउनु स्वाभाविक हो नि त । 

–तर तपाईंको क्षेत्र त उता हो नि ?

जिल्ला त यही हो, अघिल्लो निर्वाचनमा यो काटिएको हो । यो जालझेल गरेर काटिएको हो । 

–अन्तिममा यति भनिदिनुस्, तपाईंलाई सर्लाही क्षेत्र नम्बर २ का मतदाताले किन भोट दिने भन्यो भने के हुन्छ ?

सर्लाही क्षेत्र नम्बर २ का मतदाताले मलाई किन भोट दिइरहेका छन् भनेर उनीहरूलाई नैसोध्नुस् । तपाईं जनतामा आउनुभएको छ हैन, यो प्रश्न उम्मेदवारलाई सोध्ने होइन । यहाँ जनता  उभिएका छन्, जनतासँग सोध्नुस् न राजेन्द्र महतोलाई किन मतदान गर्ने हो ? त्यो जनतासँग प्रत्यक्ष सोध्ने हो के । 

–यस कारण दिनुपर्छ भन्ने केही छैन ?

तपाईं जनताका बीचमा उभिनुभएको छ, जनतासँग बुझ्नुपर्छ । मलाई किन मत दिनुपर्छ, मलाई किन जिताउनु पर्यो जनतालाई सोधे थाहा भइहाल्छ नि । 

–जनतालाई पनि सोधेको उनीहरूले उहाँलाई पनि सोध्नुस् भनेका छन ?

तीनवटा कुरा छन् क्या । मेरो जित सुनिश्चित हुने तीनवटा आधार छन् मसँग । जनप्रनिधि जनताका सुखदुःखमा साथ रहनुपर्छ, उसको रक्षा, सुरक्षा गर्नुपर्छ । त्यो चाहिँ प्रतिनिधिले गर्यो कि गरेन ? गरेन भने जनताले तुरुन्तै विचार परिवर्तन गर्छन् । कसले गर्छ उसलाई मतदान गर्छन् । 

अर्को, विकासका गतिविधि अगाडि बढायो कि बढाएन भन्ने । अब यहाँ हुलाकी सडकको कुरा पूरा उठिरहेको छ । पूरै इलाकाको हुलाकी सडक बन्यो, तर सर्लाहीको बन्यो कि बनेन ? किन बनेन ? प्रतिनिधिले के गरिरहेको थियो ? त्यो कार्य गराउनुपथ्र्यो नि त । बजेट छँदैथियो । यो चाहिँ निष्क्रियता हो । जनताका समस्याप्रति संवेदनशील नहुने । यत्रो लामो १०, २० वर्षदेखि राजनीति गर्ने नमुनाका लागि पनि एउटा काम नगर्ने ? यो चाहिँ जनताको अनुभूति हो । वितृष्णा हो । 

तेस्रो, चाहिँ अधिकार पहिचानको जुन सङ्घर्ष हो हाम्रो, त्यसका लागि नै हो प्रतिनिधि सभामा हाम्रो उपस्थिति ।

–हिजो आन्दोलन गर्दा के एजेन्डा थिए, के एजेन्डा लिएर आन्दोलनमा गइयो, मान्छे मरे भन्ने पनि सम्झिरहनु भएको छ तपाईंले ?

एकदम विल्कुल, जनताले सम्झिरहेका छन् । जनताले बिर्सिएका छैनन् । जनताले बिर्सिए भन्ने भ्रममा नपर्नुस् के । 

–जनताले त सम्झे तपाईंहरूले बिर्सिनुभयो कि ?

जनतालाई कहाँ बिर्सिइन्छ, बिर्सियो भन्ने भ्रममा तपाईं नपर्नुस् के । तपाईंलाई त्यस्तो लागेको हो । समय आएपछि त्यो चाहिँ देखिएला । जनताको पीरमर्का र जनताको अधिकारको पहिचान जुन सङ्घर्ष हो । संविधान सभाबाट गोली चलाएर जुन संविधान बनाइयो, त्यो संविधानमा परिवर्तन गर्नुपर्ने काम त बाँकी छ नि त । त्यो एजेन्डाका लागि सदनमा लड्ने, अधिकार पहिचानका लागि सदनमा आवाज उठाउने, यहाँको प्रतिनिधि एक दिन पनि बोलेन भनेर जनताले भनिरहेका छन् । मैले बोलेको कुरा त दुनियाँलाई थाहा छ नि । त्यसैले सदनमा कसले के गर्यो, जनताका लागि कति सङ्घर्ष गर्यो, यी सवालहरू जनताले उठाइरहेका छन् । यिनै सवालहरूका आधारमा जनताले मलाई मतदान गर्छन् । अत्यधिक मतले जिताउँछन् भन्ने मलाई विश्वास छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप