शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

यु–१९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिम प्रदेशको सुखद् सुरुवात

बिहीबार, ०८ मङ्सिर २०७९, १८ : २१
बिहीबार, ०८ मङ्सिर २०७९

कर्णाली प्रदेशलाई ५ विकेटले हराउँदै सुदूरपश्चिम प्रदेशले राजधानीमा जारी वाईवाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा कर्णालीले दिएको १ सय २८ रनको लक्ष्य सुदूरपश्चिमले २६.२ ओभरमा ५ विकेट गुमाउँदै प्रतियोगितामा सुखद् शुरुवात गरेको हो ।

सुदूरपश्चिमको जितमा प्लेयर अफ दि म्याच घोषित भएका मिलन बोहोराले ४७ बलमा ४२ तथा दीपक बोहोराले १६ बल तथा दीपक बोहोराले २४ बलमा समान २०/२० रन बनाउन बाहेक सुनिल चन्दले अविजित ११ रन जोड्दा विशाल ऐरले ९ रनको योगदान गरे । बलिङतर्फ कर्णालीका लागि अनुज चुनाराले ३ तथा सन्दीप शाही र मोहन विकले समान १/१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले ३२.३ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय २७ रन जोडेको थियो । खराब शुरुवात गरेको कर्णालीका लागि दिनेश अधिकारीले ३२ बलमा सर्वाधिक ३५ रनको पारी खेल्दा सुवास ऐरले ३० तथा कप्तान विपिन रावलले १९ रनको व्यक्तिगत स्कोर बनाए । आवाश शाहले १५ रन जोड्ने क्रमममा पवेलियन फर्किंदा अन्य ६ खेलाडीले दोहोरो अंकको स्कोर गर्न सकेनन् । कसिलो बलिङ गरेको सुदूरपश्चिमका लागि मिलन बोहोराले ३ तथा नरेन साउद २ विकेट लिएका थिए । हेमन्त धामी र कैलाश ऐरले समान १/१ विकेट लिएका थिए ।

यससँगै सुदूरपश्चिम प्रदेशले जितबाट प्रतियोगिताको विजयी शुरुवात गर्दा कर्णालीले पनि हारबाट प्रतियोगिताको आरम्भ गरेको छ । यस्तै बिहीबार नै भएको अर्को खेलमा प्रदेश नम्बर १ ले गण्डकी प्रदेशमाथि २१ रनको रोमाञ्चक जित निकालेको छ । प्रदेश नम्बर १ ले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको गण्डकीले ४५.३ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ६२ रन बनाउन सक्यो । गण्डकीका कर्ण पंगेनीले सर्वाधिक ४८ रन जोड्दा दिपक डुम्रेले २५ तथा ओपनर अर्जुन कुमालले २२ रनको पारी खेलेका थिए । यस्तै अन्य ब्याट्सम्यानको राम्रो प्रदर्शन हुन सकेन । गण्डकीलाई सस्तैमा समेट्ने क्रममा प्रदेश नम्बर १ का दिपेश कंडेल र अश्विन महतोले सर्वाधिक समान ३/३ विकेट निकाल्दा विपिन महतो र सोनु अनसारीले समान २/२ विकेट आफ्नो नाममा लेखाए ।

यसअघि मुलापानी मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको प्रदेश नम्बर १ ले निर्धारित ५० ओभर सकिन दुई बल बाँकी रहँदा सबै विकेट गुमाएर १ सय ८३ रन जोडेको थियो । ओपनर सोनु अनसारीले अर्धसतकीय पारी खेले । ९४ बल खेल्दा ६ चौका र १ छक्का प्रहार गरेको सोनुले ६४ रनको व्यक्तिगत स्कोर बनाएका थिए । कप्तान दिपेश कंडेलले ३६ रन जोड्दा फैजल रहमानले २६ रनको पारी खेले । यस बाहेक अन्य ब्याट्स म्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् । बलिङ तर्फ गण्डकीका शिशिर भुषाल एक्लैले सर्वाधिक ४ विकेट निकाल्दा नितेश गिरिले ३, सुवास भण्डारीले दुई तथा सुदीप अर्यालले १ विकेट रह्यो ।

प्रतियोगितामा शुक्रवार पनि दुई खेल हुनेछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा वागमती प्रदेश र प्रदेश नम्बर १ तथा मुलपानी मैदानमा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिष्पर्धा हुनेछ । मंसिर १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छ । यस्तै प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०÷१० हजार पाउने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप