आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

शीर्ष नेताहरूसँग भेटघाट गर्नुमा मेरो कुनै अपेक्षा छैन : अर्जुननरसिंह केसी

बिहीबार, २९ मङ्सिर २०७९, ११ : ०७
बिहीबार, २९ मङ्सिर २०७९

नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीका शीर्ष नेताहरूसँगको भेटघाट कुनै पद प्राप्तिका लागि नभएको बताएका छन् । नेता केसीले वर्तमान राजनीतिक वस्तुस्थितिको विषयमा आफूले पार्टी सभापति शेरबहादुर देउवा, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) लगायत दलका शीर्ष नेताहरूसँग भेट गरेको बताएका हुन्  ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले अहिलेको राजनीतिक स्थिति चुनौतिपूर्ण रहेको भन्दै जनमानसमा आएका नकारात्मक धारणालाई कसरी समाधान गरेर अघि बढ्न सकिन्छ भन्ने बारेमा नेताहरूसँग भेट बढाएको बताए । नेता केसीले स्थापित पार्टीहरूको नेता, नेतृत्व, नीति र कार्यशैलीको बिरोधमा नो भोटका रुपमा नागरिकहरुले स्वतन्त्रहरुलाई भोट दिएको बताए ।

उनले भने– ‘अहिलेको वस्तुगत जुन खालको परिस्थिति छ । त्यसमा आउने यात्रा चुनौतीपूर्ण छ । जनमानसमा जुन एक किसिमको नकारात्मक धारणाहरू देखियो, सबै पार्टी र नेतृत्वले एउटा कुरा स्पष्ट रुपमा बुझ्न जरुरी छ कि, हाम्रा स्थापित पार्टीहरूको नेता, नेतृत्व,नीति र कार्यशैलीको विरोधमा नो भोट जति स्वतन्त्रमा गएर थुप्रिएको हो भन्ने सहमति छ । अहिलेको वस्तुगत परिस्थितिको विश्लेषण गरौँ भनेर नै भेट गरिरहेको हो ।’

नेता केसीले अहिलेको परिस्थितिलाई नयाँ पन र नयाँ बाटो दिनको निम्ति सत्य र विवेकको आवाज, भ्रष्टाचार विरोधको आवाज, विधि विहिनता विरोधको आवाज, सुशासन स्थापना गर्नको निम्ति संसदमा आफूले असल सांसदको रुपमा आफूले काम गर्ने बताए । उनले मन्त्रीमा आफ्नो कुनै अपेक्षा नरहेको भन्दै कसैसँग कुनैपनि पद माग्न नजाने स्पष्ट पारे ।

उनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको बेलामा ठूलाठूला भ्रष्टाचारका काण्डहरु भएको बताउँदै वाइडबडी काण्डदेखि ३३ केजी सुनसम्म ओम्नी, यति प्रकरणदेखि बुढीगण्डकीसम्मका कुरा गरेर ताली खाने काम गरेपनि आफ्नै सरकार र आफ्नै पार्टी सभापति हुँदा ठूला काण्डहरुको बारेमा छानबिन हुन नसकेको बताए । उनले पूर्व प्रधानन्याधीश वा अन्य कसैको संयोजकत्वमा निष्पक्ष जाँचबुझ आयोग गठन गरेर वास्तविकता जनतालाई दिनुपर्ने आवश्यक्ता रहेको बताए । नेता केसीले यथास्थितिमा बसेर काम गर्न रहर नरहेको तर नयाँ सरकार र नयाँ पात्रहरुबाट देशका लागि केही गरौँ भन्ने किसिमको सरकार निर्माण भए देशका लागि केही योगदान गर्ने इच्छा रहेको बताए ।
उनले भने– ‘मेरो कुनै अपेक्षा छैन, अहिलेको परिस्थितिलाई नयाँपन र नयाँ ड्राइभ दिनको निम्ति सत्य र विवेकको आवाज, भ्रष्टाचार बिरोधको आवाज, विधि विहीनता विरोधको आवाज, सुशासन स्थापना गर्नको निम्ति संसदमा एउटा असल सांसदको रुपले मैले भूमिका निभाउँछु, त्यहाँमात्रै म अहिले प्रथम चरणमा सिमित हुनेछु । कसैसँग केही माग्न जाने पक्षमा छैन । म मन्त्री ४/५ पटक भइसकेँ त्यही मन्त्री हुने रहर छैन । मलाई आजको जुन व्यथिति छ, त्यसलाई थिति कायम गर्न सानो योगदान दिने, यो व्यवस्थाले परिलक्षित गरेको अवस्था छ, त्यो अवस्था सिर्जना हुन नसक्नुमा त्यो अवस्था सिर्जनाका निम्ति अवसर सिर्जना गर्ने, यति ठूला ठूला भ्रष्टाचारका काण्डहरू भए, मैले दुई,चार महिना अघिमात्रै पनि वाइडबडी काण्डदेखि ३० केजी सुनसम्म ओम्नी, यति प्रकरणदेखि बुढीगण्डकीसम्म हामीले ओलीजीको सरकार हुँदा त ठूलो भाषण गरेर ताली खायौं । हाम्रै सरकार हुँदा पूर्व प्रधानन्याधीश कसैको अध्यक्षतामा, संयोजकत्वमा निष्पक्ष जाँचबुझ आयोग गठन गरेर वास्तविकता जनतालाई किन नदिने ? त्यो काम मेरो प्रधानमन्त्री, सभापतिले गरोस् भनेर लिखित प्रस्ताव पेस गरेको छु । त्यतातिर मेरो अभियान केन्द्रित भएको छ । परिस्थितिले धकेल्दा कता पुगिन्छ, मैले कसैसँग कुनै इच्छा लिएर भेटघाट गरेको छैन । नयाँ सरकार आए देशलाई केही योगदान दिन मन छ, तर यथास्थितिमा बसेर जनताका नकारात्मक सोचहरु आफूमाथि थुपार्ने सोच छैन ।’

नेता केसीले नेपाली काँग्रेसकै नेतृत्वमा आगामी सरकार बन्ने पनि दाबी गरे । उनले निर्वाचनमा जनताको बीचमा गरेका प्रतिवद्धताहरुलाई पूरा गर्नका लागि गठबन्धनलाई स्थायित्व र स्थिरता दिने प्रतिवद्धता नै आजको आवश्यकता भएको बताए । नेता केसीले काँग्रेस गठबन्धन भित्रको ठूलो दल भएकाले पनि काँग्रैसकै नेतृत्वमा सरकार बन्ने बताए ।

उनले भने– ‘सरकार गठबन्धनकै नेतृत्वमा बन्छ । हामीले जुन जनताको बीचमा प्रतिवद्धता गरेर आयौँ, यो गठबन्धनलाई स्थायित्व र स्थिरता दिने प्रतिवद्धता नै हाम्रो जनताको बीचको प्रतिवद्धता हो । काँग्रेस गठबन्धन भित्रको ठूलो दल भएकाले पनि काँग्रैसकै नेतृत्वमा सरकार बन्छ । हाम्रो पार्टी भित्रको नीति, नेतृत्व, कार्यशैली, विधि, व्यवहारलाई परिवर्तन गरेर नयाँ विश्वास, आशा जगाउने परिवेश निर्माण गर्नुपर्ने अहिलेको आवश्यकता हो । यथास्थितिमा हामी अघि बढ्न खोज्यौँ भने यो चुनौति अझै गम्भीर बन्नेछ । जनतामा देखिएका नकारात्मक सोचहरु, समाजमा देखिएका विकृतिहरु त्यो सरकारमाथि नै थुप्रिन्छ । त्यसलाई आउने सरकारले कसरी समाधान गरेर अघि बढ्छ ? र एउटा नयाँ मार्गमा हिँडाउँछ भन्ने दृष्टिकोण हामीले राख्यौँ ।’

नेता केसीले पार्टी भित्रको नीति, नेतृत्व, कार्यशैली, विधि, व्यवहारलाई परिवर्तन गरेर नयाँ विश्वास, आशा जगाउने परिवेश निर्माण गर्नुपर्ने अहिलेको आवश्यकता भएको उल्लेख गरे । नेता केसीले पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरूसँग भेट गरेका थिए । सोही भेटलाई लिएर विभिन्न सञ्चारमाध्यमहरुमा सभामुखका लागि भेटघाट तिब्र बनाएको समाचार सार्वजनिक भएका थिए । यद्यपि भित्री चर्चा सभामुखका लागि भएपनि नेता केसीले भने कुनैपनि पद प्राप्तिका लागि आफूले भेटघाट नगरेको दाबी गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप