शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

लक्ष्यभन्दा माथि पुग्यो नेपालीको प्रतिव्यक्ति आम्दानी

बुधबार, २७ पुस २०७९, १७ : ४७
बुधबार, २७ पुस २०७९

काठमाडौँ । राष्ट्रिय योजना आयोगले पन्ध्रौँ योजनाबाट लिइएको उच्च अङ्कको आर्थिक वृद्धिदरको लक्ष्य भेट्टाउन नसकिएको जनाएको छ । आज मध्यावधि समीक्षा गर्दै कोभिड–१९ महामारीका कारणले आर्थिक वृद्धिको लक्ष्य भेट्टाउन र त्यसको आसपास समेत पुग्न नसकिएको जानकारी दिएको हो ।

आयोगले पन्ध्रौँ योजनाअन्तर्गतको सुरुको वर्षमा ८.५ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको थियो । यस्तै, ५ वर्षको अवधिमा सरदर ९.६ प्रतिशते आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य थियो । जसलाई भेट्न र त्यसको आसपास पुग्न समेत नसकिएको आयोगले मध्यावधि समीक्षामार्फत बताएको छ ।

कोभिड महामारी लगायतका समस्या देखा पर्दा आर्थिक वृद्धिको लक्ष्य हासिल नभएको आयोगको भनाइ छ । योजना कार्यान्वयनको पहिलो वर्ष नै आर्थिक वृद्धिदर २.४ प्रतिशतमा सीमित रह्यो । यस्तै, दोस्रो वर्ष ३.८ हासिल भयो र तेस्रो वर्ष ५.५ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने अनुमान नेपाल सरकारको छ ।

पन्ध्रौँ योजनाको मध्यावधिसम्म आइपुग्दा जम्मा २.२ प्रतिशतको आर्थिक वृद्धि हासिल भएको छ । जबकि, सरकारले यस अवधिमा सरदर ९.६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको थियो । यस्तै, कृषि क्षेत्रमा औसत ५.४ प्रतिशतको वृद्धिको लक्ष्य लिइएकोमा २.५ प्रतिशत मात्रै वृद्धि हासिल भएको छ । यसै गरी सरदर १५ प्रतिशत वृद्धिको लक्ष्य लिइएको औद्योगिक क्षेत्रको वृद्धि ३.४ प्रतिशतमा खुम्चिएको छ ।

कोभिड महामारीले सबैजसो क्षेत्रमा प्रभाव पारे पनि सबैभन्दा धेरै सेवा क्षेत्र प्रभावित बनेको देखिन्छ । यो क्षेत्रमा ९.६ प्रतिशतको वृद्धिदर हासिल गर्ने योजना आयोगको लक्ष्य तुसारापात हुँदै १.८ प्रतिशत मात्रै वृद्धि भेटिएको तथ्याङ्क छ । यस समीक्षा अवधिमा गरिएको प्रक्षेपण अनुसार नै कूल गार्हस्थ्य उत्पादन (जीडीपी)मा कृषि क्षेत्रको योगदान खुम्चिँदै जाँदा गैरकृषि क्षेत्रको योगदान भने निरन्तर सुधारिँदो अवस्थामा रहेको आयोगको मध्यावधि समीक्षाले देखाएको छ ।

आर्थिक वर्ष २०७७÷७८ मा कृषि क्षेत्रको योगदान जीडीपीमा २४.९ र गैह्र कृषि क्षेत्रको योगदान ७५.१ प्रतिशत थियो भने आर्थिक वर्ष २०७८÷७९ मा कृषि क्षेत्रको योगदान २३.९ प्रतिशत र गैह्रकृषि क्षेत्रको योगदान ७६.१ प्रतिशत रहने अनुमान गरिएको छ । नेपालको कूल गार्हस्थ्य उत्पादनमा ६१.७६ प्रतिशत योगदान सेवा क्षेत्रको छ । सेवा क्षेत्रलाई रेमिटेन्स, सरकारी खर्च र व्यापारले तीव्र सहयोग गरिरहेको तथ्याङ्क देखिन्छ ।

आर्थिक वृद्धिदेखि अधिकांश प्रक्षेपणलाई कोरोना महामारीले असफल बनाइदिए पनि पन्ध्रौँ योजनाले लिएको प्रतिव्यक्ति आम्दानीको लक्ष्य भने लक्ष्य भन्दा माथि पुगेको छ । पन्ध्रौँ योजनाले नेपालीको प्रतिव्यक्ति आम्दानी १३३७ अमेरिकी डलर पुर्‍याउने लक्ष्य लिएको थियो । तर, यस अवधिमा लक्ष्य भेट्टिएर पनि प्रतिव्यक्ति आम्दानी १८८१ अमेरिकी डलर पुगिसकेको छ । यसले नेपालको अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने चाहनलाई सहयोग पुग्ने आयोगले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप