शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

टिकटकको लत

आइतबार, १५ माघ २०७९, १७ : १६
आइतबार, १५ माघ २०७९

युवा पुस्ताका बीचमा अहिले सामाजिक सञ्जालको बिगबिगी छ । चाहेर पनि सामाजिक सञ्जालको परिधिबाट टाढिन सक्ने अवस्था छैन । पछिल्लो समय भित्रिएको नयाँ सामाजिक सञ्जाल हो– टिकटक । हिजोआज हामी धेरै समय टिकटकमा बिताइरहेका हुन्छौँ । आजभोलि टिकटकमा भिडियो अपलोड गर्ने मात्र हैन लाइभ बस्ने ट्रेन्ड बढी नै चलिरहेको छ । समय व्यवस्थापनको हिसाबले भने यसले धेरैलाई हानि गरेको छ तर फजुल समय बिताउने राम्रो माध्यम पनि भएको छ ।

टिकटक मनोरञ्जन मात्र होइन आफ्नो प्रतिभा निखार्ने माध्यम पनि बनेको छ । धेरैले यसबाट आफ्नो प्रतिभा विश्वका दर्शक समक्ष प्रस्तुत गर्ने मौका पाएका छन् । यसबाट पैसा कमाउने, नाचगानका गर्ने, मनोरञ्जनका विभिन्न प्रस्तुति दिने अवसर पाएका छन् । यसका साथै समाचार सम्प्रेषण र विभिन्न कम्पनीहरूले आफ्ना वस्तु तथा सेवाहरूको विज्ञापन पनि गर्ने गरेका छन् । घरजग्गा कारोबारदेखि काठमाडौँमा कोठा खोज्ने काम पनि अहिले टिकटकको प्रयोगले सजिलो भएको देखिन्छ । यो दृष्टिकोणबाट हेर्दा अहिलेको पुस्ताले टिकटकबाट धेरै नै फाइदा लिन सक्ने देखिन्छ ।

टिकटकको सुरुवात

सामाजिक सञ्जाल टिकटकको सुरुवात २०१६ देखि भए पनि छोटो समयमा निकै ठूलो फड्को मारिसकेको छ । सामाजिक सञ्जालको लोकप्रियताबारे अनुसन्धान गर्ने एजेन्सी सोसल स्टेफर्डको रिपोर्टअनुसार २०२१ मा टिकटकलाई सबैभन्दा बढी डाउनलोड भएको एपका रूपमा देखाएको छ । यो विश्वभरमा छेठौँ र सबैभन्दा लोकप्रिय सामाजिक मिडिया प्लेटफर्म हो । यो युवा पुस्तामा एकदमै लोकप्रिय भएको छ ।

विश्वव्यापी रूपमा हेर्ने हो भने २०२१ सम्ममा टिकटकको आईएसओ संस्करणमार्फत ३०.८ मिलियन दैनिक सक्रिय प्रयोगकर्ताहरू छन् भने एन्ड्रोइड संस्करणमा १४.४३ मिलियन दैनिक सक्रिय प्रयोगकर्ताहरू छन् । एक दिनमा औसत प्रयोगकर्ताले १९ पटक टिकटक खोल्छन् । यो एप ३ अर्ब पटक डाउनलोड भइसको छ । यसको वृद्धि कोभिड–१९ महामारीको समयमा बढी नै भएको थियो ।

उमेर समूहका आधारमा प्रयोगकर्ताको सङ्ख्या

विश्वव्यापी रूपमा टिकटकमा सक्रिय प्रयोगकर्तामध्ये ५७ प्रतिशत महिला र ४३ प्रतिशत पुरुषहरू छन् । यो कुरा त हामीले टिकटकमा प्रशस्तै मात्रामा देखिरहेका छौँ । उमेरअनुसार टिकटकका प्रयोगकर्ताहरू हेर्ने सकिन्छ ।

१०–१९ का प्रयोगकर्ताहरू २५ प्रतिशत

२०–२९ का प्रयोगकर्ताहरू २२.४ प्रतिशत

३०–३९ का प्रयोगकर्ताहरू २१.७ प्रतिशत

४०–४९ का प्रयोगकर्ताहरू २०.३ प्रतिशत

५० उमेरका प्रयोगकर्ताहरू ११ प्रतिशत ।

यसरी हेर्दा टिकटक प्रयोगकर्ताहरूमा युवाहरूको सहभागिता बढिरहेको देखिन्छ । यसमा युवाले पनि राम्रो कुरालाई केन्द्रित गर्ने हो या नराम्रा कुरालाई त्यो प्रयोगकर्ताले सोच्ने कुरा हो ।

टिकटकका बेफाइदा

केही व्यक्तिका लागि यो एउटा राम्रो प्लेटफर्म भए पनि हाम्रा गाउँठाउँमा नराम्रा कुरा धेरै भित्रिइरहेको छ, जुन हामीले प्रस्टसँग देखे भोगेका छौँ । सबैले सधैँ हेर्ने टिकटकमा त्यस्ता अनैतिक कार्य गर्न थालियो भने दर्शकले के सिक्छन् ? हो, हरेक चिजका राम्रा र नराम्रा पक्ष हुन्छन् । तर हामीले राम्राभन्दा नराम्रा पक्षको बढी सिको गरिरहेका छौँ कि ? सबैले चिन्तन गर्ने बेला आएको छ ।

नराम्रा कुरा त हामी छुट्याउन सक्ने भएका छौँ नि भन्नुहोला । राम्रा कुरा हेर्ने वा नराम्रा नहेर्ने भन्नुहुन्छ होला ? त्यो ठीक हो तर अहिलेका बच्चालाई मोबाइल नदिई खाना खुवाउनसम्म सक्दैनौँ । बच्चा रोएका बेला फकाउन छाडेर उनीहरूसँग खेल्न छाडेर, महाभारतका कथा, कविता सुनाउन छाडेर हातमा मोबाइल थमाइदिन्छौँ, टिकटक देखाइदिन्छौँ । त्यो बच्चाले राम्रो नराम्रो कासरी छुट्याउन सक्छ ?

बच्चाहरूले टिकटकमा औसतमा प्रतिदिन ७५ मिनेट खर्च गर्छन् । यसबाट बच्चाहरूले राम्रो कुरा सिकेका छन् भने त ठीक छ तर नराम्रो कुरा सिकिरहेका छन् भने त्यसको जिम्मेवारी कसले लिने ? मोबाइल दिने व्यक्तिले लिने या बाबाआमाले ? हामीले आफैँ आफ्नो बच्चाको ख्याल राख्न सकेका छैनौँ । सानै उमेरमा बच्चाले जेदेख्छ, त्यो एकदमै छिटो सिक्छ । त्यसकारण बच्चालाई के सिकाउने ? कस्तो बाटो देखाउने ? आफैँ सोचेर बच्चालाई टिकटक देखाइदिनु होला ।

टिकटकका बेफाइदा

हामीलाई यो एपले यसरी तानिरहेको छ कि ५ मिनेट मात्रै टिकटक हेर्छु भनेर एप खाल्यो भने ५ घण्टा बितेको पत्तै हुँदैन । अनि समय बितिसकेपछि हामीले किन टिकटक हेरेछु भनेर आफैँलाई पछुतो लाग्छ । स्वाभाविकै हो, नचाहिने कुरामा समय बितेपछि पछुतो त लाग्छ नै ।

यसमा कुनै पनि भिडियो छिटो हेर्न सकिन्छ । आजभोलि धेरै समय लाग्ने कुरातिर ध्यान दिँदैनौँ । टिकटकमा बानी परेकाले युटुबमा गएर लामा भिडियो हेर्नसमेत सक्दैनौँ । छोटाछोटा भिडियो हेर्ने बानी पारेको छ । यो कुरा ठिक पनि हो । हामीले छोटो समयमा राम्रो कुरा थाहा पाउँछौँ तर हामीमा धैर्य गर्ने क्षमता हराउँदै गएको छ । यो राम्रो कुरा पनि हो ।

टिकटक नचलाउनेहरूलाई अहिलेको जमानामा पनि टिकटक नचलाउने कस्तो हो तिमी भन्छौ । उसलाई टिकटक नचलाएर ठूलो गल्ती गरिरहेको महसुस गराउँ छौँ । किशोरकिशोरीहरूले आफूले टिकटक नचलाएमा अरूभन्दा पछाडि परेको सम्झन्छन् । यसमा एकदमै सक्रिय देखिने पनि किशोर किशोरी नै बढी छन् । जसले गर्दा उनीहरूको धेरैभन्दा धेरै समय टिकटकमा बितिरहेको छ । जुन बढी फाइदाजनक छैन ।

हामी जहाँ जान्छौँ, जे गर्छाैं त्यसको भिडियो अपलोड गरिरहेका हुन्छौँ । यसले गाउँठाउँका कुरा अरूले पनि थाहा पाउँछन् । भाइरल हुने चक्करमा राम्रा नराम्रा सबै कुरा पोस्ट गरिरहेका हुन्छौँ । तर आफ्नो गोपनीयता बाहिरिएको बारेमा ध्यान दिँदैनौँ ।

अहिले हामी मोबाइलबिना बस्न नसक्ने भएका छौँ । साथै हाम्रा अधिकांश काम मोबाइल, ल्यापटपबाट हुन्छन् । तर हामीलाई यी साधनबिना बस्न नसक्ने अवस्था बनाउनु हुँदैन । हामी सबैलाई कामको बेला काम, अरू बेला टिकटक हेरेर समय बिताउन रमाइलो लाग्छ । मोबाइल चलाउन नजान्ने बूढा आमाबुबासँग कोही नबोलिदिँदा उहाँहरूले एक्लो महसुस गर्नुहुन्छ ।

यसर्थ टिकटबाट सबै सकरात्मक कुरा मात्रै आइरहेका छैनन्, नकरात्मक प्रभाव पनि हाम्रो समाजमा परिरहेको छ । जुन हामीले प्रशस्तै देखिरहेका र छौँ । अब टिकटक कसरी हेर्ने, कसले हेर्ने र किन हेर्ने भन्ने कुरा तपाईंहाम्रो हातमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जु पौडेल
सञ्जु पौडेल
लेखकबाट थप