बिहीबार, १० साउन २०८१
ताजा लोकप्रिय

पारिवारिक जिम्मेवारीबाट बाहिर निस्कन नसकेका हामी महिला

बिहीबार, १९ माघ २०७९, १० : ०७
बिहीबार, १९ माघ २०७९

म एक शिक्षिका हुँ । समुदायबाट आएका बालबालिकालाई विद्यालयभित्र राखेर शिक्षा दिई संस्कारयुक्त बनाउनु मेरो प्रमुख कर्तव्य हो र म त्यही गर्छु । त्यसैगरी म एक नारी भएका कारण पारिवारिक जिम्मेवारी बहन गर्नु मेरो अर्को महत्त्वपूर्ण दायित्व हो । म मात्र हैन, मजस्तै पेसागत महिलाहरूले पारिवारिक जिम्मेवारीदेखि आबद्ध संस्थाको कामकाजमा खटिनु नै जीवनको यथार्थ हो । महिलाहरूको पेसागत जीवनसँग जोडिएका यी र यस्तै यथार्थहरूको चित्रण यस लेखमा गरेकी छु ।

केही दिन पहिले मैले साक्षात्कार गरेको घटना हो । बिहान झन्डै साढे सात बजेको थियो । तरकारी किन्न म बजारतिर गएकी थिएँ । बजारमा अकस्मात् चिनजानकी एउटी बहिनीलाई भेटेँ । उनी चैनपुरस्थित एउटा सरकारी कार्यालयमा कार्यरत कर्मचारी थिइन् । उनलाई भेटेपछि भलाकुसारी गर्न मन लाग्यो । 

रोकिँदै के छ बहिनी हालखबर ? आजकल केमा व्यस्त हो भनेर सोधेँ तर उनी हतारमा थिइन् । 

टाढैबाट दिदी म त आज अति व्यस्त छु, घरमा केटाकेटी एक्लै छोडेर आएँ । तिनलाई खाना बनाएर खुवाउनु अनि विद्यालय पठाउनुपर्ने छ, आफू पनि अफिस जानुपर्नेछ, गएँ ल । पछि भेटौँला भन्दै बाटो लागिन् । 

हुन्छ भन्दै म पनि तरकारी किनेर आफ्नो घरतिर लागेँ । 

मनमनै सोचेँ, हो मलाई पनि हतार नै छ । घरपरिवारलाई खाना बनाएर खुवाएर विद्यालय जानु छ । 

ती बहिनीको यथार्थ र मेरो भोगाइलाई एउटै हो । घरपरिवारमा उनका सासूससुरा र श्रीमान् पनि छन् । श्रीमान् बेरोजगार भएका कारण दिनभर घरमै बस्छन् । बुहारी कर्मचारी भएका कारण घर र परिवारको त्यो सामान्य जिम्मेवारी सासूससुरा तथा श्रीमान्ले लिँदा पनि हुने हो । 

एक पेसारत महिलाले पुरुषसरह बिहान दसदेखि बेलुका पाँच बजेसम्म राज्यले खटाएको काम गर्नुपर्छ । त्यसका अतिरिक्त उसले बिहान पाँच बजे नै उठेर भान्सामा पसिहाल्नुपर्छ ।

धेरै दिनसम्म मनमा कुरा खेलिरह्यो । म पनि त एक शिक्षक हुँ । मैले पनि घरमा मेरा श्रीमान्भन्दा बढी नै काम गर्नुपर्ने हुन्छ । आखिर हामी महिला न हौँ, चुलोचौकोदेखि केटाकेटीको हेरचाह, पारिवारिक व्यवस्थापन, सरसफाइ, संस्कारी क्रियाकलाप सबै गर्न हामी नै जिम्मेवार हुनुपर्छ । पितृसत्तात्मक राज्यले थोपरिदिएको बोझ महिलामाथि धेरै छ । 

नेपाली समाज एक्काइसौँ शताब्दीको आगनीमा छ । सानाठूला परिवर्तनले नेपालका मानिसका बोली, व्यवहार, जीवनशैली, आर्थिक अवस्था आदिमा आमूल परिवर्तन भएको छ । विगतमा हुने गरेका लिङ्गीय, जातीय र पारम्पारिक विभेदहरू कम हुँदै गएका छन् । 

महिला र पुरुषबीचको विभेद केवल प्राकृतिकतामा मात्र सीमित छ । महिलाप्रति समाजमा गरिने व्यवहार, हर्ने दृष्टिकोण, पारिवारिक जिम्मेवारी, लगायतका कुरामा आमूल परिवर्तन आएको छ । 

त्यति मात्र हैन महिलालाई आत्मनिर्णयको अधिकारसमेत दिइएको छ । समाजमा हुने विविध गतिविधिमा महिलालाई सहभागी मात्र हैन निर्णायक भूमिकामा समेत पुर्‍याएको छ । तर यी सबै फगत भन्ने कुरा मात्र हुन् । केही प्रतिनिधिमूलक उदाहरणलाई देखाएर यहाँ सगोलमा सामान्यीकरण सिवाय केही गरिँदै छैन । अझ भन्नुपर्दा आजको समृद्ध भनिएको राज्यको दृष्टिकोण पनि राणाकालीन तथा पञ्चायतकालीन समयको भन्दा तात्त्विक फरक देखिँदैन । 

दूरदराजमा अहिले पनि बहुसङ्ख्यक महिला चुलोचौकोमै सीमित छन् । निरक्षर, अर्धसाक्षर वा साक्षरसहित राज्यको केही जिम्मेवारीमा लागेको भए पनि बिहानदेखि बेलुकासम्मै घरधन्दादेखि मेलापातसम्मै व्यस्त हुनुपर्ने बाध्यता छ । अनि कहाँनेर छ, समानता ? कहाँ र कोले पाएको छ महिला अधिकार ? 

यी र यस्तै सवालबारेमा सुनिने र देखिने गरी सार्वजनिक बहस गर्न आवश्यक छ ।  राज्यको उपस्थिति सहर बजार र हुनेखाने बस्तीहरूमा मात्र हैन, अब दूरदराज र हुँदाखाने वर्गका झुपडीहरूमा समेत हुन आवश्यक छ । आखिर राज्य त सबैको हो नि, हैन र ? 

महिलाका सम्बन्धमा उठाउनुपर्ने आवाज धेरै छन् तर यहाँ शिक्षित तथा रोजगारी लागे पनि उही रैथाने पारिवारिक जिम्मेवारीबाट बाहिर निस्कन नसकेका हामी महिलाहरूका दिनचर्याका बारेमा केही कुरा गर्दैछु ।

अनि जब  बिदा हुन्छ, ती महिलाले फेरि हतारहतार घर फर्किनु पर्छ । घर पुग्दा केटाकेटी रोइकराइ गर्दै बाटो हेरेर बसेका हुन्छन् । फेरि सुरु हुन्छ, बेलुकाको अर्को घरधन्दा । 

एक पेसारत महिलाले पुरुषसरह बिहान दसदेखि बेलुका पाँच बजेसम्म राज्यले खटाएको काम गर्नुपर्छ । त्यसका अतिरिक्त उसले बिहान पाँच बजे नै उठेर भान्सामा पसिहाल्नुपर्छ । अघिल्लो बेलुका भाँडाकुँडा माझ्यो, घरआँगन सफा गर्‍यो, धारामा पानी भर्‍यो, भान्सा मिलायो, बिहानको चियानास्ता पकायो, केटाकेटीदेखि घरपरिवार सबैलाई खुवायो, फेरि भाँडाकुँडा माझ्यो, केटाकेटीलाई लुगाकपडा लगाइदिएर विद्यालय पठायो र आफू पनि खाना खाएर अफिस जाने तयारी गर्‍यो । 

बिहानका यी सबै काम सकेर सरकारी समयअनुसार कार्यालयमा पुग्नै पर्ने बाध्यता छ हरेक कर्मचारी महिलालाई । दस बजेदेखि बेलुका पाँच बजेसम्म राज्यको जिम्मेवारी बहन गर्नुपर्ने हुन्छ । त्यही बीचमा ती महिलाले नै घरमा के भयो होला ? केटाकेटीले नास्ता खाए हुन कि नाइँ ? गाईबस्तुले घाँसपराल पाए कि पाएनन् ? जस्ता नानाथरी कुरा मनमा खेलाइ रहनुपर्ने अवस्था छ । 

अनि जब  बिदा हुन्छ, ती महिलाले फेरि हतारहतार घर फर्किनु पर्छ । घर पुग्दा केटाकेटी रोइकराइ गर्दै बाटो हेरेर बसेका हुन्छन् । फेरि सुरु हुन्छ, बेलुकाको अर्को घरधन्दा । 

श्रीमानलाई भने घरधन्दाका यी तमाम कामले छुँदैन । मन लाग्यो भने सहयोग गर्छन्, लागेन भने नगरे पनि हुने । अहिले अपवादका रूपमा केही पुरुषले भने यस्ता घरधन्दाहरूमा महिलालाई राम्रै सहयोग गर्ने गरेको पनि सुनिन्छ । 

माथिको दिनचर्या प्रायः सबै महिलासँग मिल्दोजुल्दो हुनसक्छ । दुर्गमका महिला त झन् बढी व्यस्त हुन्छन् । उनीहरू सरकारी जिम्मेवारीका साथै घरधन्दा र मेलापातमा समेत तल्लीन हुनुपर्ने बाध्यता छ । 

सरकारी कामकाज गर्ने तर घरको काम नगर्ने महिलाप्रति समाजको हेर्ने दृष्टिकोणसमेत फरक पर्दछ । त्यस्ता महिलालाई दूरदरामा त सासूससुराले समेत सराप्छन् । श्रीमानले पनि अवहेलना गर्दछन् । 

समुदायका मानिसले समेत घर खान नसक्ने, घमण्डी, पाखण्डी, हाकिम पल्टेकी जस्ता अपशब्दले घोच्ने गर्दछन् । यी र यस्तै रैथाने र पछौटे सोचका कारण पनि महिला भ्याइनभ्याइ घरदेखि वन तथा राज्यले अह्राएका काम गर्न बाध्य छन् । हाम्रो गए गुज्रेको समाजको यही सोच अनि व्यवहारका बारेमा म एक महिला भएका कारण पटक पटक सोच्ने मन लाग्दछ । 

ती दिदी एक दुर्गम स्थानको सरकारी कार्यालयमा कार्यरत थिइन् । महिनावारी भएको समयमा कार्यालयले समुदायका धार्मिक अगुवाका लागि पाँच दिने तालिम सञ्चालन गरेछ । केही कट्टर धार्मिक अगुवाले आफूहरू तालिममा भएको बेला महिनावारी भएको कुनै पनि महिला कार्यालय हाताभित्र पस्न नपाइने सर्त राखेछन् । सोहीबमोजिम ती दिदीलाई केही दिनका लागि कार्यालयमा उपस्थित नहुनु भनेको रहेछ ।

समाजमा व्याप्त पितृसत्ता र त्यसको प्रभावका कारण महिलामाथि थोपरिएका घोषित अघोषित हिंसाका बारेमा हामी सबै महिला दिदीबहिनीहरूले बुलन्द आवाज उठाउन आवश्यक भएको छ । 

त्यतिमात्र होइन कर्मचारी महिलाले कार्यालयमा समेत विविध खालका विभेद झेल्नुपर्ने हुनसक्छ । महिला भएका कारण कार्यालयभित्रै कतिपय पुरुषहरूबाट यौनहिंसाको सिकार हुनुपरेका खबर आइरहेका छन् । महिला भएका कारण सेवाग्राहीहरूबाट समेत कतिपय ठाउँमा अपहेलित हुनुपर्ने, झन्झट सहनुपर्ने तथा सामाजिक व्यवहारबाट समेत पीडित हुनुपर्ने अवस्था छ ।

यस्तै महिनावारी महिलाको प्राकृतिक पक्रिया हो । यस प्रक्रियाबाट नै मानवीय चक्र सञ्चालित हुने गर्दछ । तर महिनावारी भएकै बखतमा एक शिक्षित अनि पेसागत महिलाहरुले भोग्नुपरेका मनोवैज्ञानिक समस्या बारे चर्चा नै हुँदैन । सुगमभन्दा दुर्गमका सरकारी तथा गैरसरकारी सङ्घसंस्थामा यस खालका समस्या बढी मात्रामा आइलाग्छन् । सभा–बैठकहरू सञ्चालन भएको बेलामा होस् वा सामान्य कामकाजको समयमा, कतिपय धार्मिक अन्धभक्तिमा रमाउनेहरू महिलाको बारेमा अनावश्यक टिप्पणी गर्छन् । महिनावारी हुँदा छिःछिः दुरदुर गर्ने, अन्तर्किया गर्न नचाहने जस्ता घटना पनि प्रत्यक्षपरोक्ष सुन्न र देख्न पाइन्छ ।

महिनावारीको समयमा यस खालका मनोवैज्ञानिक उतारचढाव जहाँतहीँ खेलि नै रहन्छन् । मनमा यस्तै कुरा चलायमान हुँदा महिलाको पेसागत जीवनमा समेत असर पर्ने देखिन्छ । 

केही वर्षअगाडि एकजना दिदीले भनेको कुराले अझै पनि मलाई झक्झक्याइरहन्छ । ती दिदी एक दुर्गम स्थानको सरकारी कार्यालयमा कार्यरत थिइन् । महिनावारी भएको समयमा कार्यालयले समुदायका धार्मिक अगुवाका लागि पाँच दिने तालिम सञ्चालन गरेछ । केही कट्टर धार्मिक अगुवाले आफूहरू तालिममा भएको बेला महिनावारी भएको कुनै पनि महिला कार्यालय हाताभित्र पस्न नपाइने सर्त राखेछन् । सोहीबमोजिम ती दिदीलाई केही दिनका लागि कार्यालयमा उपस्थित नहुनु भनेको रहेछ । यस खालका उदाहरणहरू प्रशस्त छन् । आखिर यस्तै त हो नि भनेर बाहिर नल्याएका मात्र हुन । वर्षाैंदेखि यस खालका पछौटेपनहरू हटाउन निकै प्रयासहरू हुँदासमेत बेथिति झनै बढेर गएको छ । 

महिला र पुरुषबीचको समानता तथा सहअस्तित्वका बारेमा ठूला–ठूला दस्ताबेजहरू लेखिएका छन् । न्यायालयहरूमा दर्जनौँ बहस र छलफल भएका छन् । महिला सशक्तीकरण, छाउपडी प्रथाको उन्मूलन, जातीय विभेदको अन्त्यका लागि भन्दै राज्य र गैरराज्य पक्षबाट अर्बौँ लगानीका कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् । तर परिणाम अझै पनि अपेक्षाकृत आउन सकेको छैन । 

हाम्रा समाजका शिक्षित र पेसागत महिलाहरूको यस्तो अवस्था छ भने दूरदराजमा बस्ने महिलाको कस्तो अवस्था होला ? तिनीहरूको जीवनलाई आजको एक्काइसौँ शताब्दीमा के नामले चिनाउने होला ? सरकारी तथा गैरसरकारी सामाजिक संस्थाले परिकल्पना गरेको र आममहिलाले चाहेको समतामूलक समाज कहिले हुन्छ होला ? 

शिक्षक, पाण्डु माध्यमिक विद्यालय, पँडेस, बझाङ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रूपा कुमारी माल (बोहरा)
रूपा कुमारी माल (बोहरा)
लेखकबाट थप