शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सङ्क्रमण फैलिएपछि लमजुङमा बङ्गुर ओसारपसारमा प्रतिबन्ध

मङ्गलबार, १६ फागुन २०७९, ०८ : २०
मङ्गलबार, १६ फागुन २०७९

लमजुङ । लमजुङमा बङ्गुर तथा बङ्गुर जन्य पदार्थ ओसारपसारमा प्रतिबन्ध लगाइएको छ ।

बेसीशहरस्थित विभिन्न फार्ममा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइन फीभरको सङ्क्रमण फैलिएसँगै जिल्लामा बङ्गुर तथा बङ्गुर जन्य पदार्थ ओसारपसारमा प्रतिबन्ध लगाइएको हो । 

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले सोमबार सूचना जारी गरी घरपालुवा सुँगुर, बङ्गुर र जङ्गली बँदेल प्रजातिमा विषाणुको कारण लाग्ने अफ्रिकन स्वाइन फीभर सङ्क्रमणले छोटो समयमा नै महामारीको रूप लिन सक्ने भएकाले बङ्गुर ओसारपसारमा रोक लगाएको हो । 

उच्च मृत्युदर भएको यस रोग फैलन नदिन पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ को दफा १५ बमोजिम अर्को सूचना जारी नभएसम्मका लागि बेसीशहर नगरपालिकाबाट बङ्गुर तथा बङ्गुरजन्य पदार्थहरु अन्य क्षेत्रमा ओसारपसार गर्न प्रतिबन्ध लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका प्रमुख डा। रुपेश श्रेष्ठले जानकारी दिए । 

यस रोगको सङ्क्रमण बेसीशहर नगरपालिका वडा नं. ६ र ८ मा देखिएको छ । दुवै वडाका विभिन्न फार्ममा पालिकाका बङ्गुर मर्न थालेपछि प्रयोगशाला परीक्षणबाट अफ्रिकन स्वाइन फीभर सङ्क्रमण पुष्टि भएको पशु चिकित्सक डा श्रेष्ठले बताए । उनका अनुसार उक्त रोगको सङ्क्रमणबाट हालसम्म ८० वटा बङ्गुर मरेका छन् । 

रोगी बङ्गुर वा त्यसका पाठा पाठी, मासु वा रोगी पशुको सम्पर्कमा आएका वस्तु एक स्थानबाट अर्को स्थानमा लैजाँदा सजिलै सर्ने हुँदा ओसारमा रोग लगाइएको र स्वाइन फीभर पुष्टि भएका क्षेत्रमा जैविक सुरक्षाका विधिहरू अपनाउन भनिएको पशु चिकित्सक डा श्रेष्ठले बताए  । 

न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप