मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय

कांग्रेस संसदीय दल बैठक : अर्थमन्त्रीलाई आगामी बजेटबारे सुझाव

मङ्गलबार, १२ वैशाख २०८०, १३ : ३४
मङ्गलबार, १२ वैशाख २०८०

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सांसदहरूले आगामी वर्षको बजेटमा शिक्षा, स्वास्थ्य, रोजगारी, पिछडिएका वर्ग, समुदाय र स्थान केन्द्रित कार्यक्रम ल्याउन सुझाव दिएका छन् । सोमबारबाट संघीय संसद् भवनमा सुरु भएकाले पार्टीको संसदीय दलको बैठकमा सांसदहरूले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई जनतामुखी बजेट निर्माण गर्नुपर्ने सल्लाह दिएका हुन् । 

बैठकपछि मंगलवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले बैठक आगामी वर्षको बजेट निर्माण प्रक्रियामा नै केन्द्रित भएको बताए । उनले सानो पुँजीबाट पनि कसरी जनतामुखी कार्यक्रम र योजना ल्याउन सकिन्छ भन्ने विषयमा छलफल भएको बताए । उनले भने, ‘बजेटका सिद्धान्तहरू, प्राथमिकताहरू, त्यसका आधारहरू के हुन् ? भन्ने कुरा मान्य अर्थमन्त्रीज्यूले जानकारी गराउनु भयो । बजेट कस्तो आउनुपर्छ, के आउनुपर्छ भन्नेबारेमा राय लिनुभयो । हामीले राष्ट्रपतिको स्वास्थ्य लाभको कामना गरेका छौँ । केही शोक प्रस्ताव पारित गरेका छौँ । सभापतिजीले पनि आफ्ना धारणा राख्नुभयो । मूल विषय बजेटमा नै छलफल गर्न यो बैठक राखिएको थियो, त्यसमा व्यापक छलफल भयो । पछि परेका समुदाय, वर्गलाई लक्षित गरेर बजेटमा व्यवस्था गरिनुपर्छ भन्ने माग उठेको छ । महिला, आदिवासी, जनजाति दलित, पिछडिएको क्षेत्र, पिछडिएको वर्ग, युवा लगायतमा बढी केन्द्रित हुनुपर्छ, भन्ने कुरा उठेका छन्, शिक्षा, स्वास्थ्यका क्षेत्रमा पनि कुरा उठेका छन् ।’

त्यस्तै नेपाली कांग्रेस सांसद राजन केसीले बैठकमा आम नागरिकका आधारभूत अधिकार शिक्षा, स्वास्थ्य, पूर्वाधारमा विशेष ध्यान दिने गरी बजेट निर्माण गर्न सुझाव दिएको बताए । उनले पूर्वाधारको क्षेत्रमा पनि नागरिकको चाहनाअनुसारको बजेट निर्माण गर्न सक्नुपर्ने सुझाव आएको बताए । उनले भने, ‘पार्टीको संसदीय दलको बैठकमा आगामी बजेटका बारेमा छलफल भयो । आगामी बजेट जनताप्रति र जनतालाई के के कुरामा राहत दिन सकिन्छ ? सानो पुँजीबाट पनि सानो बजेटबाट पनि जनताको आधारभूत अधिकार शिक्षा, स्वास्थ्य, पूर्वाधारमा विशेष ध्यान दिएर सामाजिक सुरक्षा भत्ता लगायतमा विशेष ध्यान दिएर आगामी बजेटको निर्माणमा ध्यान दिनेछौँ भन्नुभएको छ । आर्थिक अवस्था कहालीलाग्दो छ, यद्यपि आयआर्जनमा के कसरी बढाउन सकिन्छ ? रोजगार कसरी सिर्जना गर्न सकिन्छ ? मुलुकमा उत्पादन र श्रमलाई कसरी बढाउने भन्ने बारेमा विचार आएका छन् । आय आर्जन पनि बढाउने, शिक्षा र स्वास्थ्यमा विशेष ध्यान दिने भन्ने छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप