शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

‘परिवर्तनका लागि रूपान्तरित दृष्टिकोणसहितको नेतृत्व आवश्यक’

सोमबार, ०१ जेठ २०८०, १३ : ४४
सोमबार, ०१ जेठ २०८०

ढाका । महिला अधिकारकर्मीहरूले परिवर्तनका लागि रूपान्तरित दृष्टिकोणसहितको नेतृत्व आवश्यक रहेकोमा जोड दिएका छन् । महिला बेचबिखन विरुद्धको विश्वव्यापी सञ्जालले बंगलादेशको ढाकामा गरेको ३ दिने  सम्मेलनमा सहभागी अधिकारकर्मी र सरोकारवालाहरूले महिला श्रमको सम्मानका लागि दृष्टिकोणमा रूपान्तरण हुनुपर्नेमा जोड दिएका हुन् । उनीहरूले स्वदेश र प्रवासमा महिला श्रमको सम्मान हुनुपर्नेमा र उनीहरूमाथि हुँदै आएको मानसिक दबाब र बहिष्करणको अन्त्य हुनुपर्नेमा जोड दिएका छन् ।

“महिला श्रमको सम्मानपूर्ण मूल्याङ्कनका लागि रूपान्तरित दृष्टिकोण“सम्मेलनमा सहभागीहरूले स्वदेश र वैदेशिक रोजगारीमा गएका महिला श्रमिकमाथिको मानसिक दबाब र बहिष्करणको अन्त्य नभएसम्म दिगो विकास लक्ष्य हासिल गर्न नसकिने बताए । उनीहरूले वैदेशिक रोजगारीमा गएका महिलाले मुलुकको आर्थिक परिवर्तनमा ठुलो योगदान पुर्‍याएकाले उनीहरूको श्रमलाई सम्मानपूर्ण दृष्टिकोणले हेर्नुपर्ने बताए । नेपालबाट सम्मेलनमा सहभागी संविधानसभा सदस्य डाक्टर विन्दा पाण्डेले महिला श्रमको मूल्याङ्कन र सम्मानका लागि अझै पनि संघर्ष गर्नुपर्ने अवस्था रहनु दुखद भएको बताइन् । बंगलादेशको कार्यकारी प्रमुखमा महिला रहँदा पनि बंगलादेशी महिलाहरूको स्थितिमा खासै परिवर्तन आउन नसकेको दृष्टान्त दिँदै उहाँले परिवर्तनका लागि महिलावादी दृष्टिकोण सहितको महिला नेतृत्व आवश्यक रहेको जिकिर गरिन् ।

उनले भनिन्, ‘महिला नेतृत्वमा पुग्दैमा समग्र महिला जगतको विकास भएको मान्न सकिँदैन । त्यसका लागि महिलावादी दृष्टिकोण सहितको नेतृत्व चाहिन्छ । राष्ट्र«निर्माणमा महिलाको योगदानको कुरा गर्दा सेवामूलक काम र अनौपचारिक क्षेत्रको श्रमलाई पनि आर्थिक उत्पादनको रूपमा ग्रहण गर्नुपर्छ । उनीहरूले अर्थतन्त्रमा पुर्‍याएको योगदानलाई राष्ट्रिय गणनामा राखिनुपर्छ । ’

अधिकारकर्मी  डाक्टर रेणु अधिकारीले देश भित्रैका महिलाको श्रमको सम्मान र मूल्याङ्कन नभएसम्म वैदेशिक रोजगारीमा रहेका महिलाको सम्मान हुन नसक्ने बताइन् । महिलाको श्रमको सम्मान हुन नसक्दा वैदेशिक रोजगारीमा रहेका महिलाले लाञ्छना र हेयको व्यवहार खेप्नुपरेको बताउनु भयो । देश भित्र र प्रवासमा रहेका महिला श्रमिकले मुलुकको आर्थिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर नभएसम्म कुनैपनि सरकार समृद्ध हुन नसक्ने उनको भनाई थियो ।

त्यसैगरी महिला बेचबिखन विरुद्धको विश्वव्यापी सञ्जालका प्रतिनिधि वन्दना पटनायकले बंगलादेश र नेपालको स्थिति मूल्याङ्कन गर्दा आप्रवासी महिलाको समान प्रकृतिका समस्या रहेकाले मिलेर काम गर्नुपर्नेमा जोड दिनुपर्ने बताइन् । उनले भनिन्, ‘दक्षिण एसियाबाट वैदेशिक रोजगारीमा गएका महिला कम पारिश्रमिकमा पनि काम गर्न बाध्य छन् । तर उनीहरूले आफ्नो कमाइको सबै पैसा परिवारलाई पठाउने गर्छन् । यसले समग्र ती मुलुकको अर्थतन्त्रलाई पनि सहयोग पुर्‍याएको हुन्छ । त्यसैले उनीहरूले देश र परिवारलाई पुराएको योगदानको सबै सरकारले सम्मान गर्नुपर्छ । ’

कार्यक्रममा सहभागी आप्रवासी महिलाहरूले आफूहरूलाई समाजले राम्रो दृष्टि राख्ने नगरेको गुनासो गरेका थिए । उनीहरूले श्रमको योगदान र मूल्य महिला र पुरुष दुवैको समान गर्नुपर्छ भन्ने बुझाई नहुँदा वैदेशिक रोजगारीबाट फर्किएपछि पनि परिवार र समाजको बहिष्करणमा पर्नुपरेको बताएका थिए ।

कार्यक्रममा नेपाल र बंगलादेशका सांसद, अधिकारकर्मी, पत्रकार र आप्रवासी सहित ६० जना बढीको सहभागिता थियो । मिडिया सामग्रीको भाषा र प्रस्तुतिको शैली पनि पुरुष मनोभावबाट प्रेरित हुने गरेको भन्दै सहभागीले सञ्चार शैलीमा पनि परिवर्तनको आवश्यकता औँल्याएका थिए । सम्मेलनले परिवर्तनका लागि रूपान्तरित दृष्टिकोण सहितको नेतृत्व विकासका लागि दुई वर्षे रणनीति तयार गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप