मङ्गलबार, ०८ साउन २०८१
ताजा लोकप्रिय
राष्ट्रिय फल

सुन्तला राष्ट्रिय फल बन्ला ?

८१ वर्षअघिदेखि नेपाली पुस्तक र प्रतिवेदनमा सुन्तला
बुधबार, १० जेठ २०८०, ११ : ४५
बुधबार, १० जेठ २०८०

हाम्रो संविधानमा उल्लेख छ – राष्ट्रिय फूल (लाली गुराँस), राष्ट्रिय रंग (सिम्रिक), राष्ट्रिय जनावर (गाई), राष्ट्रिय पक्षी (डाँफे), तर कृषिप्रधान देशको रैथाने कृषि उपजलाई राष्ट्रिय घोषणा गर्न सकिएको छैन । हामीकहाँ केही वर्षअघिदेखि सुन्तलालाई राष्ट्रिय फल बनाउने सम्बन्धमा चर्चा चल्दै आयो, अहिलेसम्म टुंगोमा पुग्न सकिएको छैन ।  

राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जिन बैंक)ले अनुसन्धान गरी सुन्तलालाई राष्ट्रिय फल बनाउन प्रस्ताव गरेको थियो । जिन बैंककै पहलमा वर्ष २०७९ लाई ‘राष्ट्रिय कृषि जैविक विविधता वर्ष’का रूपमा मनाइयो । सोही वर्ष सुन्तलालाई राष्ट्रिय फल बनाउन आफूहरूले लिखित रूपमा कृषि मन्त्रालयमा प्रस्ताव पठाएको जिन बैंकका प्रमुख डा. बालकृष्ण जोशी बताउँछन् । डा. जोशी भन्छन्, ‘त्यतिबेला हामीले सुन्तलालाई राष्ट्रिय फल किन बनाउने, यसको अनुसन्धानले के भन्छ भन्ने प्रामाणिक कागजात संलग्न गरी पठाएका थियौँ ।’ 

कृषि मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सञ्जेलका अनुसार, यसमा अन्य फलको पनि सम्भाव्यता अध्ययन गर्नुपर्ने भएकाले विभिन्न समयमा छलफल भए पनि निर्णय भइसकेको छैन ।

कृषि मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत विष्णुहरि देवकोटाका अनुसार, बाहिरबाट सरसर्ती हेर्दा राष्ट्रिय फल घोषणा गर्न सुन्तला उपयुक्त देखिन्छ, यद्यपि सुन्तला नै भन्ने निर्णयमा पुगिसकिएको छैन । ‘कुनलाई राष्ट्रिय फल घोषणा गर्न सकिन्छ, कुन फलको अवस्था के छ, त्यसको तथ्यांक, विवरण र विश्लेषण गरी पठाउन भनी हामीले तीन महिनाअघि फलफूल विकास केन्द्र कीर्तिपुरलाई अनुरोध गरी पठाएका छौँ । उताबाट जवाफ आएको छैन । उताबाट जस्तो सिफारिस आउँछ, त्यो बमोजिम निर्णय हुन्छ,’ उनले भने । 

फलफूल विकास केन्द्रका प्रमुख राजेन्द्र कोइरालाका अनुसार, सुन्तलालाई राष्ट्रिय फल बनाउन २०७५/७६ तिर सुरु भएको हो । अहिले पछिल्लो चरणमा यो टुंगोमा पुगेन, यसलाई फेरि नयाँ शिराबाट छलफल गर्नुपर्ने भयो । ‘यसमा सुन्तलामा मात्रै जाने कि सुन्तलाजात भनेर जाने भन्ने छलफलको विषय रह्यो । सुन्तला (जसलाई हामी सुन्तला भन्छौँ)लाई नै राष्ट्रिय फल बनाउनुपर्छ भनी अहिले हामी थप अनुसन्धान र छलफलमा छौँ,’ कोइरालाले भने, ‘केही महिना लाग्ला ।’ सुन्तला जातअन्तर्गत सुन्तला, जुनार, कागती, बिमिरो, भोगटे, निबुवा, मुन्तला, चाक्सी, संखत्र आदि फल पर्छन् ।

जिन बैंकका प्रमुख डा. जोशी फल लगायत बाली, थाली (परिकार) आदिलाई राष्ट्रिय घोषणा गर्न र रैथाने जातलाई ‘भौगोलिक संकेत चिह्न’ दिएर ब्रान्डिङ गर्न सरकारले तदारुकता देखाउनुपर्ने बताउँछन् ।

यता कृषि प्रसार अधिकृत देवकोटा भन्छन्, ‘सल्यानको अदुवा, फर्पिङको नास्पाती जस्ता विशिष्ट गुण भएका कृषि उपजलाई अन्य देशमा चिनाउने उद्देश्यले भौगोलिक संकेत दिन सकिने विषयमा चर्चा भएको तर ठोस कार्यक्रम अगाडि बढिसकेको छैन ।’

८१ वर्षअघिदेखि सुन्तलाप्रति चासो

हामीले सुन्तलालाई चासो दिएर लेख्न थालेको ८१ वर्ष पुगेको पाइन्छ, (यसअघि पनि सुन्तलाका बारेमा पुस्तक लेखिएका हुन सक्छन्, मेरो अध्ययन पुगेको छैन) ।  

साल १९९९ मा गिरिजाभक्त बानेश्वरले ‘सुन्तला खेती र यसका कुटुम्बहरू’ पुस्तक लेखेका थिए । सम्पादक उद्योग, उद्योग कार्यालय ठहिटी प्रकाशक रहेको यस पुस्तकको भूमिकामा लेखिएको छ, ‘सुन्तला र यसका कुटुम्बहरूको खेतीको विषयमा जे जति कुरा आवश्यक छ, ती सब कुराहरू अंग्रेजी तथा हिन्दी भाषाका पुस्तकको आधारमा संग्रह गरीकन र आफ्नै परिश्रम अनुभवद्वारा सिद्ध गरीकन यस पुस्तकमा समावेशिता गराउने चेष्टा गरेको छु । लेखकलाई पूर्ण आशा छ कि बागबगैँचाका शौकिन र सुन्तला आदि फलफूलका व्यवसायीले यस पुस्तकबाट अवश्य केही न केही लाभ उठाउनेछन् ।’ 

यस पुस्तक अनुसार, हाम्रो देशमा सुन्तला र यसका कुटुम्ब (कागती, निबुवा, कालज्यामिर, बिमिरो, मोसम, भोगटे, ग्रेपफ्रुट, ज्यामिर, चाक्सी इत्यादि) परापूर्वकालदेखि लगाएको पाइन्छ । सुन्तलाखेती कसरी गर्ने भनी चर्चा गरिएको यस पुस्तकमा उल्लेख छ, ‘बिरुवा लगाउँदा शोखले जात जातका लगाउने होस् वा व्यापारिक स्केलमा ५–७ जातले बगैँचा तयार गर्ने होस्, जसले पनि प्रख्यात नर्सरी (बिरुवा घर) वा व्यापारीकहाँबाट तन्दुरुस्ती बिरुवा मगाउनुपर्छ ।’

बगैँचाका बारेमा हाम्रा पौराणिक साहित्यमा निकै उल्लेख पाइन्छ । सभ्यताको इतिहासमा मानिसको सुरुवाती खोज नै खाद्य र अखाद्य भोजनका बारेमा हुँदै आयो । खानयोग्य सिकार, फलफूल, कन्दमूल लगायत कृषि उपज आदिम मानिसको संग्रह र संरक्षणमा पर्नु स्वाभाविक थियो । हाम्रो भूगोलमा विशिष्ट गुण बोकेर कुन–कुन फलफूल हुर्कंदै आए, कुन कुन फल मानिसको खास संरक्षणमा परे– यो गम्भीर अध्ययनको विषय हुँदै हो । सुन्तला जातको उद्गम स्थल कुन हो भन्नेमा मतमतान्तर छ । डगलस केजलस साकम्यानको पुस्तक ‘ओरेन्ज एम्पायर’ अनुसार, मलाया, पूर्वी भारतीय द्वीपहरुमा दुई करोड वर्षअघि मिठो सुन्तलाको उद्गम भएकोे अधिक सम्भावना छ । सर्वप्रथम सुन्तलाखेती चिनियाँ र अन्य एसियाली क्षेत्रका मानिसले गरेका थिए ।

२०२२ मा तत्कालीन रायल नेपाल एकेडेमी (हालको प्रज्ञा प्रतिष्ठान)ले ‘नेपालमा फलफूलको बगैँचा’ पुस्तक छापेको थियो । सत्यलाल रञ्जितकार लेखक रहेको पुस्तकमा उल्लेख छ, ‘आजकाल नेपालका कुनै कुनै भागमा मानिसले फलफूल खेतीतर्फ धेरै चाख लिई व्यापारिक दृष्टिले फलफूलको खेती धमाधम बढाउँदै लगेका छन् । पश्चिम ३ नम्बर पोखरामा र पूर्व भोजपुर, धनकुटामा सुन्तलाखेती बढ्दै गइराखेको छ ।’ सुन्तला पहाडी भेगको एउटा मुख्य फल भएको यस पुस्तकमा उल्लेख छ । 

सरकारले २०१७ सालमा केही विस्तृत रूपमा सुन्तला बजारको अध्ययन गरेको देखिन्छ । सागरबहादुर प्रधानले २०१७ सालमा धरानमा सुन्तला बजारको अध्ययन गरी तयार पारेको रिपोर्टलाई कृषि विभागले २०२० सालमा प्रकाशित गरेको थियो । त्यतिबेला मोरङ जिल्लाको सब डिभिजनका रूपमा थियो, धरान बजार । यस रिपोर्ट अनुसार, धरान बजारमा त्यतिबेला वरपरका पहाडी क्षेत्रबाट ६ दिनको बाटो हिँडेर सुन्तला बेच्न ल्याउँथे । धनकुटा, भोजपुरका विभिन्न इलाका (मुख्यतः चौबिसे, खोकु, छिन्टाङ, सभाउत्तर, दिंग्ला, छिनामाखु आदि)बाट सुन्तलाका भारी धरान बजार आइपुग्थे । भारतको जोगबनी तथा आसपासका केन्द्रहरू (मुख्यतः फार्बेसगन्ज, डुमरिया, पुर्निया, भागलपुर आदि)बाट सुन्तला किन्ने व्यापारी आउँथे । 

उपरोक्त रिपोर्ट भन्छ, ‘किन्ने महाजनहरूले सुन्तलाको साइज अनुसार मोल दिन्छन् । बजारमा कुनै किसिमको दरभाउ तोकिएको हुँदेन । बेच्नेले सकेसम्म ज्यादा माग्छन् र किन्ने जो कि अक्सर गरी बेच्नेहरूभन्दा धेरै चलाख हुन्छन्, उनीहरूले कसाकस गरी सकेसम्म कम दाममा किन्छन् । कुनै कुनै व्यापारीले सुन्तला किनेर कोल्ड स्टोरेजमा दुई–तीन महिनासम्म राखेपछि अलि अलि गरी स्थानीय बजार तथा कलकत्तासम्म लैजान्छन् ।’ 

यस रिपोर्ट अनुसार, २०१६ सालमा ४५ लाख २५ हजार ६०० दाना (गोटा) सुन्तला र तीन लाख २८ हजार दाना कागती निर्यात भएको थियो । २०१७ सालमा ४२ लाख ७३ हजार ७६० दाना सुन्तला र एक लाख ७८ हजार २१० कागती निर्यात भएको थियो । यसरी एक वर्षमै सुन्तला र कागतीको निर्यात घटेको देखिन्छ । 

यस रिपोर्ट अनुसार, त्यतिबेला धरान बजारमा भारतीय रुपैयाँ प्रचलित थियो । भारतीय व्यापारीले औसतमा चार रुपैयाँमा एक सय दाना सुन्तला खरिद गर्थे । सुन्तला बेचेर किसानले नुन, लत्ताकपडा लगायत खरिद गर्थे । त्यतिबेला धरान बजारबाट सुन्तला तथा अरु फलफूलसँगै आलु बढी बिक्री हुन्थ्यो । यी उपजका लागि कोल्ड स्टोर आवश्यक रहेको रिपोर्टको सुझावमा उल्लेख छ । 

२०२४ असोजमा भूमिसुधार, कृषि तथा खाद्य मन्त्रालयको एगृ. इकनमिक्स सेक्सनले ‘पूर्वी नेपालमा सुन्तला’ पुस्तक छापेको थियो । यस पुस्तकमा सुन्तलाको खेती चीनको दक्षिण भागमा सबभन्दा पहिले २४०० बीसीअघिदेखि गरिएको उल्लेख छ । ‘सुन्तला वर्गका फलफूलहरू, सुन्तलाजस्तो खेस्रा भएका फलफूलहरूको खेती पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म आवहवा (हावापानी) सुहाउँदो विभिन्न ठाउँहरूमा गरिन्छ,’ पुस्तकमा उल्लेख छ, ‘खास गरेर पूर्वमा धनकुटा, भोजपुर, चैनपुर, इलाम र पश्चिम दैलेख, पोखरा, जुम्लामा सुन्तलाको उत्पादन हुन्छ ।’ 

सुन्तलाखेतीको सम्भावना देखेरै सरकारले सर्वप्रथम २०१८ सालमा कृषि विभागअन्तर्गत धनकुटाको पारिपात्लेमा सुन्तलाबाली अनुसन्धान केन्द्र स्थापना गरेको थियो, जुन अहिले राष्ट्रिय सुन्तलाजात अनुसन्धान कार्यक्रम भनी सञ्चालित छ । 

पुराना सरकारी प्रतिवेदनको आधारमा हेर्दा धनकुटा नै सुन्तलाको केन्द्रका रूपमा देखिन्छ । ‘पूर्वी नेपालमा सुन्तला’ पुस्तक भन्छ, ‘कहिलेदेखि धनकुटामा फलफूल खेती भएको भन्ने थाहा पाउन नसके पनि हजार वर्षअघि किरातीहरूले खोकु (धनकुटा) भन्ने ठाउँको जंगलबाट फलफूल टिपी ल्याई खाएका थिए । पछि बाँकी भएको सुन्तलाका बियाँहरूबाट खेती बढ्न आएको भन्ने बुढापाकाको किंवदन्ती छ । यहाँ अहिले (पुस्तक निस्केको वर्ष २०२४) सम्म ७०–८० वर्ष पुराना सुन्तलाका बोट यथास्थानमा सुरक्षित छन् ।’ यस पुस्तक अनुसार, त्यतिबेला धनकुटा, भोजपुर, इलाम लगायत क्षेत्रमा सुन्तलाखेती गरिन्थ्यो । 

आर्थिक वर्ष २०७३/७४ को तथ्यांक अनुसार, सातै प्रदेशमा गरी २७६०.४ हेक्टर क्षेत्रफलमा सुन्तलाको खेती गरिएको थियो, जसमा ७.९ टन सुन्तला उत्पादन भएको थियो ।  

पहाडको बाँझोपन हटाउन सुन्तला 

‘नेपालको तराई खण्डलाई खाद्यान्नको भण्डार भनेजस्तै पहाडी खण्डलाई फलफूलको भण्डार भन्नु कुनै अत्युक्ति नहोला ।’ यो धारणा कक्षा ९ र १० का लागि २०२९ सालमा जनक शिक्षा सामग्री केन्द्रले छापेको बागबानी (इच्छाधीन) विषय पुस्तकमा उल्लेख छ । 

५० वर्षअघि नै राज्यको शैक्षिक क्षेत्रले पहाडी खण्डलाई फलफूलको भण्डारका रूपमा हेर्नु आफैँमा महत्त्वपूर्ण थियो । यद्यपि ठोस कार्यक्रम र योजना नहुँदा राज्यले फलफूल खेतीबाट फाइदा लिन सकिरहेको छैन ।

हामीकहाँ यतिखेर खासगरी पहाडका खेतीयोग्य जग्गाहरू बाँझो बन्दै गइरहेका छन् । पछिल्लो समय मानिसहरू काम–पेसा, अध्ययन वा सुख–सुविधा खोज्दै सहर–बजारतिर बढी आकर्षित देखिन्छन् । 

फलफूल विकास केन्द्रका प्रमुख कोइराला पहाडी क्षेत्रमा जग्गाको बाँझोपन घटाउन सुन्तलाजात लगायत फलफूल खेती गर्न सकिने बताउँछन् । उनका अनुसार, ५–६ महिनामा फल्ने अन्नबाली लगाउँदा कृषकले बढी समय दिनुपर्छ, फलफूल एकपटक लगाएपछि लामो समय लाभ लिन सकिन्छ । 

नेपालमा अहिलेसम्म खानयोग्य प्रमाणित भएका ८१ वटा फल छन्, (आँप, सुन्तला, केरा, काफल आदिका विभिन्न जात हुन्छन्, एउटा जातका रूपमा मात्रै गन्दा) । यसमध्ये व्यावसायिक रूपमा ६० वटाजति फलको खेती गरिन्छ । तराईमा आँप, केरा, लिची आदि, मध्य पहाडको हकमा सुन्तला, कागती, जुनार, मोसम, भोगटे आदि र उच्च पहाडमा ओखर, स्याउ प्रमुख छन् । ‘हामीलाई माटो र हावापानीले साथ दिएको छ । संसारमा पाइने करिब ९० प्रतिशत फलफूल हामीकहाँ पाइन्छन्,’ कोइराला भन्छन्, ‘यसो हुँदा हामीले फलफूलबाट धेरै हदसम्म जग्गाको बाँझोपन कम गर्न सक्छौँ ।’ 

उनका अनुसार, गोरखा जिल्लामा अकबरे खुर्सानी लगाइयो । एउटै डाँडाको एक पाखामा निकै पिरो अकबरे फल्यो, अर्को पाखामा फलेको अकबरे पिरो भएन । यस्तै, रोल्पाको होलेरीमा फल्ने लसुन निकै बास्नादार छ । त्यही लसुनलाई ललितपुरको खुमलटारमा लगाउँदा फल्यो तर सुगन्ध आएन । ठाउँ विशेषमा फल्ने उपजलाई ‘निच क्रप’ भनिन्छ । ‘कुनै उपज कुनै ठाउँ विशेषमा विशेष गुणसहित उब्जन सक्छ । यो खालको जैविक विविधतामा हामीले अनुसन्धान पनि बढी गर्नुपर्नेछ,’ कोइराला भन्छन्, ‘हाम्रोमा अन्नबालीमा बढी अनुसन्धान भए पनि फलफूल जातमा अनुसन्धान कम छ ।’

हामीकहाँ विदेशबाट बोटबिरुवा वा बिउबिजन भित्र्याउने प्रचलन पुरानै पाइन्छ । उपरोक्त पुस्तक बागबानी (इच्छाधीन) अनुसार, विदेशबाट ल्याइएका कतिपय बोटबिरुवा, बिउबिजन देश सुहाउँदो र स्वस्थ, भरपर्दो नभएकाले कतिको नोक्सान भएको छ । तराई क्षेत्रमा विशेष गरी फलफूलका बोटबिरुवा विदेशबाट ल्याई बिक्री गरेको देखिन्छ, विशेष गरी आँप ।

कोइरालाका अनुसार, २०१८ सालदेखि २०३० सालको बीचमा सरकारी तवरबाट धेरै फार्म केन्द्र खुले । अहिले फलफूल केन्द्रमातहत पाँचवटा फार्म छन् । यी फार्मले जर्म प्लाजम्को संरक्षण गर्नेदेखि क्षेत्र विशेष फलफूलका बिउबिजन र बोटबिरुवा उत्पादन गरी बिक्री–वितरण गर्छन् । 

शालग्राम अधिकारीले २०७१ सालमा प्रकाशन गरेको पुस्तक ‘व्यावसायिक फलफूल खेती’ अनुसार, सुन्तला खेती गर्न ८०० देखि ४००० मिटरसम्मको उचाइ क्षेत्र राम्रो मानिन्छ । सुन्तलाको बोटले धेरै प्रकाश मन पराउँछ, तर अलिकति छाया पर्ने ओसिलो ठाउँका फलहरू अझ रसिला र ठूला आकारका हुन्छन् । पूर्व वा पश्चिम फर्केको पहाडी भिरालो जग्गा सुन्तलाखेतीका लागि राम्रो मानिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप