शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
मधेस

मधेसको इतिहास लेखन: प्राथमिकता के ?

आइतबार, १४ साउन २०८०, ०८ : ५०
आइतबार, १४ साउन २०८०

यसै असारको अन्तिम साता मधेस प्रज्ञा प्रतिष्ठानको आयोजनामा मधेसको इतिहास लेखनसम्बन्धी गोष्ठी महोत्तरीको बर्दिवासमा आयोजना भयो । छोटो सूचनाको आधारमा सो गोष्ठीमा यो पङ्क्तिकार पनि सहभागी भएको थियो । 

अन्य विकासे कार्यक्रम असारमा सक्ने चटारोलाई प्रायःले ठिक मानेका छैनन् । त्यसमाथि इतिहास लेखनसम्बन्धी गोष्ठी पनि असारमै हुनुले कतिपयले बजेट सकाउने मेलो मात्रै पनि भने । मधेस प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडी भ्रमरले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्ने क्रममा सम्बन्धित निकायबाट कार्यक्रमका लागि बजेट छुट्याउन ढिलाइका कारण असारको चटारोमा हतारमा कार्यक्रम गर्नु परेको विवशता पोखे । 

यो आलेखमा सोही गोष्ठीमा उठेका केही सवालबारे मन्थन तथा मधेसको इतिहास लेखनमा प्राथमिकता के हुनुपर्छ भन्नेमा केन्द्रित छ ।  

इतिहासको अध्ययनमा सबैको रुचि हुँदैन । कतिपयले लोकसेवा आयोगको जाँच दिने क्रममा इतिहासका केही प्रश्न घोक्छन् । पास भएपछि त्यसलाई जानिराख्नुपर्ने आवश्यक ठानिन्न । पहिले प्रवीणता प्रमाणपत्र तहको दोस्रो वर्षमा ५० पूर्णाङ्कको ‘नेपाल परिचय’ पढ्नु पर्थ्यो, त्यसले नेपालको भूगोलबारे धेरैलाई जानकारी हुन्थ्यो । यो कोर्स उहिल्यै हटाइसकियो, जुन कि अपरिहार्य छ । 

Madhesh history

त्रिभुवन विश्वविद्यालयमा इतिहास विभाग छ । तर, यहाँ विद्यार्थी औँलामा गन्न लायक छन् । यसले इतिहासको अध्ययनमा रुचि घट्दै गएको देखाउँछ । जबकि देश संघीय राज्यमा गएपछि धेरै समुदायलाई आफ्नो इतिहासबारे चासो छ । तर, आफ्नो समुदायको आधिकारिक अनि गहन इतिहास पढ्ने मेसो कमैले पाएका छन् । किनकि यसबारे खासै दस्तावेजीकरण नै भएको छन् । 

मधेस प्रज्ञा प्रतिष्ठानका अध्यक्ष कापडीले कार्यक्रमको सुरुमै मधेसको इतिहासलाई मधेस प्रदेशको केवल ८ जिल्लामा मात्र सीमित नगरिने बताए । उनले पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्म मात्र नभई मधेसको सीमा जोडिएको भारतीय प्रान्तका कुरा पनि यस इतिहास लेखनमा समेटिने उद्देश्य रहेको बताए । अर्थात् मधेसको विस्तृत नालीबेली समेट्ने उनको जिकिर थियो । 

उनको जिकिरपछि मलाई लाग्यो, मधेसको इतिहास लेखनसम्बन्धी गोष्ठीमा इतिहासका प्राध्यापकहरूलाई प्राथमिकतासाथ सहभागी गराइएको होला, हालसम्म मधेसको इतिहास लेखनबारे भएका कामको सूचीकरण प्रस्तुति गरिएला । तर, त्यो पाइएन । 

दरभंगा क्षेत्रका केही प्राध्यापकहरू सहभागी रहेको पहिलो दिनको कार्यक्रमलाई अन्तर्राष्ट्रिय गोष्ठी भनिएको थियो भने दोस्रो दिनको कार्यक्रमलाई राष्ट्रिय गोष्ठी । 

बहस मधेस प्रदेशका विभिन्न भाषाको अवस्थाबारे बढी केन्द्रित रह्यो । कैलालीबाट आएकी डा जीवन रानाले राना थारुको समग्र अवस्थाबारे पेपर प्रस्तुत गरिन् । यो पङ्क्तिकारले डंगौरा थारुबारे केही तथ्य उजागर गर्‍यो । विक्रममणि त्रिपाठीले अवध राज्यको ऐतिहासिक तथ्य खोतले । निष्णु थिङले मधेसमा रहेका तामाङ साहित्यबारे प्रकाश पारे । 

भाषा आयोगका सदस्य गोपाल अश्कले मधेसको टप टेन भाषाबारे व्याख्या गर्ने क्रममा त्यहाँको पहिलो भाषा मैथिलीबारे प्रकाश पार्ने क्रममै सहजकर्ताको चिट आइपुग्यो । उक्त सत्रको अध्यक्षता ग्रहण गरेका भाषा आयोगका अध्यक्ष डा गोपाल ठाकुरले तत् तत् भाषामा के काम भएको छ भन्दा पनि समस्या कहाँ छ, त्यो औँल्याउन भने ।

जेएनयुबाट पीएचडी सकाएका अध्येता सोहन साहका अनुसार मधेसको प्रमाणिक इतिहास लेख्न सक्ने सीप, ज्ञान सिकाउने संस्थागत थलो यस क्षेत्रका क्षेत्रीय क्याम्पसहरू ठाकुरराम, सिरहा वा राजविराज क्याम्पसलगायत हुन् । यदि यी थलोहरूमा इतिहास लेखन हुन्थ्यो भने मान्न सकिन्थ्यो केही होला । तर, दुर्भाग्य हाललाई यस्तो देखिँदैन ।

इतिहास लेखन वर्षौँ चल्ने प्रक्रिया हो । यदि यसलाई असारमा सकाउनुपर्ने प्रोजेक्ट जस्तो बुझिएको छ भने इतिहास होइन, हामीले उपन्यास पढ्ने छौँ । यसरी अध्येता साहलाई कतै मधेसको इतिहास लेखन उपन्यास जस्तो त हुन्न भन्ने डर लागेको छ ।

मधेस प्रदेशका भाषाको अवस्थाबारे बहस बढी केन्द्रित भए पनि भाषाको उत्थानको लागि सरकारी कामकाजीको प्रयोगको भाषा, विद्यालयमा प्राथमिक तहमा पठनपाठनको अवस्थाबारे खासै छलफल भएन ।  पर्साको पोखरिया गाउँपालिकाकी पूर्व उपाध्यक्ष सलमा खातुनले आफ्नो पालामा गाउँपालिकामा भोजपुरी भाषाको पाठ्यपुस्तक बनाउन निकै कोसिस गरेको तर नसकिएको विवशता पोखिन् । 

बरु कार्यक्रम सकाएर बर्दिवासबाट हामीलाई जनकपुरसम्म सदाशयतापूर्वक छोड्न आएका महोत्तरीको मनरा शिसवा नगरपालिकाका मेयर मोहन पाण्डेले मैले अझसम्म नसुनेको सूचना चुहाए । उनको नगरपालिकामा प्राथमिक तहमा स्थानीय विषयको पाठ्यक्रमअन्तर्गत संस्कृत विषयको पढाइ सुरु भएको छ । मधेसको भाषाको इतिहास लेख्दा अब यो कुरा पनि त छुटाउन नमिल्ला । 

Madhesh Pergya

भानुभक्त आचार्यलाई जसरी आदिकविको पगरी गुथाई नेपाली भाषाका लागि प्रोमोट गरियो । त्यसै गरी प्रदेशका भाषा, संस्कृति उन्नयनमा लागेका साहित्यकारहरूको सूची बनाई तिनलाई पनि प्रोमोट गर्न जरुरी छ । समस्या यसमै छ कि ती मूर्धन्यहरूको सूची बनाउने कसले, सबैले आफैलाई नै मूर्धन्य ठान्छन् । 

सरकारी निकायबाट स्थापित विद्यापति पुरस्कार कोषको अक्षय कोषको रकमबाट अहिले मैथिली भाषामा लेख्ने दर्जनौँले वर्षेनी लाखौँ रकमको पुरस्कार थापिरहेका छन् । यसरी पुरस्कार रकमको व्यवस्थापनबाट मैथिली भाषा लेखनको द्रुत गतिमा श्रीवृद्धि भइरहेको छ । तर मधेस प्रदेशले कुनै एक भाषाको मात्रै परवरिस गर्ने होइन । त्यहाँ रहेका अन्य भाषा, संस्कृतिको उत्थानमा पनि टेवा दिने जिम्मेवारी हो । 

निश्चय पनि मधेस प्रज्ञा प्रतिष्ठानको मुख्य जिम्मेवारी त्यस प्रदेशको भाषा, साहित्यको उन्नयन अनि दस्तावेजीकरणमा टेवा दिने नै हो । तर, प्रतिष्ठानले ल्याउँदै गरेको मधेसको इतिहास लेखन प्रोजेक्टमा भाषा, साहित्यको मात्र विषय समेटिनु हुन्न । ८ जिल्लाको कुरा मात्र समेटिनु हुन्न । 

मधेसका कतिपय ठाउँको नाम बिगारिएको छ, जसले त्यो क्षेत्रको इतिहास गुमनाम भइरहेको छ । यसमा गहन छलफलको साथै अध्ययनको सूची तय गरिनु पर्छ । र, प्राथमिकताको क्रममा विषय टुंगो लगाएर विज्ञहरूलाई जिम्मेवारी दिई अनुसन्धान थालिनुपर्छ ।

हाल अध्ययन अनुसन्धानको कार्यमा संलग्न सेसिफ संस्थाको नेतृत्व गरिरहेका पूर्व राजदूत विजय कर्णको विचारमा मधेस क्षेत्रको इतिहास लेखनमा धमिरा लागेको छ । त्यही अवस्थालाई मध्यनजर गर्दै आफूले पनि मधेस सरकारका हर्ताकर्ताहरूलाई इतिहास लेखन हुनपर्छ भनेर घचघच्याएको बताउँछन् । 

मधेसकेन्द्रित दलहरूको स्थापनाको बारेमा इतिहास लेख्दा मधेसी अनुहार अवश्य पर्लान् । तर, मूलधारको पार्टी स्थापनामा पनि मधेसी अनुहारको उत्तिकै खुन, पसिना बगेको छ । नेपाली काँग्रेसको संस्थापकमा जसरी महेन्द्रनारायण निधि, परशुनारायण चौधरी लगायत औँलामा गन्न सकिने थोरै तराई मूलको अनुहार मात्रै चर्चा गरिन्छ । त्यसबाट मधेसको इतिहास लेखन माथि उठ्न सक्नु पर्छ । 

कर्ण भन्छन्, ‘मधेसको इतिहास लेख्दा पहिलो नम्बरमा मधेसी सहिदहरूको इतिहास लेखिनुपर्छ, जसको बलिदानीको जगमा आज मधेस प्रदेश खडा भएको छ ।’ मधेसको इतिहास लेखन गोष्ठीको प्रमुख अतिथि रहेका जसपाका अध्यक्ष उपेन्द्र यादवको पनि उद्घाटनको अवसरमा उही जिकिर थियो, पहिले मधेसका सहिदहरूको इतिहास लेखेर इतिहासका अरू विषयमा प्रवेश गरौँ । 

शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त, गंगालालका बारेमा धेरै पढियो, पढिदैछ । अब कम्तीमा मधेसका विद्यालयमा मधेस आन्दोलनका पहिलो सहिद रमेश महतोको बारेमा पढाइ हुनुपर्छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णराज सर्वहारी
कृष्णराज सर्वहारी
लेखकबाट थप