सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

‘एसियाडमा सहभागिता पदकका लागि मात्र होइन, ओलम्पिकको तयारी पनि हो’

आइतबार, १४ साउन २०८०, १२ : १६
आइतबार, १४ साउन २०८०

१९औँ एसियाड सुरु हुन करिब दुई महिना बाँकी छ । त्यसका लागि नेपालले आफ्नो तयारी तीव्र बनाइरहेको छ । चीनको हानझाउमा सहरमा आगामी सेप्टेम्बर २३ देखि सुरु हुने एसियाडमा नेपालले २९ खेलमा सहभागिता जनाउने छ । त्यसका लागि नेपालबाट २ सय ३४ खेलाडीले प्रतिस्पर्धा गर्दै छन् ।
पदक प्राप्त गर्ने सम्भावनाको हिसाबले कराँते, तेक्वान्दो र बक्सिङलाई नेपालले पहिलो प्राथमिकतामा राखेको छ । त्यसैले यी तीनै खेलमा नेपालका तर्पmबाट चुनौती प्रस्तुत गर्ने तय भएको छ । नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि यी तीनै खेलको तयारीलाई विशेष बनाउने भएको छ । सोहीअनुरूप विदेशी प्रशिक्षकलाई नेपालमा भित्र्याउने काम गरिरहेको छ भने अन्य केही खेलमा पनि वैदेशिक प्रशिकबाट प्रशिक्षण लिइरहेका छन् ।

सन् १९५१ मा भारतको दिल्लीमा भएको पहिलो एसियाडदेखि नै नेपालले सहभागिता जनाउन थालेको थियो । त्यसयता १८ औँ संस्करण सकिँदा नेपालले १६ वटा संस्करणमा मात्र सहभागिता जनाएको छ । ती प्रतियोगितामा नेपालले हालसम्म दुईवटा रजत र २२ काँस्य गरी कुल २४ पदक जितेको छ । अहिलेसम्म स्वर्ण पदक हात पार्न सकेको छैन । तर यस पटक राम्रो प्रदर्शन गर्दै पदक जित्नेमा नेपाली खेलकुदको निकाय विश्वस्त देखिएका छन् । एसियाली खेलकुद नजिकिँदै गर्दा नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङसँग नेपालको तयारीबारे न्युज एजेन्सी नेपालले गरेको कुारकानीको सम्पादित अंश यस्तो छ -

एसियाड आउन ५७ दिन बाँकी छ, नेपालबाट २९ वटा खेलमा प्रतिस्पर्धा गर्दैछन्, त्यसमा सहभागी हुने खेलाडीलाई कस्तो तयारी गराइँदै छ ?

तयारी राम्रैसँग अगाडि बढिरहेको छ । राखेपको जिम्मेवारी खेलाडीहरूको तयारीका लागि आवश्यक पर्ने बजेट व्यवस्थापन र उनीहरूको प्रशिक्षणबारे नियमन गर्नु हो । यो तयारीमा सबैभन्दा बढी खेल सङ्घहरू नै सक्रिय हुनुपर्ने हो । तर राष्ट्रिय सङ्घहरूको स्टे«न्थ हेर्ने हो भने सम्पूर्ण कुराका लागि परिषद्मा नै निर्भर भइरहेको अवस्था छ । खेलाडीहरूको प्रशिक्षण र खेल आयोजनाको व्यवस्थापन सङ्घहरूले गर्नुपर्ने काम हुन् । यद्यपि हामीले उनीहरुलाई यी पक्षमा भन्नुपरेको अवस्था पनि छ । केही सङ्घहरूले भने सक्रियतापूर्वक काम गरेका छन् । 

एसियाडका लागि गत वर्षको माघदेखि नै तयारी गर्ने गरी योजना बनाएका थियौँ । तर बजेट रोक्का हुँदा सम्भव भएन । त्यसपछि वैशाखको पहिलो हप्ताभित्र खेलाडीको छनोट गर्ने गरी काम गरेका थियौँ । त्यसमा केही सङ्घले खेलाडी छनोट पनि गरे । हामीले वैशाख, जेठ र असारमा विशेष प्रशिक्षणका चरण सम्पन्न गरिसकेकका छौँ । अब साउन र भदौमा बन्द प्रशिक्षण हुने छन् । यसबीच हाई पर्पmर्मेन्सका लागि अन्तर्राष्ट्रिय प्रशिक्षक झिकाएर खेलाडीको प्रशिक्षण गराएका छौँ । केही खेलाडीलाई अन्तर्राष्ट्रिय एकेडेमीमा नै पठाएर तयारी गराइरहेको अवस्था छ । सँगसँगै म्याच एक्सपोजरका लागि खेल सङ्घहरूको सहजीकरणमा खेलाडीले अन्तर्राष्ट्रिय प्रतिस्पर्धासमेत गरिरहेका छन् ।

एसियाली खेलकुदको इतिहास हेरेर राष्ट्रिय खेलकुद परिषद्ले तीनवटा खेल बक्सिङ, कराते र तेक्वान्दोमा पदक जित्ने लक्ष्य राखेको छ । यी खेलको पदक जित्ने सम्भावना छ भनेर नै प्राथमिकतामा राख्नुभएको हो ? हो भने उनीहरूको तयारी अवस्था कस्तो छ ?
पदक प्राप्त गर्ने आशा गरिएका तीनवटा खेलको इतिहास राम्रै छ । त्यसैले हामीले ती खेललाई रोजेका हौँ । बक्सिङमा राम्रै पृष्ठभूमि भएका अन्तर्राष्ट्रिय प्रशिक्षक शिव सिंहलाई भित्र्याएर लामो समयदेखि अभ्यास गरिरहेको छ । अहिले त्यो टिम थप अभ्यास गर्ने उद्देश्यअनुरूप भारतको पञ्जाव गइसकेको छ । उहाँहरूले त्यहाँ प्रतियोगिता पनि खेल्नुहुनेछ । करातेले पनि अन्तर्राष्ट्रिय प्रशिक्षक झिकाउने भन्नुभएको थियो । त्यसका लागि मैले स्वीकृति पनि दिएको थिएँ । तर कार्यान्वयन भने अहिलेसम्म भएको छैन । तथापि उहाँहरूले अन्तर्राष्ट्रिय तालिम गराउन लैजान गरी तयारी गर्नुुभएको भन्ने सुनेको छु ।

अन्तर्राष्ट्रिय तालिम दिने वा प्रशिक्षक झिकाउने कार्यका लागि परिषद् सहयोग गर्न तयार छ । तर तपार्इंहरूले छिटो निर्णय गर्नुस् भनेर सङ्घलाई भनेको छु । तर अभैm करातेले ढिलाई चाहि गरेको छ । मेरो अर्को चिन्ता भनेको तेक्वान्दोमा पनि हो । तेक्वान्दोलाई पनि अन्तर्राष्ट्रिय प्रशिक्षणका लागि राम्रो एकेडेमीमा लैजान भनेको थिएँ । गत आर्थिक वर्षमा नै भनेको कुरो थियो त्यो । अहिले पुम्सेको टोली चाहिँ कोरियामा छन् । त्यसपछि उहाँहरू मलेसियामा तालिमका लागि जानुहुन्छ । ग्यरोगी (फाइट) का टोलीले भने नेपालमा तयारी गरिरहेका छन् ।

कुन एकेडेमी राम्रो छ र कुन प्रशिक्षक राम्रा छन् भनेर पहिचान गर्ने काम सङ्घको हो । त्यसलाई फन्डिङ गर्ने जिम्मेवारी परिषद्को हो । त्यसैले दुवै निकाय उत्तिकै सक्रिय हुँदा मात्र तयारी राम्रो हुन्छ । मैले उहाँहरूलाई भनिसकेको छु । यसमा बक्सिङले धेरै राम्रो गरिरहेको छ । प्राथमिकतामा राखेका तीन खेलको प्रशिक्षण राम्रै भइरहेको छ । तर पनि उहाँहरूलाई बेलाबेलामा झकझकाइ रहेको छु ।

विगतका एसियाडमा प्रतिस्पर्धा गर्दा कराते सहभागिता विषयमा पनि विवाद भइरहेको यथार्थ हामीसँग छन्, यस पटक पनि राखेपअन्तगर्तको नेपाल कराते महासङ्घअन्तर्गत कराते खेलाडीले तयारी गरिरहेका छन् भने अर्को टोलीले पनि एसियाड खेल्ने दाबेदारीसहित तयारीलाई तीव्र बनाइरहेका छन्, यसले पछि विवाद त हुँदैन ?
परिषद्अन्तर्गतको नेपाल कराते महासङ्घको मातहतमा रहेर तयारी गरिरहेका खेलाडीलाई निश्चिन्त भएर प्रशिक्षण गर्न आग्रह गरेको छु । यो एसियन गेम्स एसियन ओलम्पिक कमिटीको आयोजना हो । त्यसकै मातहतमा रहेको नेपाल ओलम्पिक कमिटीमार्पmत हामीले दर्ता गरेका खेलाडीले नै एसियन गेम्स खेल्छन् । अब दोस्रो टिमका खेलाडीको इन्ट्री हुँदैन र ढुक्कसाथ यही टोलीले खेल्छ ।

च्याउ झैँ छरिएर रहेका ६७ वटा कराते सङ्घलाई एकै ठाउँमा ल्याउँदै खेलकुदभित्रका समस्यालाई समाधान गर्ने उद्देश्यले अभियान थालेको थिएँ । विश्व कराते महासङ्घले पनि राम्रो योजनालाई पूर्णता दिने काम गरेको छ । त्यसैगरी भर्खरै निर्वाचित युवराज लामा नेतृत्वको कराते महासङ्घलाई आबद्धता दिइसकेको छ । अब देशमा एउटा मात्र कराँते महासङ्घ रहन्छ र खेलका क्रममा पनि कुनै पनि समस्या हुँदैन ।     

पदक सम्भावनाको सूचीमा रहेका अर्को खेल तेक्वान्दो हो । उनीहरूको इतिहास राम्रो छ तर राम्रा खेलाडीको विदेश पलयान भइरहेका छन्, अहिले अधिकांश नयाँ अनुहार छन्, त्यसमा पनि नेपाल तेक्वान्दो सङ्घको तयारी राम्रो देखिएको छैन नि ?
पहिलो कुरा खेलाडीहरू छनोट भएर आएका हुन् । त्यो छनोट पनि सम्बन्धित खेल सङ्घले नै गरेका हो । अभैm पनि हाम्रो मानसिकता राखेपले खेलाडी उत्पादन आफैँ गर्छ, प्रतियोगिता आयोजना र प्रशिक्षण पनि आफैँ गर्छ भन्ने खालको छन् । यस किसिमको मानसिकता परिवर्तन हुन  आवश्यक छ । राखेपको जिम्मेवारी सङ्घहरूलाई सघाउनु, मोनिटरिङ या नियमन गर्नु हो । खेलाडी उत्पादन, प्रशिक्षण गर्ने, छनोट गर्ने काम सङ्घको हो । सङ्घले पनि छनोट प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई एसियाडको तयारीमा राखेको छ । त्यहाँ अधिकांश नयाँ अनुहार छन् ।

उनीहरूले रामै गर्लान् । यद्यपि तेक्वान्दोमा अधिकांश नयाँ खेलाडी भएकाले त्यहाँ अलि बढी म्याच एक्सपोजर आवश्यक छ । तेक्वान्दोको एक्सपोजर र अन्तर्राष्ट्रिय प्रतियोगिता अलि कम छ । मैले सङ्घका साथीहरूलाई पनि जतिसक्दो चाँडो त्यसको व्यवस्थापन गर्न भनिरहेको छ । सायद उहाँहरूले पनि यो काम गर्नुहुन्छ होला । यद्यपि पुम्सेको टोली भने बाहिर अभ्यासमै छ । ग्यरोगीका लागि पनि आवश्यक पर्ने पक्ष व्यवस्थापन गर्न तयार नै छौँ ।     

अहिलेसम्म कुन कुन खेल वैदेशिक प्रशिक्षणमा छन् ?
अहिलेसम्म क्यानोइङ, गल्फ, बक्सिङ, तेक्वान्दो, कुस्ती, लनटेनिस, टेबल टेनिसलगायत खेल वैदेशिक प्रशिक्षणमा छन् । कबड्डी पनि जाने प्रक्रियामा नै छ । अहिलेसम्म ८–९ वटा खेल वैदेशिक प्रशिक्षणमा छन् । यहाँ भएका केही खेलले पनि विदेशी प्रशिक्षकमार्पmत तयारी गरेका छन् । अन्य केही खेलले पनि योजना बनाइरहेका छन् ।    

परिषद्ले १९औँ एसियाडका लागि आवश्यक बजेट माग गरेअनुरूप स्वीकृत भएन भन्ने आइरहेको छ, बजेट अपर्याप्त भयो भने तयारीमा खुम्चिने अवस्था रहन्छ कि ?
हामीले एसियाली खेलकुदको तयारीका लागि २४ करोड रुपैयाँ माग गरेका थियौँ । त्यसमा तीन करोड घटाएर २१ करोड रुपैयाँ मात्र उपलब्ध भएको छ । यो रकममा तयारी गर्नु चुनौतीपूर्ण नै हुन्छ । तर पनि यो देशको सहभागिताको कुरा हो । जहाँ अपुग रहन्छ, त्यस्तो अवस्थामा सरकारले नदिने भन्ने कुरा हुँदैन । तथापि बजेट अभाव छ भनेर तयारीमा खुम्च्याउने पक्षमा चाहिँ छैन । किनकि जुडो, रग्बी र भलिबलमा अन्तर्राष्ट्रिय प्रशिक्षक ल्याएर टिमलाई राम्रोसँग प्रशिक्षण दिइरहेको अवस्था छ । अन्य केही खेलमा पनि त्यस्तै व्यवस्थापन भएका छन् । अहिले खेलाडीमा थप निखारता ल्याउने समय हो । बजेटका कारणले तयारीमा खुम्च्याउने कुरै भएन ।

–यस पटकको एसियाडमा कति सङ्ख्यामा नेपाली खेलाडी जाँदै छन्, पदकको सम्भावना के कस्तो देख्नु हुन्छ ? पदकको आशा गर्नुपर्ने ठाउँ छ कि छैन ?
अहिलेसम्म एसियाडका लागि २ सय ३४ खेलाडी, ५३ प्रशिक्षक र ३१ व्यवस्थापक तय भएको छ । बक्सिङमा लामो अनुभव पाएका खेलाडीहरूको सहभागिता छ । उनीहरूमा पदकको सम्भावना देख्न सक्ने अवस्था छ । बक्सिङको एसियन यू–२० मा पनि पदक जितेका खेलाडी पनि हामीसँग छन् । केही न केही सम्भावना छ भन्ने मेरो विश्वास छ । त्यसपछि कराँते र तेक्वान्दोबाट पनि आशा छ । उनीहरूको विगतका पृष्ठभूमि र अहिले सङ्घहरूलाई दिइएको निर्देशनअनुरूप काम भयो भने यी दुईबाट पदकको आशा गर्ने ठाउँ छ ।
गल्फले कोभिडको समयमा पनि प्रशिक्षण नरोकी काम गरिरहेको थियो । नियमित प्रशिक्षणका साथै घरेलु प्रतियोगिता र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा राम्रो गरिरहेको गल्फले पनि राम्रै तयारी गरेको छ । त्यसपछि केही नयाँ खेलहरू पनि आइरहेका छन् । क्रिकेट र इस्पोर्ट्सबाट सुखद् नतिजा हात पार्न सकिन्छ भन्ने आशा छ ।

यति धेरै खेलको सहभागिता आवश्यक थियो, सहभागिताकै लागि यति धेरै खेल समावेश भए भन्ने आवाज पनि आएका छन् नि ?
सामान्यतः प्रतियोगिता खेल्ने भनेको पदककै लागि नै हो । तर त्यो सँगसँगै हाम्रा खेलाडीको लेभल कहाँ छ भन्ने मापन गर्न पनि यो प्रतियोगितामा लैजानु पर्छ । विश्वकप खेलिसकेका टोली र अहिलेसम्म खेल्न नपाएकाले प्रतिस्पर्धा गर्ने भनेको यही एसियाड मात्र हो । माथिल्लो तहका अनुभव हासिल गर्नकै लागि भने पनि हामीले यस किसिमका प्रतियोगितामा खेलाडीको सहभागिता बढाउनुपर्छ भन्ने मेरो मान्यता हो । अहिले अधिकांश खेलले विश्व वरीयताका आधारमा ओलम्पिक खेल्न पाउँछन् । खेलका विश्व महासङ्घले गर्ने प्रतियोगिता पनि वरीयताका आधारमा खेलाइन्छ ।

विश्व च्याम्पियनसिप, एसियन च्याम्पियनसिप र ओलम्पिकमा नै राम्रो प्रदर्शन गरेका खेलाडीसँग हाम्रा खेलाडीले खेल्न पाउने अवसर हो यो । साथै यो ओलम्पिकको तयारी पनि हो । त्यसैले सहभागिताकै लागि खेलाडी सहभागी गराउन हुन्न भन्ने मान्यता गलत छ । हाम्रा खेलाडीले यो प्रतियोगिताबाट धेरै पक्ष हासिल गर्छन् । एसियन गेम्स नखेल्ने खेलाडीले ओलम्पिकका लागि योग्य हुन आवश्यक पर्ने अङ्क कहाँबाट ल्याउन सक्छ त ? सामान्य मानिसले एसियाड खेल्नुको नेटवर्क कहाँसम्म छ भन्ने बुझिरहेको हुँदैनन् । मानिसहरूले यति धेरै खेलाडी एसियाडमा सहभागी गरायो भन्नु गलत छ । यही एसियाडबाट हाम्रा खेलाडीले ओलम्पिकका लागि आवश्यक पर्ने अङ्क पाउन सक्छन् । 

खेलाडीहरूको फिट्नेस र स्वास्थ्य स्थितिबारे नियमित जाँचका साथै उनीहरूको मनोवैज्ञानिक अवस्थालगायत विषयहरूमा परिषद्ले के काम गर्दै छ ?
परिषद्ले अहिले आफूसँग भएको जनशक्तिका अतिरिक्त अन्य जनशक्ति पनि एसियाडको तयारीका लागि खटाएको छ । त्यसअन्तर्गत थप फिजियोथेरापिस्टहरू हरेक ट्रेनिङ भेन्युमा राखेका छौँ । तत्कालै आवश्यक पर्ने स्वास्थ्यकर्मीहरू पनि अभ्यास गर्ने स्थानमा उपलब्ध छन् । खेलाडीहरूको स्वास्थ्य परीक्षणका काम भइसकेको छ । एन्टी डोपिङ लर्निङ सर्टिफिकेट र सहभागिताका लागि डोपिङका कक्षाहरू खेलाडीहरूले पूरा गरिसक्नुभएको छ ।

तयारी भन्ने बित्तिकै प्र्राविधिक प्रशिक्षण मात्र हुँदैन । खेलाडीहरूको फिट्नेस लेभल, स्ट्रेन्थलगायत कुरामा पूर्ण रूपमा राम्रो हुनु पर्छ । प्रशिक्षकहरूले पनि यी कुरामा ध्यान दिइरहनुभएको छ । रिङभित्रको तालिम मात्र होइन रिङबाहिरको अभ्यास पनि उहाँहरूले लिइरहनुभएको छ । सम्पूर्ण खेलाडीमा सकारात्मक खालका आत्मबल पैदा भएको मैले देखिरहेको छु ।

जहिल्यै पनि अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गरिसकेपछि खेलाडीहरूलाई प्रदर्शनका बारेमा सोध्दा उनीहरूकै एउटै जवाफ भनेको त्यहाँको वातावरणसँग भिज्न गाह्रो भयो भन्छन् । यस पटक परिषद्ले आयोजना मितिभन्दा कति समय अगाडि एसियाडको खेल स्थलमा तयारी गराउने योजना बनाएको छ ?
खेलाडीहरूको आवाज हामीले सम्बोधन नै गर्नुपर्छ । तर त्यसअघि केही पक्षमा ध्यान दिनुपर्छ । एसियाडको भिलेज कहिले खोल्छ भन्ने पनि ध्यान दिनुपर्छ । त्यहाँ आराम गर्न मात्र उहाँहरूलाई छिटो लगेर हुँदैन । पहिला उहाँहरूको व्यवस्थापनबारे काम गर्छौं । त्यसपछि मात्र हामी खेलाडीलाई लैजाने छौँ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप