शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
सन्दर्भ : अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस

अन्य समुदायको तुलनामा खुसी र सुखी छन् थारू ज्येष्ठ नागरिक

आइतबार, १४ असोज २०८०, १५ : २६
आइतबार, १४ असोज २०८०

परिचय :
नेपालमा बसोबास गर्ने विभिन्न जनजातिमध्ये थारूहरू एक प्रमुख आदिवासी जनजाति हुन् । थारू शब्दको ब्युत्पत्ति र अर्थका सम्बन्धमा विभिन्न तर्क दिएको पाइन्छ । कसैले संस्कृतको ‘स्थास्नु’ शब्दबाट, कसैले बुद्ध धर्मको एक शाखा स्थबिरको ‘स्थेर’ शब्दबाट, कसैले ‘स्थुर’ शब्दबाट, कसैले थारूहरू ‘थारो’ (तला नपाटेको घर) मा बस्ने हुनाले ‘थारो’ शब्दबाट र कसैले रैथाने अर्थमा ठालु (ग्राम प्रमुख) शब्दबाट यसको उत्पत्ति भएको मान्दछन् (थारू, २०६९ः २७) । 

मातृकाप्रसाद कोइरालाले (उद्. सिंह मौन, २०२५ः १०–११) थारू जाति राजस्थानको थारबाट आएको भनेका छन् । त्यस्तै, ईश्वर बरालका अनुसार (२००४ः ४३) भारतको सिन्ध र राजस्थानको थार मरुभूमिबाट आएका हुनाले थारू भनिएको हो । जनकलाल शर्मा र कृष्ण वम मल्लका अनुसार (२०१४ः १९) पनि शाक्य बंशीहरूमा स्थबिरबादी सम्प्रदायका मानिसहरू ‘स्थबिर’ कहलिन्थे र यसैको बिकृत रूप थारू भएको हो । टेकनाथ गौतमका अनुसार (२०४४ः १) थारू शब्द संस्कृतबाट आएको हो । उनका अनुसार संस्कृत ब्याकरणमा ‘थर्व’ धातु पुलिङ्ग, एकबचनमा ‘थर्वाण’ स्त्री लिङ्गमा ‘थर्वणी’ प्रयोग हुन्छ । यसरी थर्वावाट ‘थारू’ र थर्वणीबाट ‘थरुनी’ भएको हो । थर्वाको अर्थ एक ठाउँबाट अर्काे ठाउँमा सर्नु अथवा स्थायी घरवार बनाएर नबस्ने हो । 

डोरबहादुर विष्टका अनुसार (विष्ट, सन् २००२, पुनर्मुद्रित सन् २००६ः ४१) आजसम्म कुनै पनि थारूले न सीमापारिको भारतलाई नजिकको ठान्छ, न पहाड उक्लेर आफ्नो भाग्य नै अजमाउन खोजेको छ । यति ठूलो बथान भईकन पनि आफ्नो माटो, पानी र वरिपरिका जङ्गलसँग नङ र मासुजस्तै गरी गाँसिएको जीवन अरु कुनै पनि जातिको छैन होला । यसरी थारू नेपालको सबैभन्दा पुरानो आदिवासी जनजातिमध्ये एक हो ।

तराईको जनसंख्याको एक प्रमुख स्थान ओगटेका थारूहरू विभिन्न भौगोलिक क्षेत्रहरूमा फरक फरक किसिमको आ–आफ्नै प्रकारको भाषा, वेशभूषा, रहनसहन, संस्कार, मूल्यमान्यता, सांस्कृतिक रितिरिवाज आदि अंगालेको पाइन्छ । थारूहरूको मूल थलो दाङदेउखुरी जिल्लाई मानिन्छ । नयाँ मुलुक भनेर चिनिने बाँके, बर्दिया, कैलाली, कञ्चनपुर जिल्लामा थारूहरू दाङदेउखुरीबाटै गएका हुन् । थारूहरू नेपालको पूर्बी क्षेत्र झापा, सुनसरी, मोरङमा पनि पश्चिमबाटै बसाइ सराइ गरेर आइ बसेका हुन् भन्ने विभिन्न तथ्य प्रमाणित हुन्छ (थारू, २०६९ः ४४) । बसाई सराईका क्रममा दाङबाट तराईको पूर्वी भूभाग कपिलबस्तु, रूपन्देही, सिरहा आदि विभिन्न ठाउँमा बसोबास गर्दै आए, जसले गर्दा स्थानैपिच्छे थारूहरूको भाषा पनि फरक रहेको छ । नेपालको संविधान २०७२ ले थारू जातिको समस्या पहिचान गरी समस्या समाधानका लागि थारू आयोग समेत बनाई उनीहरूलाई विशेष मान्यता दिएको छ । नेपाललाई हाल ७ वटा प्रदेशमा विभाजन गरिएको छ । ती ७ वटै प्रदेशमा थारू सुमदायको बसोबास रहेको छ । २०६८ को जनगणना अनुसार थारू जातिको जनसंख्या १७ लाख ३७ हजार ४७० रहेको छ ।  

कृषि पेशामा संग्लग्न थारू समुदाय धनको गरीब भए पनि मनका धनी छन् । उनीहरूले अझै पनि विभिन्न मौलिक चाडवाड, संस्कृति जोगाएका छन् । यी मौलिक चाडवाड, संस्कृति जोगाउन ज्येष्ठ नागरिकहरूको ठूलो महत्व रहेको छ ।  थारू समुदायको नयाँ वर्ष माघीको अवसरमा गाइने ढमार गीत होस् या कृष्णजन्माष्टमीको अवसरमा गाइने अस्टिम्किक् गीत होस्, यी ज्येष्ठ नागरिकहरूको मुखारबिन्दुबाट मात्रै सुनिन्छ । युवाहरूले मौलिक गीत बिर्सिदै गएका छन् ।

अहिले पनि संयुक्त परिवारमा बस्न रुचाउने थारू समुदायका ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्ने संस्कार निकै पहिल्यैदेखि चली आएको छ । थारू युवाहरूले विभिन्न पेशा व्यवसाय अपनाउन थाले पनि थारू ज्येष्ठ नागरिकहरू अझै पनि कृषिकर्ममै लागेको देखिन्छ । त्यसैले छोराबुहारी विविध पेशाले सहर पसे पनि ज्येष्ठ नागरिकहरू गाउँ छाड्न मान्दैनन् । किनकी सहरमा खेती गर्ने ठाउँ नै हुँदैन । प्रस्तुत आलेख थारू जातिको धर्म, संस्कार, खानपान, उपचार पद्धति लगायत विविध पक्षमा चर्चा गर्दै समग्रमा ज्येष्ठ नागरिकको अवस्थाबारे केन्द्रित छ । 

थारू धर्म र ज्येष्ठ नागरिक

थारूहरूको धर्म कुन हो ? यस बारेमा थारूहरू स्वयम् अन्यौलमा छन् । जनगणननामा प्रायःले हिन्दू धर्म नै लेखाउने गरेका छन् । तर थारूहरूले मान्ने धर्म र पुज्ने देवताहरू, उनीहरूका पूजाविधि तथा गुरुवा अथवा भर्रा भन्ने पुरोहितलाई हेर्दा उनीहरूमा हिन्दू धर्मको प्रभाव ज्यादै कम परेको देखिन्छ (विष्ट, सन् २००६ ः४६) । थारू कल्याणकारिणी सभाले २०६८ सालको जनगणनामा सम्पूर्ण थारूहरूलाई बौद्ध धर्म लेखाउन आह्वान गरेको थियो । हाल पूर्वी भेगका केही थारूहरू बौद्ध धर्मसँग नजिकिए पनि पश्चिममा थारूमा बौद्ध धर्मप्रति झुकाव निकै कम छ । पश्चिमका कम संस्कृतकरण (हिन्दूकरण) भएका राना, डंगौरा र अरु थारूहरूका सांस्कृतिक प्रचलनहरू वौद्ध धर्मसँग मेल खाएको देखिदैन । उनीहरूका प्रचलनहरूलाई वौद्ध धर्मभन्दा लोक धर्म मान्न सकिन्छ (विष्ट २०६३ ः५३) । आफूले उब्जाएको खाना खानु अघि प्रकृतिलाई चढाउने भएकोले थारूहरूले प्राकृत धर्म अंगालेको देखिन्छ । 

थारूहरूले पाँच पाण्डव, शिव, पार्वती, कृष्ण भगवानप्रति बढी आस्था राख्छन् । तर समग्रमा उनीहरूले पूजाआजा गरेको तौरतरिका हेर्दा प्रकृतिपूजक लाग्छन् । किनकी उनीहरूले सिचाईको लागि कुलोको मुहानमा जलदेउताको पूजा गर्दछन् । जंगलबाट काठ, दाउरा, पात, जडिबुटी लिन जाँदा अनिवार्य बनस्पति पूजा गर्दछन् । किरा फट्यांग्राले बाली नोक्सान नगरुन्, खेती हरियो भरियो भइरहोस् भनेर हरेरी पूजा गर्दछन् । अन्नबाली भित्र्याउँदा आफूले खानु अघि प्रकृतिलाई चढाउँदै लवांगी पूजा गर्दछन् । उनीहरूको देवथानमा देवताको स्वरुप काठ अनि माटोको हुन्छ । प्रकृतिको पूजाआजाबाट सम्पूर्ण प्राणी वर्गको हित हुनेमा उनीहरू विश्वास राख्दछन् । यी विभिन्न पूजाआजा गर्नमा घरमूलीका रुपमा रहने घरको ज्येष्ठ नागरिकको विशेष भूमिका रहन्छ ।  

थारूका सौँरा, मैया, खेँखरी, चुरिन्याँ, बेँटुक लाठी, गुर्बाबा, घोरवा, ढमराज, सौटन्या, जख्वाजखिन्या, लगुवासु, गंगाधरी, गोहुवा आदि देवताहरू रहेका छन् । त्यस्तै सामूहिक रूपमा पूजा गरिने गाउँको देउथान मरूवामा राखिएका देवताहरूमा पाँच पाण्डव, मुढा, बहिरा रक्सा, मरिवा, बघ्रसी, लोहरा, महटिनिया आदि रहेका छन् । प्रत्येक थारू घरको पूर्व उत्तर कोठामा डेहुरार (देउता कोठा) हुन्छ । तर आधुनिक घर बन्ने क्रमसंगै डेहुरार नै लोप हुने स्थितिमा पुग्दैछ । यसरी ज्येष्ठ नागरिकहरूको मरणसंगै थारू समुदायमा परम्परागत पूजाआजाको चलन पनि हराउन थालेको छ । 

थारू समुदायमा धर्म र ज्येष्ठ नागरिक बीच अटुट सम्वन्ध छ । विभिन्न पूजाआजामा घरका युवा सदस्यहरूले अनदेखा गर्दा कमसेकम आफू बाँच्दासम्म त पूजा नरोक भन्दछन् । स्वदेश तथा विदेशका धार्मिक तीर्थस्थलहरूमा घुमघाम गर्ने, पूजा गर्ने परम्परा भने थारू समुदायमा खासै छैन । 

थारू जातिको मुख्य पेशा कृषि भएकाले यिनीहरूको धर्मकर्म, पूजापाठ पनि कृषिकेन्द्रित छन् । खेतीपातीमा खटिरहने भएकोले यो जाति शारीरिक रूपमा एकदमै बलिया हुन्छन् । ६÷७ वर्षको उमेरदेखि भेंडाबाख्रा चराउन सुरु गरेको एक थारू बुढो भएपछि फेरी त्यही गोठालो पेशा नै अंगालेको देखिन्छ । त्यसैले, थारू समुदायमा हरवाह बन्नु चरवाह नबन्नु भन्ने कहावत नै छ । कृषिमा आधुनिकीकरण बढ्दै गएपछि खेत जोत्न टे«क्टर आउँदा पशुपालन कम भएको छ । यसले गर्दा गोठालो जिन्दगीबाट केही हदसम्म थारू ज्येष्ठ किसानहरू छुटकारा पाएको देखिन्छ । तर नजिकको तरकारी बारीमा गोडमेल गर्ने, पूजापाठ गर्नलाई बाबरी, तुलसी रोप्ने गरिरहेको देख्न सकिन्छ । हातखुट्टाले साथ दिएसम्म कृषिकर्ममै दिलोज्यान दिने भएकाले थारू ज्येष्ठ नागरिकहरूको काम नै पूजा देखिन्छ । 

कोही पढेलेखेका थारू ज्येष्ठ सदस्यहरू भने रिटायर्ड जिन्दगीपछि सामाजिक काममा खटेका देखिन्छन् । एकदमै बृद्ध भएर काम गर्न नसक्ने अवस्थामा घरकै मान्छेले नै रेखदेख गर्ने गर्छन् । थारू समाजमा एउटा सबैभन्दा ठूलो संस्कार भनेको उनीहरूले कहिल्यै आफ्ना बा आमालाई बृद्धाश्रम पठाउदैनन् । दुःख सुख गरेर जतिसक्यो आफै स्याहार सुसार रेखदेख गर्छन् । अझै पनि थारूहरू संयुक्त परिवारमा बस्ने भएकाले बुढ्यौलीमा ज्येष्ठ नागरिकले स्याहारसुसार पाएका हुन्छन् । घर छुट्टाभिन्न भएमा कान्छा छोराले बाआमालाई स्याहार्छन् । घर छुट्टाभिन्न भएमा पूजापाठ गर्ने मूल देउता भने जेठो छोराले लान्छन्  र पूजापाठ गर्ने परम्परा जोगाउँछन् ।

ज्येष्ठ नागरिकका सांस्कृतिक, सामाजिक पक्ष

परापूर्वकालदेखि हाम्रा पूर्खाहरूले आफ्नो ज्ञान सीप र क्षमताबाट सिर्जना, संरक्षण एवं पालना गरी हामीलाई छाडेर गएका र हामीले पनि निरन्तर रूपमा तिनको प्रयोग उपयोग, परिमार्जन, संशोधन, संरक्षण एवं पालना गर्दै आएका जीवनशैली तथा हाम्रो पहिचान नै संस्कृति हो । मानिसले रचना गरेका सिर्जना र पालना गर्दै आएका संस्कारहरूलाई समग्रमा संस्कृतिका रूपमा सम्वोधन गर्ने गरिन्छ (खत्री, २०७०ः ६) । 

थारू जातिका विशेष पर्वहरूलाई रमाइलो, गुञ्जायमान तथा हर्षाेल्लासपूर्ण बनाउनको लागि गरिने विभिन्न नाचलाई जीवन्तता प्रदान गर्ने थरिथरिका गीतहरू रहेका छन् । थारूहरूले मनाउने मुख्य चाडपर्वहरूमा माघी, गुरही, हरडहुवा, अटवारी, अस्टिम्की, डस्या, डेवारी, ढुरहेरी आदि रहेका छन् । केही चाडबाहेक सबैमा गीत, नाच हुन्छ । 

माघीको अवसरमा नुहाएर आएपछि घरमा छुट्याएर राखिएको आफ्नो भागको चामल, दाल र नुन छोएर बुबा आमाको साथै आफूभन्दा ठूलासँग ढोग गरी आशिक लिइन्छ । यसरी आशिक लिएमा वर्ष दिनको पाप हटेर जान्छ भन्ने मान्यता रहेको छ । यसरी पुर्खाहरूको सम्मान गर्नुपर्छ भन्ने चलन ज्येष्ठ नागरिकहरूले चलाएका छन् । 

माघीमा गाउँको अगुवा बरघर चुन्ने चलन थारू समुदायमा यथावत छ । बरघर चुन्दा प्रत्येक घरका ज्येष्ठ सदस्यहरू उपस्थित रहन्छन् । बरघरको ख्याल (बैठक)ले गाउँमा नियम, दण्ड सजायको नियम पारित गर्छ । गाउँलेहरूले बनाएको नियम पहिले मौखिकमा सीमित हुने गरेकोमा अब लिखित हुन थालेको छ । माघीमा गाउँ सञ्चालनको बैठक मात्रै हुँदैन, घर सञ्चालनको पनि बैठक हुन्छ । प्रायः घरमुली जेठोबाठो नै हुन्छन् तर परिवारका सदस्यले नरुचाए ज्येष्ठ सदस्यले कनिष्ठलाई पनि घरमुली सुम्पिन सक्छन् । यसरी थारू ज्येष्ठ नागरिकहरूले परिवारदेखि गाउँ समाजको परिपाटी बाँध्ने लोकतान्त्रिक विधि अपनाएको देख्न सकिन्छ । 

अस्टिमकी, डस्या, डेवारीमा गाइने नाचको लागि महिला ज्येष्ठ सदस्यहरूले गीत सिकाउँछन्, जसलाई ‘मोह्रिन्या’ भनिन्छ । त्यस्तै मादल बजाउन सिकाउने पुरुष ज्येष्ठ सदस्यहरू हुन्छन्, तिनलाई ‘अगुवा मन्डरिया’ भनिन्छ । यसरी ज्येष्ठ सदस्यहरूले गीत, संगीत पुस्तान्तरण गरेर संस्कृति जोगाउन अथक प्रयास गरेका छन् । थारू लोकजीवनमा सजना, मैना, होरी, अष्टिम्कीक्, सख्या, सुर्खेल, ढमार, मघौटा, बरमासा, रटनचवा, डिननचवा, बिरहैन जस्ता लोकगीत छन् । थारू समुदाय गीत सङ्गीतमा निकै समृद्द छ । यस जातिको बर्र्षैभरि हरेक महिना र पहरमा समेत गाउने गरी विभिन्न खालका गीतहरू रहेका छन् (पञ्जियारः २०५५ः १६) । थारू लोकसाहित्य कथ्य रूपमा अति नै सम्पन्न छ । ‘गुर्बाबक् जन्मौटी’ (थारू लोकब्रम्ह पुराण) ‘फुलवार’ (थारू लोक शिव पार्वती पुराण) ‘राम बिहग्रा’ (थारू लोक रामायण) ‘बर्किमार’ (थारू लोक महाभारत), ‘हिँउटी’, साँची, कहरा, जोगिन्या, माधो–सुन्दरी आदि थारू समुदायको जनजिब्रोमा झुण्डिएको छ (चौधरी २०६७ः ३४) । यी लोककाव्य, लोकगीत ज्येष्ठ नागरिकहरूले भाका हालेर गुन्गुनाउँछन् । ज्येष्ठ नागरिकहरूले नै मौखिक रूपमा जोगाउँदै ल्याएर यसको लिखित रूपमा दस्तावेजीकरण समेत हुँदै गएको छ । 

त्यस्तै, थारू समुदायमा गुरुवा/गुरौहरूको धार्मिक र सामाजिक कार्यहरूमा विशेष भूमिका रहने गर्दछ । घरायसी पूजाआजा बाहेक गुरुवा विना धार्मिक क्रियाकलाप सम्भव हुन्न । ढकेहेर थरहका थारूहरू मन्त्रलाई जीवन्त राख्ने एक समुदाय हुन् । आम थारू समुदायमा फूलवारलगायत काव्य लोकगीतको रूपमा गाइने गरिएकोमा  ढकेहेरले विभिन्न पूजापाठमा यसका श्लोक मन्त्रको रूपमा वाचन गर्छन् (सर्वहारी, २०७७) । थारू गुरुवाहरूलाई पहिले केन्द्रिय सरकारद्वारा निश्चित अधिकार सुम्पिएको इतिहास पाइन्छ । ‘धामी’ कर संकलन गर्न र त्यसैबाट जीविका चलाउने अधिकार दिइएको थियो (क्राउसकोफ, २०५८ः ५०) । सन् २००१ मा  चितवनमा थारू इथ्नोवोटनी प्रोजेक्टको सिलसिलामा पुरै जिल्ला भरिको गुरुवाहरूको एक सर्भे गरिएको थियो । जसमा गुरुवाहरूको संख्या १७७ मात्र देखिन्छ । तीमध्ये १५७ जनाले ५० वर्ष पार गरेका छन् । यही तथ्याङ्कलाई मिहिन ढंगले केलाउँदा १०९ जना गुरुवाहरू त ६५ वर्ष नाघेको देखिन्छ । यसरी चितवनमा नयाँ पुस्ताले गुरुवा (गुराउ) विद्या सिकेको देखिदैँन । थारू इथ्नोवोटनी प्रोजेक्टको रिपोर्टले भन्छ– नेपालीको सरदर आयु ७० वर्ष माने पनि अबको ३५ वर्षपछि चितवनमा एकजना पनि गुराउ हुने छैनन् (डंगोल र डंगोल, २०६६ः ३७) । यसरी ज्येष्ठ गुरुवाहरू उमेरका कारण आफूमा निहित भएको ज्ञान हस्तान्तरण गर्न सकिरहेका छैनन् । गुरुवा मात्रै होइन, लोकसाहित्य लगायत आआफ्नो क्षेत्रमा विशिष्टिता हासिल गरेका थारू ज्येष्ठ नागरिकहरूमा निहित ज्ञान हराउने क्रममा छ । 

थारू समुदायमा मूर्त र अमूर्त दुवै प्रकारको संस्कृतिको ठूलो महत्व छ । परम्परागत संस्कृति, ज्ञान, सीप युवावर्गमा हस्तान्तरण गर्नमा ज्येष्ठ नागरिकहरूले निकै टेवा दिएका छन् । पूर्व मेचीदेख पश्चिम महाकालीसम्म थारू समुदाय छरिएर बसोबास गरेकाले यिनीहरूको जीवनशैली, संस्कृति, पहिचान केही हदसम्म पृथक छ । तर सामाजिक सम्वन्धलाई संस्कृतिले नै जोडेको छ ।  

खानपान   

थारूहरू खानपानमा शौखिन छन् । उनीहरूमा परम्परागत रुपमा एक दिनमा ४ पटक खानेकुरा खाने चलन छ । एकाबिहानैको खानालाई  ‘बासी’ भनिन्छ भने १० बजेतिर खाने खानालाई ‘कलवा’ भनिन्छ । त्यसैगरी ३ बजेतिर खाने खानालाई ‘मिझ्नी’ भनिन्छ । दिन लामो भएमा थप अर्को पटक ‘मिझ्नी’ बनाइन्छ, यो खाजालाई ‘सिझ्नी’ भनिन्छ । बेलुकीको खानालाई भने ‘बेरी’ भनिन्छ । ज्येष्ठ नागरिकहरू ‘बासी’को रूपमा पनि एकाबिहानै जाँड रक्सी खाने गर्दछन् । खाजारुपी ‘मिझ्नी’मा त जाँड रक्सी नहुने कुरै भएन । गर्मी महिनामा सित्तल होस् भनेर भातमा पानी हालेर केही दिनपछि अलि अमिलो बनाएर ‘माड’ खाने चलन पनि छ ।

नदी किनारमा बस्न रुचाउने उनीहरूको माछा, घुंघी, सितुवा प्रिय परिकार हो । ज्येष्ठ नागरिकहरू आफै जाल, हेल्का, टापी लिएर माछा मार्न गएको देखिन्छ । माछा मार्न प्रयोग गर्ने सामग्री पनि ज्येष्ठ नागरिकहरू आफै बनाउने गर्छन् । 

घरमा कुनैपनि खानेकुरा खानुभन्दा अगाडि घरको ज्येष्ठ नागरिकलाई दिईसकेपछि मात्र अरुलाई दिने गरिन्छ । त्यस्तै खाना दिइसकेपछि पनि ज्येष्ठ नागरिकले खान शुरु गरेपछि मात्र अरुले खाने चलन छ । घरको शिर अर्थात् मुली ज्येष्ठ नागरिक नै हुन् । कुखुरा काटे ज्येष्ठ नागरिकको सम्मान स्वरुप भालेको टाउको भाग छुट्याएर राखिन्छ । 

मौसम, समय, चाडपर्व, भोज विवाह, पूजापाठ लगायत विभिन्न अवस्थामा खाने थारू परिकारहरू विभिन्न थरिका हुन्छन् । जसमा दैनिक खानेमा, भात, दाल, कपुवा तरकारी आदि रहेका छन् । त्यसैगरी चाडपर्वहरूमा अनिवार्य खानेमा सुँगुरको मासु, ढिक्री, खरिया, पोंइक साग लगायत रहेका छन् । योमरी जस्तो ढिक्री बनाउने चलन छ । जसरी नेवार समुदायमा योमरी संस्कृति जस्तै रहेको छ, त्यसैगरी थारू समुदायमा पनि ढिक्री संस्कृति जस्तै रहेको छ । माघीमा ज्येष्ठ नागरिकहरूसंग ढोगभेट गरी आर्शिवाद लिने चलनसंगै लामो आयुका लागि लामो ढिक्री बनाइन्छ । झिलीमिलीको पर्व (डेवारी) दीपावलीमा दीयो आकारको ढिक्री हुन्छ भने डस्या (दसैं)मा ठोसिया जस्तो गहना आकारको ढिक्री हुन्छ । दाउराको थाकजस्तो देउतालाई चढाउने छुट्टै ढिक्री पनि हुन्छ । यसरी खाने परिकारलाई पनि पूजा गर्ने चलन थारू ज्येष्ठ नागरिकहरूले चलाएका छन् ।

ज्येष्ठ नागरिकको स्वास्थ्य

थारू ज्येष्ठ नागरिकहरू नेपालका अन्य समुदायका तुलनामा खुसी र सुखी छन् । विधवा विवाह पनि हुने भएकाले महिलाहरूले एकल जीवन विताउने अवस्था देखिदैन । अझ लोग्ने मरेमा अर्को लोग्ने भित्र्याउन सक्ने भोंर विवाह गर्ने परम्परा पनि रहेकाले बुढ्यौलीमा पनि महिला ज्येष्ठ नागरिकले जोडीको साथ पाएका हुन्छन् ।

आम थारू समुदायको जीवनबृत्ति खेतीकिसानी नै हो । हिलोमैलोमा दिनचर्या गुजार्नु पर्ने हुँदा नुहाइधुवाइ, सरसफाइमा ध्यान दिन्छन् । त्यसैले, खासै विरामी पर्दैनन् । टाउको दुख्ने, ज्वरो आउने सानोतिनो रोगको लागि गुरुवा (धामी) को भर गर्ने चलन अझै पनि रहेको छ । तर हाल आएर नयाँ नयाँ रोगहरूका कारण जडिबुटी उपचार, गुरुवाको झारफुकमा भन्दा पनि पश्चिमा औषधोपचार पद्धतिलाई प्राथमिकता दिएको देखिन्छ । 

थारू समुदायमा जडिबुटी जान्ने बैद्यहरूको थर नै बैडवा रहेको देखिन्छ । यद्यपि बैडवा, गुरुवाहरू ज्येष्ठ नागरिक मात्रै रहेका छन् । खेतीकिसानीमा खासै रकम जोगिदैन । त्यसैले, थारू ज्येष्ठ नागरिकहरू ठूलै विरामी परेमा उपचारमा भने समस्या देखिन्छ । उपचारको लागि थोरैतिनो जग्गा नै बेच्नुपर्ने अवस्था आउँछ, जो ज्येष्ठ नागरिकहरूले चाँहदैनन् । हाल आएर छोराका साथै कतिपय छोरीहरूले समेत आफ्नो अभिभावकलाई हेरचाह गर्ने, विरामी पर्दा स्याहार सुसार गर्ने चलन पनि बढेको देखिन्छ । छोरी मात्रै हुने तर छोरी विवाहिता भएर गएमा छोरी ज्वाइले नै आमाबाबु स्याहार्छन् ।

तराईका वनजंगल फँडानी गरी थारू पुर्खाहरूले नै बस्ती बसाले । औलो पचाए । बाघ, भालु, हात्ती जस्ता जंगली जनावरसंग लडे । अझै पनि हात्तीको माहुते प्रायः सबै थारू समुदायकै रहेका छन् । भनिन्छ, पहिले औलोसंग लड्ने प्रतिरोध क्षमता पहिले थारूहरूसंग मात्रै थियो । यही औलोको प्रकोप हाल आएर देखिन थालेको छ । पहिले औलो पचाए पनि त्यसको असर हाल मात्रै देखिदैछ । कतिपय थारू ज्येष्ठ नागरिकहरू सिकलसेल एनिमियाको सिकार भइरहेका छन् । डरलाग्दो तथ्य के छ भने वंशाणुगत रोगका कारण तिनका सन्तानमा पनि सिकलसेल एनिमिया देखिदैछ । 

थारूहरू बढी मदिरा सेवन गर्ने भएकाले बुढ्यौली क्रमसंगै, लहरे खोकी दम, उच्च रक्तचाप, ग्याष्ट्रिक, अल्सर, क्यान्सर जस्ता रोग ज्येष्ठ नागरिकहरूमा देखिन्छ । तर बेलुकी मात्रै मदिराको मात्रा मिलाएर पिउने ज्येष्ठ नागरिकहरूले यसैलाई औषधी मान्छन् । र, त्यसैको सेवनले आफ्नो लामो आयु भएको सगर्व भन्छन् । 

उपसंहारः 

नेपाल सरकारले थारू जातिको समस्या पहिचान गरी समस्या समाधानका लागि थारू आयोग समेत गठन गरेको छ । तर थारू ज्येष्ठ नागरिकहरूको समस्या, तिनको सम्बोधनबारे थारू आयोगले छलफल चलाएको देखिदैन । न त थारूहरूको छाता संगठन थारू कल्याणकारिणी सभाले नै थारू ज्येष्ठ नागरिकहरूबारे चासो दिएको छ । विद्यार्थी, युवा, वकिल, महिलाहरूको भातृसंगठन बनाए पनि थारू ज्येष्ठ नागरिकहरूको संगठन छैन । 

नेपाली युवाहरू विदेश पलायन भएका छन् । अन्य पेशा, व्यवसायको सिलसिलामा घर बाहिर छन् । त्यसबाट थारू समुदायका युवा पनि अछुतो छैनन् । त्यसैले घरबारी, खेतखलियानको जिम्मा ज्येष्ठ नागरिकहरूको जिम्मेवारीमा आइपरेको छ । पहिले थारू समुदायका ज्येष्ठ नागरिकहरू नाति नातिनालाई थरिथरिका लोककथा सुनाउँथे । यसले हजुरबा, नातिनातिना दुबैको दिनचर्या सहजसाथ बित्थ्यो । तर पछिल्लो पुस्ताको मोबाइल प्रविधिमा रुचिका कारण ज्येष्ठ नागरिहकरु एक्लिएका छन् । यसले उनीहरूमा नियास्रोपन बढेको देखिन्छ । 

आफ्नै छोराछोरीले बृद्धाश्रममा लगेर राखिदिएका घटना थारूहरूमा छैन, देखिदैन  । छोराछोरी र आमाबाबुबीच पारिवारिक झगडा मात्रै होइन, गाउँको समस्या भए छिनोफानो गरेर मिलाउने बरघर प्रणाली थारू समुदायमा कायमै रहेकाले थारू ज्येष्ठ नागरिकहरूले मुद्धामामिलामा दुःख झेल्नुपर्ने अवस्था छैन । स्वयम्सेवी ढंगबाट गाउँको विकास निर्माणमा टेवा दिने थारू ज्येष्ठ नागरिकहरूले चलाएको परम्परा स्थानीय निकायले सिको गर्नु जरुरी देखिन्छ । 

समाजको बदलिदो परिस्थिति, खानपान, धार्मिक र सांस्कृतिक मूल्य मान्यतामा आएको परिवर्तनको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव ज्येष्ठ नागरिकहरूमा पर्नु स्वाभाविक हो । जस्तो कि मौलिक खानपानमा आफूलाई अभ्यस्त पारेका थारू ज्येष्ठ नागरिकहरू परिवारमा भित्रिएको फास्टफुड खान बाध्य छन् । त्यसैले, खानपान मात्रै होइन, परिवारका सदस्य, इष्टमित्रहरूबाट समेत समाजको ज्येष्ठ नागरिकहको धर्मसंस्कृतिको रुचिबारे ख्याल गरिनुपर्छ । देशमा संघीय, प्रदेश, स्थानीय तीन तहको सरकार मौजुद रहेकाले राज्यले पनि बेलैमा ज्येष्ठ नागरिकहरूको आरामदायी दिनचर्याका लागि आवश्यक नीति निर्माण गर्नु बान्छनीय देखिन्छ ।

सन्दर्भ सामग्री :

क्राउसकोफ, जिसेल (२०५८), जङ्गलदेखि जमिनसम्मः थारू इतिहासतिर एक दृष्टि, नेपालका राजाहरू तथा  तराईका थारू, टेकबहादुर श्रेष्ठ, सं, काठमाडौः नेपाल  र एशियाली अनुसन्धान केन्द, त्रिवि । 

गौतम, टेकनाथ (२०४४), थारू जातिको इतिहास तथा संस्कृति (थारू पुराण), दाङ ः सुशील कुमार गौतम ।

चौधरी, कृष्णराज (२०६७), अष्टिम्की (कृष्णजन्माष्टमी) र सखिया नृत्य, समष्टी, ३१)७४, पृ.३४–३८ । 

डङ्गोल, धर्मराज र रूपक डङ्गोल (२०६६) थारू गुराउ, परम्परागत ज्ञान र संरक्षणको बाटो । हाम्रो चिनारी । ४(२), १० । पृ.३५–३८ । 

थारू, फनि श्याम (२०६९), थारू लोक संस्कृति र चाडवाड, काठमाडौः नेपाल प्रज्ञा प्रतिष्ठान ।

पञ्जियार थारू, तेजनारायण (२०५५), थारू भाषा एक परिचय, सप्तरीः बौली चौधरी थारू ।

बराल, ईश्वर (२००४), थारू जाति र तिनको संस्कृति, नेपाल सांस्कृतिक परिषद पत्रिका, १(१), बैशाख । काठमाडौंः नेपाल सांस्कृतिक परिषद ।

विष्ट, डोरबहादुर (२००२, पुनर्मुद्रित २००६ ई.), सबै जातको फूलबारी, ललितपुरः हिमाल किताब ।

शर्मा जनकलाल, कृष्णबम मल्ल (२०१४), राप्ती उपत्यका, काठमाडौः नेपाल भारत मैत्री संघ ।

सर्वहारी, कृष्णराज । २०७७ । थारू गुरुवाहरूको परम्परागत ज्ञान र सीपको विद्यमान स्थिति तथा पुस्तान्तरण । थारू आयोग, काठमाडौबाट २०७७ मंसिर २८ गते चितवनको सौराहामा आयोजित थारू गुरुवा र भलमन्साहरूको अवस्था गोष्ठीमा प्रस्तुत अवधारणापत्र ।

सिंह मौन, प्रफुल्लकुमार (२०२५), थारू लोकगीत, विराटनगरः पूर्वाञ्चल पुस्तक भण्डार ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णराज सर्वहारी
कृष्णराज सर्वहारी
लेखकबाट थप