शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
राष्ट्रिय सभा निर्वाचन

राष्ट्रिय सभामा एमालेलाई देउवा–प्रचण्डको ‘ग्रीन सिग्नल’ !

बुधबार, १८ पुस २०८०, १२ : २७
बुधबार, १८ पुस २०८०

काठमाडौँ । आगामी माघ ११ गते हुने १९ राष्ट्रिय सभा सदस्य पदको निर्वाचनका लागि प्रमुख राजनीतिक दलहरू घनीभूत छलफलमा जुटेका छन् । त्यसका लागि प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस, प्रमुख प्रतिपक्ष नेकपा एमाले र माओवादी केन्द्रबिच केही दिनयता दैनिकजसो विभिन्न तहमा छलफल हुँदै आएको छ ।

सोमबार बिहान माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भएको राष्ट्रिय सभा निर्वाचनबारे भएको छलफलमा प्रचण्डले ‘ग्रीन सिग्नल’ दिएपछि तीन दलका नेताहरूबिच दुई पक्षीय र त्रिपक्षीय छलफल तीव्र पारिएको हो । प्रचण्ड–ओलीको सोमबारको छलफललाई निरन्तरता दिँदै मंगलबार र बुधबार पनि बिहानैबाट छलफल तीव्र पारिएको छ । मंगलबार बिहान कांग्रेस, एमाले र माओवादीका नेताहरूबिच भएको छलफलपछि बुधबार बिहान पुनः कांग्रेस र माओवादीका नेताहरुबीच छलफल भयो ।

बुधबार कांग्रेस र माओवादीका नेताहरूको छलफलमा समेत अहिलेको अवस्थामा एमालेलाई पुरै बाइपास गरेर जान नमिल्ने अवस्थाबारे नेताहरूबिच विमर्श भएको छ । सोही विमर्शका आधारमा बुधबारै दिउँसो गठबन्धन दलको दिउँसो र साँझ एमालेसहित सत्तारुढ गठबन्धनको दोस्रो बैठक बस्दैछ ।

‘राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मंगलबार एमाले, कांग्रेस र माओवादीबिच छलफल भएको हो तर ठोस निश्कर्ष आइसकेको छैन,’ उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले रातोपाटीसँग भने, ‘छलफल निरन्तर नै छ ।’

शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनुपर्ने भएकाले पनि सत्ता गठबन्धनमा रहेका दलहरू एमालेसँग केही लचक बनेको बताइन्छ । प्रधानमन्त्री प्रचण्डले सहमतिकै आधारमा शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउनुपर्ने बताउँदै आएका छन् । यस्तो अवस्थामा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभामा एमालेलाई केही सिट भाग दिएर टीआरसी विधेयकमा सहमति जुटाउने प्रयास गरेको हुनसक्ने विश्लेषण भइरहेका छन् ।  

राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धन एक ढिक्का हुँदा एमाले अरू साना दलसँग मिल्दा पनि एक सिट पनि जित्ने सम्भावना छैन । यो कुरा बुझ्दा बुझ्दै पनि प्रचण्ड एमालेप्रति लचक हुनु भनेको उनले कहीँ न कहीँ एमालेलाई पनि साथ लिन चाहन्छन् भन्ने नै बुझाइ दलहरूबिच रहेको छ । 

कांग्रेस महामन्त्री गगन थापा पनि राष्ट्रिय सभा सदस्य निर्वाचनबारे एमालेसहितको छलफल गर्ने गठबन्धनमा समझदारी बनेको स्वीकार गर्छन् । त्यस्तै नेकपा एमाले प्रचार विभाग प्रमुख समेत रहेका नेता राजेन्द्र गौतमले सत्ता गठबन्धन एकातिर हुँदा एमालेको मतभारले मात्रै कतै चुनाव नजित्ने भएकाले एमालेले विभिन्न राजनीतिक दलसँग औपचारिक र अनौपचारिक छलफल गरिरहेको बताए ।

‘अहिलेको (गठबन्धन कायमै रहेको) अवस्थामा हामी कतैपनि चुनाव जित्न सक्दैनौँ । चुनाव जित्न हामीले अथक प्रयास गर्नु नै पर्छ,’ गौतमले भने, ‘त्यो भनेको हामीले विभिन्न राजनीतिक दलसँग विभिन्न लेभलमा वार्ता र छलफल गर्ने नै हो । त्यो गरी नै रहेका छौँ ।’ उनले सोही सन्दर्भमा प्रधानमन्त्री र पार्टी अध्यक्षबिच, तीन दलबिच र साना दलबिच पनि छलफल भइरहेको बताए ।

‘अहिले हामी नियमितरुपमा विभिन्न राजनीतिक दलहरूसँग राष्ट्रिय सभाको निर्वाचनलाई मध्यनजर गरेर छलफल र कुराकानी चलिरहेका छौँ । तर केही पाकिसकेको छैन,’ गौतमले भने, ‘गठबन्धनले सिट सङ्ख्या बाँडिनसकेको र उम्मेदवारी घोषणा पनि गरिनसकेको अवस्थामा हाम्रो प्रयास कहिले प्रचण्ड त कहिले देउवासँग वार्ता हुने नै भयो ।’

  • वाकओभर नगर्ने

एमालेले सत्ता गठबन्धनसँग कुरा मिलेन भने पनि आफ्नो तर्फबाट राष्ट्रिय सभामा रिक्त हुने सबै पदमा उम्मेदवारी भने दिने भएको छ । ‘आज बेलुकासम्म सबै प्रदेश कमिटीबाट उम्मेदवारहरूको नाम केन्द्रमा आइसक्छ । ती नामहरूमाथि आन्तरिक छलफल पनि हुन्छ र दलहरूबिचको समझदारी के हुन्छ त्यस आधारमा उम्मेदवार तय गर्छौँ,’ गौतमले भने, ‘दलहरूबिच समझदारी नभएको खण्डमा हामीले उपस्थित गराएका उम्मेदवारहरूमध्ये क्लस्टरलाई ध्यानमा राखेर बढीभन्दा बढी मत कसले ल्याउन सक्छ भन्ने कुरा पनि हेरेर मात्रै उम्मेदवार छनोट गर्छौँ ।’

उनले एमाले राष्ट्रिय सभा निर्वाचनका लागि तीनवटा रणनीतिका साथ अघि बढिरहेको बताए । उनका अनुसार दलहरूबिच सहमतिको पहिलो प्रयास हो भने दोस्रोमा बढी मत ल्याउन सक्ने र तेस्रो दुवै विकल्प नभए पनि सबै पदमा उम्मेदवारी दिने रहेको छ । ‘पहिलो र दोस्रो विकल्पमा सफल नभए पनि एमालेले ‘वाकओभर’ गर्दैन, उम्मेदवारी दिन्छ’, गौतमको भनाइ छ । 

५९ सदस्यीय राष्ट्रिय सभामा एमालेका हाल १७ सदस्य छन् । तीमध्ये ९ जनाको पदावधि फागुन २० मा सकिँदैछ । यदि माघ ११ मा हुने निर्वाचनमा एमाले एक्लै निर्वाचनमा गएको अवस्थामा फागुन २० पछि उसका सांसद ८ जनामा सीमित हुनेछन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप