बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
समीक्षा

चित्रकारको उद्योग मन्त्रालयमा ७ महिना : ‘बजेट नभए पनि काम गर्न सकिन्छ भन्ने प्रमाणित गरे’

शुक्रबार, २५ फागुन २०८०, ०९ : २८
शुक्रबार, २५ फागुन २०८०

मकवानपुर । बागमती प्रदेश सरकारबाट कांग्रेस अलग भएको छ । कांग्रेसका ६ मन्त्रीले बुधबार पदबाट राजीनामा बुझाए ।  ६ मन्त्री मध्येका एक हुनु रामकृष्ण चित्रकार ।

ललितपुर पाटनका चित्रकार नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता समेत हुन् । विषेशगरी हस्तकला र संस्कृति परम्पराको कोर एरियाबाट २०७९ को निर्वाचनमा विजयी भएका चित्रकारले प्रदेश सरकारमा रहेर ७ महिना मात्र काम गर्ने अवसर पाए । संविधान सभा सदस्य समेत रहेका चित्रकार साँढे ९ महिना मन्त्रीको जिम्मेवारी पाए । तर, उनले साँढे २ महिना भने विना विभागीय रहनु पर्यो ।

सत्तारुढ दलहरूबिच मन्त्रालयको भागबन्डा नटुङ्गिँदा विभागीय भूमिका नियुक्त भएको २ महिना पछि मात्र पाए । जसका कारण उनलाई विभागीय मन्त्रीका रुपमा ७ महिना मात्र काम गर्न अवसर मिल्यो । उनले संविधानको भाग १३ मा प्रदेश कार्यपालिकाको व्यवस्था बमोजिम प्रदेश सरकार मन्त्रिपरिषद्को २०८० जेठ ७ गते प्रवेश पाएका थिए भने विभागीय जिम्मेवारी भदौ ५ मा तोकिएको थियो ।

उनको विभाग मुख्यमन्त्री  तथा मन्त्रिपरिषद् कार्यालय, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय विभाजन गरेर जिम्मेवारी दिइएको थियो । सो मन्त्रालयहरूबाट विभाग विभाजन गरी चित्रकारका लागि उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय गठन गरिएको थियो ।

उनले विभागीय जिम्मेवारी पाएको मन्त्रालयको प्रमुख कार्यक्षेत्र आर्थिक विकासमा प्रत्यक्ष टेवा पुर्याउने हो । उनले आफ्नो ७ महिने कार्य अवधिमा आर्थिक विकासका संवाहकहरूसँग सम्बन्धित रहेर काम गर्ने अवसर पाएको बताए । बजेट तथा कार्यक्रम निर्माणमा भूमिका नपाएका उनले विविध समस्याका बाबजुद पनि नागरिकहरूको सेवामा काम गर्ने प्रयत्न गरेको बताए । नियुक्ति बजेट कार्यक्रम आउनु अघि भए पनि विभाग नपाउँदा सहभागी हुन नपाएको उनको भनाई छ ।

उनका अनुसार काम गर्ने इच्छाशक्ति भएमा बजेट, कार्यक्रम तथा योजनाले खासै प्रभाव राख्दैन । उनले आफ्नो अनुभव सुनाउने क्रममा भनेका थिए– ‘चार्ड पर्वको अवसर थियो । नागरिकहरूलाई सहज सेवा प्रवाह गर्नुपर्ने हाम्रो जिम्मेवारी हो । चार्ड पर्वलाई लक्षित गरेर सुपथ मूल्यका पसल खोल्नु पर्ने थियो । प्रदेशका १३ जिल्लामा २२ वटा पसल खोलियो । तर, सिन्धुलीमा खोल्न सकिएन । सिन्धुलीमा खोल्ने प्रयत्न नभएको होइन । २० हजार रुपैयाँ बजेट प्रबन्ध गर्न सकिएन । बजेट निर्माणको क्रममा विभागीय मन्त्रीले जिम्मेवारी नपाउँदा सानो रकम पनि निकै ठुलो हुने रहेछ । मन्त्रालय विभाजनको क्रममा बजेट शीर्षक मात्र समावेश गरिदिएको भए । त्यो पसल खुल्थ्यो । विडम्बना न बजेट शीर्षक आयो । न कतैबाट बजेट व्यवस्थापन गरियो ।’

काम गर्न बजेट नै चाहिन्छ भन्ने धारणालाई आफूले चुनौती दिएको उनले बताए । काम गर्ने नेतृत्वलाई इच्छा शक्ति र व्यवस्थापनको ज्ञान हुन जरुरी रहेको उनले बताए । उनका अनुसार विशेषतः उद्योग क्षेत्र रोजगारी र आर्थिक विकासको प्रमुख आधार हो । कृषिबाट उद्योग र सेवा क्षेत्रमा बेरोजगार वा अर्ध बेरोजगार श्रमिकको स्थानान्तरणले मात्र वस्तु र सेवाको उत्पादन, मूल्य अभिवृद्धि, निर्यात प्रवर्द्धन र आयात प्रतिस्थापनका साथै गरिबी न्यूनीकरणमा टेवा पुग्ने उनको भनाई छ । तीव्र सहरीकरण र बसाइसराइलाई व्यवस्थित गर्न मुलुकमा औद्योगिकीकरण आवश्यक रहेको उनले बताए ।

‘यस मन्त्रालयले प्रदेश स्तरमा उद्योग, वाणिज्य, भूमि तथा प्रशासन क्षेत्रको नीतिगत व्यवस्थापन सम्बन्धी काम गर्छ । सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिताद्वारा दिगो एवम् बृहत् आधार सहितको औद्योगिक विकास मार्फत रोजगारी सिर्जना गरी गरिबी न्यूनीकरण गर्नमा उद्योग क्षेत्रको महत्त्वपूर्ण भूमिका रहन्छ । वाणिज्य क्षेत्रको विकास, वस्तु तथा सेवाको सहज आपूर्ति र उत्पादित वस्तु तथा सेवाको निर्यातबाट आर्थिक वृद्धिमा नीतिगत सहयोग पुर्याउनु मन्त्रालयको जिम्मेवारी रहेको हो ।’ उनले भने ।

20240306_173938

मन्त्री नियुक्त भएर जिम्मेवारी पाए लगत्तै चित्रकारले सरकारको खर्चलाई मितव्ययी र व्यवस्थित बनाउन भूमिका खेलेका थिए । जिम्मेवारी पाएलगत्तै भाडाको घरबाट सञ्चालन हुँदै आएको मन्त्रालयलाई जीर्ण अवस्थाको सरकारी भवन मर्मत गरेर सारेका थिए उनले । सरकारको खर्च कटौती गर्न मन्त्रालय भत्काउन तयार गरिएको भवनमा सारेका उनले सो भवनलाई मर्मत गरेर चिटिक्क पारेका छन् । सुविधा सम्पन्न भवनमा रहेका मन्त्रालय भन्दा सुन्दरसँगै प्रदेशको पहिचान समेत मन्त्रालयमा देखाउने काम गरेका छन् । उनले मन्त्रालयको हरेक कोठाहरूमा प्रदेशका जिल्लालाई समेटेका छन् ।

20240306_174243

मन्त्रीदेखि सचिव र हलसम्मका कोठालाई प्रदेशका जिल्लाले नामकरण गराएका छन् । मन्त्रालय मर्मतमा उनले धेरै फजुल खर्च पनि गरेको देखिँदैन । हस्तकला प्रेमी उनी मन्त्रालयका भित्ताहरू रंगरोगनको सट्टा नेपाली कागजको वालपेपर लगाएका छन् । मन्त्रालयका हरेक ढोकाहरु काष्ठ कलाले भरिदिएका छन् । मन्त्रालयमा संस्कृति र परम्परा झल्कने कलात्मक हस्तकलाका समानहरु राखेका छन् । टेबल पात्रो समेत हस्तकलाको प्रयोग गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप