मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
मटिहानी आगलागी

मधेस सरकारले अझै घोषणा गरेन राहत प्याकेज

पीडितहरू भन्छन्– हाम्रो घर कसले बनाइदिने ?
बुधबार, १९ वैशाख २०८१, १३ : ५०
बुधबार, १९ वैशाख २०८१

बीरगन्ज । एक साता अघि महोत्तरीको मटिहानी–६ स्थित पछिहारी टोलको सुकुमवासी बस्तीमा आगो लागेको थियो । दिउँसो १ बजे भएको आगलागीले टोलको १०३ वटा कच्ची घर जलाएर खरानी बनायो । यो वर्ष मधेस प्रदेशमा भएका आगलागीमध्ये यो ठुलो घटना हो ।

अहिलेसम्म आगो लाग्नुको कारण यकिन भइसकेको छैन । कसैले ग्यास सिलिण्डर विस्फोटबाट आगलागी भएको बताइरहेका छन् भने कसैले चुरोटको ठुटाबाट आगो सल्केर पूरै बस्ती खरानी भएको आकलन गरिरहेका छन् । आगलागीको खास कारण अहिलेसम्म पत्ता नलागेको महोत्तरीका एसपी नकुल पोखरेल बताउँछन् ।

आगलागी जेसुकै कारणले भए पनि करिब ५ सय व्यक्ति प्रत्यक्ष रुपमा प्रभावित बनेका छन् । तर पनि प्रदेश सरकारले पीडितहरूलाई राहतको प्याकेज घोषणामा तदारुकता देखाउन सकेको छैन । आगलागी पीडितहरू चर्को गर्मीमा त्रिपालमुनि बसेर दिन काट्नुपर्ने बाध्यतामा छन् ।

आगलागीको भएको ७ दिन बितिसक्दा पनि सरकारले भौतिक संरचना निर्माणमा तदारुकता नदेखाएपछि पीडितहरू थप चिन्तित बनेका छन् । पछिहारी टोलकी सिलिया देवीले आगोले घर खरानी बनाएपछि आफूहरूलाई कहाँ बस्ने, अब कसरी घर बनाउने भन्ने चिन्ताले सताइरहेको बताइन् । उनले भनिन्, ‘घरमा भएको अन्नपातदेखि सबै सामग्री खरानी भयो, कपडासमेत निकाल्न सकिएन । कमाएर खाने परिवार हो हाम्रो, घर जलिसकेपछि कमाउन जान पनि सकिएको छैन ।’

५ जनाको परिवारलाई दैनिक गुजारामै समस्या भएको सिलिया देवी बताउँछिन् । उनी भन्छिन्, ‘घरमा भएको कपडा, बर्तन सबै जलेर खरानी भयो । अहिले हामीसँग कपडा पनि छैन । गर्मी त्यत्तिकै छ ।’ घर जलेर नष्ट भएको पीडामाथि चर्को घाममा खुला आकाशमुनि बस्नु पर्दा थप पीडा भोग्नु परेको उनको भनाइ छ । आगोले २ बाख्रा, अन्नपात, भाँडाकुँडा जलेर नष्ट भएको उनी बताउँछिन् ।

सिलिया देवीको घरबाट करिब ५० मिटरको दुरीमा अजमेरी खातुनको घर छ । उनकै घरको छेउमा रहेको परालबाट सल्केको आगोले बस्तीलाई खरानीको थुप्रो बनाएको थियो ।

सुरुमै आफ्नो घरमा आगलागी भएकाले बल्लतल्ल भागेर ज्यान जोगाउन सफल भएको अजमेरी बताउँछिन् । उनी भन्छिन्, ‘आगलागी कसरी भयो भन्ने थाहा भएन, तर एक्कासी लागेको आगोले घर जल्न थाल्यो । म घरभित्रै काम गरिरहेकी थिएँ, जब आगोको तापले पोल्न थाल्यो । अनि भागेर घरबाट निस्केँ । हेर्छु त एकैछिनमा पूरै घर खरानी भयो ।’

उनका अनुसार घरको पङ्खा, बेड, कुखुराको खोर, बाख्रासहित घर आँखै अगाडि खरानी भयो । सुरुको दिन चिउरा र बिस्कुट खाएर रात काटेको अजमेरीको भनाइ छ । उनले भनिन्, ‘अहिले खाद्यान्न त आइरहेको छ, तर पकाउनका लागि भाँडा छैन । ग्यास सिलिण्डर छैन । त्यसकारण बाहिरबाट आएको खाना कै प्रतीक्षा गर्नुपर्ने बाध्यता छ ।’

सोही टोलकी सुनरमती देवीले आफूलाई झन् ठुलो बज्रपात परेको सुनाउँछिन् । ‘श्रीमान् बितेको केही वर्षमै घर खरानी भयो, उनले भनिन्, ‘बल्लबल्ल श्रीमान बितेको वियोग कम भएको थियो, अहिले फेरि अर्को विपत्ति आइप¥यो ।’

अब कहाँ बस्ने र कसरी घर बनाउने भन्ने चिन्ताले सताउन थालेको उनको भनाइ छ । सुनरमती देवीको घरभित्र राखेको २० हजार रुपैयाँ, ३ वटा बेड, ढोका, पङ्खासहित सबै सामान जलेको छ ।

शौचालय र बत्तीको समस्या  

पछिहारी टोलका आगलागी पीडितहरूलाई खाना र बस्ने घरको मात्रै होइन, शौचालय र बत्तीको पनि समस्या छ । साढे ६ घण्टासम्म दन्किएको आगोले बिजुलीको तार पनि जलाएर नष्ट गरेको छ । जसका कारण अँध्यारोमा बस्नु परेको पीडितहरूको गुनासो छ ।

जिल्ला महिला सञ्जाल महोत्तरीकी अध्यक्ष इसरागन यादवले बस्तीमा शौचालय र बिजुलीको समस्या रहेको बताइन् । ‘आगलागीपछि निरीक्षणका लागि त धेरै मान्छे आएका छन् तर बस्तीमा शौचालय छैन । रातिा बत्ती नहुँदा सर्पले टोक्ने चिन्ता पनि उत्तिकै छ,’ यादवले भनिन् ।

बस्तीमा ७ जना गर्भवती महिला रहेको बताउँदै उनले ती महिलालाई शौचालय तथा बत्ती नहुँदा बढी समस्या भइरहेको बताइन् ।

१ करोड ६२ लाख रुपैयाँभन्दा बढीको क्षति

पछिहारी बस्तीका ५७० जना आगलागीबाट प्रत्यक्षरुपमा प्रभावित भएको महोत्तरी प्रहरीको तथ्याङ्क छ । महोत्तरी प्रहरी प्रमुख नकुल पोखरेलका अनुसार आगलागीले १०३ वटा घर जलेर नष्ट हुँदा ५७० जना प्रभावित बनेका छन् । उनीहरूलाई गाँस, बाँस, कपास सबैको समस्या भएको छ ।

प्रहरीका अनुसार १ करोड ६२ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । आगलागीका कारण एक सातादेखि टन्टलापुर घाममा बस्न बाध्य रहेको पछिहारी बस्तीमा प्रदेश सरकारका तर्फबाट दिनहुँ कोही न कोही आउने गरे पनि राहत उपलब्ध हुन नसकेको गुनासो व्याप्त छ ।

प्रदेशका भौतिक मन्त्री सरोज यादवले केही प्राविधिक कारणले ठोस प्याकेजको घोषणामा सरकारलाई कठिनाइ भएको बताए । उनले भने, ‘आगलागी भएको बस्ती गुठीको जग्गा हो, त्यहाँ हामीले घर बनाउन मिल्दैन । त्यसकारण घर बनाउने सवालमा हामी सल्लाह गरिरहेका छौँ । अब बस्ने क्याबिनेट बैठकबाट यस बारेमा केही निर्णय लिन्छौँ ।’

तत्कालका लागि गृह मन्त्रालयबाट प्रति परिवार १०÷१० हजार रुपैयाँ दिने तयारी भइरहेको उनको भनाइ छ । यता मधेस प्रदेश सरकारबाट राहत प्याकेज घोषणा नहुँदा महोत्तरीवासीसँग प्रदेश सरकारले भेदभाव गरेको प्रस्ट भइरहेको सो क्षेत्रकी प्रदेश सभा सदस्य रानी शर्माको आरोप छ ।

उनी भन्छिन्, ‘दुर्घटनामा आफ्नो मान्छेको मृत्यु हुँदा हतारहतार ५ लाख रुपैयाँ राहत घोषणा गरिहाल्ने प्रदेश सरकार मटिहानीको सवालमा किन चुपचाप छ ? यो भनेको बेइमानी हो, मुख्यमन्त्री यहाँका नभएकै कारण अहिलेसम्म राहत प्याकेज आउन नसकेको हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अली असगर देवान
अली असगर देवान
लेखकबाट थप