मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
टी–२० क्रिकेट

जोन्सन चार्ल्सको शतकमा नेपालसामु विशाल लक्ष्य

बुधबार, १९ वैशाख २०८१, १३ : ५५
बुधबार, १९ वैशाख २०८१

काठमाडौँ । तेस्रो टी–२० क्रिकेटमा बुधबार वेस्ट इन्डिजको ‘ए’ टोलीले नेपाललाई जितका लागि दुई सय २८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ रोजेको वेस्ट इन्डिजले निर्धारित ओभरमा तीन विकेट गुमाएर दुई सय २७ रन बनाएको हो ।

वेस्ट इन्डिजका लागि ओपनर ब्याट्सम्यान जोन्सन चार्लसले उत्कृष्ट शतकीय पाली खेले । उनले अविजित रहँदै टोलीका लागि अविजित एक सय १९ रनको योगदान गरे । प्रारम्भदेखि नै आक्रामक रुपमा प्रस्तुत भएका जोन्सनले केवल ६१ बलको सामना गरी सात छक्का र १३ चौका पनि हिर्काए ।

जोन्सन नेपाली भूमिमा खेलिएको क्रिकेट प्रतियोगितामा शतक प्रहार गर्ने पहिलो क्यारेबियन खेलाडी बनेका छन् । जोन्सन चार्लसले वेस्ट इन्डिजको सिनियर टोलीबाट पनि विभिन्न प्रतियोगिता खेलिसकेका छन् ।

यसअघि खेलिएको पहिलो र दोस्रो टी–२० खेलमा वेस्ट इन्डिजका कुनै पनि ब्याट्सम्यानले शतक बनाउन सकेका थिएनन् । नेपाली टोलीका कप्तान रोहित पौडेलले भने वेस्ट इन्डिजविरुद्धको पहिलो खेलमा शतक र दोस्रो खेलमा अर्धशतक बनाएका थिए ।

बुधबारको खेलमा क्यारेबियन टोलीका लागि तेस्रो नम्बरका ब्याट्सम्यान आन्द्रे फ्लेचरले पनि अर्धशतकीय पाली खेले । उनले टोलीको खातामा ५३ रन थपेका थिए । उनले ३३ बलमा तीन छक्का र चार चौका पनि हिर्काए । विकेटकिपर ब्याट्सम्यान फ्लेचरले ओपनर जोन्सन चालर्ससँग एक सय ४५ रनको साझेदारी गरे ।

ओपनर एलिक एथेन्जले १७ रन बनाए भने फाबियन एलन १९ रनमा आउट भए । किमो पल १३ रनमा अविजित रहे । नेपाली टोलीका बलरहरु खासै प्रभावकारी देखिएनन् । सागर ढकाल र करण केसीले एक–एक विकेट लिए ।

वेस्ट इन्डिजविरुद्धको तेस्रो खेलमा नेपाली टोली दीपेन्द्रसिंह ऐरीको कप्तानीमा मैदानमा ओर्लिएको छ । नियमित कप्तान रोहित पौडेललाई भने आराम दिइएको छ । यो खेलको समाप्तिपछि नेपाल क्रिकेट संघले आगामी टी–२० विश्वकपका लागि टोली घोषणा गर्नेछ ।

वेस्ट इन्डिजले पहिलो विकेटका रुपमा ओपनर एलिक अथान्जलाई गुमाएको थियो । उनी १० बलमा एक छक्का र दुई चौकाको मद्दतले १७ रन बनाउँदै आउट भएका थिए । उनी रन आउट भएका हुन् । ३.१ ओभरमा उनी आउट हुँदा वेस्ट इन्डिजले २७ रन बनाएको छ ।

क्यारेबियन टोलीको दोस्रो विकेट सागर ढकालले लिएका थिए । उनले वेस्ट इन्डिजका तेस्रो नम्बरका ब्याट्सम्यान आन्द्रे फ्लेचरलाई दीपेन्द्रसिंह ऐरीद्वारा क्याच गराएका थिए । पेभेलियन फर्किनुअघि फ्लेचरले उत्कृष्ट अर्धशतकीय पाली खेलेका थिए ।

फ्लेचरले टोलीको खातामा ५३ रन थपेका थिए । उनले ३३ बलमा तीन छक्का र चार चौका हिर्काएका थिए । उनले ओपनर ब्याट्सम्यान जोन्सन चार्लिससँग एक सय ४५ रनको साझेदारी गरेका थिए । १५.५ ओभरमा उनी आउट हुँदा वेस्ट इन्डिजले एक सय ७२ रन बनाइसकेको थियो ।

वेस्ट इन्डिजको तेस्रो विकेट करण केसीले लिएका थिए । करणले वेस्ट इन्डिजका चौथो नम्बरका ब्याट्सम्यान फाबियन एलनलाई कप्तान दीपेन्द्रसिंह ऐरीद्वारा क्याच गराएका थिए । दीपेन्द्रले लिएको यो दोस्रो क्याच थियो । फाबियनले नौ बलमा एक छक्का र दुई चौकाको मद्दतले १९ रन बनाएका थिए । १८.२ ओभरमा उनी आउट हुँदा वेस्ट इन्डिजले दुई सय चार रन बनाइसकेको थियो ।

पाँचवटा टी–२० खेलको शृंखला हाल १–१ को बराबरीमा छ । शृंखलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई चार विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा भने भ्रमणकारी टोली वेस्ट इन्डिजले नेपालमाथि १० रनको रोमाञ्चक जित हासिल गरेको थियो ।

नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टोलीका अधिकांश खेलाडीले वेस्ट इन्डिजको सिनियर टोलीबाट विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा नेपाल र वेस्ट इन्डिजबिच यो अभ्यास खेल खेलिएको हो ।

वेस्ट इन्डिजको कुनै पनि टोली नेपाल भ्रमणमा आएको यो पहिलो पटक हो । नेपालसँगै वेस्ट इन्डिजसले पनि आगामी टी–२० विश्वकप खेल्दैछ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ ।

आगामी टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । उक्त समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । वेस्ट इन्डिज भने विश्वकपको समूह ‘सी’ मा परेको छ । उक्त समूहमा न्युजिल्यान्ड, अफगानिस्तान, पपुवा न्यु गिनी र युगान्डा रहेका छन् ।

यसअघि नेपाल र वेस्ट इन्डिजबिच एकपटक मात्र अन्तर्राष्ट्रिय क्रिकेट खेलिएको छ । सन् २०२३ मा जिम्बाबेमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिताका क्रममा नेपाल र वेस्ट इन्डिजबिच खेल भएको थियो । 

त्यो खेलमा क्यारेबियन टोली एक सय एक रनले विजयी भएको थियो । नेपालले टी–२० विश्वकपको अन्तिम तयारी पनि वेस्ट इन्डिजमै गर्ने भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप