पोखराका अधिकांश गाडी प्रदूषण मापनमा फेल, फिल्डमै हुन थाल्यो परीक्षण
पोखरा । बुधबार पोखराको न्यूरोडमा फरक दृश्य देखियो । गुडिरहेका गाडीलाई रोक्दै प्रदूषण परीक्षण भइरहेको थियो । यस क्रममा अधिकांश गाडी प्रदूषण जाँचमा फेल भए ।
यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी कार्यालय र पोखरा महानगरसहितको टोलीले गरेको परीक्षणमा सबैजसो गाडीले कालो धुवाँ फालेको पाइएको हो । बुधबार ३५ वटा गाडीको प्रदूषण मापन गर्दा ३० वटा फेल भएका हुन् । पोखराका अधिकांश नगरबस कालो मुस्लो फाल्दै हुइँकिन्छन् । कतिपय अवस्थामा गाडी पछाडि रहेका यात्रुहरू रोकिएर नाकमुख थुन्नुपर्ने अवस्था आउँछ ।
धेरैले यस्ता गाडीलाई नियमन गर्न निवेदन पनि दिएका छन् । तर कारबाही हुन सकेको छैन । बल्ल यातायात कार्यालय एक्सनमा उत्रिएको छ । यातायात व्यवस्था कार्यालय कास्कीका प्रमुख डिल्लीराम रिज्यालले प्रदूषण परीक्षण निरन्तर गर्ने र आवश्यकता अनुसार कारबाही गर्ने बताए ।
‘कार्यालयमा प्रदूषण चेकजाँच त निरन्तर भइरहेकै हो । यसरी फिल्डमा पहिलो पटक चेक गरेका छौँ,’ उनले भने, ‘अब परीक्षण गर्दा मापदण्ड पूरा नभएको पाइए कारबाही गर्छौं । सवारी नै जफत गरेर चल्न नसक्ने गरी कारबाही गर्छौं ।’
उनले कारबाही अघि सचेत गराउने बताए । ‘निश्चित समय दिएर सर्भिसिङका लागि आग्रह गर्छौं । गर्नुभएन भने र पटकपटक अटेरी गरेको पाइएमा जफत नै गर्छौं । रुट खारेज गर्ने र चल्न नदिने अवस्थामा पु¥याउँछौं,’ उनले अघि भने ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख भानु शर्मा निजीभन्दा सार्वजनिक सवारीमा प्रदूषण समस्या बढी रहेको बताउँछन् । ‘व्यवसायीलाई नियमित रूपमा धुवाँको बारेमा जानकारी गराएका छौँ । समयमा सर्भिसिङ गर्नुस् भनेका छौँ । कतिपयले गर्नु पनि भएको छ,’ उनले भने, ‘केही साधन नियमित परीक्षण र सर्भिसिङ गर्नुभएको छ । धेरैमा अझै समस्या छ । केही त २० वर्ष पुग्न लागेका गाडी पनि भेटेका छौँ ।’
उनले नियमित सर्भिसिङ गरे प्रदूषण शून्य नभए पनि न्यूनीकरण हुन्छ । अब फरक रुटमा पर्ने गरी निरन्तर रूपमा प्रदूषणको परीक्षण गर्ने शर्माले बताए ।
उनले यातायात व्यवस्था कार्यालयबाट जाँचपास गरेर आएका गाडीहरूलाई कानुनी प्रक्रियामा लैजानचाहिँ समस्या परेको बताए । ‘समन्वयमा काम गरेका छौँ । जाँचपास भए पनि सवारी कण्डिसन ठिक छैन भने फेरि पठाउन सक्छौँ । अत्यधिक धुवाँ फालेको देख्यौँ भने पुनः परीक्षणका लागि पठाएका छौँ,’ उनले भने, ‘अब जाँचपास दिने प्रक्रियालाई कडा गर्न आवश्यक छ । रोडमा हामीले कडा गरिरहेका छौँ ।’
यातायात व्यवस्था कार्यालयका अनुसार पोखरामा चल्ने सार्वजनिक सवारीका साधनको प्रदूषण परीक्षण खासै भएको छैन । केही निजी गाडीले चाहिँ परीक्षण गरेर स्टिकर लिएका छन् । बुधबार गरिएको परीक्षणमा ८० प्रतिशतभन्दा बढी सवारी प्रदूषण परीक्षणमा फेल भएका छन् ।
व्यवसायीहरूले चाहिँ पेट्रोलियम पदार्थमा शुद्धता नभएका कारण समस्या आएको बताएका छन् । उनीहरुले तेलको पनि गुणस्तर मापन गर्नुपर्ने सुझाएका छन् ।
यातायात कार्यालय पोखरामा निजी र सार्वजनिक सहित ३ लाख ५२ हजार सवारी दर्ता भएका छन् । कतिपय गाडी अन्य ठाउँमा दर्ता भएर पनि पोखरामा गुड्छन् । धेरैजसोले प्रदूषण मापन गरेका छैनन् भने मापन गरेकाहरूको पनि कालो धुवाँ फाल्ने क्रम रोकिएको छैन । प्रदूषण मापनका लागि कार्यालयले २ वटा मेसिन ल्याएको छ । थप मेसिन खरिदको प्रक्रियामा रहेको रिज्यालले बताए । गाडीको प्रदूषण मापन गर्दा ३० भन्दा कम देखाउँदा पास हुन्छ भने त्यसमाथिका गाडी फेल हुन्छन् । बुधबार मापन गरिएको गाडीमा ९० सम्म देखिएको थियो । यो निकै खतरनाक अवस्था हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यू–१९ एसिया कपको उपाधि बंगलादेशलाई, फाइनलमा भारत स्तब्ध
-
म समाजवाद निर्माणको अभियानमा छु : प्रचण्ड
-
राजश्वसम्बद्ध तीन निकायको संयुक्त बैठक सम्पन्न, के-के भयो निर्णय ?
-
विद्रोहीले दमास्कस कब्जापछि भागेका सिरियाका राष्ट्रपति चढेको विमान दुर्घटनाको आशंका
-
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा मोहन वैद्य सर्वसम्मत निर्वाचित
-
पुसदेखि पोखरा महानगर करारमुक्त हुने, ओ एन्ड एम गर्ने सहमतिपछि नगरसभा स्थगित