शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

भाषा शिक्षक परिषद्को चौधौँ साधारण सभा सम्पन्न, भाषा आलोकन अङ्क ६ विमोचन

मङ्गलबार, २९ फागुन २०८०, ०८ : २६
मङ्गलबार, २९ फागुन २०८०

पाेखरा । 'भाषा सभ्यताको संवाहक हो' भन्ने मूल मन्त्रका साथ स्थापना भएर नेपाली भाषा शिक्षणसँग सम्बन्धित विभिन्न शिक्षक केन्द्रित र विद्यार्थी केन्द्रित कार्यक्रमका साथै  भाषिक अनुसन्धानमूलक  कार्य गर्दै  आएको  नेपाली भाषा शिक्षक परिषद्, कास्की, नेपालको  १४ औँ वार्षिक साधारण सभा तथा भाषा आलोकन अङ्क ६ विमोचन समारोह  सम्पन्न  भएको छ ।

पृथ्वीनारायण क्याम्पस पोखराको जर्ज जोन सेमिनार हलमा भएको कार्यक्रममा 'लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन ' शीर्षकमा विद्यावारिधि उपाधि  हासिल गरेका संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार उप प्रा.डा. बोधराज ढकाललाई सम्मान गरिएको थियो भने नयाँ आजीवन सदस्यहरूलाई प्रमाणपत्र प्रदान र  विभिन्न प्रतियोगितात्मक कार्यक्रमको पुरस्कार वितरणसमेत गरिएको थियो ।

कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तिका रूपमा उपस्थित वरिष्ठ समालोचक प्रा.डा. दयाराम श्रेष्ठले आफ्नो मन्तव्य राख्दै नेपाली भाषा शिक्षक परिषद्ले भाषा र भाषिक अनुसन्धानका क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरे ।साथै उनले गर्वका साथ नेपाली विषय शिक्षक हुँ भन्ने अवस्था आएको भन्दै आफ्नो साधना त्यसैका लागि भएको धारणा राखे । भाषा शिक्षक परिषद् जस्ता संस्थाले नेपाली भाषाको संरक्षण र उत्थानमा लडाइँ लड्नुपर्ने धारणा राखे । भाषा सम्बन्धी कार्यक्रममा उपस्थित हुन पाउँदा आफूलाई सबैभन्दा खुसी लाग्ने कुरा राख्दै प्रा.डा. श्रेष्ठले भाषा बिग्रँदा देशले ठुलो क्षति बेहोर्ने भन्दै भाषाको सुधारका लागि हामी सबै लाग्नुपर्ने विचार व्यक्त गरे । उनले सांस्कृतिक राष्ट्रवादको विचारलाई सबैले आत्मसात् गर्नुपर्ने धारणासमेत राखे। 

संस्थाका सल्लाहकार सह प्रा.डा. पुण्यप्रसाद शर्माले प्रमुख आमन्त्रित व्यक्तित्व  प्रा.डा.दयाराम श्रेष्ठको परिचयसहितको मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा भाषा आलोकन अङ्क ६ का समालोचक सुरज पौडेलले आलोकनको आद्योपान्त समालोचना गर्दै पुस्तकमा विभिन्न विधासँग सम्बन्धित, नेपाली भाषासँग समन्धित लेखका साथै विविध लेख रहेकाले विषयगत र शैलीगत विविधता भएकाले पुस्तक धेरै दृष्टिले उत्कृष्ट बनेको धारणा राखे। उनले भाषा आलोकनले भाषा अध्यापक र अध्येताको पेसागत विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । पुस्तक अझ उत्कृष्ट बनाउन विभिन्न सुझावहरू समेत प्रस्तुत गरेका थिए । 

उक्त कार्यक्रममा नेपाली भाषा शिक्षक परिषद्का सल्लाहकार प्रा.डा. रामनाथ ओझा,सल्लाहकार सह प्रा.डा. यमनाथ तिमिल्सिना ,संस्थापक अध्यक्ष तथा सल्लाहकार माधवशरण उपाध्याय ,सम्मानित व्यक्तित्व तथा सल्लाहकार उप  प्रा.डा.बोधराज ढकाल , गणित  शिक्षक मञ्च, कास्कीका अध्यक्ष डिल्लीराम अधिकारी, नेपाली भाषा शिक्षक परिषद् ,पर्वतका अध्यक्ष सन्तोष पौडेललगायतले शुभकामना मन्तव्य राखेका थिए । 

 संस्थाका अध्यक्ष डिल्लीराम अर्यालको सभापतित्वमा  सम्पन्न  उक्त कार्यमा संस्थाका वरिष्ठ उपाध्यक्ष सूर्यप्रसाद लम्सालले स्वागत मन्तव्य राखेका थिए  भने कार्यक्रमको सञ्चालन महासचिव शिवहरि सुवेदीले गरेको जानकारी परिषद्का सचिव नारायणप्रसाद पराजुलीले दिए  ।

samman

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप