शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा मुग्लिङ सडक : सम्झौताको म्याद सकियो, आधा काम पनि सकिएन

मङ्गलबार, ११ वैशाख २०८१, ११ : २९
मङ्गलबार, ११ वैशाख २०८१

पोखरा । पोखरा मुग्लिन सडक अन्तर्गत आँबुखैरेनीसम्मको सडक खण्ड स्तरोन्नतिको चरणमा छ । आँबुखैरेनीदेखि जामुनेसम्म पहिलो खण्ड र त्यसयता पोखरासम्म दोस्रो खण्डमा ठेक्का लागेर काम भइरहेको छ । तर ठेक्काको लागि तोकिएको म्याद सकिएको छ, काम आधा पनि सकिएको छैन । 

दुवै ठेक्का चिनियाँ कम्पनीलाई परेको छ । आँबुखैरेनी देखि जामुनेसम्म करिव ४१ किलोमिटर काम चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले पाएको छ भने जामुनेदेखि पोखरासम्मको सडक स्तरोन्नतिको काम अनहुइ काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीलाई दिइएको छ ।

५ वर्षको समय दिएर ठेक्का लगाइएको पूर्व खण्डको ठेक्का म्याद सकिएको छ । पूर्वी खण्ड ६ अर्ब २१ करोड रुपैयाँमा ठेक्का लगाइएको थियो । पूर्वी खण्डको म्याद वैशाख २ गतेसम्म थियो । तर कोभिडको समयलाई हेरेर ६ महिना समय थप गर्न लागिएको बताइएको छ । इन्जिनियर विष्णु पाण्डेका अनुसार थपिएको म्यादभित्र काम पूरा गर्ने योजना छ ।

 ‘६ महिना हामीलाई समय थप हुन्छ । यो समयभित्र काम सक्ने विश्वास छ,’ उनले भने, ‘केही ठाउँबाहेक धेरै कामहरू सकिएको छ । प्रारम्भिक व्यवस्थापनको काम भैसकेको छ । अब रिजल्ट देखिने बेला हो ।’ उनका अनुसार हालसम्म ५६ प्रतिशत काम सकिएको छ । १८ किलोमिटर सडक ४ लेन र ९ किलोमिटर २ लेनमा कालोपत्रे भैसकेको छ । जामुनेदेखि दमौलीतर्फ कालोपत्रेको काम सुरु भइसकेको छ । दमौली र डुम्रेमा घर भत्काउने काम पनि चलिरहेको छ ।

पश्चिम खण्डको काम निकै सुस्त छ । अहिलेसम्म ७ किलोमिटर सडक २ लेनमा कालोपत्रे गरिएको इन्जिनियर नारायण पौडेलले जानकारी दिए । ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा पश्चिमतर्फको ४२ किलोमिटर सडकको स्तरोन्नति गर्न ठेक्का लगाइएको हो । वर्षाअघि कल्भर्ट र नाला निर्माणको काममा जोड दिइने उनले सुनाए । ‘पूर्वी खण्ड भन्दा हाम्रो काम केही ढिला गरी सुरु भएको हो । बिचमा तलमाथि पनि भयो,’ उनले भने, ‘अहिले धमाधम काम भइरहेको छ ।’ निर्माण कम्पनीले सन् २०२५ को डिसेम्बरभित्र काम सक्ने लक्ष्य लिएको छ । यहाँ २० प्रतिशत काम भैसकेको छ । सुरुमा भएको सम्झौता अनुसार यही भदौ १२ गतेसम्म पश्चिम खण्डको म्याद छ ।

मुग्लिङ देखि आँवुखैरेनीसम्मको ८ किलोमिटरको काम अझै अघि बढेको छैन । सहरी क्षेत्रमा ६ लेन र अन्य क्षेत्रमा ४ लेनको सडक बनाउने गरी स्तरोन्नति सुरु भएको हो । ५ दशकअघि चीन सरकारको सहयोगमा निर्माण गरिएको यो सडक सामान्य टालटुल बाहेक अहिलेसम्म स्तरोन्नति भएको थिएन ।

 आँबुखैरेनीदेखि पोखरासम्म पूरा लम्बाइमध्ये ६६ किलोमिटर ४ लेनको सडक हुनेछ भने २२ किलोमिटर ६ लेनको बन्नेछ । यो सडक विस्तारका लागि एसियाली विकास बैंकले २२ अर्ब ऋण दिएको छ । नेपाल सरकारले थप ५ अर्ब लगानी गर्नेछ । प्रारम्भिक रूपमा सडक स्तरोन्नतिका लागि २८ अर्ब लाग्ने अनुमान गरिएको थियो । 

तर ठेक्का कबोलका समयमा निकै कम मात्रै लागत लागेको छ । ४ अर्ब रुपैयाँ मादी र सेतीमा पुल निर्माणका लागि मात्रै लाग्छ । सडकमा साना ठुला ३९ वटा पुल बनाउनुपर्ने डिजाइन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप