शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
समाज

हाम्रो समाजमा अथाह पाखण्ड छ

पाँच प्रकारका बौद्धिकतामा नेपाली समाजलाई पर्गेल्दा...
आइतबार, २३ वैशाख २०८१, १२ : ००
आइतबार, २३ वैशाख २०८१

विषय अलिकति गहन छ— बौद्धिकताको कसीमा नेपाली समाज । व्यावहारिक रूपमा यस विषयमा कुरा गर्न सजिलो छ । व्यावहारिकता सिद्धान्तबाट आउने हो । सिद्धान्तमुक्त भएर व्यावहारिकता हुँदैन । सबैभन्दा पहिले यो ‘किनोट स्पिच’कै कुरा गरौँ । ‘किनोट स्पिच’लाई हिन्दीमा बीज वक्तव्य भन्दा रहेछन् । कुन अर्थमा भने— बीजबाट रुख पलाउँछ, त्यसमा फूल फुल्छ, फेरि फल हुन्छ र बीज निस्कन्छ । त्यसैले त्यसबाट धेरै विषय निस्कने भएकाले ‘किनोट स्पिच’लाई हिन्दीमा बीज वक्तव्य भनिँदो रहेछ ।

हाम्रो नेपालीमा ‘विद्वत् प्रवचन’ भन्ने चलन रहेछ । हामीलाई विशेषण साह्रै मन पर्छ । प्रवचन भने पुग्थ्यो, त्यसमा पनि विद्वत् जोड्नुपर्ने ! प्रवचन आफैँमा विद्वत् नै हो, त्यसमा विशेषण जोडिराख्नुपर्दैन । हामीलाई चाहिँ वरिष्ठ विश्लेषक भन्नुपर्ने, विश्लेषक केको वरिष्ठ हुन्छ ! बुढो भन्नेबाहेक वरिष्ठले अर्को अर्थ दिँदैन । मलाई नै कहिलेकाहीँ वरिष्ठ भनिरहेका हुन्छन् । वरिष्ठ नागरिकका हिसाबले अर्थात् अलि बुढो हुन लागेको भएर भनिएको होला । राम्रो भने मात्रै पुग्ने ठाउँमा धेरै राम्रो वा अति राम्रो भन्ने अर्थ निकाल्न विशेषण जोड्ने हाम्रो चलन छ । 

मेरो अध्ययनका हिसाबले भन्ने हो भने ‘विद्वत् प्रवचन’ भनिरहन आवश्यक छैन, प्रवचन भने पुग्छ । प्रवचनमा के हुन्छ भने लिने र दिने दुवैको स्वेच्छा हुन्छ । दिनेले आफूलाई मन लागेको कुरा भन्छ, लिनेले आफूलाई मन लागेका कुरा लिन्छ, नलिए पनि हुन्छ, प्रवचनमा केही बाध्यता छैन । औपचारिक शिक्षामा यस्तो हुँदैन, त्यसमा केही किसिमका बाध्यता थोपरिएका हुन्छन्, त्यहाँ जे सिकाएको हो त्यही सिक्नुपर्छ । 

मैले अलिकति सैद्धान्तिक तवरले कुरा गर्न खोजेको छु । ‘बौद्धिकता’को कुरा गर्ने हो भने, यो आयो कहाँबाट ? व्यक्तिको रूपमा म यहाँ छु, हेर्दैै छु, हुनुको अर्थ अवलोकन गर्नु हो । 

देवनागरीको पहिलो अक्षर ‘अ’बाट अवलोकन बनेको छ र यसैबाट (जीवन) सुरु हुन्छ । बच्चा जन्मेपछि आँखा खोल्नासाथ छक्क परेर हेर्छ, यही हो अवलोकन । इन्द्रियहरू त्यतिबेलासम्म सक्रिय भइसकेका हुँदैनन् । अवलोकनको तुरुन्तपछि इन्द्रियहरू सक्रिय हुन थाल्छन् । इन्द्रियहरू सक्रिय भएपछि बच्चाले देख्न, सुन्न, छुन, सुँघ्न र स्वाद लिन थााल्छ । यी पाँचवटै अवलोकनलाई अनुभवमा रूपान्तरण गरेपछि महसुस हुन थाल्छ धेरै कुरा । महसुस हुनका लागि अलिकति पृष्ठभूमि पनि चाहिन्छ । जन्मिसकेपछि आफ्नो अवस्था अनुसार बच्चाले महसुस गर्न थाल्छ । 

विद्यार्थी जीवनमा गएपछि ‘अध्ययन’ हुन्छ । महससु भएका धेरै कुरालाई एकै ठाउँमा समाहित गरी अध्ययन गरिन्छ अर्थात् अरुका अवलोकन र महसुसबाट पनि केही कुरा सिक्न थालिन्छ । यी दुइटा जोडिएपछि अनुभूति हुन थाल्छ । दुःख, सुख, विस्मय, क्रोध, दया, प्रेम आदिको अनुभूति भनेको अवलोकन, अनुभव र अध्ययनपछि महसुस गरिने कुरा हुन् । 

अरुलाई मात्रै प्रश्न सोध्ने होइन आफैँलाई पनि प्रश्न सोध्ने, यो भनेको आलोचनात्मक बौद्धिकता हो । यो आलोचनात्मक बौद्धिकताले पेसाकर्मीलाई पेसाधर्मी बनाउँछ ।

अनुभूति भइसकेपछि हामी अभिव्यक्तिमा जान्छौँ । एउटा सचेत व्यक्ति अनुभूतिलाई आफूसँग मात्रै राखेर बस्न सक्दैन । अनुभूतिलाई अभिव्यक्ति गर्नैपर्छ । अभिव्यक्तिको सबैभन्दा सजिलो माध्यम उफ्रिनु हो, बच्चा जन्मनासाथ एकछिनपछि हातखुट्टा हल्लाउँछ । 

मानिसको अभिव्यक्तिमा सबैभन्दा पहिले नृत्य आउँछ । मानिसले पहिलो अभिव्यक्तिस्वरूप हातखुट्टा चलाउनु भनेको भावभङ्गी हो, नृत्य नै हो । 

अभिव्यक्तिको अर्को माध्यम हो, विलाप । अत्यन्त खुसी भएका बेला पनि आँखाबाट आँसु आउने, अत्यन्त दुःखी भएका बेला पनि आँखाबाट आँसु आउने— विलाप भनेको अर्को अभिव्यक्तिको माध्यम हो । 

अभिव्यक्तिको अर्को माध्यम हो, संगीत । संगीतमा बाजा नै बजाउनुपर्छ भन्ने छैन । गुनगुनाउनु वा टेबल ठोक्नु पनि संगीतमा पर्छन् । गीत पनि अभिव्यक्ति हो । चित्रकला अभिव्यक्तिको माध्यम हो । अभिव्यक्तिका माध्यमहरू मानिस लगायत लगभग सबै जनावरमा पाइन्छन् । मानव भन्ने यो दुईखुट्टै जन्तुको अभिव्यक्तिमा शब्द समेत जोडिन्छ । शब्द त होला अरु जनावरको पनि, धेरैले बुझ्ने सामूहिक शब्दहरू र व्याकरणको आविष्कार अभिव्यक्तिका लागि भएको हो, जसले मानवलाई अरु जनावरभन्दा केही फरक बनाएको छ । 

अभिव्यक्तिमा मानिसका आफ्ना अपेक्षा पनि हुन्छन् । मेरा यी मनका भावहरू वा अभिव्यक्तिलाई अरुले सुनोस्, गमोस् र यसमाथि अरुले विचार गरोस् भन्ने अपेक्षा मानिसमा आउँछ । त्यसैले हामी सम्भावित असरलाई विचार गरेर बोल्न थाल्छौँ । मेरा शब्दहरूको के असर पर्ला ? अरुको चित्त दुख्छ कि, रिसाउँछ कि, खुसाउँछ कि भनी तौलेर बोल्छौँ । त्यसैले भाषा एक किसिमको छलावा (धोका) हो । भाषाहरूको प्रयोग घुमाएर भन्नका लागि हो । 

हामी भन्छौँ, उहाँ स्पष्टवक्ता हुनुहुन्छ, यो भनेको तुलनात्मक मात्रै हो । शब्दको प्रयोग गर्दा असरको अपेक्षा राखिने भएकाले जति नै स्पष्टवक्ता भए पनि उसको बोलीमा केही खाली ठाउँ, केही मौनता, केही अर्धविराम, केही पूर्णविराम आदि लुकेका हुन्छन् । यसरी लुक्नुको अर्को कारण के हो भने, हाम्रा भावहरू असीमित छन् । संसारका आठ अर्ब मानिसका मनमा जति भाव छन्, त्यसलाई समेट्ने गरी संसारमा कुनै भाषा बनेकै छैन । त्यसैले सन्त–महात्माले भन्छन्— मौनता सर्वोत्कृष्ट भाषा हो । जब गुरु–शिष्य परम्परामा गुरुले मौनताबाट शिष्यलाई आफ्नो ज्ञान प्रवाह गर्छन् भन्छन्, वैज्ञानिक तवरले यो मिल्दैन तर आस्थाको पनि कुरा छ । यो किन भनिएको हो भने, भाषामा आउनासाथ त्यो कुरामा स्पष्टता बाँकी रहँदैन भन्ने मान्यता रहिआएको छ । 

भाव र विचारलाई सीमित शब्दमा अभिव्यक्त गर्न खोज्दा दुई–चारवटा कुरातिर ध्यान जान्छ । पहिलो त उपर्युक्त शब्दको खोजी— कुन शब्दले मेरो भाव भन्न सक्छ भन्ने साधारणभन्दा साधारण बच्चाले पनि सोचेर भन्छ । अलिकति बुझ्ने भइसकेको बच्चाले कुनै चिजलाई ‘यो त अमिलो छ’ भन्यो र उसलाई ‘कस्तो अमिलो छ’ भनेर सोधियो भने ऊ एकछिन चुप लाग्छ र भन्छ— अमलाजस्तो, वा काँचो आँपजस्तो आदि । उपयुक्त शब्द र ग्राह्य शब्दको खोजी हामीले निरन्तर गरिरहेकै हुन्छौँ । 

मैले भनेको कुरा तपाईंले बुझ्नुहुन्छ कि हुन्न भन्ने महत्त्वपूर्ण हुन्छ । त्यही भएर प्रश्न गरेर पनि संवाद बुझ्ने वा बुझाउने कोसिस गरिन्छ । कुनै विषयको परिभाषा खोज्दै जाँदा हामी त्यसको बीजमा पुग्छौँ । त्यो बीज अन्ततः कि प्रकृति हो, कि सृष्टि हो, अथवा भगवान मान्नुहुन्छ भने ईश्वर हो । 

बौद्धिकताका लागि नेपाल बन्जरभूमि हो भने, यो बन्जर फोर्नलाई के गर्ने के ? यसका लागि पहिलो अवलोकन हो, हाम्रो अवलोकन क्षमता बढाउन तालिम आवश्यक छ । देख्दाखेरि जे देखिन्छ, त्यसमा ध्यान दिनुपर्छ ।

आज मलाई बोल्न दिइएको विषय ‘बौद्धिकताको कसीमा नेपाली समाज’ बुझ्नका लागि पहिले बौद्धिकता, कसी र नेपाली समाज भन्ने शब्दहरूलाई बुझ्नुपर्छ । त्यसपछि न हामी बौद्धिक स्तरमा कहाँ छौँ भन्नेमा पुग्छौँ । 

प्रज्ञा प्रतिष्ठानको शब्दकोश अनुसार बौद्धिकता शब्दको अर्थ छ— भावनामुक्त तार्किकता । भावनामुक्त तार्किकता हुनै सक्दैन । कतिसम्म भने— १ र १ बराबर २ हुन्छ भने पनि भावनामुक्त तार्किकता होइन । नेपाल ल क्याम्पसको प्राध्यापक– १ र नेपाल क्याम्पसको विद्यार्थी– १ गरी २ त होइन । गणितमा चाहिँ भावनामुक्त तार्किकता होला, समाजमा र व्यक्तिबिचको सम्बन्धमा भावनामुक्त तार्किकता सम्भव छैन । त्यसैले प्रज्ञाप्रतिष्ठानले दिएको पहिलो परिभाषा मिल्दैन । यसमा धेरै परिचय दिनुपर्ने हुन्छ ।

बौद्धिकता शब्दको दोस्रो अर्थ छ— सोच्ने र अभिव्यक्ति गर्ने तरिका । यो अर्थचाहिँ बौद्धिकताको केही नजिकतिर जान्छ । यद्यपि यो पनि पर्याप्त होइन । 

अब कसीको अर्थमा जाऊँ— सुन चाँदी आदि धातुलाई असल र कमसल छुट्ट्याउनका निम्ति घोटेर हेर्ने कालो चिप्लो ढुङ्गो । 

यस्तै नेपाली शब्द संज्ञा पनि छ विशेषण पनि छ । प्रज्ञा प्रतिष्ठानको शब्दकोशले विशेषणको अर्थ दिएको छ— नेपाली भनेको नेपालमा बसोबास गर्ने, नेपाली नागरिकता प्राप्त गरेको, वा नेपाली जाति । 

अब नेपालमा बसोबास गर्ने, नेपाली नागरिकता प्राप्त गरेको कुरासँग बौद्धिकताको धेरै सम्बन्ध जोडिँदैन । नेपाली जाति भनेको के हो ? यसलाई निर्जातीय रूपमा वा एथ्नेसिटीका रूपमा बुझेको हो कि, वर्ण वा रेसका हिसाबमा बुझेको हो कि, रङका हिसाबले बुझेको हो कि ? के हो नेपाली जाति भनेको ? 

अब हामी समाज भनेको के हो भन्नेमा स्पष्ट हुनुपर्छ । समाजलाई विभिन्न किसिमले परिभाषित गरिएको छ, सबैभन्दा सजिलो परिभाषा छ— समाज भनेको सम्बन्धहरूको सञ्जाल हो । हामी एकअर्कासँग कुनै हिसाबले जोडिएका छौँ भने त्यो समाज हो । जस्तै ः सोसाइटी अफ नेपलिज आर्किटेक्टस्, यो भनेको आर्किटेक्टहरूको समाज भयो । त्यहाँ जोडिने तन्तु के हो भने सबै आर्किटेक्ट छन् । 

राजनीतिक रूपले हेर्ने हो भने नेपाल एउटा देश छ, यो एउटा परिकल्पित समुदाय हो, यसलाई एउटा संविधानले बाँधेको छ, त्यसको मूल्य–मान्यताले जोडिएको यदि हो भने त्यो नेपाली समाज हो । त्यसको वर्चस्ववादी मूल्य–मान्यता भने खस–आर्यको छ ।

कुनै रगतको वा नातागोताको सम्बन्ध होला, यी सबैबाट समाज बन्ने हो । समाजशास्त्रीय दृष्टिकोणले हेर्ने हो भने नेपाली समाजलाई एक वचनमा भन्न मिल्दैन । किनभने नेपाली समाजहरू छन्, अर्थात् थुप्रै नेपाली समाजहरू छन् । 

पृथ्वीनारायणले चार जात ३६ वर्ण भनेका छन् । चार जात भनेको जात प्रथाका हिन्दुहरू, ३६ वर्ण भनेको आ–आफ्नै संस्कृति र सभ्यता भएका ३६ किसिमका समूहहरू, जनजातीय समूहहरू । त्यो हिसाबले हेर्ने हो भने— मगर समाज होला, गुरुङ समाज होला । होइन, आस्था र विश्वासको दृष्टिकोणले हेर्ने हो भने, इस्लामिक समाज होला, क्रिस्चियन समाज होला, बौद्धमार्गी समाज होला, जाति प्रथा मान्ने समाज होला ।

राजनीतिक रूपले हेर्ने हो भने नेपाल एउटा देश छ, यो एउटा परिकल्पित समुदाय हो, यसलाई एउटा संविधानले बाँधेको छ, त्यसको मूल्य–मान्यताले जोडिएको यदि हो भने त्यो नेपाली समाज हो । त्यसको वर्चस्ववादी मूल्य–मान्यता भने खस–आर्यको छ । त्यसैले जुन बेला हामी एक वचनमा नेपाली समाज भन्छौँ, त्यो भनेको खसआर्य समुदाय हो । त्यो भनेको समाजशास्त्रीय दृष्टिकोणले बहुवचनको नेपाली समाजहरू होइन । नेपालको संविधान, नेपालको धर्म, परम्परा, संस्कृति हामी जेलाई भन्छौँ— त्यो वर्चस्ववादी खस–आर्य समुदाय, खासगरी मध्य पहाडका नेपालीभाषी पुरुषले दुई–अढाइ सय वर्षमा विकसित गरेको मूल्य–मान्यतालाई हामी नेपाली समाज भनेर बुझ्छौँ । 

  • विवरणात्मक बौद्धिकता

अब बौद्धिकताको अर्थ खोजौँ । एउटा कथा छ—

एउटा घरमा बाख्री बियाएको हुन्छ । यो कुरा त्यस घरको जेठो छोराले बाउलाई सुनाउँछ— ए बा हाम्रो बाख्री बियायो । अनि बाउले सोध्छ— कतिवटा पाएछ ? यो प्रश्नको जवाफ जेठो छोराले नदिएपछि बाउले माहिलो छोरालाई बुझ्न पठाउँछ । 

माहिलो छोराले बुझेर आएपछि बाउले फेरि सोध्छ— कतिवटा पाठा कतिवटा पाठी रहेछन् ? यसको जवाफ माहिलो छोराबाट नआएपछि उसले साहिँलो छोरालाई पठाउँछ ? 

साहिँलो छोराले बुझेर आएपछि बाउले फेरि सोध्छ— बाख्री कस्तो अवस्थामा छ ? 

फेरि साइँलोबाट बाख्री बियाएको अन्दाजी समय नआएपछि बाउले कान्छो छोरालाई पठाउँछ । कुनै पनि छोराले बाख्रीको सम्पूर्ण अवस्था नबताएपछि बाउ आफैँ बुझ्न जान्छ । 

नेपाली समाजमा सायद पूर्वाग्रह अलि बढी छ । त्यो हुनुको मुख्य कारण के हो भने, हाम्रो जात व्यवस्था बलियो छ ।

यो कथाले के देखाउँछ भने बौद्धिकताका विभिन्न किसिम हुन्छन् । विवरणात्मक बौद्धिकता सबैभन्दा सहज प्रकृतिको हुन्छ । पत्रकारहरू विवरणात्मक बौद्धिकताका उत्कृष्ट उदाहरण हुन् । पत्रकारको भाषामा ‘फाइभ डब्लुएच’ (को, के, कहिले, कहाँ, किन, कसरी) आउँछ । पत्रकारले कुनै पनि घटना वा अवस्थाको बारेमा अवलोकन गरेर सबैले बुझ्ने भाषामा विवरणात्मक रूपमा लेख्छ । 

विवरणात्मक बौद्धिकता पनि पूर्वाग्रहमुक्त हुँदैन । म आज पहिलोपटक भोटाहिटी गएँ भने त्यहाँ भीड छ भनेर विवरण दिउँला । अर्को कुनै व्यक्तिले त्यहाँ अरु दिनभन्दा आज बढी भीड थियो भन्ला । तेस्रो कोही गयो भने उसले त्यहाँ पुरानो साथी राजदेव जोशीलाई भेटेँ भन्ला । यस्तै विभिन्न लिंग र उमेरका मान्छेले त्यहाँको विवरण आ–आफ्नै ढंगले देलान् । यसैले विवरणात्मक बौद्धिकता पनि पूर्वाग्रहमुक्त हुँदैन । किनभने, यो दुईखुट्टे जनावरमा जन्मनासाथ अनुभव सँगसँगै पूर्वाग्रह पनि विकसित हुँदै जान्छ । 

नेपाली समाजमा सायद पूर्वाग्रह अलि बढी छ । त्यो हुनुको मुख्य कारण के हो भने, हाम्रो जात व्यवस्था बलियो छ । एकथरीमा सुरुदेखि उत्कृष्टताको भावना विकास गराइन्छ— तँ बुझ्ने, तँ जान्ने, तँ त मालिक होस्, फलानो नोकर हो, फलानो व्यापारी हो, फलानो नेता हो चोरै होला ।

यसरी हेर्दा नेपाली समाज प्राथमिक वा विवरणात्मक बौद्धिकतामा समेत कमजोर छ । 

  • विश्लेषणात्मक बौद्धिकता

अर्को छ, विश्लेषणात्मक बौद्धिकता । बाख्री बियाएको उदाहरण हेर्ने हो भने, विश्लेषणात्मक बौद्धिकताले खोज्छ— पाठापाठीको बजार भाउ कस्तो छ, ती पाठापाठीलाई आहारा खुवाउने क्षमता छ कि छैन, तुरुन्तै बेच्नुपर्ने हो कि, रोग लागेको छ भने इलाज खोज्ने हो कि, जाडो छ भने न्यायो पार्ने हो कि, कुन नस्लको बाख्री हो ? 

यसरी विश्लेषण गर्ने काम पेसाकर्मीको हो । पशुपालन पनि पेसा हो । डकर्मी काम गर्ने, सिकर्मीको काम गर्ने पनि पेसाकर्मी हुन् । यसरी विश्लेषणात्मक बौद्धिकता केही न केही हदसम्म हरेक समाजमा विद्यमान हुन्छ । नेपाली समाजको एउटा तप्कामा विश्लेषणात्मक बौद्धिकता पर्याप्त छ ।  

विश्लेषणात्मक बौद्धिकता उपयोगिताप्रधान हुन्छ । अर्थात् कुनै कुराको उपयोग कति छ भनेर विश्लेषण गरिन्छ । विश्लेषणात्मक बौद्धिकता बेगर जीवन चल्न कठिन भएको हुन्छ । थाहा छ, युक्रेनको युद्धमा रुसबाट लड्न जाने हो भने मरिन्छ । विश्लेषणात्मक बौद्धिकता कमजोर भएको होइन, तर यही बाँच्नका लागि यही अन्तिम उपाय हो भने त्यही गर्छ । विश्लेषणात्मक बौद्धिकताको कसीमा पनि नेपाली समाजलाई कमजोरै भनिहाल्न मिल्दैन ।

नीति र नैतिकताको कसीमा प्रश्न सोध्ने, मूल्य र मान्यताको आधारमा प्रश्न सोध्ने, अरुलाई मात्रै प्रश्न सोध्ने होइन कि आफैँलाई पनि प्रश्न सोध्ने, यो भनेको आलोचनात्मक बौद्धिकता हो ।
  • आलोचनात्मक बौद्धिकता 

तेस्रो छ, आलोचनात्मक बौद्धिकता वा आलोचनात्मक चेत । 

यो भनेको के हो भने, विवरण थाहा भयो, विश्लेषण पनि गरियो, अब नीति र नैतिकताका कुरा आउँछन् । बाख्री बियाएको उदाहरणमा— बिरामी पाठो छ भने त्यसलाई मारिदिने त ? नीतिले त त्यसो भन्दैन । जीवनको अधिकार त सबैलाई छ, त्यसैले उपचार गराउने हो । 

नीति र नैतिकताको कसीमा प्रश्न सोध्ने, मूल्य र मान्यताको आधारमा प्रश्न सोध्ने, अरुलाई मात्रै प्रश्न सोध्ने होइन कि आफैँलाई पनि प्रश्न सोध्ने, यो भनेको आलोचनात्मक बौद्धिकता हो । यो आलोचनात्मक बौद्धिकताले पेसाकर्मीलाई पेसाधर्मी बनाउँछ । 

यो ल क्याम्पसबाट पास गरेर तपाईं भोलि अधिवक्ता बन्नुभयो र अदालतमा गएर तपाईं एकजना आरोपीको प्रतिरक्षामा उभिनुहुन्छ । आरोपीले सबै गोप्य कुरा त तपाईंलाई भन्छ, त्यसपछि तपाईंलाई लाग्छ कि यो जघन्य अपराध हो । तापनि उसलाई जोगाउने गरी तपाईंले अदालतमा बहस गर्नुहुन्छ भने तपाईं असल पेसाकर्मी हो तर असल पेसाधर्मी होइन । असल पेसाधर्मी वकिलले त भन्छ— तिमीबाट अपराध भएको हो, तिमीले यो कबुल गरेर सजायका लागि तयार हुनु । किनभने हाम्रो मूल्य र मान्यताले त यही भन्छ, कर्मको फल सबैले भोग्नुपर्छ । 

पेसाकर्मी अडिटरले कर छल्ने सल्लाह दिन्छ, पूरै कानुनी तरिकाले । हरेक कानुनमा छिद्रहरू हुन्छन्, जति कानुन त्यति धेरै छिद्र । त्यो छिद्र देखाएर कर छली गराउने पनि राम्रो अडिटर वा राम्रो एकाउन्टेन्ट हुन सक्छ । ऊ पेसाधर्मी हो भने यो काम मबाट हुँदैन भन्छ । पेसाकर्मी र पेसाधर्मीमा हुने यो आलोचनात्मक बौद्धिकतालाई हेर्दा— नेपालमा मात्रै होइन, धेरै विकसित देशमा आलोचनात्मक बौद्धिकता कमजोर नै देखिन्छ । 

किनभने पेसाकर्मीका रूपमा मध्यम वर्गको हालिमुहाली छ । त्यो मध्यम वर्गमा अभिजात्य बन्ने चाहना वा आकाङ्क्षा क्षमताभन्दा बढी हुन्छ । यो आलोचनात्मक चेत भएको बौद्धिकता सायद नेपाली समाजमा साह्रै कमजोर छ तर छैन भन्दिनँ, त्यसो भन्दा अन्याय हुन्छ । किनभने हुँदै नभएको भए पनि यो समाज टिक्दैनथ्यो । यो समाज टिकेको छ, यसको अर्थ केही यस्ता चेत भएका व्यक्ति छन्, जो सामान्यतया प्रचार रुचाउँदैनन् । आफ्नो कर्म गर्छन्, अरुलाई भन्दै हिँड्दैनन् ।

मैले सिकेको मूल्य र मान्यतामा गोठमा धेरै काम महिलाहरूले गर्छन् । तर यहाँ मैले जानीजानी महिलाको ठाउँमा पुरुषलाई ल्याएँ । म सिर्जनात्मक भइनँ, यहाँ मेरो आलोचनात्मक बौद्धिकताले जित्यो कि किन सधैँ महिलाहरूले मात्रै हेर्न जानुपर्ने ? छोराको कामै होइन त्यो ? 
  • सिर्जनात्मक बौद्धिकता 

चौथो छ, सिर्जनात्मक बौद्धिकता । माथिको उदाहरण जुन छ, पाठापाठी गन्ने र तिनलाई जोगाउने कि नजोगाउने भन्ने, त्यसभन्दा धेरैमाथि हुन्छ सिर्जनात्मक बौद्धिकता । बाख्री आमा हुनुुको दुःख; पाठापाठीप्रतिको उसको प्रेम; सँगै जन्मेका पाठापाठीबिचको सम्बन्ध; बाउ, आमा र पाठापाठीको सम्बन्ध— यी कुरा सिर्जनात्मक बौद्धिकतामा आउँछन् । जस्तो कि मैले कथा सुनाएको कथामा लैंगिकता लुकेको छ । म सिर्जनात्मक बौद्धिक भइदिएको भए सोध्थेँ— किन हरेकपल्ट पाठापाठीको अवस्था बुझ्न छोरा नै जानुपर्ने ? 

मैले सिकेको मूल्य र मान्यतामा गोठमा धेरै काम महिलाहरूले गर्छन् । तर यहाँ मैले जानीजानी महिलाको ठाउँमा पुरुषलाई ल्याएँ । म सिर्जनात्मक भइनँ, यहाँ मेरो आलोचनात्मक बौद्धिकताले जित्यो कि किन सधैँ महिलाहरूले मात्रै हेर्न जानुपर्ने ? छोराको कामै होइन त्यो ? 

भाव क्षेत्र जुन अथाह छ, त्यसलाई आलोचनात्मक बौद्धिकताले समेट्न सक्दैन । भावभूमि भनेको यो सारा सृष्टि हो । काल चेतना हामी जसलाई भन्छौँ, त्यो सँगसँगै यो सिर्जनात्मक बौद्धिकतामा अकालको कुरा पनि आउँछ । सिर्जनात्मक बौद्धिकताको कुरा गर्दा— लेख्ने–पढ्ने काममा एउटा जात विशेषको अधिकार लामो समयसम्म रह्यो । अक्षर चिन्नासाथ कविता वा कथा लेख्न सुरु भइहाल्छ । त्यसैले यो सिर्जनात्मक बौद्धिकतामा नेपाली समाज अरु बौद्धिकताको तुलनामा अलिकति समृद्ध छ । 

  • चिन्तन बौद्धिकता

बौद्धिकताको अन्तिम कसी भनेको चिन्तन बौद्धिकता हो । यसमा अगाडिका सबै बौद्धिकता हुन्छन्— विवरणात्मक बौद्धिकता चाहियो, किनभने बुझ्नुपर्‍यो समाज के हो ? यो समाज त्यहाँ कसरी पुग्यो भनेर विश्लेषणात्मक बौद्धिकता आउँछ । यस्तै आलोचनात्मक बौद्धिकता पनि यसमा आउँछ, किनभने निरन्तर प्रश्न गर्नुपर्छ । सिर्जनात्मक बौद्धिकता पनि चाहियो, किनभने अभिव्यक्तिका शब्दमा भाव पनि हुनुपर्छ । दुइटा उर्दू शब्द निकै राम्रा छन्— एउटा ऐहसास, अर्को महसुस । ऐहसास भनेको अनुभव र अनुभूतिसँग मिल्दोजुल्दो तर अलिकति फरक । महसुस भनेको ऐहसासभन्दा अलिकति गहिरो । 

चिन्तन बौद्धिकता निरन्तर जागृत अवस्थामा रहन्छ । बुद्धले भने, संसारमा दुःखै दुःख छ तर दुःखबाट निस्कने बाटो छ । त्यो बाटोको बारेमा चिन्तित रहनु भनेको चिन्तन बौद्धिकता हो । त्यो चाहिँ नितान्त अभाव छ । 

कबीरको भनाइ छ— सुखिया सब संसार है, खायै और सोवै । अर्थात् सारा दुनियाँ बडा सुखी छ, खान्छ र सुत्छ ।

दुखिया दास कबीर है, जागे और रोवै । अर्थात् कबीर बडा दुःखी छ ऊ जागिरहन्छ र रोइरहन्छ । 

चिन्तन बौद्धिकतामा हामी कमजोर छौँ, बन्जर भूमिजस्तो छ नेपाल चिन्तन बौद्धिकताका लागि । हाम्रो समाजमा अथाह पाखण्ड छ ।

बुद्ध पनि रुन्थे । चिन्तन बौद्धिकता भनेको बडा कष्टदायी छ, काँडाहरूको ओछ्यानमा पल्टिनु हो ।

माथि आएका पाँचै प्रकारका बौद्धिकतामध्ये सुरुका तीनचाहिँ बुद्धिजीवीको हो, जसले बुद्धिबाट जीविका चलाउँछ, अरुलाई पनि जीविकाको अवसर उपलब्ध गराउँछ । बौद्धिक भनेको अन्तिम दुई हो, जसले सिर्जन गर्छ । 

काठबाट कुर्सी धेरैले बनाऊलान्, तर जब सिकर्मीको कलाकारितामा त्यो कुर्सी पुग्छ, उसले ज्यालाको लागि कुर्सी बनाउँदैन, देख्नासाथ दर्शकलाई लागोस् यो कलाकृति हो । त्यसमा बस्नेलाई परम सुखको अनुभूति होस् । त्यस्तो कुर्सी बनाउन निरन्तर क्रियाशील रह्यो भने ऊ सिर्जनात्मक सिकर्मी हुन गयो । त्यो कुर्सीमा बसेर पनि कोही निरन्तर पीडामा रह्यो, सिंहासनमा बसेर रुने राजा जनक चिन्तन बौद्धिकताका उत्कर्ष हुन् ।

चिन्तन बौद्धिकतामा हामी कमजोर छौँ, बन्जर भूमिजस्तो छ नेपाल चिन्तन बौद्धिकताका लागि । हाम्रो समाजमा अथाह पाखण्ड छ । जातीयताको विरोध गर्नेले जातीयता मान्छ, धर्म मान्दिनँ भन्छ भैँसी पूजा गर्छ । माक्र्सवादी भैँसी पूजा गर्छ । रामनामी ओढेर हिँड्छ । योभन्दा पाखण्ड के हुन्छ ? समाजको नेतृत्वदायी पङ्क्तिमै पाखण्ड छ भने त्यो समाज पनि दोषी छ । 

फेरि हामीकहाँ भक्तिभाव छ । सिकेलालजी जान्ने, उहाँको कुरा सुनिदिनुपर्छ, भक्तिभाव हो, प्रश्न गर्नु हुँदैन । त्यही भएर त यो प्रवचनका लागि बोलाइएको हो, नभए त प्रश्नोत्तर हुन्थ्यो । यस्तो भक्तिभाव छ हाम्रो समाजमा ।

वाक्पटुता चाहिँ बौद्धिकताको चिह्न हुन गएको छ । राम्रोसँग बोल्न सक्ने मानिसलाई बौद्धिक मानिदिने, राम्रोसँग लेख्न जान्नेलाई बौद्धिक मानिदिने, त्यो जरुरी छैन । मैले सुरुमै भनेँ— मौनता बौद्धिकताको पराकाष्ठा हो । वाक्पटुता, कथावाचक, भागवत पुराण भनिरहेको हुन्छ, बिचमा जसले धेरै कथा जोड्यो ऊ त्यति राम्रो पण्डित बौद्धिक ! यसले गर्दा पनि बौद्धिकताको कसीमा हामी बन्जरभूमिमा छौँ । 

एउटा शब्दकै कति अर्थ निस्कन्छ भने एउटा मात्रै वेद अध्ययन गरेको व्यक्ति कसरी प्रकाण्ड विद्वान् हुन्छ ? कण्ठस्थ गरेर पुरेत होला, पण्डित हुँदैन ।

अर्को आस्था र अन्धविश्वासको बिचमा हामीले धेरैजसो फरक गर्दैनौँ । आस्था भएन भने मान्छे बाँच्न गाह्रो हुन्छ । आस्था त हुनुपर्‍यो तर अन्धविश्वासमा परिवर्तित भयो भने !

बौद्धिकताका लागि नेपाल बन्जरभूमि हो भने, यो बन्जर फोर्नलाई के गर्ने के ? यसका लागि पहिलो अवलोकन हो, हाम्रो अवलोकन क्षमता बढाउन तालिम आवश्यक छ । देख्दाखेरि जे देखिन्छ, त्यसमा ध्यान दिनुपर्छ । जस्तो ः बाटोमा हिँड्दा हामीले खाल्डो देख्छौँ । यसको पछाडि अरु कुरा पनि होलान्— मोटरको संख्या बढ्नु, बाटोको चौडाइ यथावत हुनु, दुईतिर घर अग्ला भएका छन्, हामी सडकमै फोहोर फाल्छौँ, सडकमै थुक्छौँ, गाईगोरु त्यही सडकमा हिँड्छ । गोबर र गाईगोरुको पिसाबमा एसिड हुन्छ, एसिडले बाटोको बिटुमेनलाई खान्छ, त्यसो हुँदा पानी पर्दा त्यहाँ छिर्छ, पानी छिरेपछि त्यो उप्कन्छ र खाडल बन्छ, त्यहाँ मोटर हिँड्यो भने झनै गहिरो बन्छ । 

त्यसैले अवलोकनलाई गहिरो बनाउने बानी बसाल्नुपर्छ । त्यस्तै अध्ययनको बानी बसाल्नुपर्छ । लेखन पद्धतिको विकास भएको लामो समय भइसक्यो, संसारका धेरै विषयमा धेरै कुरा लेखिएका छन्, तर धेरै कुरा पढ्न जरुरी छैन । कण्ठस्थ गरेर सुनाउनलाई पढ्ने होइन । नयाँ दृष्टिकोणले अथ्र्याउनका लागि पढ्ने हो । 

एउटा शब्दकै कति अर्थ निस्कन्छ भने एउटा मात्रै वेद अध्ययन गरेको व्यक्ति कसरी प्रकाण्ड विद्वान् हुन्छ ? कण्ठस्थ गरेर पुरेत होला, पण्डित हुँदैन । पण्डित त्यसबेला हुन्छ, जब त्यसको बारेमा उसले राम्रोसँग विचार गर्छ र अरुसँग विमर्श गर्छ । जबसम्म विमर्श हुँदैन, त्यसमा धार आउँदैन । कण्ठस्थ गरेर चक्कु बन्ला तर विमर्श बेगर त्यसमा धार आउँदैन ।

सबैजनाले चिन्तन नै गर्नुपर्छ, सिर्जन नै गर्नुपर्छ भन्ने होइन, गर्न सके राम्रो । पहिले त बन्जर फोर्नुपर्‍यो, अनि विचारक, बौद्धिक र दार्शनिक बन्ने क्रम सुरु हुन्छ । मरुभूमिमा एकैचोटि आँपको रुख हुँदैन । त्यहाँको माटो मलिलो भएपछि, अलिकति पानी परेपछि घाँस उम्रन थाल्ला । मरुभूमिभित्र हरियो क्षेत्र हुने लामो प्रक्रिया हुन्छ । 

अवलोकन क्षमता, अध्ययन क्षमता, अभिव्यक्ति क्षमतालाई विस्तार गर्न हामीले ध्यान दिँदै गयौ भने सायद यो बौद्धिकताको खडेरी केही कम होला । 

आफ्ना कुरा राख्दा मलाई कविताका पङ्क्ति भन्न मन लाग्छ । बीज वाक्य भनेकै कविता हो । यो अथ्र्याउनेमा भर पर्छ ।

वीरेन डंगवालको लामो कविताको छोटो पङ्क्ति सुनाउँछु । 

ऐसे कठमुल्ले मत बनना 

बात नहीं जो मन की तो बस तन जाना 

दुनिया देख चुके हो यारो 

एक नजर थोडा सा अपने जीवन पर भी मारो 

पोथी–पतरा–ज्ञान–कपट से बहुत बडा है मानव 

कठमुल्लापन छोडो, उस पर भी तो तनिक विचारो ।

(शनिबार राजधानीमा आयोजित विचार उत्सवमा ‘बौद्धिकताको कसीमा नेपाली समाज’ शीर्षकमा विश्लेषक सीके लालले दिएको प्रवचनको सम्पादित अंश ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सीके लाल
सीके लाल
लेखकबाट थप