शनिबार, २९ असार २०८१
ताजा लोकप्रिय
११ औँ वार्षिकोत्सव विशेषाङ्क : राजनीतिक स्थायित्वको तृष्णा

...तबसम्म स्वास्थ्य क्षेत्र पछि परिरहन्छ

आइतबार, २७ जेठ २०८१

केलाई आधार मानेर स्वास्थ्यको मापदण्ड अपनाउने भन्ने स्वास्थ्यका सूचक हुन्छन् । सामान्य तथा सरुवा रोगमा नेपालले धेरै ठुलो फड्को मारेको छ । सरुवा मात्र होइन, नसर्ने रोग पनि छन् । त्यसैले हामीले जहाँ सफलता प्राप्त गरेका छौँ, त्यसलाई स्थायित्व दिन धेरै गाह्रो भएको छ । नयाँ–नयाँ रोग पत्ता लगाउन गाह्रो छ । 

समय अनुसार माइक्रो भाइरस तथा अन्य रोग पनि आउन सक्छन् । त्यो अवस्थासँग सामना गर्न अझै पनि हामीलाई गाह्रो छ । यद्यपि दादुरा, पोलियो आदिमा उल्लेख्य प्रगति गरेका छौँ । विश्वसामु राम्रो रिपोर्ट पनि देखाएका छौँ, यति भनेर मात्रै हामीले शान्ति पाउँदैनौँ । 

आज नेपालमा धेरै नै मेडिकल कलेज खुलिसकेका छन् । प्राइभेट सेक्टर त्यति नै अगाडि छ । सरकारले धेरै कुरालाई प्राथमिकतामा राखेको छ । तैपनि स्वास्थ्य सेवालाई लिएर यदाकदाबाहेक हरेक दिन जनता सन्तुष्ट भएको पाइँदैन । स्वास्थ्य सेवालाई लिएर जबसम्म जनता सन्तुष्ट हँुदैनन्, तबसम्म सरकारी तथा गैरसरकारी संस्था सबैको उत्तरदायित्व हुन आउँछ । 

केही उल्लेख्य प्रगति भए पनि व्यवस्थापनका दृष्टिकोणले, इन्नोभेसनका दृष्टिकोणले, रिसर्चका दृष्टिकोणले हामी धेरै पछाडि छौँ । उदाहरणका लागि कोरोना भाइरस आयो, जसलाई हामीले सामान्य रुघाखोकी भन्यौँ । पछि संसारभरि नै त्यसको प्रकोप बढ्यो, तर नेपालले आफ्नो सामथ्र्यमा नागरिकलाई न भ्याक्सिन दिन सक्यो, न त औषधि । विभिन्न देशले सहयोग गरेर जनता बचाउन सफल त भयौँ, तर त्यो क्षमता नेपालको आफ्नै हुनुपर्छ भन्ने मेरो धारणा हो ।

राजनीतिक उतारचढावले स्वास्थ्य लगायत सबै क्षेत्रमा असर परेको छ । राजनीतिक स्थायित्व भयो भने सरुवा त्यति हुँदैन; बढुवा र घटुवा होला । जबसम्म देशमा राजनीति स्थायी रहँदैन, सबैको विचार देश बनाउने हुँदैन, मैले स्वास्थ्यको सुधार हुने देखिँदैन ।

नागरिकको स्वास्थ्यप्रति सरकारको उत्तरदायित्व हुन्छ । यो अधिकारको कुरा पनि हो । कोरोनाका बेला स्वास्थ्य मन्त्रालयको नेतृत्वमा जनतालाई सेवा दिनुपर्ने थियो तर जिम्मेवारी सिधै प्रधानमन्त्री कार्यालय गएको थियो । उपप्रधानमन्त्रीले त्यसको डिल गरेका थिए । भन्दाखेरि उच्च स्तरीय सम्बोधन भनिएको थियो, तर त्यसभित्र खेल अर्कै थियो । स्वास्थ्य मन्त्रालयले आफ्नो वस्तुस्थितिको अध्ययन गरी जनशक्ति परिचालन गरी जनताका आवश्यकता पूरा गर्न सकेको जस्तो मलाई लाग्दैन । सबैले छानेर छाडेको मन्त्रालय, स्वास्थ्य मन्त्रालय । यसको प्राथमिकता के रहेछ सबै जनताले बुझेका छन् ।

  • राजनीतिक उतारचढाव र नागरिक स्वास्थ्य

जबसम्म देशको राजनीतिले स्थायित्व पाउँदैन, जबसम्म राजनीतिज्ञले यसको चिन्ता गर्दैनन्, तबसम्म स्वास्थ्य क्षेत्र पछि परिरहन्छ । अहिले सदनमै मुडभेड हुनुजस्ता घटनाले हरेक क्षेत्रमा निकै गम्भीर परिणाम ल्याउँछ भन्ने मेरो विश्लेषण छ ।

स्वास्थ्य सेवाका क्षेत्रमा क्रमिक रूपमा विकास हुनुपर्ने हो । रोगको अनुसन्धान गर्नेबारे, स्वास्थ्य उपकरण ल्याउने वा विकास गर्नेबारे, जनशक्ति परिचालन गर्नेबारे चिन्ता लिएको खोइ ! यसकारण राजनीतिक स्थायित्व आवश्यक छ । नीतिगत तहमा राजनीतिक अस्थितरताको असर पर्छ नै ।

जब नयाँ मन्त्री आउँछ, सबै कुरा परिवर्तन हुन्छ; यस्तो किन भइरहेको छ ! हिजोका पार्टीले आफ्ना मान्छे हेर्छन्, राम्रा मान्छे देख्दैनन् । कुन ठाउँबाट कति अनुदान लिने, कति ऋण लिने भन्ने सोचका नेता छन्, पछिल्लो समय देश र जनताका लागि सोच्ने एउटा पनि नेता मैले देखेको छैन । जबसम्म नयाँ पुस्ताले यो तरिका बदल्दैन, तबसम्म नेपाल अर्काको आशामा बसिरहने देश बन्छ ।

विकासका सन्दर्भमा सबभन्दा ठुलो कुरा राज्यको नीति हो । हरेकपटक सरकार फेरिँदा अघिल्ला सरकारका नीति अनुरूपका कार्यक्रम पूरा हुन पाउँदैनन्, यस्तो चपेटा हाम्रो स्वास्थ्य क्षेत्रले पनि भोगिरहेको छ । 

एउटा दिगो नीति लिएपछि जुनसुकै सरकार आए पनि त्यसलाई निरन्तरता दिएर दीर्घकालीन रूपमा लैजानुपर्छ । त्यसका लागि स्थानीय रूपमा अध्ययन गरिनुपर्छ ।

सांसद भएपछि कसैले पनि ‘म स्वास्थ्यमन्त्री हुन्छु’ भन्ने सोच राखेको हँुदैन । उसले अन्य मन्त्रालय नै रोज्छ । के कारणले होला ? त्यसकारण स्वास्थ्य मन्त्रालयले सञ्चालन गर्ने नीति ७७ वटै जिल्लामा राम्रो हुनुपर्छ । सरुवा–बढुवा, वृत्ति–विकास र औषधी उपकरणमा व्यवस्थित नीति हुन आवश्यक छ । 

नेपाल कृषिप्रधान देश हो, तर कुन ठाउँमा के उत्पादन हुन्छ भन्ने कुराको अनुसन्धान भए पनि ती कुरा व्यवहारमा लागु हुन सकेका छैनन् । त्यसैगरी स्वास्थ्यमा पनि कसरी जनशक्ति परिचालन गर्दाखेरि राम्रो स्वास्थ्य सेवा दिन सकिन्छ भनेर अनुसन्धान भएका छन् तर त्यसको कार्यान्वयन भएका छैनन् । एउटा मन्त्री आउँछ र उसले आफ्नो जिल्लामा कार्यक्रम सार्छ; अर्को मन्त्री आएर उसै गर्छ । यसरी हाम्रो मान्छेको खोजी गर्दा राम्रो मान्छे छायामा पर्न जान्छन् । 

स्वास्थ्यबिमा राम्रोसँग सञ्चालन हुन सकेको छैन । तराईको कुनै अस्पतालमा अहिले पनि लास बेवारिसे परिरहेका छन् । गाउँपालिकाले जिम्मा लिन खोज्दा पाएका छैनन् । यस क्षेत्रबाट चुनिएर आएका सांसद् तथा मन्त्री मुख्यमन्त्रीले के गरिरहेका छन् ? खोइ सरकारको जिम्मेवारी ? 

एउटा दिगो नीति लिएपछि जुनसुकै सरकार आए पनि त्यसलाई निरन्तरता दिएर दीर्घकालीन रूपमा लैजानुपर्छ । त्यसका लागि स्थानीय रूपमा अध्ययन गरिनुपर्छ । कुन रोग छ ? त्यसका लागि कस्तो जनशक्ति कति आवश्यक छ ? यी सबै कुराको जानकारी स्थानीय तहको अध्ययनबाट आउँछ; जसका लागि एकदम व्यवस्थापकीय अनुभव भएको मान्छे आवश्यक छ, जसले नागरिकको कुरा र सरकारको कुरा बुझोस् । तीनवटै सरकारबिच निरन्तर समन्वयन भए यसको समाधान हुन्छ, नत्र सम्भव छैन । कर्मचारी लगायत सबैले जिम्मेवारी पूरा गर्नुपर्छ । 

नेपालजस्तो सानो देशमा एउटा पक्ष र अर्को विपक्ष पार्टी हुनु स्वाभाविक हो, तर यति धेरै पार्टी हुनुको पछाडि स्थायित्व नचाएको देखिन्छ । गाउँ खालि भइसक्यो, सरकारले बौद्धिक पलायन रोक्नुपर्छ । 

स्वास्थ्य क्षेत्रले राम्रो नेतृत्व र राम्रो व्यवस्थापन खोजेको छ । सीमित स्रोत–साधनको राम्रो व्यवस्था गर्न सक्ने क्षमताको नेतृत्व खोजेको हो । 

राजनीतिक उतारचढावले स्वास्थ्य लगायत सबै क्षेत्रमा असर परेको छ । राजनीतिक स्थायित्व भयो भने मान्छेको सरुवा त्यति हुँदैन; बढुवा र घटुवा होला । घटुवा वा बढुवा स्वास्थ्य कार्यकर्ताको व्यक्तिगत आचरणमा निर्भर हुन्छ । जबसम्म देशमा राजनीति स्थायी रहँदैन, सबैको विचार देश बनाउने हुँदैन, तबसम्म स्वास्थ्यको सुधार हुने देखिँदैन । 

  • सेवामुखी कि व्यापारमुखी ?

निजी संस्था भनेको सेवा र फाइदा दुवैका लागि हो तर जति फाइदा लिने हो, त्यो बराबरको सेवा दिन सक्नुपर्छ । निजी अस्पताल, नर्सिङ होम, मेडिकल कलेजले जनतालाई सेवा दिइराखेका छ तर फाइदामै उनीहरूको बढी ध्यान छ । 

मन्त्रीहरूले नागरिकका विषयमा सोचेर अध्ययन गरेर रात–दिन त्यसैमा समय लगाएको मैले देखेको छैन । पार्टी कसरी जोगाउने, पद कसरी जोगाउने भन्ने चिन्तामै उनीहरू देखिन्छन् । पार्टीका कार्यकर्तालाई भेट्नमै उनीहरू व्यस्त हुन्छन् । 

स्वास्थ्य क्षेत्रले राम्रो नेतृत्व र राम्रो व्यवस्थापन खोजेको छ । सीमित स्रोत–साधनको राम्रो व्यवस्था गर्न सक्ने क्षमताको नेतृत्व खोजेको हो । 

वृद्धभत्ता कार्यक्रम राम्रो सोच लिएर बनाइएको हो, तर यसको पनि दुरुपयोग भएको सुनिन्छ । कारण के होला ? सबै ठाउँमा एउटै नेतृत्वले काम गर्न सक्दैन । राम्रो र हाम्रो छुट्ट्याएर काम ग¥यो भने केही सुधार गर्न सकिन्छ । सबै दोष राजनीतिक अस्थिरतालाई लगाउन मिल्दैन, राज्यका नीति र कार्यक्रमलाई ध्यान दिएर काम गर्न राम्रो नेतृत्व आवश्यक पर्छ । 

मेरो हकमा आफूले सके जति दायित्व पूरा गरेको छु । कुनै–कुनै मन्त्री यस्ता पनि थिए, जसले फाइललाई पहिला आफैँ सदर गरेर त्यसपछि मेरो हस्ताक्षर लिन आउँथे ।

जस्तोसुकै परिस्थितिका बाबजुद पनि आफ्नो ज्ञान र सीपका आधार जनतालाई स्वास्थ्य सेवा दिने दायित्व स्वास्थ्यकर्मीको हो । त्योभन्दा ठुलो दायित्व के हुन्छ ? उसले राजनीतिक झोला बोक्ने होइन । विभिन्न पार्टीका संगठन छन्, यसले स्वास्थ्यलाई असर गर्छ । 

मेरो हकमा आफूले सके जति दायित्व पूरा गरेको छु । कुनै–कुनै मन्त्री यस्ता पनि थिए, जसले फाइललाई पहिला आफैँ सदर गरेर त्यसपछि मेरो हस्ताक्षर लिन आउँथे । टिप्पणी उठाउने त कर्मचारी हो, मन्त्रीकै तहबाट पनि त्यो काम हुन्थ्यो । 

स्वास्थ्य क्षेत्र यस्तो हुन्छ, जुन बेला जस्तो समस्या देखिन्छ, तुरुन्तै अध्ययन गरी समाधान खोज्नुपर्छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमै नयाँ रोग वा स्वास्थ्य समस्याको सामना गर्नुपर्ने हुन्छ, यसका लागि अध्ययन गर्ने टोली मन्त्रालय अन्तर्गत हुनुपर्छ । सकेसम्म अग्रिम जानकारी दिन सक्नुुपर्छ । भइरहेका सेवामा कहाँ कमजोरी छ, त्यसको अनुगमन हुनुपर्छ । कतिपय अवस्थामा स्थानीय स्वास्थ्य जनशक्ति परिचालन गर्नुपर्छ । स्वास्थ्य क्षेत्रलाई सुधार गर्न राम्रो नेतृत्व र अन्तरसमन्वय आवश्यक छ र राजनीतिक हस्तक्षेप हुन भएन । 

(पूर्वसचिव बमसँग रातोपाटीकर्मी सरिता चौधरीले गरेको वार्तामा आधारित ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया