वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
सारांश
- विश्व वातावरण दिवसको अवसरमा विराटनगर महानगरपालिकाले वातावरण संरक्षणमा योगदान पुर्याउने दुई संस्थालाई सम्मान गरेको छ ।
- मेयर नागेश कोइरालाले वातावरणीय संकट समाधानका लागि सबैको सहभागिता आवश्यक रहेको र वृक्षारोपणलाई अभियानकै रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।
- विराटनगर महानगरपालिकाले हरित क्षेत्र विस्तार, प्रदूषण नियन्त्रण र दिगो शहरी विकासलाई आगामी दिनमा प्राथमिकता दिने जनाएको छ ।
विराटनगर । विश्व वातावरण दिवसको अवसरमा विराटनगर महानगरपालिकाले वातावरण संरक्षण, हरियाली विस्तार तथा जलवायु परिवर्तन न्यूनीकरणमा उल्लेखनीय योगदान पुर्याउने दुई संस्थालाई सम्मान गर्दै हरित विराटनगर अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
शुक्रबार महानगर परिसरमा आयोजित विशेष कार्यक्रममा वातावरणीय सचेतना अभिवृद्धि, वृक्षारोपण प्रवर्द्धन तथा समुदायस्तरमा वातावरण संरक्षणका गतिविधि सञ्चालन गर्दै आएका गो ग्रिन विराटनगर र सुनौलो अवसर युवा क्लबलाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले गो ग्रिन विराटनगरका नविनचन्द्र अधिकारी र सुनौलो अवसर युवा क्लबका पुष्पराज गिरीलाई खादा, माला तथा सम्मानपत्र प्रदान गर्दै उनीहरूको योगदानको उच्च प्रशंसा गरे ।
सम्मान कार्यक्रममा बोल्दै मेयर कोइरालाले वातावरणीय संकट विश्वकै साझा चुनौती बनेको उल्लेख गर्दै यसको समाधानका लागि सरकार, निजी क्षेत्र, सामाजिक संस्था र नागरिक सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताए । पछिल्ला वर्षहरूमा बढ्दो तापक्रम, अनियमित वर्षा र प्रदूषणका कारण वातावरणीय जोखिम तीव्र बन्दै गएको उल्लेख गर्दै उनले प्रत्येक घर, विद्यालय, उद्योग तथा संघसंस्थाले वृक्षारोपणलाई अभियानकै रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।
‘हरित वातावरण बिना दिगो विकास सम्भव छैन,’ उनले भने, ‘आज रोपिएको एउटा बिरुवाले भोलिको पुस्तालाई स्वच्छ हावा, शीतल वातावरण र सुरक्षित भविष्य दिन सक्छ ।’
कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलले विराटनगरलाई व्यवस्थित, स्वच्छ र हरित सहरका रूपमा विकास गर्न सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताए । वातावरणीय सुधारलाई महानगरको दीर्घकालीन विकास रणनीतिसँग जोडेर अघि बढाइने उनको भनाइ थियो ।

वातावरण शाखा प्रमुख इन्जिनियर राकेश ठाकुरले वातावरण संरक्षणका क्षेत्रमा नागरिक सहभागिता बढाउन महानगरले विभिन्न सचेतनामूलक तथा हरियाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए । उनले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि स्थानीय तहको भूमिका अझ महत्त्वपूर्ण बन्दै गएको उल्लेख गरे ।
यसअघि वातावरण संरक्षणसँग सम्बन्धित विभिन्न संघसंस्था, युवा समूह तथा विद्यालयका विद्यार्थीहरूको सहभागितामा महेन्द्रचोकबाट प्रभातफेरी आयोजना गरिएको थियो । वातावरणमैत्री जीवनशैली, फोहोर व्यवस्थापन, वृक्षारोपण र जलवायु सचेतनासम्बन्धी सन्देशसहित निकालिएको प्रभातफेरीले नगरवासीको ध्यान वातावरणीय मुद्दातर्फ आकर्षित गरेको थियो ।
कार्यक्रममा विराटनगरस्थित सेन्ट मेरिज विद्यालयका विद्यार्थीहरूले वातावरण संरक्षणसम्बन्धी सन्देशमूलक नाटक तथा गीत प्रस्तुत गरेका थिए । वातावरण संरक्षणमा सक्रिय पूजा विश्वासले दुवै कार्यक्रमको सहजीकरण गरेकी थिइन् ।
विराटनगर महानगरपालिकाले वातावरण संरक्षणमा योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई प्रोत्साहन गर्दै हरित क्षेत्र विस्तार, प्रदूषण नियन्त्रण, जैविक विविधता संरक्षण र दिगो शहरी विकासलाई आगामी दिनमा अझ प्राथमिकताका साथ अघि बढाउने जनाएको छ । महानगरको यो पहलले वातावरणीय उत्तरदायित्वप्रति नागरिक सहभागिता बढाउनुका साथै हरित र स्वच्छ विराटनगर निर्माण अभियानलाई थप ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण