शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी

शुक्रबार, २२ जेठ २०८३, ०० : १५
शुक्रबार, २२ जेठ २०८३

सारांश

  • सचिव कृष्णहरी पुष्करलाई उपत्यका अपराध अनुसन्धान कार्यालयमा सोधपुछपछि छाडिएको छ ।
  • प्रहरीले उनलाई जरुरी पक्राउ पुर्जी थमाएर स्वास्थ्य परीक्षण गर्न खोजेको थियो ।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आदेशमा पुष्करलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको थियो ।

काठमाडौँ । सचिव कृष्णहरी पुष्करलाई टेकु स्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा सोधपुछ गरेर छाडिएको छ । त्यसअघि उनलाई प्रहरीले जरुरी पक्राउ पुर्जी थमाएर स्वास्थ्य परीक्षण गर्न खोजेको थियो ।

बिहीबार साँझ ९ बजेतिर उनलाई स्वास्थ्य परीक्षण गराउन भनेर गाडीमा राखेर अनुसन्धान कार्यालयको बाहिर लगिँदै थियो । अनुसन्धान कार्यालयमा कार्यरत एक जना अधिकृत भन्छन्, ‘उहाँलाई जरुरी पक्राउ पुर्जी पनि दिइएको थियो ।’

जरुरी पक्राउ पुर्जी दिएर जिल्ला प्रहरी परिसरमा पठाउन खोजिएपछि परिस्थिति पुन परिवर्तन भयो । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट मुद्दा नचल्ने हुनाले सो कार्यालयले पक्राउ गरेका आरोपीहरूलाई भद्रकाली पठाउने गरिन्छ ।

 ‘माथिको आदेश’ भन्दै उनलाई फेरी अनुसन्धान कार्यालय स्थित एसपी शरद थापाको कार्यकक्षमा लगेर जिम्मा जमानीको कागज गराइएको थियो । पुष्करलाई पत्नी आभा श्रेष्ठको जिम्मा लगाएर करिब १० बजे रिहा गरिएको अधिकृतहरू बताउँछन् ।

उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । ‘उहाँलाई करिब ३ बजेतिर कार्यालयमा ल्याइएको थियो’ उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृत भन्छन्, ‘राति १० बजेतिर श्रीमतीको जिम्मा लगाएर छाडिएको छ ।’

उपराष्ट्रपतिको कार्यालयमा कार्यरत पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आदेशमा सोधपुछको लागी नियन्त्रणमा लिइएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले बताए । पुष्करले ‘चेन अफ कमान्ड’ मिचेर व्यक्तिगत स्वार्थका लागी प्रधानमन्त्री बालेन्द्र शाहलाई म्यासेज पठाएको आरोप छ ।

पुष्कर मुख्यसचिव बन्ने प्रतिस्पर्धामा थिए । सरकारले २०८२ मंसिर ९ मा सुमनराज अर्याललाई मुख्यसचिव नियुक्त गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप