बुधबार, १९ मङ्सिर २०८१
ताजा लोकप्रिय

राजनीतिमा नैतिकताको खाँचो

आइतबार, ०९ मङ्सिर २०८१, ११ : ४८
आइतबार, ०९ मङ्सिर २०८१

राजनीति दिगो परिवर्तनसहित विशेष उद्देश्य प्राप्तिको लागि गरिने सेवा हो। कतिपय अवस्थामा नीति उत्कृष्ट हुँदाहुँदै पनि राजनीति अस्वस्थ र छलकपटपूर्ण भइदिन्छ।

राजनीति एउटा समाज विज्ञान पनि हो। जसरी व्याख्या गरेपनि अन्ततः राजनीति राज्यसत्ता प्राप्तिको निमित्त गरिन्छ। तर राज्यसत्ता सहज ढङ्गले प्राप्त गरिने सकिने चिज हैन।

राज्यसत्ता प्राप्त गर्न कठिन मेहनत, सङ्घर्ष, आइपरे युद्ध तथा निर्मम वध समेत हुने गरेका उदाहरण छन्। राजनीतिमा करुणा, दया, धर्म र माया केही नहुने रहेछ। राजनीति निर्मम र निर्दयी हुँदोरहेछ।

इतिहास हेर्ने हो भने महाभारत युद्ध राज्यसत्ताकै निमित्त भएको थियो।महाभारत युद्ध राज्यसत्ता प्राप्त गर्ने र गुमाउने बिचको लडाइँ थियो।युद्धमा  कुनै नियम, न्याय, अन्याय, विधि, विधान केहीले काम गर्दैन।राज्यसत्ता प्राप्तिको निमित्त भएको महाभारतको लडाइमा अभिमन्युको वध वास्तवमै कारुणिक थिएन र ?

राज्यसत्ता कै खिचातानीमा रामचन्द्रले वनवास बेहोर्नु पर्‍यो, श्रीमती समेत अपहरणमा परेको कथा हामीले पढेकै हो। स्वर्गमा रचिएका कथा होस वा पृथ्वी लोकका राजनीति राज्यसत्ताकै वरिपरि घुमिरहन्छ।

नेपालमा घटेका कोतपर्व, भण्डारखाल पर्व लगायत सवैखाले दर्दनाक घटनामा राजनीति र राज्यसत्ता जोडिएकोमा दुई मत छैन। राज्यसत्ता सँग राजनीति यति निर्मम ढङ्गले जोडिन्छ कि त्यहाँ दया, धर्म, मानवता, कतै देखिँदैन।

धेरै घटनाहरू चर्चा गर्न लायक छन् सबै चर्चा गरेर पनि साध्य छैन।राणा शासनबाट मुलुकलाई मुक्ति दिलाउन गरिएको राजनीतिका कारण तत्कालीन होनहार चार युवाले निर्मम मृत्यु बेहर्नु पर्‍यो। मदन भण्डारीको दुर्घटना भनूँ वा हत्या त्यो राजनीति सँगै जोडिएको छ।

करिब १७ हजार जाने बुझेका वा सोझा निमुखा जनताले माओवादी युद्धमा ज्यान गुमाउन पर्‍यो त्यो पनि राज्यसत्ता र राजनीतिसँगै जोडिएको छ। संसारले कहिले नभुल्ने दरबार हत्याकाण्ड पनि राजनीति सँग नै जोडिएको थियो।

राजनीति चाहिँ झुट र छलकपटको खेल रहेछ। यहाँ बिहान भनेको साँझ हुँदैन, साँझ वाचा गरेको बिहानै तोडिन्छ। रातलाई दिन र दिनलाई रात राजनीतिले बनाउँदो रहेछ। खुलमखुला पूर्णिमालाई औँसी राजनीतिमा भनिँदो रहेछ। गरेका बाचा, बन्धन, बोलेको बोली अनि प्रतिबद्धता लाजै नमानी पचाउँदो रहेछन् राजनीतिमा ।

हिजोका दिन, दुखका क्षण, हैसियत, सबै बिर्सने रहेछन् राजनीतिमा।कुरा कसै प्रति लक्षित हैन सबैको साझा हो।

एक पटक स्थापित भयपछि आफूभन्दा तलकालाई खेतालाको रूपमा गरिने व्यवहार राजनीतिको चक्र नै रहेछ। हिजोका सबै चिज भुलेर, लाजै पचाएर बकबक गरिरहँदा पनि सुन्न विवश हुनुपर्ने रहेछ राजनीतिमा।

राज्यसत्ता प्राप्तिको निमित्त गरिएको राजनीति झुट,छलकपट र जालझेलमा फसेपछि मान्छेमा नैतिकता हराउँदो रहेछ। नैतिकता हराएको मान्छेले के गर्छ र के गर्दैन त्यसको हिसाब हुँदैन। 

पौराणिक कथामा जस्तै ऋषिले मुसालाई बाघ बनाइदिए पछि वनेको बाघले ऋषि माथि नै आक्रमण गर्न लागेझैँ एउटा मनुष्य जसले यस्तो परिवेश जीवनमै सोचेको थिएन होला सायद जसलाई काँधमा चढाएर माथिल्लो सिँढीमा पुर्‍याएपछि त्यही काँधलाई लात हानेर ढाल्ने कार्य राजनीतिमा भएकै छन् ।  जसले जीवन नै कायापलट गराइदियो त्यस्तो सम्बन्ध समेत तोडिन्छ ।  

राजनीतिमा नैतिकता र संस्कार दुई महत्त्वपूर्ण चिज हो । यो दुवै चिजबाट अलग भएपछि उसले न अग्रज चिन्दछ न अनुज, न आफ्नो चिन्दछ न पराए। मकै बारीमा पसेको साँढे जस्तो चारैतिर ढलीमली गरेर वालि नष्ट सिवाय केही गर्दैन।

नैतिकताविहीन आजको राजनीतिले लाखौँ युवाहरूको भविष्य अन्धकार बनाउँदै लगेको छ। संसारसामु मुलुकलाई कमजोर बनाउँदै लगेको छ। न मुलुक समृद्धि, न जनता सुखी !

यो गहिरो खाडलबाट मुलुकलाई निकास दिन र जनतालाई सुखी बनाउन सबैभन्दा पहिले राजनीति गर्नेहरूमा नैतिकताको खाँचो छ।नैतिकवान नेताले मात्र राज्यसत्ताको सही सदुपयोग गर्न सक्छ।राजनीतिमा जे गरेपनि, जे वोलेपनि हुन्छ भन्ने पश्चगामी सोचको अन्त्य हुनु पर्दछ। सबै चुनौतीको सामना गर्दै रिस, दोष, घृणा र घमन्ड त्यागेर नैतिकताको परिधिभित्र राजनीति गर्नुपर्ने समयको पदचापलाई सबैले बुझ्नुपर्ने समय आएको छ। यसमा सबैको ध्यान जान जरुरी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

जनकराज पाठक
जनकराज पाठक
लेखकबाट थप