बिहीबार, १८ वैशाख २०८२
ताजा लोकप्रिय
कनकाकाफ च्याम्पियन्स कप

क्यानेडियन प्रतिद्वन्द्वीसँग स्तब्ध बन्दै उपाधि होडबाट बाहिरियो मेस्सी आबद्ध इन्टर मियामी

बिहीबार, १८ वैशाख २०८२, १० : ०५
बिहीबार, १८ वैशाख २०८२

काठमाडौँ । अर्जेन्टिनी स्टार लियोनल मेस्सी आबद्ध अमेरिकी क्लब इन्टर मियामी जारी सिजनको कनकाकाफ च्याम्पियन्स कपको उपाधि होडबाट बाहिरिएको छ । सेमिफाइनल खेलमा बलियो इन्टर मियामीलाई हराउँदै क्यानेडियन क्लब भानकुभर ह्वाइटक्याप्स फाइनलमा पुग्न सफल भयो । 

इन्टर मियामी बिहीबार बिहान सम्पन्न सेमिफाइनलको दोस्रो लेग खेलमा भानकुभर ह्वाइटक्याप्ससँग १–३ गोलले पराजित भयो । सेमिफाइनलको दोस्रो लेग खेल इन्टर मियामीकै घरेलु मैदानमा खेलिएको थियो । 

भानकुभर ५–१ कुल गोल भिन्नताका आधारमा फाइनलमा पुगेको हो ।  यसअघि भानकुभरको घरेलु मैदानमा खेलिएको सेमिफाइनलको पहिलो लेग खेलमा पनि इन्टर मियामी ०–२ गोलले पराजित भएको थियो । 

दोस्रो लेग खेलमा सुरुवाती अग्रता लिएर पनि इन्टर मियामीले त्यसलाई जोगाउन सकेन । खेल सुरु भएको नवौँ मिनेटमै इन्टर मियामीका लागि जोर्ड अल्बाले गोल गरेका थिए । सोही गोलका कारण पहिलो हाफमा इन्टर मियामी अगाडि रह्यो ।

तर, खेलको दोस्रो हाफमा घरेलु मैदानमा इन्टर मियामीले लय गुमाएपछि भानकुभरले लगातार तीन गोल गरेको थियो । निर्धारित समयको ५१औँ मिनेटमा भानकुभरका लागि ब्राइन ह्वाइटले पहिलो गोल गरेका थिए ।

यसैगरी, निर्धारित समयको ५३औँ मिनेटमा भानकुभरका लागि पेड्रो भाइटले दोस्रो गोल थपेका थिए । भानकुभरका लागि तेस्रो गोल भने निर्धारित समयको ७१औँ मिनेटमा सेबास्टियन बेरहल्टरले गरेका थिए । 

प्रतियोगिताको फाइनलमा अब भानकुभरले मेक्सिकन क्लब यूएएनएल वा क्रुज अजुलसँग उपाधिका लागि भिडन्त गर्नेछ । यी दुई टोलीबिच खेलिएको सेमिफाइनलको पहिलो लेग खेल १–१ गोलको बराबरीमा सकिएको थियो । फाइनल खेल भने जुन १ तारिखमा खेलिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप