बिहीबार, १८ वैशाख २०८२
ताजा लोकप्रिय

समूहबाट आर्थिक समृद्धि खोज्दै दाङका महिला

बुधबार, १७ वैशाख २०८२, १४ : ३६
बुधबार, १७ वैशाख २०८२

दाङ । घोराही उपमहानगरपालिका–८ कटुकीका वसन्ती चौधरी समूहमा आबद्ध भएको दुई वर्ष भयो । उनी जनचेतना महिला कृषक समूहको कोषाध्यक्ष छन् । समूहमा रहेका २० जनाले सामूहिक खेती गर्ने गरेको उनले बताइन् । 

उनले भनिन्,“नौ कट्ठा जमिन भाडामा ल्याएर आलु र  प्याजखेती गरेका थियौँ, आलु उत्पादन राम्रो भयो र प्याज पनि राम्रो भएको छ, दुई वटा टनेल बनाएर खेती गरेका छौँ, कृषि ज्ञान केन्द्र दाङले लक्षित वर्गका लागि बजेट सहयोग गरेको छ ।” सोही कार्यालयले २० जनालाइ रु २० हजारका दरले बीउपुँजी सहयोग गरेको उनले बताइन् । 

“समूहमा आबद्ध भएपछि सरकारी कार्यालयमा के के कार्यक्रम आउछन्, त्यसका बारेमा जानकारी हुने गरेको छ”, उनले भने । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दाङले बङ्गुरपालनका लागि खोर बनाउन रु १० लाख बजेट सहयोग गरेको उनले बताइन् । 

जनचेतना महिला कृषक समूहका अध्यक्ष देउकुमारी चौधरीले वित्तिय साक्षरता सिकेर बचत गर्न, लगानी गर्न, ऋण व्यवस्थापन गर्न, आम्दानी र खर्चमा योजना बनाउन जानेको बताउनुभयो । उहाँले भनिन्,“सामूहिक काम गर्दा  छिटो र छरितो हुने गरेको छ, खेताला लगाउन नपर्ने सजिलै काम सकिने भएको छ ।”  

घोराही–१२ का नन्दा योगीले मौरीपालन तालिम लिएर मौरी पाल्न सुरु गरेकी छन् । मुक्त कमलरी विकास मञ्च र सोसेक नेपालले तालिमसँगै पाँच घार मौरी दिएको थियोे । 

मौरीपालन तालिमपछि व्यावसायिक रुपमा पालन सुरु गरेको उहाँले बताउनुभयो । अहिले उहाँसँग १० घार मौरी छन् । 

उनका अनुसार करिब ८६ किलो मह उत्पादन भएको र सबै बिक्री भएको थियोे । रु ५०० देखि रु ६०० प्रतिकिलोमा बिक्री गरेको उनले बताइन् । 

गाईवस्तु पालेकोभन्दा सजिलो हुने भएर यो काम राम्रो लागेको उनँले बताइन् । उनका अनुसार तालिमपछि क्षमता विकास र वित्तीय साक्षरता पनि भएको छ ।   

तुलसीपुर उपमहानगरपालिका–१६ टिक्रालहलौराकी उर्मिला चौधरी पूर्वकमलरी  हुनुहुन्छ । उहाँ प्रगति पशुपालन महिला समूहको अध्यक्ष बनेकी छन् । 

समूहमा आबद्ध भएपछि उनले च्याउखेतीको तालिम लिइन् । उनले समूहमा आबद्ध भएपछि रु ३० हजार घुम्ती कोषबाट पैसा लिएर च्याउखेती गरिन् । 

चार सय लोकल कुखुरा र दुई हजार ५०० गिरीराज कुखुरापालन गरेर प्रशस्त आम्दानी गरेको उनले बताइन् । 

समूहले आम्मनिर्भर बनाएकाले यसैलाई निरन्तरता दिने उनले बताइन् । उनीहरुको ३० जनाको समूह छ । उहाँका अनुसार घुम्ती कोषको पैसा एक वर्षमा साँवामात्रै  फिर्ता गर्नुपर्छ ब्याज लाग्दैन ।   

घोराहीका उपप्रमुख हुमा डिसीले मुक्तकमलरीसँग सहकार्य गरेर काम गरेको बताइन् । “विभिन्न तालिम दिएर काम गरेका छौँ”, उनले भनिन् ।

पालिकाभित्र रहेका छाना नभएकालाई मुक्त कमलरीलाई छाना दिने कार्यक्रम रहेकाले छाना नभएकाहरुले पालिकामा सम्पर्क गर्न उहाँले आग्रह गर्नुभयो । सीप सिकेकालाई स्वरोजगार बन्न पनि उनले आग्रह गरिन् । 

मुक्त कमलरी विकास मञ्चका परियोजना अधिकृत सुवोध चौधरीले मुक्त कमलरी सशक्तीकरण परियोजनाअन्तर्गत  प्रत्यक्ष  ४६५ जनालाई सहयोग गरेको बताए । 

उनका अनुसार दाङका घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकामा कार्यक्रम लागू भएको छ । 

लक्षित वर्गमा पूर्वकमलरी, सीमान्तकृत तथा असहाय रहेको उनले बताए । महिलाहरुले समूह बनाएर व्यावसायिक कामबाट आम्दानी गर्न थालेको उनले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप