शनिबार, २० वैशाख २०८२
ताजा लोकप्रिय

कोशीमा लगानीको उपयुक्त वातावरण छ : प्रधानमन्त्री

विद्युत‍्को समस्या नभएको र सुरक्षा मजबुत रहेको दाबी
बिहीबार, १८ वैशाख २०८२, १४ : १९
बिहीबार, १८ वैशाख २०८२

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशमा लगानीको उपयुक्त वातावरण भएको दाबी गरेका छन् । विराटनगरमा बिहीबारदेखि सुरु भएको कोशी प्रदेश लगानी सम्मेलनमा लगानीकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । 

उनले यातायातको सञ्जाल भएको, समुन्द्रसँगको छोटो दुरी रहनु, विद्युत्को समस्या नहुनु, शान्ति सुरक्षा मजबुत अवस्थामा रहेको भन्दै लगानीको उपयुक्त समय भएको दाबी गरे । 

उनले नडुब्ने खालको उद्यमशीलतामा जोड दिन युवा वर्गलाई आग्रह गरे । ‘नेपालमा उपयुक्त लगानीको वातावरण छ । लगानीकर्ता, मजदुर र सरकारबिच कुनै मनमुटाब छैन,’ ओलीले भने, ‘नेपालमा श्रमिक, रोजगारदाता र सरकारकाबीचमा भएका सहमति अनुसार आइएलओको सिद्धान्त प्रभावकारी कार्यान्वयन गरिएको छ ।’

उनले नेपालमा लगानीका लागि ढुक्कको वातावरण रहेको पनि बताए । ‘एउटा ढुक्कको वातावरण छ । त्यसो भएर अनुकूल वातावरण भएको हिसाबले पनि लगानीकर्ताले ढुक्कले लगानी गर्न सक्नुहुन्छ,’ उनले भने । कोशी प्रदेशमा यातायातको पूर्वाधार राम्रो बनिरहेको बताउँदै उनले लगानीकर्ताले सामान बजार पठाउने बेलासम्ममा सबै सडक पूर्वाधारहरू बनिसक्ने बताए । 

उनले उद्योगीले चाहेको कच्चा पदार्थ जहाँ चाहियो त्यहाँसम्म पुर्‍याउन सक्ने व्यवस्था रहेको, हवाई मैदान राती पनि उड्नसक्ने बनाएको पनि उनले बताए । ‘बिजुली गाउँभरि पुगेको छ । त्यसकारण लगानीका लागि उपर्युक्त वातावरण छ । अब छिट्टै हामी नदीको बाटोबाट सामान र मानिसहरूको आवागमन सुरु गर्न सक्छौँ । कलकत्तासम्मका लागि । छिटो र सस्तो लागतमा ल्याउन सकिन्छ । हनुमान नगरमा पोर्ट राखेर गंगाको बाटो हुँदै हामी ल्याउन सक्छौँ । हामी कुरा गरिरहेका छौँ । बिचमा केही ढिलासुस्ती भयो । अब हामी गर्दैछौं । यो अर्को लगानीको लागि अनुकूल वातावरण हो,’ प्रधानमन्त्रीले भने । 

कलकत्ता पोर्ट नजिकै रहेको, भारतमा करोडौँ जनसङ्ख्या रहेको कारण कोशी प्रदेश लगानीको सम्भावना भएको क्षेत्र भएको उनले दाबी गरे । उनले संघीय सरकारले अध्यादेशमार्फत ऐन ल्याएर लगानीको वातावरण बनाएको कारण अप्ठ्यारो नभएको बताए । छिमेकी मुलुक भारततिर लक्षित गर्दै उनले स्वास्थ्य र शिक्षाको क्षेत्रमा लगानी गरे छिमेकी पनि लाभान्वित हुनसक्ने बताए । जडीबुटी कारखाना प्रशस्त चल्ने उनले बताए । 

विराटनगर कुनै बेला नेपालको एक मात्र औद्योगिक क्षेत्र भएको स्मरण गर्दै अहिले केही पछि परेपनि पुनः पुरानै अवस्थामा फर्किने उनले विश्वास दिलाए । ‘देशभित्रका उद्यमीलाई आग्रह गर्न चाहन्छु । राम्रो प्रतिफलका लागि लगानी गरौँ । बाहिरका साथीहरूको लागि आग्रह गर्न चाहन्छु । तपाईँहरूले कमाएको नाफा कानुन बमोजिम लान सक्नुहुन्छ । डबल ट्याक्सेसनको समस्या पर्दैन । जुनदेशमा कमाइन्छ, कमाएको देशमा ट्याक्स तिर्ने, प्रमाणपत्र लिएर जाने र ओरिजन आफ्नो देशमा मुनाफा लान पाउँछ । त्यहाँ कर लाग्दैन । यस विषयमा हामी एग्रिमेन्ट पनि गर्छौँ । सरकारले अरू कुनै समस्या पर्न दिइँदैन,’ ओलीले भने । 

उनले आगामी आर्थिक वर्षदेखि उद्यमशीलता दशक मनाउने पनि सङ्केत गरे । ‘उद्यमशीलता दशक मनाउनु पर्छ । उद्यमशीलता मनाएपछि रोजगारी प्राप्त हुन्छ । सरकारी रोजगारी कति ठाउँ हुन्छ ? को रिटायर्ड होला र जागिर दिने ? वर्षमा ४ लाख ५ लाख मानिस रोजगारीका लागि तयार हुन्छन् । हामी २०–२५ हजारलाई रोजगार दिइरहेका छौँ । त्यसकारण म युवाहरूलाई रोजगारी खोज्न भन्दा उद्यमशीलतामा लाग्न आग्रह गर्दछु,’ ओलीले भने ।

कोशी प्रदेश सरकारले महत्वका साथ गर्न लागेको प्रदेश लगानी सम्मेलन आज विराटनगरमा उद्घाटन भएको हो । विराटनगरस्थित विरेन्द्र सभागृहमा आयोजित उद्घाटन समारोहमा चीन, रुस, अमेरिका, दक्षिण कोरिया, भारत लगायतका देशका लगानीकर्ता र गैरआवासीय नेपालीहरूको सहभागिता रहेको प्रदेश सरकारको दाबी छ । यस्तै स्वदेशका प्रतिष्ठित उद्योगपतिहरू पनि यो लगानी सम्मेलनमा सहभागी छन् । 

लगानी सम्मेलनमा एक खर्ब ७३ अर्ब ४९ करोड बराबरका ७१ वटा परियोजनाहरू सोकेसिङमा राखेको छ । जसमा कृषि, पर्यटन, ऊर्जा, उद्योग, पूर्वाधार, आइटिलगायतका क्षेत्रहरू छन् । लगानी सम्मेलनकै क्रममा दुई दर्जन बढी परियोजनामा भने सम्झौता (एमओयु) नै हुने लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइरालाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप