सर्केगाडमा टेलिफोन सेवा अवरुद्ध, सेवाग्राही मर्कामा

हुम्ला । हुम्लाको मध्येभेगमा रहेको सर्केगाड गाउँपालिकामा लामो समयदेखि टेलिफोन सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन् । सर्केगाड गाउँपालिका–५ स्थित कुति गाउँको भदालीमा रहेको टेलिफोन टावरमा खराबी आउँदा एक महिनादेखि सेवा अवरुद्ध भएको स्थानीय बताउँछन् ।
एक महिनादेखि टेलिफोनले काम नगर्दा सर्केगाड–५, ६ र ४ का सर्वसाधारण, स्वास्थ्यकर्मी, विभिन्न पेसा, व्यवसायमा संलग्नहरूलाई सञ्चरमा सास्ती भएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख किरण बुढाथोकीले बताए । मोबाइलमा नेटवर्क देखाएपनि फोन नलाग्ने, सन्देश (म्यासेज) नजानेलगायत समस्या देखिने गरेको उनको भनाइ छ ।
यतिबेला सर्केगाडमा रहेका प्रत्येक स्वास्थ्य संस्थामा खोपसहित अन्य स्वास्थ्यका गतिविधि बढिरहेका बेला टेलिफोनले काम नगर्दा स्वास्थ्यकर्मीसँग जानकारी लिन नसकिएको शाखा प्रमुख बुढाथोकीको गुनासो छ । टेलिफोन नहुँदा कतै जटिल प्रकृतिका बिरामी आएमा सम्पर्क गर्न गाह्रो भएको छ ।
इन्टरनेट सेवा सबै वडाका दुर्गम गाउँ तथा स्वास्थ्य संस्थामा जडान नभएकाले फोनबाट छिटो र छरितो जानकारी लिनुपर्नेमा समस्या बनाएको उनले बताए ।
टेलिफोन सेवा अवरुद्ध भएको विषयमा सबैलाई जानकारी गराउँदा कोही कसैले वास्ता नगरेको बुढाथोकीले गुनासो गरे । पालिकाको केन्द्र सर्केगाडसहित आसपासका क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध हुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको गेटबहादुर थापाले बताए ।
महिना दिनदेखि टेलिफोन सेवाले काम नगरेपछि जिल्लाभित्र र बाहिर रहेका आफन्तसँग सम्पर्कविच्छेद हुनुका साथै सरकारी काम पनि प्रभावित बनेको उनको भनाइ छ ।टेलिफोन टावर मर्मत गरी सञ्चालनमा ल्याउन गाउँपालिका, दूरसञ्चार कार्यालयलगायत सम्बन्धित कार्यालयले चासो नदिँदा सास्ती भएको स्थानीयको गुनासो छ ।
सर्केगाडमा टेलिफोन सेवा अवरुद्ध भएको विषयमा मङ्गलबार मात्रै दूरसञ्चार कार्यालय सिमकोटमा जानकारी आएको कार्यालयका निमित्त प्रमुख रञ्जीन लामाले बताए ।
त्यहाँका सेवाग्राहीले भनेजस्तो महिना होइन केही समयअघि मात्रै टावरमा खराबी आएको हुनसक्ने उनको भनाई छ । निमित्त प्रमुख लामाले सर्केगाडमा टेलिफोन सेवा केन्द्रीय कार्यालयमा रहेको प्रणालीबाटै आउनेजाने गरेको जानकारी प्राप्त भएको बताए ।
“तत्काल समस्या समाधान नभए सिमकोट कार्यालयबाट प्राविधिक कर्मचारी पठाएर मर्मत गर्नेछौँ”, उनले भने । सोलार सञ्चिति नपुगेकाले पनि टेलिफोन सेवा अवरुद्ध भएको हुनसक्ने प्रमुख लामाले बताए । केन्द्रीय कार्यालयबाट मर्मत भइरहेको जनाउँदै समस्या समाधान नभए यहाँबाट कर्मचारी पठाइने उल्लेख गरे ।
सर्केगाडमा इलाका प्रशासन कार्यालय, सिटिजन्स बैंक, अन्य विभिन्न सङ्घसंस्थाका उपशाखा छन् भने फोन सेवा नहुँदा कार्यालयको दैनिक कामकाजको जानकारीका साथै सूचना सम्प्रेषणमा समस्या बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२० वर्षे पुराना सवारीसाधनमैत्री काठमाडौं उपत्यका बनाउने अभियानमा प्रहरी
-
तेस्रो त्रैमासमा १२ वाणिज्य बैंक कारबाहीमा, स्ट्यान्डर्ड चार्टर्डलाई १४ करोड जरिवाना
-
रुसले उत्तर कोरियालाई नयाँ युद्धपोत निर्माणमा सहयोग गरेको हुनसक्छ : सियोल
-
रेशमलाई थुनामा पठाउन अनधिकृत पत्र लेख्ने विष्टलाई के हुन्छ कारबाही ?
-
बोर्डको लोगो प्रयोग गरी कक्षा १२ को परीक्षाका बारेमा भ्रम फैलिएपछि...
-
मजदुर उत्पादन गर्ने शिक्षा प्रणाली बदल्ने कि !